के महिला क्रिकेट टोलीले पनि इतिहास रच्न सक्ला?

तस्बिर स्रोत, CAN
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
नेपाली पुरुष क्रिकेट टोली अर्को महिना हुने टी-२० विश्वकप खेल्ने तयारीमा व्यस्त रहेका बेला महिला टोली पनि काठमाण्डूमा भोलि आइतवारबाट सुरु हुने टी २० विश्वकपको ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्न उत्रँदै छ।
पुरुष टोलीले ३ पटक विश्वकप खेल्दै गर्दा के महिला टोलीले पनि त्यस्तै इतिहास रच्न सक्ला? क्रिकेट प्रेमीको चासो यही विषयमा देखिन्छ।
दश राष्ट्रबीचको प्रतिस्पर्धाबाट शीर्ष चारमा परेर पहिलो पटक विश्वकप खेल्ने नेपाली महिला टोलीको चाहना पूरा हुन कडा मेहनत गर्नुपर्ने बताइन्छ।
प्रतिस्पर्धी टोलीहरूको तुलनामा नेपाल ग्लोबल छनोटको बलियो टोली बनि नसकेको कतिपयको आकलन छ, तर विपक्षीहरूलाई छक्क्याउँदै अप्रत्याशित नतिजा निकाल्न तयार रहेको टोलीका रूपमा नेपाललाई हेरिएको छ।
कप्तान इन्दु वर्मा भन्छिन्, "हामी प्रतिद्वन्द्वीको स्तरमा भन्दा पनि प्रत्येक दिनको खेलमा मात्र केन्द्रित हुने छौँ।"

तस्बिर स्रोत, CAN
कडा प्रतिद्वन्द्वी
समूह 'बी' मा रहेको नेपालले भोलि आइतवार थाइल्यान्डसँगको खेलबाट ग्लोबल क्वालिफायरको सुरुआत गर्दै छ।
थाइल्यान्ड एसिया छनोटको च्याम्पिअन टोली हो। विश्व वरीयतामा १२ औँ स्थानमा रहेको थाइल्यान्डसँग नेपालले विगतमा ७ पटक प्रतिस्पर्धा गरिसक्यो। तर सबै खेलमा पराजित हुन पुग्यो।
त्यसपछि १४ औँ वरीयताको नेदरल्यान्ड्ससँग नेपालले विगतमा खेलेको ३ वटै खेलमा पराजय भोग्नु परेको थियो।
महिला टोलीले ११ औँ वरीयताको स्कटल्यान्ड र १५ औँ वरीयताको जिम्बाब्वेसँग भने पहिलो पटक खेल्दै छ।
वरीयताको आधारमा हेर्दा नेपालको लागि पहिलो खेलदेखि नै कडा चुनौतीको सामना गर्नुपर्ने छ।

तस्बिर स्रोत, CAN
तयारी
विश्वकपको चुनौती सामना गर्न नेपाल क्रिकेट सङ्घले तयारीमा भने कमी गरेको नदेखिएको जानकारहरू बताउँछन्।
विदेशी प्रशिक्षकका रूपमा हर्षल जयन्त पाठकलाई नियुक्ति गरेर एक महिना अगाडिदेखि तयारी थालेको नेपाली टोलीमा वयस्क र युवा खेलाडीहरूको सम्मिश्रण छ।
प्रशिक्षक हर्षलले नेपाली टोलीको प्रमुख कमजोरीको रूपमा रहेको 'फिटनेस र फिल्डिङ' पक्षमा विशेष जोड दिएको देखिएको छ।
टोलीले भारतमा गएर विशेष प्रशिक्षण र अभ्यास खेल पनि खेलेर फर्कियो।
पूर्व कप्तान रुविना क्षेत्री भन्छिन्, "कमजोरीहरू सुधारिएको छ। बलियो क्रिकेट खेल्दै नयाँ इतिहास रच्ने मौकालाई हामीले सदुपयोग गर्न भरपुर प्रयास गर्ने छौँ। "

तस्बिर स्रोत, CAN
घरेलु मैदान र समर्थक
वास्तवमा घरेलु मैदान र दर्शक नै महिला टोलीको मनोबल बढाउने प्रमुख हतियार हुने ठानिएको छ।
जनवरी १८ देखि फेब्रुअरी १ तारिखसम्म हुने खेलमा १९ खेल कीर्तिपुर रङ्गशाला र १३ खेल माथिल्लो मूलपानी मैदानमा हुने छ।
नेपालको लीग चरणको सबै खेल कीर्तिपुरमा राखिएको छ।
पूर्व कप्तान रुविना भन्छिन्, "होम ग्राउन्ड र घरेलु दर्शकले हामीलाई ऊर्जा थप्ने छन् भन्ने विश्वास छ। दर्शक सामु राम्रो खेल्ने प्रेरणा पनि मिल्ने छ।"
नेपाल क्रिकेट सङ्घले ग्लोबल छनोटमा नेपाली खेलाडीलाई साथ दिन दर्शकहरू कीर्तिपुर पुग्ने आशा व्यक्त गरेको छ।
कप्तान इन्दु भन्छिन्, "यो ठाउँसम्म पुग्न हामीले वर्षौँ वर्ष लगायौँ। अब अन्तिम ढोका खोल्न हामीलाई 'गर या मर' को स्थिति हो। आशा गरौँ हामीले सकारात्मक नतिजा दिने छौँ।"

तस्बिर स्रोत, CAN
नेपालको खेल तालिका (सबै खेल कीर्तिपुर रङ्गशाला)
- जनवरी १८: नेपाल - थाइल्यान्ड बिहान ९ बजे
- जनवरी २२: नेपाल - नेदरल्यान्ड्स बिहान ९ बजे
- जनवरी २४: नेपाल - जिम्बाब्वे दिउसो १ बजे
- जनवरी २६: नेपाल - स्कटल्यान्ड बिहान ९ बजे
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








