मतगणना कसरी हुन्छ, कस्तो मतपत्र बदर हुन्छ

मतगणना गरेको साङ्केतिक चित्राङ्कन
    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ५ मिनेट

प्रतिनिधिसभाको निर्वाचनमा मतदान गर्ने निर्धारित समय सकिएको छ। धेरैले मतगणना कसरी हुन्छ र गणना सकिन कति दिन लाग्छ भन्ने चासो व्यक्त गर्न थालेका छन्।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतपेटिका सङ्कलनपश्चात्‌ २४ घण्टामा मतगणना सक्ने लक्ष्य रहेको बताएका छन्।

सुरक्षाका लागि विगतमा कतिपय गणनास्थलमा तारजाली लगाउने गरिएको थियो। उनका अनुसार यसपालि पनि आवश्यकतानुसार त्यस्तो व्यवस्था गरिएको छ।

"स्थानीय स्तरमा जे आवश्यक छ त्यो गर्न हामीले भनेका छौँ। जहाँ त्यो [तारजाली] आवश्यक हुन्छ, त्यहाँ राखिएको छ," बीबीसी न्यूज नेपालीसँग उनले भने।

तोकिएका व्यक्तिबाहेक अरू मानिस मतपत्रसम्म पुग्न नसकून् भनेर आवश्यक प्रबन्ध मिलाइने आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले बताए।

"मतगणना गर्ने कर्मचारीबाहेक अरूले मतपत्र छुन नपाऊन् भन्ने हिसाबले व्यवस्था हुन्छ," बीबीसी न्यूज नेपालीसँग उनले भने।

प्रतिनिधिसभा सदस्य चयनका लागि देशभरि एकै चरणमा चुनाव भयो। प्रत्यक्षतर्फ देशका १६५ निर्वाचन क्षेत्रमा ३,४०० भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन्।

मतगणना गर्ने ठाउँ कसरी छानियो

काठमाण्डूमा मतदान गर्दै एक महिला

तस्बिर स्रोत, EPA

निर्वाचन अधिकृतले मतदान हुने दिनभन्दा पहिल्यै मतगणना गरिने स्थान तोकेर त्यसबारे सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था मतगणना निर्देशिकामा छ।

पर्याप्त स्थान तथा सुरक्षाको उचित व्यवस्था हुने गरी निर्वाचन अधिकृतको कार्यालय, अन्य सरकारी कार्यालय वा अन्य उपयुक्त भवनमा मतगणना हुने गरी तोक्नुपर्छ।

सबै मतदानकेन्द्रबाट मतपेटिका प्राप्त भएपछि निर्वाचन अधिकृतले मतगणना गर्ने स्थान, मिति र समय उल्लेख गरी सूचना प्रकाशन गर्नुपर्छ।

"मतदान अधिकृतले बुझाएका मतपेटिका निर्वाचन अधिकृतले सङ्कलन गरी प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फका मतपेटिका छुट्टिने गरी सकेसम्म एउटै कोठामा सुरक्षित रूपमा राख्नुपर्छ," आयोगका सहायक प्रवक्ता जीसीले भने।

मतपेटिका राखिएका कोठाको झ्याल र ढोकामा निर्वाचन अधिकृतले बलियो चुकुल तथा ताला लगाई आफूले सहीछाप गरी लाहाछाप समेत लगाउनुपर्ने व्यवस्था छ।

"निर्वाचन अधिकृतले मतपेटिका राखिएको कोठामा सम्भव भएसम्म सीसीटीभी जडान गर्ने व्यवस्था मिलाउनुपर्ने छ," निर्देशिकामा छ।

मतगणना गर्ने स्थानमा कोको हुन्छन्

निर्वाचन सामग्री तयार पार्दै निर्वाचन आयोगका कर्मचारी

तस्बिर स्रोत, RSS

जीसीका अनुसार निर्वाचन अधिकृतले मतदानकेन्द्रबाट मतपेटिका प्राप्त हुनुअगावै मतगणना गर्ने कर्मचारीको प्रबन्ध गर्नुपर्छ।

मतपेटिका राखिएको कोठाबाहिर उम्मेदवार, निर्वाचन प्रतिनिधि वा तिनबाट अधिकारप्राप्त प्रतिनिधि बस्न चाहेमा निर्वाचन अधिकृतले अनुमति दिनुपर्छ।

"निर्वाचन अधिकृतले मतगणना कार्य सुरु हुनुअघि उम्मेदवार तथा उम्मेदवार वा दलका प्रतिनिधिलाई बोलाएर आवश्यक छलफल गरी मतगणना प्रक्रियाबारे जानकारी गराउनुपर्छ," आयोगका सूचना अधिकारी सुमन घिमिरेले बीबीसी न्यूज नेपालीसँग भने।

मतगणना निर्देशिकाअनुसार निर्वाचन अधिकृतले सम्भव भएसम्म एउटै कोठा वा ठाउँमा मतगणना गर्ने व्यवस्था गर्नुपर्छ।

"एउटै कोठा वा ठाउँमा पर्याप्त ठाउँ नपुगेमा सोही भवनको अर्को कोठा वा ठाउँमा पनि गर्न सकिने छ," निर्देशिकामा भनिएको छ।

छुट्टाछुट्टै भवनमा मतगणना गर्न रोक लगाइएको छ भने सर्वसाधारणलाई समय समयमा मतगणनाको प्रगति र नतिजाबारे जानकारी गराउने उद्देश्यले मतगणनास्थलमा सूचना पाटी तथा माइक आदिको व्यवस्था गर्नुपर्छ।

जुनसुकै निर्वाचन प्रणालीबमोजिमको निर्वाचनको हकमा एक उम्मेदवारको तर्फबाट एउटा मतगणना टोलीमा एक प्रतिनिधि र समानुपातिक निर्वाचन प्रणाली बमोजिमको निर्वाचनको हकमा एउटा दलको तर्फबाट एउटा मतगणना टोलीमा एक प्रतिनिधि रहन सक्ने गरी निर्वाचन अधिकृतले आवश्यक व्यवस्था मिलाउनुपर्ने प्रावधान छ।

मतगणना गर्दा निर्वाचन अधिकृत वा तिनले खटाएका गणक कर्मचारीले उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिले राम्रोसँग देख्न सक्ने गरी मतगणना गर्नुपर्ने व्यवस्था छ।

"मतगणना गर्दा उम्मेदवार निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिले कुनै मतपत्र हेर्न चाहेमा मतपत्र देखाउनुपर्ने छ तर समाउन वा छुनदिनु हुँदैन," निर्देशिकामा भनिएको छ।

"उम्मेदवार वा तिनका निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिलाई मतगणना गर्ने स्थानमा मतपत्र देखिने गरी अलग्गै बस्ने व्यवस्था मिलाउनुपर्छ।"

मतपेटिका कसरी खोलिन्छ

मतगणना प्रतिनिधिको रोहबरमा मतपत्र रहेको मतपेटिकाको जाँच गर्नुपर्ने व्यवस्था छ।

  • प्रत्येक मतदानकेन्द्रको मतपेटिका खोलिएको वा फोरिएको छ वा छैन
  • मतपेटिकामा मतदानकेन्द्रको नाम, सुरक्षणसील नम्बर र मतपेटिकाको सड्ख्या उल्लेख गरिएको छ वा छैन
  • मतपेटिका बन्द गरेको ठाउँमा लगाएको सुरक्षणसील दुरुस्त छ वा छैन

यी कुरा निर्क्योल गरेपछि मतगणना गर्ने प्रक्रिया अघि बढ्छ।

मतगणना कसरी हुन्छ

मतगणनास्थलमा तारजाली राखेपछि निर्वाचन अधिकारीहरू

तस्बिर स्रोत, RSS

मतगणना निर्देशिकाअनुसार मतपेटिका जाँच गरेको मुचुल्का गरिसकेपछि सो मतपेटिकामा लगाएको सुरक्षणसील तोडी खोल्नुपर्छ र सबै मतपत्रहरू गणना गर्ने टेबुल वा स्थानमा खन्याउनुपर्छ।

मतपत्र खन्याई रित्तो भएको मतपेटिका उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिलाई देखाउनुपर्छ।

"मतपत्र खन्याउँदा सम्बन्धित निर्वाचन क्षेत्रका एकभन्दा बढी मतदान केन्द्रको मतपत्रहरू एकै स्थानमा मिसाई मतगणना गरिन्छ। यो मतदान केन्द्रमा मेरो यति हुनुपर्ने, उति हुनुपर्ने भनेर विवाद नहोओस् भन्नका लागि त्यसो गर्ने गरिएको हो," सहायक प्रवक्ता जीसीले भने।

मतपत्रहरू मिसाइसकेपछि मतपेटिकाबाट पट्याइएका मतपत्रहरू खोलेर निर्वाचनचिह्न भएको भाग घोप्ट्याएर राखिन्छ र सुविधाअनुसार ५० वा १०० मतपत्रको ठेली बनाई धागो वा रबरले बाँधेर राखिन्छ।

त्यसरी बनाइएका ठेली निर्वाचन अधिकृतले जिम्मा लिई राख्नुपर्छ र प्रत्येक ठेलीबाट क्रमशः मतगणना गर्नुपर्छ।

मतपत्र गणना गर्दा त्यसरी छुट्ट्याइएका मतपत्रको ठेलीबाट बदर मत तथा अलगअलग निर्वाचनचिह्नका सदर मत छुट्ट्याई सबैभन्दा पहिले बदर मतपत्रहरू गणना गरिन्छ। त्यसपछि उम्मेदवारको निर्वाचनचिह्न अनुसार सदर मतको गणना गरिन्छ।

कस्तो मतपत्र बदर हुन्छ

निर्वाचनमा मत दिन प्रयोग गरिने स्वस्तिक छाप

तस्बिर स्रोत, RSS

मतगणना गर्दा केही मतपत्र बदर हुन्छ। बदर हुने मतपत्र यस्ता हुन्छन् -

  • सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको
  • औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिकचिह्नबाहेक अन्य चिह्न वा छाप लगाई मत सङ्केत गरिएको
  • मतसड्केत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको
  • उम्मेदवार वा दलको निर्वाचनचिह्न भएको कोठामा नभई अन्यत्र मतसङ्केत नगरी गरिएको
  • एकभन्दा बढी उम्मेदवार वा दलको निर्वाचनचिह्न भएको कोठामा छुट्टाछुट्टै मतसङ्केत गरिएको
  • एकभन्दा बढी उम्मेदवार वा दलको निर्वाचनचिह्न भएको कोठामा मतसङ्केतको चिह्न पर्ने गरी मतसङ्केत गरिएको
  • मतसङ्केत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको
  • कुनै पनि उम्मेदवार वा दलको निर्वाचनचिह्नमा मतसङ्केत नगरिएको
  • आयोगद्वारा निर्धारित मतपत्रबाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको
  • मतपेटिकाभन्दा बाहिर राखिएको
  • जाली मतपत्र
  • पट्याएको मतपत्रभित्र रुपैयाँ, कागज वा अन्य कुनै वस्तु संलग्न गरेको वा कुनै रूपमा च्यातेको, प्वाल पारेको
  • एउटा पट्याएको मतपत्रभित्र अरू मतपत्रसँगै एकसाथ पट्याएको
  • उम्मेदवार वा दलको निर्वाचनचिह्न रहेको कोठामा र निर्वाचनचिह्न रहेका कोठाभन्दा बाहिर वा मतपत्रको अन्य कुनै भागमा समेत मतसङ्केत गरेको
  • समानुपातिक निर्वाचन प्रणालीबमोजिमको निर्वाचनको हकमा उम्मेदवारको बन्चसूची पेस नगरेको दलको निर्वाचनचिह्नमा मतसङ्केत गरिएको
  • आयोगले बदर हुने भनी तोकेको मतपत्र

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।