दृष्टिविहीन महिला टी–२० विश्वकप : श्रीलङ्का पुग्न 'चन्दा माग्नु परेको' टोली उपविजेता

तस्बिर स्रोत, CAB Nepal
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
नेपाली क्रिकेटप्रेमीहरूको सम्पूर्ण ध्यान कीर्तिपुर क्रिकेट रङ्गशालामा जारी एनपीएल-२ मा केन्द्रित भइरहँदा दृष्टिविहीन महिला क्रिकेट टोलीले भने आइतवार श्रीलङ्कामा नयाँ इतिहास रच्न सफल भयो।
विश्वकप फाइनलमा भारतसँग नेपाल ८५ रनले पराजित भएर उपविजेता बन्न पुगेको थियो।
नेपाली कप्तान गीता पौडेलले विश्वकप यात्रा नेपाली खेलाडीको लागि स्मरणीय रहेको बताउँदै यसले अब दृष्टिविहीन महिला टोलीप्रति पनि आम नागरिकको धारणा सकारात्मक हुने प्रतिक्रिया दिइन्।
झन्डै २ दशकदेखि क्रिकेट खेल्दै आएकी उनले भनिन्: "यति लामो समय क्रिकेटमा बिताएँ। आज बल्ल केही पाएँ जस्तो लागेको छ। त्यति लामो समयको दु:खको फल प्राप्त भयो।"
खासमा नेपाल अहिले क्रिकेटमय छ।
राष्ट्रिय पुरुष क्रिकेट टोली तेस्रोपटक २० ओभरको विश्वकपमा छनोट हुँदा नेपाली क्रिकेट प्रेमीहरू त्यसमा रमाइरहेका छन्। राष्ट्रिय महिला टोली पनि विश्वकपका लागि पूरै व्यस्त छ।
आगामी ज्यानुअरीमा नेपालमै हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्ने तयारीमा रहेको महिला टोलीले गत साता मात्रै भारतको देहरादुनमा राजस्थान, उत्तराखण्ड र बङ्गालको क्रिकेट टोलीसँग मैत्रीपूर्ण क्रिकेट खेलेर फर्किएको छ।
श्रीलङ्काको राजधानी कोलम्बोमा सम्पन्न 'महिला टी-२० विश्वकप क्रिकेट फर द ब्लाइन्ड २०२५' मा सहभागी भएर फाइनलसम्मको यात्रा तय गर्यो।
पहिलो पटक आयोजना भएको विश्वकपमा उपविजेता बनेको तिनै दृष्टिविहीन महिला क्रिकेट टोलीको परख भने कमैको लागि मात्र चासोको विषय बन्यो।
तर कोलम्बो यात्रा खेलाडीहरूको लागि जति कठिन थियो, फाइनलसम्मको यात्रा तय गरेर टोलीले प्राप्त गरेको सफलता भने उत्तिकै लोभलाग्दो छ।
फाइनलसम्मको यात्रा
प्रतियोगितामा नेपालसहित आयोजक श्रीलङ्का, भारत, पाकिस्तान, अस्ट्रेलिया र अमेरिका गरी ६ राष्ट्रले सहभागिता जनाएका थिए।
राउन्ड रोविन लीगको आधारमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ९ विकेटले, अस्ट्रेलियालाई ८ विकेटले तथा पाकिस्तान र अमेरिकालाई १०/१० विकेटसाथ पराजित गरेको थियो।
भारतसँग भने नेपाल ८५ रनले पराजित हुन पुग्यो।
लीग चरणको रमाइलो तथ्य के छ भने पाकिस्तानविरुद्धको खेलमा नेपालकी विनीता पुनले शतक कटाएकी थिइन्। पुनले ५४ बलमा १०७ रनको पारी खेलेकी थिइन्।

तस्बिर स्रोत, CAB Nepal
नेपालले अमेरिकालाई पराजित गर्दाको खेल असाध्यै रोमाञ्चक थियो।
अमेरिकालाई १७ रनको निकै सस्तो स्कोरमा रोकेको उक्त खेलको रमाइलो तथ्य के हो भने अमेरिकाका ३ खेलाडीले मात्र ४ रन जोडेका थिए। बाँकी १३ रन नेपालबाट अतिरिक्त रनको रूपमा दिएको थियो।
सेमिफाइनलमा भने नेपालको भेट पाकिस्तानसँग भयो। जहाँ नेपाल ३ विकेटले पराजित भयो। फाइनलमा नेपाल फेरि भारतसँग ७ विकेटले पराजित भयो।
सकसपूर्ण सहभागिता

तस्बिर स्रोत, Getty Images
दृष्टिविहीन महिला खेलाडीहरू खेल खेल्नकै लागि कोलम्बो पुग्न समेत निकै सकस बेहोरेको बताउँछन्।
बजेट अभावले गर्दा टोलीको यात्रा अनिश्चित बनेको थियो।
नेपाल दृष्टिविहीन क्रिकेट सङ्घका अध्यक्ष पवन घिमिरेले सहयोगी दाताहरूबाट चन्दा सङ्कलन गरेर प्रतियोगितामा जान सम्भव भएको बताउँछन्
आधिकारिक निकायले वास्ता नगरेको उनको गुनासो थियो।
"बजेटको अभाव मात्र होइन, खेलाडीहरूले प्रशिक्षणका लागि राम्रो मैदानसम्म पनि पाउन सकेका थिएनन्," घिमिरेले भने।
"राष्ट्रिय खेलकुद परिषद्देखि नेपाल क्रिकेट सङ्घलाई पनि प्रशिक्षणमा सहयोग गर्न अनुरोध गर्दा सहयोग पाइएन।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








