नेपाली क्रिकेट टोलीले सात वर्षअघि भारतलाई हराएको त्यो ऐतिहासिक दिन

नेपाली टोली

तस्बिर स्रोत, ACC

तस्बिरको क्याप्शन, नेपाली युवा क्रिकेट टोलीले भारतलाई पराजित गरेर बनाएको रेकर्ड अहिलेसम्म कायम छ
    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

नेपाली क्रिकेटको लामो इतिहासमा नेपाली टोली केवल एक पटक भारतविरुद्ध एउटा प्रतियोगितामा विजयी भएको छ। सन् २०१७ को नोभेम्बर १२ तारिखमा नेपालले १९ वर्षमुनि उमेर समूहको यू-१९ एशिया कपमा भारतलाई १९ रनले पराजित गरेको थियो।

मलेशियाको बायुमास ओभल क्रिकेट मैदानमा भएको उक्त विजयको चर्चा भारत र नेपालको क्रिकेटको प्रसङ्गमा जहिल्यै पनि आउने गर्छ। सन् २००० देखि भारतको सामना गरिरहेको नेपालले १७ वर्षपछि उक्त सफलता हात पारेको थियो।

त्यसपछि पनि नेपाल र भारतबीच पटकपटक भेट भयो। एशिया कपमा पनि एक पटक नेपाल र भारतको जम्काभेट भइसकेको छ। यद्यपि कुनैमा नेपालले जित्न भने पाएको छैन।

अहिले यू-१९ नेपाली टोली आगामी मंसिरको दोस्रो सातादेखि यूएईमा हुने एशिया कपको तयारीमा व्यस्त छ।

यसै बेला टेस्टराष्ट्र भारतविरुद्ध दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा सात वर्षअघि नोभेम्बर १२ दिनमा पाएको विजयलाई कतिपयले सम्झिरहेका छन्।

कस्तो थियो विजय?

नेपालले पाएको उक्त विजयको कथालाई कप्तान दीपेन्द्रसिंह ऐरीको एकल प्रस्तुति भन्दा फरक पर्दैन।

उनी उक्त खेलको ‘म्यान अफ द म्याच’ बने। उनले ब्याटिङ, बलिङ र फील्डिङ सबै क्षेत्रमा अब्बल प्रदर्शन गरेका थिए।

टस जितेको भारतले नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो।

ओपनर आसिफ शेख (३ रन) र त्यसपछि आएका अनिल शाह (६ रन) चाँडै आउट भएपछि अर्का ओपनर जितेन्द्र ठकुरीले धीरतापूर्वक ब्याटिङ गर्दै ९५ बल खेलेर ३६ रनको योगदान दिए। तर ब्याटिङको मुख्य जिम्मा भने दीपेन्द्र सिंह ऐरीले लिए। उनले उत्कृष्ट प्रदर्शन गर्दै १०१ बल खेलेर महत्त्वपूर्ण ८८ रन जोडेका थिए। त्यसमा ६ चौका र २ छक्का सामेल थिए।

सन् २०१७ मा भारतलाई पराजित गरेपछि म्यान अफ द म्याचको उपाधि लिँदै दीपेन्द्रसिंह ऐरी

तस्बिर स्रोत, ACC

तस्बिरको क्याप्शन, खेलमा दीपेन्द्रसिंह ऐरीले ब्याटिङ र बलिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गरेका थिए

ऐरीलाई साथ दिन आएका खेलाडीहरू भने टिक्न सकेनन्। रोहित पौडेलले ६ रन, भीम सार्कीले १५ रन, पवन सर्राफले १ रन, कमल ऐरीले ५ रन, किशोर महतोले ७ रन र सन्दीप लामिछानेले ९ रन मात्र बनाउन सकेका थिए।

ऐरी ४८.२ ओभरसम्म मैदानमा डटेपछि नेपालले ८ विकेटको क्षतिमा १८५ रन जोड्न सफल भएको थियो। बलिङतर्फ पनि दीपेन्द्रको प्रदर्शन अब्बल रह्यो।

भारतीय ओपनरद्वय कप्तान हिमांशु राणा (४६ रन) र मनजित कलरा (३५ रन)ले पहिलो विकेटको लागि ६५ रनको साझेदारी गर्दै टोलीलाई सहज विजय दिलाउने छनक दिएका थिए। तर दीपेन्द्रले हिमांशु राणालाई बोल्ड गर्दै भारतको पतनको बीजारोपण गरे।

मध्यक्रम तहसनहस भएपछि भारतीय टोली उठ्न सकेन। भारत ४८.१ ओभरमा १६६ रनमा अलआउट हुन पुग्यो।

ऐरीले १० ओभर बलिङ गर्दै ३९ रन दिएर २ मेडनसहित ४ विकेट लिएका थिए। ऐरीपछि पवन सर्राफ र साहब आलमले २/२ विकेट लिएका थिए।

राहुल द्रविडको शुभकामना

त्यति बेला भारतीय टोलीका प्रशिक्षक थिए राष्ट्रिय टोलीका चर्चित रहिसकेका खेलाडी राहुल द्रविड।

द्रविड भारतीय फ्रेन्चाइज लीग आईपीएलको तत्कालीन दिल्ली डेअरडेभिल्सका प्रशिक्षकको जिम्मेवारी त्यागेर यू-१९ र भारत 'ए'को प्रशिक्षकको जिम्मेवारी सम्हाल्न आएका थिए। तर लगातार तीन पटकको एशिया कप च्याम्पियन भारत नेपालसँग पराजित भएपछि लीग चरणबाटै बाहिरिन पुग्यो।

नेपाली टोलीको नेतृत्व भने राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दासले सम्हालेका थिए।

जितपछि भारतीय प्रशिक्षक द्रविडले नेपाली क्याम्पमा आएर प्रशिक्षक दासलाई भेटेर बधाई दिएका थिए।

प्रशिक्षक दास उक्त घटनाबारे भन्छन्, “द्रविडले हामीलाई बधाई दिए र नेपाल नै विजयको हकदार भएको बताउँदै नेपाली टोलीको सुखद भविष्यका लागि शुभकामना पनि भनेका थिए।”

अहिले कहाँ छन् खेलाडीहरू

नेपालको त्यो ऐतिहासिक विजयको दिन आजको मितिले सात वर्ष पूरा भएको छ। उक्त टोलीका छ खेलाडीहरू अहिले राष्ट्रिय टोलीका मुख्य खेलाडी बनिसकेका छन्।

तीमध्ये रोहित पौडेल कप्तान छन् भने दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अनिल शाह, भीम सार्की र सन्दीप लामिछाने पनि टोलीमा छन्।

बाँकी खेलाडीहरू पनि क्रिकेटमै सक्रिय छन्। ओपनर जितेन्द्र ठकुरी भने क्रिकेटमा छैनन्। उनी नेपाली सेनामा अधिकृत भइसकेका छन्।

सन् २०१९ मा भारतलाई पराजित गर्ने नेपालको यू-१९ क्रिकेट टोली

तस्बिर स्रोत, Binod Das/Facebook

तस्बिरको क्याप्शन, उक्त युवा टोलीका कैयौँ खेलाडी अहिले राष्ट्रिय टोलीमा सामेल भइसकेका छन्

पवन सर्राफ चोटका कारण अहिले आराम गरिरहेका छन्।

कमलसिंह ऐरी राष्ट्रिय टोलीमा भित्र-बाहिर भइरहेका छन्। हाल उनी राष्ट्रिय टोली छैनन्, तर काठमाण्डूमा हुन लागेको फ्रेन्चाइज लीग एनपीएलमा चितवन राइनोजबाट खेलिरहेका छन्।

किशोर महतो नेपाल छाडेर अस्ट्रेलिया पुगे। यद्यपि उनले क्रिकेट त्यागेका छैनन् र एनपीएल खेल्न नेपाल आँउदै छन्। उनलाई अक्शनमा जनकपुर बोल्ट्सले छानेको थियो।

त्यस्तै बलर लेफ्टआर्म-स्पिनर साहब आलम घरेलु क्रिकेटमा सक्रिय छन्। एनपीएलमा उनले काठमाडौं गुर्खाजबाट खेल्ने छन्।

यू-१९ एशिया कप

यू-१९ एशिया कपको ११औँ संस्करण यूएईमा आगामी मंसिर १४ देखि २३ सम्म हुँदै छ। नेपालसहित जापान र यूएई एसीसी प्रिमिअर कपबाट छानिएर त्यहाँ पुगेका छन्।

उक्त प्रतियोगिताका लागि हेमन्त धामीको कप्तानीमा टोलीले अहिले काठमाण्डूमा प्रशिक्षण गरिरहेको छ।

आठ राष्ट्रले भाग लिने प्रतियोगितामा नेपालको समूहमा भने भारत छैन। नेपालको समूहमा श्रीलङ्का, बाङ्ग्लादेश र अफगानिस्तान छन्।

भारतको समूहमा पाकिस्तान, जापान र यूएई छन्।

समूह चरण पार गर्न सके नेपालको फेरि भारतसँग भेट हुने सम्भावना चाहिँ बाँकी छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।