सेन्ट भिन्सेन्टमा ‘दुई इञ्च’ ले दिएको पीडा, तर नेपाली टोलीले पाइरहेको छ सर्वत्र प्रशंसा

दक्षिण अफ्रिका-नेपाल

तस्बिर स्रोत, ICC

    • Author, निरञ्जन राजवंशी
    • Role, सेन्ट भिन्सेन्ट, वेस्ट इन्डिज

दक्षिण अफ्रिकासँग मात्र एक रनले पराजित भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले आफ्नो फेसबुकमा नेपालको 'गर्व गर्न लायक प्रदर्शन' भनेर लेख्यो।

क्रिकेट एसोसिएसन अफ नेपाल क्यानलाई उल्लेख गर्दै आईसीसीले थप लेखेको थियो: “शिर उँचो राख।”

टी-२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध पराजित हुँदाहुँदै पनि नेपालले गरेको सानदार प्रदर्शनपछि आईसीसीबाट मात्र होइन सर्वत्र प्रशंसा भइरहेको छ।

कयौँ नाम चलेका खेलाडीदेखि कयौँ क्रिकेट संस्थाहरूले नेपाली खेलाडीहरूको बारेमा सामाजिक सञ्जालमा मुक्त कण्ठले तारिफ गरिरहेका छन्।

नेपाली बलरहरूले गरेको बलिङ विश्वस्तरीय देखिएको र ब्याटिङ समेत उम्दा देखिएको भन्दै खेल विश्लेषकहरूले तारिफ गरिरहेका छन्।

भारतका चर्चित कमेन्टेटर सञ्जय माँजेकरले ‘नेपाल अर्को १० वर्षसम्म हेरिन लायकको टोली’ भन्दै प्रसंसा गरेका छन्।

सर्वत्र प्रसंशा

खेलपछिको पत्रकार सम्मेलनमा नेपाली कप्तान रोहित पौडेलले खेलको अन्तिम क्षण आफूहरूले चाहेजसरी सदुपयोग गर्न नसके पनि एउटा समूहको रूपमा आफ्नो टोलीप्रति गर्व लागेको बताए।

“हामीले जसरी खेल्यौं त्यसले यो सन्देश दिएको छ की नेपाल अब विश्व क्रिकेटको जुनसुकै तहमा खेल्न योग्य छ,” उनले भने।

आफूहरू पनि विश्व क्रिकेटको बलियो सदस्य भइसकेको भाव झल्कनेगरी रोहितले थपे: “ह्वी बिलोङ हेअर!”

दक्षिण अफ्रिकाका कप्तान एडेन मार्क्रमले समेत जोडदार रूपमै नेपाली टोलीको गुनगान गाए।

सोही पत्रकार सम्मेलनमा उनको भनाई थियो, “हामीले नेपालले यो स्तरमा खेल्छ भन्ने सोचेका थिएनौँ। नेपाली क्रिकेटले अब गर्ने भनेको प्रगति मात्रै हो।”

नेपालको खेलको प्रशंसा गर्नेमा भारतीय फ्रेञ्चाइज लीग आइपीएलका क्लबहरू पनि जोडिएका छन्।

मुम्बई इन्डियन्सले लेखेको छ: “एकदम नजिक! नेपालले आफ्नो फ्यानलाई गर्वित बनाएको छ र खुसी पनि बनाएको छ।”

राजस्थान रोयल्सले “यो संघर्ष देखेर विश्व नै गर्वित भएको” लेखेको छ।

चेन्नई सुपर किङ्सले 'प्रशंसकको अपत्यारिलो साथ, क्रिकेटको अपत्यारिलो खेल, नेपालको अपत्यारिलो रात' भन्दै नेपालले आफूहरूको 'मन जितेको' जनाएको छ।

दुई इन्चको पीडा

गुलसन झा

तस्बिर स्रोत, Getty Images

अन्तर्राष्ट्रिय क्रिकेट जगतले नेपालको प्रदर्शनको तारिफ गरिरहे तापनि आखिर हारको पीडा भनेको बेग्लै हुने गर्छ।

सेन्ट भिन्सेन्टको आर्नोस भाले क्रिकेट रङ्गशालाबाट खेल हेरेर फर्किरहेका नेपाली समर्थकहरूको अनुहारमा त्यो पीडा महसुस गर्न सकिन्थ्यो।

लन्डनबाट खेल हेर्न सेन्ट भिन्सेन्ट आएका निराजन राजलवकले बीबीसीलाई सुनाए: “यो हारको पीडा बिर्सन अब खै कति समय लाग्ला!”

११६ रनको लक्ष्य नेपाली खेलाडीहरूले यति सुन्दर ढङ्गले पछ्याएका थिए की अब कुनै खराब दिनमा मात्र त्यस्तो हार हुन सक्थ्यो।

तर आखिर त्यही भयो।

जस्तोसुकै बलिया देशका हकमा समेत खेलका बेला अनेक उतार चढाव आउने गर्छ।

शनिवारको खेलमा अन्तिममा थकथकाउने विषय अन्तिम बलमा गुलशन झाले पूरा गर्न नसकेको एक रन बनेको देखियो।

जतिखेर गुलशन एक रनको लागि दौडिए, त्यतिबेला उनको रफ्तार चाहिनेजति तेज हुन सकेन।

र उनको ब्याटले भुईँ छुनु झण्डै दुई इञ्चजति अगाडि दक्षिण अफ्रिकी विकेट किपर क्विन्टन डी ककले स्टम्प उडाईदिए।

यो खेललाई टी २० विश्वकपमा ‘क्लोज ब्याटल’को उदाहरणको रूपमा लिइनेछ।

कुन थियो निर्णायक मोड?

क्रिकेट

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

पूर्ण रूपमा नेपाली टोली हाबी भएको खेल नेपालले सहजै जित्ने बाटोमा थियो।

ओपनर आशिफ शेखका अनुसार खेलको निर्णायक मोड गुलशनको रन आउट होइन बरु अनिल शाह आउट हुनु हो।

खेलपछि पत्रकारहरूसँग कुरा गर्दै उनले भने: “त्यहाँबाट खेल अलिकति परिवर्तन भयो।”

यी दुई मिलेर तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरिसकेका थिए।

आशिफले थपे: “म पनि खेल सकेरै गरेरै फर्किन्छु भन्नेमा थिएँ। तर साम्सीको अन्तिम बल झेल्न नसक्नुले अरूलाई दबाब पर्न गयो। नत्र त्यति लामो समय खेल जाने वाला थिएन।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।