जनप्रतिनिधि रिक्त भएका स्थानीय तहमा उपचुनाव हुन्छ कि हुँदैन?

सार्वजनिक बसमा पेन्ट गरिएको बालेन शाहको पोर्ट्रेट

तस्बिर स्रोत, EPA/Shutterstock

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ४ मिनेट

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न कार्यकाल सकि अगावै जनप्रतिनिधिले पदबाट राजीनामा दिएका कारण रिक्त रहेका पदमा अब उपचुनाव हुन्छ वा हुँदैन भन्ने चासो व्यक्त भएको छ।

कैयौँ स्थानीय सरकारका प्रमुख, उपप्रमुख र वडाध्यक्षसहितका जनप्रतिनिधिहरूले राजीनामा दिएर फागुन २१ को संसदीय निर्वाचनमा उम्मेदवार बनेका थिए।

स्थानीय तहको नियमित निर्वाचन आउन अझै एक वर्षभन्दा धेरै अवधि बाँकी रहेका कारण पनि रिक्त रहेका पदमा उपनिर्वाचन हुन्छ कि हुँदैन भन्ने मानिसहरूको चासो देखिएको छ।

कानुन र अभ्यासमा के छ?

स्थानीय तह निर्वाचन ऐनको दफा ३ को उपदफा २ मा एक वर्षभन्दा बढी पदावधि बाँकी रहँदै पद रिक्त भएको अवस्थामा कार्यकारी पदहरूको उपनिर्वाचन गर्न सकिने व्यवस्था छ।

"जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष एवम् नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिको लागि निर्वाचन आयोगको परामर्श लिई नेपाल सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पूर्ति गरिने छ," ऐनमा भनिएको छ।

"तर एक वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन गरिने छैन।"

मतदानपछि नङमा लगाइएको मसी

तस्बिर स्रोत, EPA

यसअघि निर्वाचन आयोगले गत वर्ष मङ्सिर १६ गते तीनवटा स्थानीय तहका प्रमुखसहित ४१ पदमा उपनिर्वाचन गराएको थियो।

विभिन्न कारण प्रमुखविहीन बनेका कीर्तिपुर नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिकामा उपनिर्वाचनबाट नयाँ प्रमुख छानिएका थिए।

निर्वाचन आयोग के भन्छ?

निर्वाचन आयोगको कार्यालय

तस्बिर स्रोत, Getty Images

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले स्थानीय निकायका जनप्रतिनिधि रिक्त रहेका स्थानमा उपनिर्वाचन गर्ने वा नगर्ने विषयमा आयोगले निर्णय लिन बाँकी नै रहेको बताए।

"हामी अहिले पनि प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्तिम गर्ने काममै लागिरहेका छौँ। स्थानीय तहमा एक वर्षभन्दा बढी समय नै बाँकी भएकाले उपनिर्वाचन गर्ने कि नगर्ने विषयमा आयोगले निर्णय लिन्छ," उनले भने।

स्थानीय सरकारको प्रमुखबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारहरू पराजित भएका छन्।

नगर प्रमुख वा गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर सांसदका उम्मेदवार बनेका र बीबीसीको जानकारीमा रहेका १० जना स्थानीय सरकार प्रमुखमध्ये काठमाण्डू महानगरपालिकाका पूर्वमेअर बालेन शाह र धरानका पूर्वमेअर हर्क साम्पाङ मात्रै निर्वाचित भए।

अधिकांश स्थानीय सरकार प्रमुख सांसद चुनिन विफल

हर्क साम्पाङ

स्थानीय सरकार प्रमुख हुँदा चर्चामा रहेका चितवनको भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल र काभ्रेको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जू श्रेष्ठ संसदीय चुनावमा सफल हुन सकेनन्।

चितवन ३ बाट उम्मेदवार बनेकी दाहाल रास्वपाकी सोविता गौतमसँग फराकिलो मतान्तरले पराजित भइन्। काभ्रे २ बाट उम्मेदवार बनेका ब्यान्जू श्रेष्ठ तेस्रो स्थानमा सीमित भए। यो क्षेत्रमा रास्वपाका वदनकुमार भण्डारी निर्वाचित भए।

त्यसै गरी मोरङको रङ्गेली नगरपालिकाका प्रमुख दीलिप अग्रवाल पनि मोरङ २ बाट उम्मेदवार बनेका थिए। यो क्षेत्रमा अग्रवाललाई फराकिलो मतान्तरले पछि पार्दै रास्वपाका कृष्णकुमार कार्की निर्वाचित भए।

इलामको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई प्रतिनिधिसभा निर्वाचनमा विफल भए। राईले नेतृत्व गरेको सूर्योदय नगरपालिका उत्कृष्ट स्थानीय तहमध्ये पर्न सफल भए पनि प्रतिनिधिसभा निर्वाचनमा उनी पाँचौँ स्थानमा सीमित भए। यो क्षेत्रमा कांग्रेसका निश्कल राई निर्वाचित भए।

त्यसै गरी सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका अध्यक्षबाट राजीनामा दिएका अशिम राई पनि दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भए। यो क्षेत्रमा कांग्रेसका प्रकाशसिंह कार्की निर्वाचित भए।

दोस्रो कार्यकाल उदयपुरको लिम्चुङबुङ गाउँपालिका अध्यक्ष जितेका मेजरकुमार राईले पनि स्थानीय सरकार छोडेर प्रतिनिधिसभा उम्मेदवार बन्दा जम्मा ९० मतमा चित्त बुझाउनुपर्‍यो। नेपाली कम्युनिस्ट पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका राई उम्मेदवार रहेको स्थानमा रास्वपाका सूर्यबहादुर तामाङ निर्वाचित भए।

स्याङ्जाको कालिकण्डकी गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर प्रतिनिधिसभा उम्मेदवार बनेका खिमबहादुर थापा तेस्रो भए। उनी उम्मेदवार बनेको स्याङ्जा क्षेत्र नम्बर २ मा रास्वपाका झविलाल डुम्रे निर्वाचित भए।

कैलालीको टीकापुर नगरपालिका प्रमुखबाट राजीनामा दिएर कैलाली १ मा उम्मेदवार बनेका रामलाल डगौरा थारूले तेस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो। उनको क्षेत्रमा रास्वपाकी कोमल ज्ञवाली निर्वाचित भइन्।

स्थानीय सरकार प्रमुख रिक्त रहेका स्थान

  • बालेन्द्र (बालेन) शाह,काठमाण्डू महानगरपालिका, काठमाण्डू
  • हर्क साम्पाङ, धरान उपमहानगरपालिका, सुनसरी
  • रेणु दाहाल, भरतपुर महानगरपालिका, चितवन
  • अशोक ब्यान्जू, धुलिखेल नगरपालिका, काभ्रे
  • दीलिप अग्रवाल, रङ्गेली नगरपालिका, मोरङ
  • रणबहादुर राई, सूर्योदय नगरपालिका, इलाम
  • अशिम राई, थुलुङ दूधकोशी गाउँपालिका, सोलुखुम्बु
  • मेजरकुमार राई, लिम्चुङबुङ गाउँपालिका, उदयपुर
  • खिमबहादुर थापा, कालिकण्डकी गाउँपालिका, स्याङ्जा
  • रामलाल डगौरा थारू, टीकापुर नगरपालिका, कैलाली

प्रमुखबाहेक ओखलढुङ्गाको लिखु गाउँपालिका र बाँकेको नेपालगन्ज उपमहानगरपालिकासहितका कतिपय स्थानीय तहमा उपाध्यक्ष तथा उपप्रमुख पनि रिक्त भएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।