एक करोडभन्दा बढी समानुपातिक मत गन्दा रास्वपालाई ५० लाख, ६ दलले 'राष्ट्रिय पार्टी'को मान्यता पाउने सङ्केत

प्रत्यक्ष मतदानमा सीट जित्ने सबै छ दलले समानुपातिकतर्फ कुल सदर मतको तीन प्रतिशत मत कटाएकाले तिनले 'राष्ट्रिय पार्टी'को मान्यता पाउने देखिएको छ।

सारांश

  • प्रतिनिधिसभा निर्वाचन सम्पूर्ण मतगणना अन्तिम चरणमा पुगेको छ, १ करोड ६ लाखभन्दा बढी मत गन्दा रास्वपाले ५० लाख मत पाएको छ
  • निर्वाचन आयोगले प्रत्यक्षतर्फ सबै १६५ स्थानको अन्तिम मतपरिणाम घोषणा गरिसकेको छ, विवाद उत्पन्न भएको धनुषा १ मा नेकपाका मातृका यादव विजयी भएको आयोगले जनाएको छ
  • प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा, नेपाली कांग्रेस दोस्रो, नेकपा एमाले तेस्रो र नेपाली कम्युनिस्ट पार्टी चौथो स्थानमा छन्
  • पहिलो पटक चुनावमा भाग लिएको श्रम संस्कृति पार्टी र पुरानो दल राप्रपाले पनि समानुपातिक मतमा ३ प्रतिशत 'थ्रेश्होल्ड' कटाएर राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ
  • यो निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित हुने छन्

लाइभ कभरेज

  1. ६ दलले 'राष्ट्रिय पार्टी'को मान्यता पाउने सङ्केत

    प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण मतपरिणाम अन्तिम चरणमा पुगेको छ।

    समानुपातिक प्रणालीतर्फ पनि १ करोड ९ लाखमध्ये १ करोड ६ लाखभन्दा बढी मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ।

    प्रत्यक्ष प्रणालीतर्फ १२५ सीट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक प्रणालीतर्फ ५० लाखभन्दा बढी मत पाएको छ।

    निर्वाचन आयोगले विवादका कारण रोकिएको धनुषा १ मा नेपाली कम्युनिस्ट पार्टीका मातृका यादव विजयी भएको जनाउँदै प्रत्यक्षतर्फ सबै १६५ स्थानको अन्तिम मतपरिणाम घोषणा गरेको छ।

    प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फ पछि नेपाली कांग्रेस दोस्रो, नेकपा एमाले तेस्रो र नेपाली कम्युनिस्ट पार्टी चौथो स्थानमा छन्।

    प्रत्यक्षतर्फ सीट जितेका श्रम संस्कृति पार्टी र राप्रपाले पनि समानुपातिक मतमा ३ प्रतिशत 'थ्रेश्होल्ड' कटाएका छन्।

    यो निर्वाचनमा पहिलो पटक भाग लिएको श्रम संस्कृति पार्टीसहित छ वटा दलले राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ। प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सीटका लागि भएको निर्वाचनको अन्तिम परिणाम चैत ५ गते राष्ट्रपतिलाई बुझाउने तयारि गरिएको निर्वाचन आयोगले जनाएको छ।

    यी विवरणसहित हामी आजलाई यो लाइभ पेजबाट बिदा माग्छौँ। दिनभरको साथ र समर्थनका लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद।

    बीबीसी नेपाली सेवाको मुख्य पेजमा यी विभिन्न सामग्रीहरू पनि छन् कृपया पढ्नुहोला।

    बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्नयहाँ क्लिक गर्नुहोस्। तपाईँफेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  2. छोराले एमालेबाट चुनाव जितेपछि बुवा कांग्रेसबाट निष्कासित, प्रकाश पार्की, डडेलधुरा

    ऐन महर र उनका बाबु रामबहादुर महर

    तस्बिर स्रोत, Ain Mahar/FB

    बझाङमा प्रतिनिधिसभा निर्वाचनपछि नेपाली कांग्रेसभित्र अनुशासनको विषय उठेको छ। कांग्रेसले नेपाल किसान सङ्घ बझाङका भूतपूर्व जिल्ला अध्यक्ष रामबहादुर महरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।

    उनीमाथि कांग्रेसका उम्मेदवार प्रकाश रसाइली 'स्नेही'विरुद्ध गतिविधि गरेको आरोप लागेको छ।

    बझाङबाट नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महर विजयी भएका छन्। रोचक कुरा के हो भने कांग्रेसबाट निष्कासित रामबहादुर एमालेबाट विजयी महरका पिता हुन्।

    एमालेका ऐनबहादुरले १८,५४३ मत ल्याउँदै विजयी हुँदा कांग्रेसका स्नेहीले १६,३०४ मत पाएका थिए।

    जिल्ला अनुशासन समितिका संयोजक बर्कबहादुर रोकायाका अनुसार महरले निर्वाचनका क्रममा अन्य दलका उम्मेदवारका पक्षमा मत मागेको प्रमाण भेटिएपछि निष्कासन गरिएको हो।

    कांग्रेसले थप चार जना नेतासँग स्पष्टीकरण पनि मागेको छ।

  3. 'नयाँ सरकार युवा पलायन रोक्न केन्द्रित हुनुपर्छ', करुणा पोखरेल, विद्यार्थी, विराटनगर

    करुणा पोखरेल, विद्यार्थी, विराटनगर

    तस्बिर स्रोत, Karuna Pokharel

    नयाँ बन्ने सरकारले रोजगारी र उच्च शिक्षाका लागि बढ्दै गइरहेको युवा जमातको पलायन रोक्नेतर्फ आफ्नो प्रयास केन्द्रित गर्नुपर्छ। त्यसका लागि स्वदेशमै उद्यमशीलताको विकास गरी बढीभन्दा बढी रोजगारीका अवसर सृजना गर्नुपर्छ। स्वदेशमै गरी खाने वातावरण बन्यो भने युवाहरूको विदेश पलायन कम मात्र हुँदैन, बाध्यताले खाडी मुलुकमा काम गर्न पुगेका लाखौँ युवाहरू पनि फर्कन सक्छन्।

    नयाँ सरकारले उद्यमशीलता विकासका लागि देखिएका अनेकन कानुनी अल्झन भए तत्काल सुधार गर्नेतर्फ ध्यान दिनुपर्छ। अर्को कुरा, सैद्धान्तिकभन्दा पनि अहिलेको नयाँ सूचनाप्रविधिसँग मेल खाने सीपमूलक,व्यावसायिक र व्यावहारिक शिक्षा नीति र पाठ्यक्रम लागु गर्नुपर्छ।

    भुईंमान्छेका लागि स्वास्थ्य सेवा सहज र सुलभ बनाउनुपर्छ। अहिले राजनितिमा आएको परिवर्तन पनि त्यसका लागि दबाव हो भन्ने मलाई लाग्छ किनकि पुरानाले गरेनन्,नयाँले केही गर्लान् कि भन्ने आशा जनताले राखेका छन्।

    विराटनगरस्थित बीबीसी संवाददाता विक्रम निरौलासँगको टेलिफोन कुराकानीमा आधारित

  4. कोशी प्रदेशमा रास्वपाका समेत ३९९ उम्मेदवारको जमानत जफत, विक्रम निरौला, विराटनगर

    हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विभिन्न राजनितिक दल तथा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका कोशी प्रदेशका ३९९ जना उम्मेदवारको जमानत जफत भएको कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ।

    कोशीका १४ जिल्लाका २८ वटा निर्वाचन क्षेत्रबाट ४९५ जनाले उम्मेदवारी दिएका थिए। उक्त चुनावमा ९६ जना उम्मेदवारहरुको मात्र जमानत जोगिएको उक्त कार्यालयका गुनासो सुन्ने अधिकारी चोलाराज दङ्गालले बीबीसीलाई बताए।

    जमानत जफत हुने उम्मेदवारहरूमध्ये सबैभन्दा बढी सुनसरीमा १००, मोरङमा ९१ र झापामा ७८ जना रहेका छन्। यस्तै उदयपुरमा २१, इलाममा १८, धनकुटामा १३, सङ्खुवासभामा १२,खोटाङमा ११, ओखलढुङ्गामा ११, सोलुखुम्बुमा नौ, ताप्लेजुङमा नौ, तेह्रथुममा आठ र भोजपुरमा सात जना उम्मेदवारको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ।

    कोशी प्रदेशसहित देभेशभर नै अत्यधिक मत ल्याएर प्रत्यक्ष तथा समानुपातिक दुवै प्रणालीमा पहिलो बनेको रास्वपाका केही उम्मेदवारहरूको जमानत जफत भएको पाइएको छ। कोशी प्रदेशका खोटाङ, सोलुखुम्बु, ताप्लेजुङ र पाँचथरमा रास्वपाका उम्मेदवारको जमानत जफत भएको छ।

  5. सुदूरपश्चिममा १५० जनाको जमानत जफत, प्रकाश पार्की, डडेल्धुरा

    सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका २०६ उम्मेदवारमध्ये १५० जनाको जमानत जफत भएको छ।

    प्रदेशका नौवटै जिल्लाका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा चुनावमा उठेकामध्ये १५० जनाको जमानत जफत भएको हो।

    तीमध्ये तीन जना पूर्वमन्त्रीसमेत छन्। उनीहरू हुन् -

    • गौरीशङ्कर चौधरी, कैलाली ३, एमाले
    • मानबहादुर सुनार, कञ्चनपुर ३, नेकपा
    • प्रकाशबहादुर शाह, बाजुरा, नेकपा

    प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ।

  6. सुदूरपश्चिममा १२ जना पूर्वमन्त्रीको हार, हिक्मतबहादुर रावल, धनगढी

    फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रबाट प्रतिस्पर्धा गरेका १२ जना पूर्वमन्त्रीले हार बेहोरेका छन्।

    अछामबाट पटकपटक निर्वाचित भई यसअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका भीम रावल नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँरसँग पराजित भए।

    एमाले उपमहासचिव समेत रहेका लेखराज भट्ट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खेमराज कोइरालासँग पराजित भए।

    एमालेकै तर्फबाट बैतडीमा उम्मेदवार बनेका दामोदर भण्डारी पनि रास्वपाका हरिमोहन भण्डारीसँग पराजित भए।

    कञ्चनपुर १ मा नेपा कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेकी पूर्वमन्त्री बिना मगर तथा एमालेका उम्मेदवार तारा लामा तामाङ दुवैलाई रास्वपाका जनकसिंह धामीले पराजित गरे। तामाङ भने चौथो स्थानमा सीमित भए।

    भूतपूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले पनि रास्वपाका आनन्दबहादुर चन्दसँग पराजित भए।

    बाजुराबाट नेकपाका उम्मेदवार तथा सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री प्रकाशबहादुर शाहले पनि हार बेहोरे।

    कञ्चनपुर ३ मा उम्मेदवार बनेका प्रदेशका पूर्वमन्त्री मानबहादुर सुनार पनि पराजित भए।

    त्यस्तै कैलाली ३ मा प्रतिस्पर्धा गरेका सङ्घीय सरकारका पूर्वमन्त्री गौरीशङ्कर चौधरी पाँचौँ स्थानमा सीमित भए। सो क्षेत्रबाट रास्वपाका जगतप्रसाद जोशी निर्वाचित भएका छन्।

    यसै गरी चुनाव हार्ने पूर्वमन्त्रीहरूमा कञ्चनपुर २ का नेपाली कांग्रेस उम्मेदवार नारायणप्रकाश (एनपी) साउद, डोटीबाट चुनाव लडेका सुदूरपश्चिमका भूतपूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट र कैलाली १ बाट चुनाव लडेका पूर्वराज्यमन्त्री जनकराज चौधरी रहेका छन् ।

    नेकपा एमालेबाट दार्चुलामा उम्मेदवार भएका सङ्घीय सरकारका पूर्वमन्त्री गणेशबहादुर ठगुन्ना र पूर्वमन्त्री जनकराज गिरिले बाजुराबाट चुनाव जितेका छन् । गिरि विसं २०५६ को आमनिर्वाचनमा बाजुराबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। उनी भूमिसुधार राज्यमन्त्री बनेका थिए।

  7. जनप्रतिनिधि रिक्त भएका स्थानीय तहमा उपचुनाव हुन्छ कि हुँदैन?, अशोक दाहाल, बीबीसी न्यूज नेपाली

    बालेन शाहको स्केच

    तस्बिर स्रोत, EPA

    प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न कार्यकाल सकिनुअगावै जनप्रतिनिधिले पदबाट राजीनामा दिएका कारण रिक्त रहेका पदमा अब उपचुनाव हुन्छ वा हुँदैन भन्ने चासो व्यक्त भएका छन्।

    कैयौँ स्थानीय सरकारका प्रमुख, उपप्रमुख, वडाध्यक्षसहितका जनप्रतिनिधिहरूले राजीनामा दिएर फागुन २१ को संसदीय निर्वाचनमा उम्मेदवार बनेका थिए।

    स्थानीय तहको नियमित निर्वाचन आउन अझै एक वर्षभन्दा धेरै अवधि बाँकी रहेका कारण पनि रिक्त रहेका पदमा उपनिर्वाचन हुन्छ कि हुँदैन भन्ने मानिसहरूको चासो देखिएको छ।

    निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले स्थानीय निकायका जनप्रतिनिधि रिक्त रहेका स्थानमा उपनिर्वाचन गर्ने वा नगर्ने विषयमा आयोगले निर्णय लिन बाँकी नै रहेको बताए।

    “हामी अहिले पनि प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्तिम गर्ने काममै लागिरहेका छौँ। स्थानीय तहमा एक वर्षभन्दा बढी समय नै बाँकी भएकाले उपनिर्वाचन गर्ने कि नगर्ने विषयमा आयोगले निर्णय लिन्छ,” उनले भने।

  8. समानुपातिक सीट पाउन र 'राष्ट्रिय दल' बन्न कस्तो प्रावधान छ

    प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा समानुपातिक निर्वाचनको परिणामको प्रावधान समाविष्ट छ।

    उक्त दफाको उपदफा ११ मा "समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने" उल्लेख छ।

    राजनीतिक दलसम्बन्धी ऐन, २०७२ को दफा ५२ मा राष्ट्रिय मान्यता प्राप्त गर्न पूरा गर्नुपर्ने आवश्यकता उल्लेख छ।

    "प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक प्रणालीतर्फ एक सीट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको रूपमा मान्यता प्राप्त गर्ने छ," त्यसमा भनिएको छ।

  9. नयाँ सांसदबाट ‘जेन जी’ युवाका अपेक्षा

    भिडिओ क्याप्शन सुरु हुँदैछ, नयाँ सांसदबाट ‘जेन जी’ युवाका अपेक्षा
  10. पार्टीहरूले समानुपातिक सीट कसरी जित्छन्?, केशव कोइराला, बीबीसी न्यूज नेपाली

    प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद छान्ने गरी भएको प्रतिनिधिसभाको निर्वाचनमा समानुपतिक तर्फ खसेको एक करोड पाँच लाख मत गनिँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ४८ प्रतिशत, नेपाली कांग्रेसले १६.२ प्रतिशत, नेकपा एमालेले १३.५ प्रतिशत र नेपाली कम्युनिस्ट पार्टीले ७.३ प्रतिशत पाएका छन्।

    त्यसै गरी प्रत्यक्षतर्फ आफ्ना उम्मेदवार निर्वाचित गराउन सफल अन्य दुई दल श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि तीन प्रतिशत मत कटाएका छन्।

    अहिले कुन दलले कति समानुपातिक सीट पाउँछन् र त्यसको निर्णय कसरी हुन्छ भन्ने जिज्ञासा धेरैमा देखिन्छ। यो प्रणालीतर्फ पार्टीहरूले प्राप्त गर्ने सीट गणना गर्न एउटा विशेष गणितीय सूत्र प्रयोग हुन्छ।

    त्यो सूत्रका आधारमा पार्टीहरूलाई कसरी सीट वितरण गरिन्छ?

    यसअघि त्रुटिवश समानुपातिक सीट प्राप्त गर्न प्रत्यक्षतर्फ एक सीट जितेको हुनुपर्ने लेखिएकाले क्षमायाचना गर्दै संशोधन गरिएको छ।

  11. 'भ्रष्टाचार नियन्त्रण र सुशासनमा ध्यान पुगोस्', हिक्मत बहादुर रावल, धनगढी

    कृतिनिधि विष्ट

    तस्बिर स्रोत, Hikmat B Rawal/BBC

    धनगढीमा भेटिएका २३ वर्षीय कीर्तिनिधि विष्ट नयाँ सरकारको मुख्य ध्यान "भ्रष्टाचार नियन्त्रण र सुशासनमा केन्द्रित हुनुपर्ने" बताउँछन्।

    “देशभित्र पर्याप्त अवसर नहुँदा धेरै युवाहरू विदेश जान बाध्य छन्। त्यसैले रोजगारी सिर्जना गर्ने नीति र कार्यक्रमलाई समेत सरकारले विशेष प्राथमिकतामा राख्नुपर्छ,” उनले बीबीसीसँग भने।

    सबैभन्दा ठूलो दलका रूपमा आएको रास्वपासामु युवाहरूको "विश्वासको सम्मान गर्न" त्यसरी ध्यान दिनुपर्ने जिम्मेवारी आएको उनी बताउँछन्।

    उनले युवाहरूले "परिवर्तनको आशासहित मतदान गरेकाले" नयाँ सरकार त्यसप्रति निकै जिम्मेवार हुनुपर्ने बताउँछन्।

    त्यसैले सरकार गठनपछि “पारदर्शिता, जबाफदेहिता र प्रभावकारी शासन“लाई प्राथमिकता दिनुपर्ने उनी बताउँछन्।

    विष्टले रोजगारी सिर्जनामा सरकारको मुख्य ध्यान हुनुपर्ने बताए।

  12. कोशीमा रास्वपालाई आधाभन्दा बढ्ता सीट, राष्ट्रिय बन्दै हर्क साम्पाङको दल, विक्रम निरौला, विराटनगर

    केपी शर्मा ओली

    तस्बिर स्रोत, Reuters

    १४ जिल्लामा २८ सीट रहेको कोशी प्रदेशमा रास्वपाले १७ सीट जितेको छ। कांग्रेस र एमालेले चार-चार सीट जिते।

    नयाँ दल श्रम संस्कृति पार्टीले तीन सीट जितेको छ। प्रत्यक्षमा पार्टी अध्यक्ष हर्क साम्पाङ राईसहित ३ सीट जितेको श्रम संस्कृति पार्टीले कोशी प्रदेशमा समानुपातिकतर्फ रास्वपापछि दोस्रो बढी मत पाएको छ।

    तीन प्रतिशतको थ्रेशहोल्ड मत कटाएर उक्त पार्टी राष्ट्रिय पार्टी बन्ने देखिएको छ ।

    रास्वपाले झापा, सुनसरी र उदयपुर जिल्लामा सबै सीट जितेको छ।

    एक दर्जनभन्दा बढी दलहरूको एकताबाट बनेर चुनावी मैदानमा उत्रिएको नेकपाले कोशी प्रदेशमा एक सीट पनि जित्न सकेन।

  13. कर्णालीका १३८ मध्ये ९० जना उम्मेदवारको धरौटी जफत, प्रकाश पन्त, सुर्खेत

    मतदाता

    तस्बिर स्रोत, Prakash Pant/BBC

    प्रत्यक्षतर्फ चुनाव लडेका विभिन्न दल एवं स्वतन्त्र गरी कर्णाली प्रदेशमा ९० जना उम्मेदवारको धरौटी जफत भएको छ।

    प्रदेश निर्वाचन कार्यालयका प्रमुख लालबहादुर गुरुङका अनुसार १० जिल्लाका १२ वटा निर्वाचन क्षेत्रबाट चुनावमा लडेका १३८ जनामध्ये ९० जना उम्मेदवारको धरौटी जफत भएको हो।

    हुम्लामा ७ मध्ये ४ जना, डोल्पामा ९ मध्ये ६ जना, सल्यानमा १४ मध्ये १० जना, मुगुमा ७ मध्ये ४ जना, जुम्लामा १० मध्ये ६ जना उम्मेदवारको धरौटी जफत भएको बताइएको छ। यस्तै कालिकोटमा १० मध्ये ६ जना, जाजरकोटमा ११ मध्ये ८ जना, दैलेखमा २१ मध्ये १३ जना, सुर्खेतमा ३० मध्ये २४ जना र रुकुम पश्चिममा १२ मध्ये ९ जना उम्मेदवारले धरौटी फिर्ता हुनेगरी मत ल्याउन सकेनन्।

    चुनाव लड्न एकजना उम्मेदवारले धरौटीस्वरूप दश हजार रुपैयाँ राख्न पर्थ्यो। धरौटी फिर्ता ल्याउन नसकेका ९० जना उम्मेदवारबाट सङ्कलन भएको ९ लाख रुपैयाँ राज्य कोषमा जम्मा हुने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

    प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ का अनुसार खसेको कुल सदर मतको दश प्रतिशत भन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुन्छ ।

  14. लुम्बिनीमा केही चर्चित उम्मेदवारको पनि जमानत जफत, माधव नेपाल, बुटवल

    बासुदेव घिमिरे

    तस्बिर स्रोत, fb/Basu Dev Ghimire

    प्रतिनिधि सभाको निर्वाचनमा लुम्बिनी प्रदेशका केही चर्चित उम्मेदवारहरूको जमानत जफत भएको छ।

    यसअघिका निर्वाचनमा एकीकृत समाजवादी पार्टीबाट दाङ-१ मा निर्वाचित पूर्वमन्त्री मेटमणि चौधरीले यो निर्वाचनमा जमानत जोगाउन पनि सकेनन्। सोही क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट चुनावमा उठेका चौधरीले यस पटक ४ हजार ९६५ मत मात्र प्राप्त गरेका छन्। जबकि यसअघिको निर्वाचनमा उनले २६ हजार ५७६ मत प्राप्त गरेका थिए।

    पाल्पा-२ बाट चुनाव लडेका सोमप्रसाद पाण्डेयको पनि जमानत जफत भएको छ। पूर्वमन्त्रीसमेत रहेका पाण्डेय नेकपाबाट उम्मेदवार बनेका थिए। यस पटक उनले ५ हजार २८८ मत मात्र प्राप्त गरेका छन्।

    रुपन्देही-२ बाट चुनाव लडेका पूर्व सांसद तथा तिलोत्तमा नगरपालिकाका पूर्वमेयर वासुदेव घिमिरेले पनि यसपटक नराम्रोसँग हार बेहोरेका छन्। यसअघिको निर्वाचनमा रुपन्देही-५ बाट ३६ हजार ८२२ मतले विजय भएका घिमिरेले यस पटक निर्वाचन क्षेत्र परिवर्तन गरेका थिए। नेकपा एमालेबाट रुपन्देही-३ मा उठेका घिमिरेले यस पटक ८ हजार २७५ मत पाएका छन्। जुन मतले उनको जमानत जोगिँदैन।

    यस्तै रुपन्देही-४ बाट जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बनेका पूर्व मन्त्री सर्वेन्द्रनाथ शुक्लले पनि यस पटक जमानत जोगाउन सकेनन्। यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट चुनाव लडेका शुक्लले २८ हजार मत ल्याएर विजय भएका थिए। तर यसपटक भने उनले ३ हजार ४१० मत मात्र ल्याएका छन्।

    नवलपरासी पश्चिम-२ बाट उम्मेदवारी दिएका पूर्व प्रहरी प्रमुख एवं पूर्व सांसद ध्रुवबहादुर प्रधानको पनि यस पटक जमानत जफत भएको छ। गएको चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व गर्दै ३४ हजार ७६४ मतले विजयी भएका प्रधानले यस पटक ४ हजार ६९१ मत मात्र प्राप्त गरेका छन्।

  15. देशव्यापी लहरमा रास्वपा कहाँ, कस्तो देखियो?, प्रदीप बस्याल, बीबीसी न्यूज नेपाली

    रास्वपा

    तस्बिर स्रोत, EPA

    प्रत्यक्षतर्फ नै बहुमतभन्दा १३ सीट मात्र पर - १२५ सीट रहेको र समानुपातिकतर्फ खसेको मतको करिब आधा सङ्ख्या पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को देशव्यापी लहर सबैतिर एकनासको भने छैन।

    प्रत्यक्षतर्फको पूरै नतिजा आइसक्दा ७७ मध्ये ४० जिल्लाका सबै सीट रास्वपाले जितेको छ। मधेस प्रदेशमा रास्वपा बलियो देखियो जहाँ कुल ३२ सीटमध्ये ३० वटामा रास्वपाले जित्यो। बागमती प्रदेशमा समेत कुल ३३ मध्ये ३१ सीटमा रास्वपाले जितेको छ।

    तर कर्णाली प्रदेशमा १२ निर्वाचन क्षेत्रमध्ये उक्त दलले १ सीट मात्र जित्न सफल भएको छ। कर्णालीपछि कमजोर रहेको ठानिएको सुदूरपश्चिम प्रदेशमा समेत कुल १६ सीटमध्येमा १० मा रास्वपाले जितेको छ।

    अघिल्लो संसद्‍मा चौथो ठूलो दलका रूपमा रास्वपाका कुल २१ सांसद् मात्र थिए।

  16. डडेलधुरामा कांग्रेसको विजययात्रामा रास्वपाको 'ब्रेक', प्रकाश पार्की, डडेलधुरा

    ताराप्रसाद जोशी

    तस्बिर स्रोत, Prakash Parki/BBC

    तीन दशकभन्दा बढी समयदेखि डडेलधुरालाई नेपाली कांग्रेसको सुरक्षित सीट मानिन्थ्यो। शेरबहादुर देउवा यहाँ २०४८ सालदेखि कांग्रेसबाट निरन्तर उम्मेदवार बन्दै आएका थिए। उनले २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ साल गरेर निरन्तर सात पटक चुनाव जितेका थिए।

    चुनावका बेला देउवा प्रायः ‘मैले जिते प्रधानमन्त्री बन्छु, अरूले जिते माननीय मात्रै हुन्छन्’ भन्दै मत माग्थे। यही जनमतका आधारमा उनी पाँच पटक देशको प्रधानमन्त्री बने भने दुई कार्यकाल नेपाली कांग्रेसको सभापति पनि रहे। तर यस पटक देउवा चुनावी मैदानमा थिएनन्।

    यहाँ नेपाली कांग्रेसको ३४ वर्षदेखिको अपराजित यात्रामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले 'ब्रेक' लगाइदिएको छ।

    कांग्रेसले नेपाल विद्यार्थी सङ्घका भूतपूर्व केन्द्रीय अध्यक्ष नैनसिंह महरलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको थियो। तर उनी ७,००० भन्दा बढीको मतान्तरले रास्वपाका उम्मेदवार ताराप्रसाद जोशीसँग पराजित भए।

    डडेलधुराले ३४ वर्षपछि सङ्घीय संसद्‌मा पहिलो पटक नयाँ अनुहार पठाएको छ।

    प्रदेशसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा चुनाव लडेका जोशीले यस पटक विजय हासिल गर्दै सङ्घीय संसद्को यात्रा तय गरेका हुन्। यसअघि २०७० सालको निर्वाचनमा जोशी देउवासँग प्रतिनिधिसभामा पराजित भएका थिए भने २०७४ सालमा कर्णबहादुर मल्लसँग प्रदेशसभा चुनावमा पराजित भएका थिए।

  17. कास्कीमा रास्वपाका उम्मेदवारलाई भन्दा दललाई धेरै मत, कृष्णमणि बराल, पोखरा

    पोखराको फेवाताल

    तस्बिर स्रोत, KRISHNAMANI BARAL/BBC

    कास्की जिल्लाका तीन निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रत्यक्षतर्फका उम्मेदवारले पाएको कुल मतभन्दा पार्टीले बढी समानुपातिक मत मत पाएको छ।

    नेपाली कांग्रेस र नेकपा एमालेले भने दलले पाएको समानुपातिक मतभन्दा प्रत्यक्ष तर्फका उम्मेदवारले बढी मत पाए।

    कास्की जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबाहेक अन्य दलका उम्मेदवारहरूको धरौटी जफत भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

    कास्कीमा तीनवटै सीटमा रास्वपाका उम्मेदवारहरू विजयी भएका हुन्।

    • रास्वपाले समानुपातिकमा ,११,२६८ मत पाएको छ भने प्रत्यक्षतर्फ तीन उम्मेवारले पाएको मतको कुल सङ्ख्या १,०९,५४४ छ।अर्थात् दुइटा प्रणालीबाट प्राप्त मतको अन्तर ४,०४८ छ।
    • नेपाली कांग्रेसले समानुपातिकमा २८,६५६ पायो। त्यो तीन उम्मेदवारले प्रत्यक्षतर्फ पाएको कुल मतभन्दा १,८३८ बढी हो।
    • एमालेले कुल २५,८२८ समानुपातिक मत पायो। त्यो प्रत्यक्षतर्फ सो दलले तीन स्थानमा पाएको कुल मतभन्दा १,६२९ ले कम हो।
  18. यसपालि छवटा पार्टीले राष्ट्रिय मान्यता पाउन सक्ने, प्रदीप बस्याल, बीबीसी न्यूज नेपाली

    मतदान

    तस्बिर स्रोत, EPA

    निर्वाचन आयोगले प्रत्यक्षतर्फ १६५ क्षेत्रको परिणाम घोषणा गरिसकेको छ। समानुपातिकतर्फको गणना अन्तिम चरणमा पुगेको छ।

    प्रत्यक्षतर्फको परिणाम र समानुपातिकतर्फको मतको अनुपातका आधारमा अब नयाँ प्रतिनिधिसभाको नयाँ संरचना कस्तो हुन्छ भन्ने सङ्केत स्पष्ट भइसकेको छ।

    प्रत्यक्ष र समानुपातिक मत दुवैतर्फ रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्। तीसहित यसपालि छवटा दलले 'राष्ट्रिय पार्टी'को मान्यता पाउने गरी समानुपातिक मतमा पनि तीन प्रतिशत मत कटाएका छन्।

    यद्यपि केही पुराना दलले राष्ट्रिय पार्टीको मान्यता गुमाउने भएका छन्। नवगठित श्रम संस्कृति पार्टीले संसद्‌‌ प्रवेश गर्ने अवसर मात्र नभई राष्ट्रिय पार्टीको मान्यता पाउने पनि देखिएको छ।

    कोशी प्रदेशका तीन स्थानमा प्रत्यक्ष निर्वाचन जितेको उक्त दलले समानुपातिक प्रणालीबाट पनि थप सीट सुनिश्चित गरिसकेको छ। प्रत्यक्षमा एक सीट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक सीट पाउने प्रबल सम्भावना छ। तर उक्त दल यसपालि प्रतिनिधिसभामा छैटौँ स्थानमा सीमित हुने छ।

    विगतमा राष्ट्रिय दल रहेका जसपा-नेपाल र जनमत पार्टीले प्रत्यक्षतर्फ कुनै सीट जित्न सकेनन्। प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६० को उपदफा १२ मा समानुपातिकमा तीन प्रतिशतभन्दा कम मत ल्याउने दलहरूको मत "दलले प्राप्त गरेको कुल मतमा गणना गरिने छैन" भन्ने व्यवस्था उल्लेख छ।

    निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ कुल ५७ निर्वाचन चिह्न प्रयोग गरेर दलहरूले निर्वाचनमा भाग लिएका थिए।

    मतगणना

    तस्बिर स्रोत, RSS

    के फरक पर्छ?

    राष्ट्रिय दलले अर्को निर्वाचनसम्मका लागि आफ्नो चुनाव चिह्न सुरक्षित गर्न पाउने कानुनी व्यवस्था छ।

    तर राष्ट्रिय दल नभए पनि दुई जनाभन्दा धेरै सांसद भएका दलहरूलाई संसदीय दलको कार्यालय सहितका सुविधा उपलब्ध गराउने अभ्यास छ।

    राष्ट्रिय दल नभए पनि आफ्ना सांसदहरूलाई पार्टीले दलको 'ह्विप' लगाउन सक्ने यसअघिको संसदीय नजिरबाट स्थापित भइसकेको कतिपयको बुझाइ छ।

  19. प्रत्यक्षतर्फका १६५ सीटमध्ये कुन पार्टीलाई कति

    निर्वाचन आयोगले विवादका कारण रोकिएको धनुषा १ को मतपरिणाम घोषणा गरेसँगै गत साता सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ सबै १६५ क्षेत्रको नतिजा सार्वजनिक भएको छ।

    नेपाल निर्वाचन प्रत्यक्षतर्फको मतपरिणाम
  20. रास्वपाले कटायो ५० लाख मत

    निर्वाचन आयोगले मङ्गलवार बिहानसम्म समानुपातिकतर्फ एक करोड चार लाखभन्दा बढी मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख मत पाएको जनाएको छ।