अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित

तस्बिर स्रोत, Getty Images
- Author, निरञ्जन राजवंशी
- Role, सेन्ट भिन्सेन्ट, वेस्ट इन्डिज
नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा खेलेको बलियो प्रतिद्वन्द्वी मध्येको एक दक्षिण अफ्रिकासँग पहिलो पटक सामना गर्दा अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा १ रनले पराजित भएको छ।
टी-२० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिजको सेन्ट भिन्सेन्ट स्थित आर्नोस भेल रङ्गशालामा दक्षिण अफ्रिकाका अग्ला खेलाडीहरुका माझ मध्यम उचाइका नेपाली खेलाडीको लहर एकै स्थानमा उभिएर राष्ट्रिय गान गाएपछि सुरु भएको थियो नयाँ टेस्ट प्रतिद्वन्द्वीसँग नेपालको प्रतिस्पर्धा।
नेपालले सुरुमा कसिकसाउ बलिङ गर्दै दक्षिण अफ्रिकालाई २० ओभरमा ७ विकेटको क्षतिमा ११५ रनमा रोकेको थियो।
जवाफमा २० ओभरमा नेपालले ११४ रन बनायो। अन्तिम दुई बलमा रन जोड्न नसक्दा ऐतिहासिक विजयको नजिक भएर पनि नेपाल पराजित भएको थियो।
योसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ। यो खेल जितेको अवस्थामा त्यो नेपालले टेस्ट खेल्ने कुनै पनि टोलीमाथि हासिल गरेको पहिलो जित हुने थियो।
सुपर आठमा पुग्ने सम्भावना जीवित राख्न पनि शनिवारको खेल जित्नै पर्ने अवस्थामा नेपाल थियो।
नेपाली ब्याटरको परीक्षा

दक्षिण अफ्रिकाको बलिङ धारको सामना गर्न कठिन मान्ने गरिन्छ।
ओपनर कुशल भुर्तेलले दोस्रो ओभरको पाचौँ बलमा त्यो अनुभव गरे। खतरनाक रबाडाले गरेको बलमा लामो शट खेल्न खोज्दा 'टप एज' लागेर बल सिधै माथि उठ्यो।
रबाडा आफैले त्यो सजिलो क्याच लिन दौडिए। तर बल उनको दुवै हातलाई स्पर्श गर्दै मैदानमा झर्यो। बल फुत्केकोमा रबाडा आफै छक्क परेका थिए।
त्यसपछि नेपालले धैर्यपूर्ण ब्याटिङ गर्यो। सातौँ ओभरसम्म टोलीको विकेट सुरक्षित थियो।
भुर्तेल र आशिफ शेखले एक एक रन जोड्न सङ्घर्ष गरेपछि चौका र छक्का प्रहार गर्दै रनरेट बनाइ राखेका थिए।
तर आठौँ ओभरमा नेपालले तीन बलमा दुई विकेट गुमाएको थियो।
स्पिनर तबरैज साम्सीले ३ बलमा २ विकेट झारेपछि केही बेर रङ्गशालामा उपस्थित नेपाली समर्थकहरू शान्त हुन पुगेका थिए।
ओभरको दोस्रो बलमा भुर्तेलले ‘रिभर्स स्वीप’ खेल्न खोज्दा बोल्ड हुन पुगेका थिए।
त्यसपछि क्रिजमा आएका कप्तान रोहित दोस्रो बलको सामना गर्ने क्रममा साम्सीद्वारा बोल्ड हुन पुगे। नेदरल्यान्ड्सविरूद्धको पहिलो खेलमा उत्कृष्ट ब्याटिङ गरेका पौडेल शून्य रनमा आउट भएका थिए।
कप्तान पौडेल आएपछि ब्याटिङ गर्न आएका अनिल साहले अर्का ओपनर आशिफ सेखसँग उत्कृष्ट साझेदारी गरेका थिए। २४ बलमा २७ रन बनाएका साहलाई मार्क्रमले यानसेनबाट क्याच गराएका थिए।

तर नेपालको रन गति रोकिएन। आशिफ शेख र अनिल साहले मिलेर इनिङ सम्हाले।
दुवैले विकेट जोगाउँदै ‘रनिङ विटविन विकेट’ मा स्कोरबोर्डमा रन जोडिरहेका थिए।
यस्तोमा १२.५ ओभरमा आशिफ शेखले रबाडालाई अत्यन्त सुन्दर छक्का प्रहार गरे। सो छक्कामा बल रङ्गशाला बाहिर पुगेको थियो।
रबाडाको उक्त ओभरमा आशिफले १३ रन जोडेका थिए।
आशिफ र अनिलले मिलेर तेस्रो विकेटका लागि ५० रनको अर्धशतकीय साझेदारी गरे।
अनिल २७ रन बनाएर आउट हुन पुगे। २४ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरेका थिए। मार्क्रमको बलमा जानसेनले अनिलको निकै कठिन क्याच समाएका थिए।
अन्तिम ओभरमा जितका लागि ८ रन बनाउनु पर्नेमा ६ रनमात्र बनाएपछि नेपाल १ रनले पराजित भएको हो।
८ रन आवश्यक भएको बेला गुलशन झाले पहिलो र दोस्रो बल डट खेले।
तर तेस्रो बलमा चौका तथा चौथो बलमा २ रन जोडेपछि अब नेपाललाई जितको लागि २ रनको आवश्यक बन्यो।
यस्तो बेला ओटेनिल वार्टमानको पाँचौँ बल डट भयो। अब अन्तिम बलमा १ रन जोडे खेल टाई हुन्थ्यो भने २ रन जोडे जित। र अन्तिम बलमा रनका लागि दौडेका झा रन आउट हुन पुगे र नेपाल १ रनले पराजित भयो।
ऐरी र भुर्तेलको जादु

नेपाली स्पिनरहरू विशेषगरी दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलको कसिलो बलिङको धरापमा दक्षिण अफ्रिकी खेलाडीहरू फसेका थिए।
भुर्तेलले ४ तथा ऐरीले ३ विकेट लिएपछि ६ अङ्कसहित समूह डीको शीर्षस्थानमा अनुमान गरेजस्तो स्कोर बनाउन सकेनन्।
सुरुमा नेपालले कसिकसाउ बलिङ गर्यो।
एउटा इन्डबाट तीव्र गतिका बलर सोमपाल कामी र अर्को इन्डमा स्पिनर दीपेन्द्र सिंह ऐरीलाई प्रयोग गरिँदा सुरुआतमा दक्षिण अफ्रिकी ब्याटरहरू खुलेर खेल्न सकेनन्।

यसैबेला ३.४ ओभरमा ऐरीले क्विन्टन डि ककलाई ‘कट् एन्ड बोल्ड’ को सिकार बनाएर टोलीलाई पहिलो सफलता दिलाए।
आइपीएलमा लखनउ सुपर जायन्ट्सबाट खेल्ने उनी दक्षिण अफ्रिकाका मुख्य हतियार मध्येका एक थिए।
कप्तान रोहित पौडेलले प्रतिद्वन्द्वीका खतरनाक ब्याटरविरुद्ध एकपछि अर्को स्पीनरलाई प्रयोग गरेका थिए। तिनीहरू सन्दीप लामिछाने, कुशल मल्ल, ऐरीसहित कुशल भुर्तेल थिए।
दक्षिण अफ्रिकाको पहिलो छक्का ७.४ ओभरमा मात्र आएको थियो। ओपनर रेजा हेन्ड्रिक्सले मल्ललाई ‘डीप स्क्वायर’ मा हानेको सो छक्का कप्तान रोहितले झन्डै समात्न प्रयास गरेका थिए।
दुई जीवनदान
१०.५ ओभरमा कुशल भुर्तेलले यस्तो सजिलो क्याच ड्रप गरे कि कसिकसाउ बलिङको क्रम जारी रहेको बेला त्यो नेपाली समर्थकका लागि ‘उफ्’ स्थिति थियो।
क्रीजमा सम्हालिएर खेलिरहेका दक्षिण अफ्रिकी हेन्ड्रिक्सले सो जीवनदान पाएका हुन्।
अभिनाश बोहराले फ्यालेको सो बल ‘लङ अफ’ मा रहेका कुशल भुर्तेलले फुत्काए र त्यो बल चौका हुन पुग्यो।
१२.२ ओभरमा अर्का खेलाडी हेनरिक क्लासेनले २ रनमा जीवनदान पाएका थिए।
सन्दीप लामिछानेको बलमा सोमपाल कामीले ‘ब्याकवार्ड प्वाइन्ट’ मा दायाँ हातले समातेको बल फुत्केको थियो। यद्यपि त्यो गाह्रो क्याच थियो।
झन्डै फुत्केको क्याच

तस्बिर स्रोत, ICC
त्यसो त नेपालको फिल्डिङलाई विश्वस्तरीय मानिन्छ। तर करण केसीले झन्डै अर्को क्याच छुटाइसकेका थिए।
१३.२ ओभरमा भुर्तेलको बलमा कप्तान हेनरिक क्लासेनले छक्का प्रहार गर्न खोज्दा बल ‘लङ अफ’ मा रहेका करण केसी तिर गयो।
तर पहिलो प्रयासमा करणको हातबाट बल फुत्कियो। अनि दोस्रो र तेस्रो प्रयासमा बल भुईँमा खस्नु अगाडि उनले बल समाइ छाडे। त्यो रोचक क्षण थियो।
मिलरको एम्पायर्स कल
१३.४ ओभरमा भुर्तेलले एलबीडब्ल्यूको लामो अपिल गरे। डेविड मिलरविरुद्धको त्यो अपिलमा अम्पायरले इच्छा नदेखाएपछि कप्तान रोहितले ‘रिभ्यू’ मागे ।
बल लाइनमै रहे पनि विकेटभन्दा हल्का माथि उठेको जस्तो त्यो बलमा थर्ड अम्पायरले निर्णय दिए। अनि मिलर जोगिए। त्यतिबेला उनले १ रन मात्र बनाएका थिए।

टोलीमा एकमात्र परिवर्तन
प्रशिक्षक मोन्टी देशाईले टोलीमा सन्दीप लामिछानेलाई समावेश गर्दै स्पिनर सागर ढकाललाई बेन्चमा राखेका थिए।
टोलीमा अरू परिवर्तन गरिएन। ललित नारायण राजवंशीले दक्षिण अफ्रिका विरुद्धको खेलमा पनि मौका पाएनन्।

अङ्क तालिका कस्तो छ
बलिया टोलीहरू रहेकाले नेपाल रहेको 'समूह डी'लाई 'ग्रूप अफ डेथ’ मानिएको थियो।
समूह चरणमा हालसम्म खेलेका सबै खेल जितेर शीर्षस्थानमा रहँदै दक्षिण अफ्रिका दोस्रो चरणमा पुगिसकेको छ।
तीनमध्ये दुई खेल जितेको बाङ्ग्लादेशले चार अङ्क जोड्दै आफूलाई बलियो स्थानमा उभ्याएको छ। अब बाङ्ग्लादेशले नेपालसँग खेल्न बाँकी छ।
जम्मा एक खेल जितेको नेदरल्यान्ड्स दुई अङ्कसहित तेस्रो स्थानमा छ। उसले श्रीलङ्कासँग खेल्न बाँकी छ।
नेदरल्यान्ड्ससँग पराजित नेपालले वर्षाका कारण श्रीलङ्कासँग एक अङ्क बाँडेको थियो।
हालसम्म कुनै पनि खेल नजितेको श्रीलङ्का रनरेटको आधारमा नेपालभन्दा तल छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








