दक्षिण अफ्रिकासँगको खेलमा नेपाल 'गर वा मर'को परिस्थितिमा

सेन्ट भिन्सेन्टमा अभ्यासरत नेपाली टोली
तस्बिरको क्याप्शन, नेपाली टोली बिहीवार फ्लोरिडाबाट सेन्ट भिन्सेन्ट पुगेको हो
    • Author, निरञ्जन राजवंशी
    • Role, सेन्ट भिन्सेन्ट, वेस्ट इन्डिज

बायाँतिर क्यारिबियन महासागर, दायाँतिर प्रयोग नगरिएको एउटा पुरानो विमानस्थल। अनि धावनमार्गमा गाडी पार्किङ गर्ने ठाउँ। सेन्ट भिन्सेन्टमा यी दुईको स्थानको बीचमा आर्नोस भाले क्रिकेट रङ्गशाला छ।

संयुक्त राज्य अमेरिकामा भन्दा यहाँ क्रिकेटको फरक वातावरण छ। वेस्ट इन्डिजको प्रख्यात ‘कलिप्सो’ धुन र क्रिकेटप्रति मरिहत्ते गर्ने मानिसहरूको सम्मिश्रण यहाँ अनुभूति गर्न सकिन्छ।

नेदरल्यान्ड्स र बाङ्ग्लादेशबीचको खेलमा अनुभव भएको अर्को कुरा के हो भने यहाँको मैदान स्पिन बलिङका लागि अनुकूल छ।

यही मैदानमा शनिवार बिहान नेपाल र दक्षिण अफ्रिकाबीच टी२० विश्वकप क्रिकेटको ३१ औँ खेल हुने छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, दक्षिण अफ्रिकासँगको खेलअघि नेपालका कप्तान रोहित पौडेल के भन्छन्?

नयाँ प्रतिद्वन्द्वीसँगको भेट

असोसिएट राष्ट्र नेपालले दक्षिण अफ्रिकाजस्तो टेस्ट राष्ट्रसँग खेल्ने अवसर हतपत जुर्दैन। विश्वकपमा २० राष्ट्र सहभागी गराउँदा नेपालको समूहमा तीनवटा टेस्ट खेल्ने राष्ट्र परे।

शनिवार दक्षिण अफ्रिकाविरुद्ध खेलेपछि नेपालको अन्तर्राष्ट्रिय प्रतिद्वन्द्वीको सूचीमा एउटा टेस्ट राष्ट्र थपिने छ।

नेपालजस्तो टोलीले प्रगति गर्दै आएकोमा दक्षिण अफ्रिकाका तीव्र गतिका बलर कागिसो रबाडाले खुसी व्यक्त गरे।

लीगको तीन खेल जित्दै 'सुपर ८' मा स्थान बनाइसकेको दक्षिण अफ्रिकामा विश्वस्तरीय खेलाडीहरू छन्।

दक्षिण अफ्रिकी टोली

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, दक्षिण अफ्रिका समूह 'डी'को शीर्ष स्थानमा छ

एडन मार्क्रमको कप्तानीमा रहेको टोलीमा क्विन्टन डि'कक, हेनरिक क्लासन, डेभिड मिलरजस्ता ब्याटर छन्। रबाडा, मार्को यान्सन, जेरल्ड कोयट्जीजस्ता तीव्र गतिका बलर र स्पिन बलिङमा केशव महाराज र तबरेज साम्सी छन्।

दक्षिण अफ्रिकाले नेपालविरुद्ध तीव्र गतिको आक्रमण गर्न रणनीति लिन सक्ने सम्भावना बढी देखिन्छ।

नेपालका कप्तान रोहित पौडेलले विश्वकपको मञ्चमा क्षमतानुसार प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।

खेल हुने अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, “दक्षिण अफ्रिका उच्त स्तरको टोली हो। टोलीलाई हराउन हाम्रा एक-दुई खेलाडीहरुले मात्र राम्रो प्रदर्शन गरेर पुग्दैन। सम्पूर्ण टोली नै सङ्गठित हुनु जरुरी छ। त्यसो गर्न सके हामीले दक्षिण अफ्रिकालाई हराउन सक्छौँ।”

दक्षिण अफ्रिका 'सुपर ८' मा पुगिसकेको हुनाले उसले नेपालविरुद्धको खेलमा आफ्ना केही महत्त्वपूर्ण खेलाडीलाई आराम दिन सक्छ।

नेपालको रणनीति कस्तो

पत्रकार सम्मेलनमा बोल्दै रबाडाले आफूलाई नेपालबारे धेरै थाहा नभएको बताए। तर आफ्नो “टोलीले नेपाली खेलाडीको बारेमा बुझिसकेको” उनको भनाइ थियो।

नेपालका कप्तान रोहित पौडेलले भने, “दक्षिण अफ्रिकाले राम्रो क्रिकेट खेलेको छ। सुपर ८ पुग्न दुवै खेल जित्नुपर्छ भन्ने हामीलाई थाहा छ।”

उनले नेपाली टोलीका अधिकांश सदस्यले पहिलो पटक विश्वकप खेलिरहेको उल्लेख गर्दै र समर्थनको विश्वास पाउने अपेक्षा गरे।

मैदानको अवस्था हेर्दा दक्षिण अफ्रिकासँगको खेलमा १६० रन जतिको लक्ष्य उपयुक्त हुन सक्ने भन्दै उनले सन्दीप लामिछानेको उपस्थितिसँगै त्यति रन जोड्न सके प्रतिद्वन्द्वी टोलीका लागि त्यो चुनौती हुन सक्ने बताए।

उनले नेपाली टोलीले बलिङमा राम्रो गरिरहेको भन्दै ब्याटिङमा सबै खेलाडीले राम्रो योगदान गर्नुपर्ने धारणा व्यक्त गरे।

विश्वकपमा सन्दीप लामिछानेको पहिलो खेल

अभ्यास गर्दै सन्दीप लामिछाने

तस्बिर स्रोत, Matthew Lewis-ICC/ICC via Getty Images

तस्बिरको क्याप्शन, अमेरिकामा भएका दुई खेलमा सहभागी हुन नपाएका सन्दीप लामिछाने दक्षिण अफ्रिकासँग खेल्न गत साता वेस्ट इन्डिज पुगेका थिए

बुधवार पनि फ्लोरिडामा दिनभरि वर्षा भएका कारण नेपाली टोली फ्लोरिडामै रोकिएको थियो। टोली बिहीवार दिउँसो मात्र सेन्ट भिन्सेन्ट पुगेको हो।

सन्दीप लामिछानेले त्यहीँ टोलीमा सहभागी भएर साँझ सेन्ट भिन्सेन्टमा केही समय अभ्यास पनि गरे।

टोलीमा लेगस्पिनर सन्दीप लामिछानेसँगै ललितनारायण राजवंशी र सागर ढकाल छन्।

नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा प्रशिक्षक मोन्टी देसाईले राजवंशीलाई बेन्चमा राख्दै युवा सागर ढकाललाई मौका दिइएको थियो।

अब सन्दीप लामिछानेसँगै अनुभवी स्पिनर ललितनारायण राजवंशीलाई दक्षिण अफ्रिका विरुद्धको खेलमा खेलाइने सम्भावना धेरै देखिएको छ।

यसअघि सन्दीप लामिछानेसँग कतिपय दक्षिण अफ्रिकाका खेलाडीले खेलिसकेका छन्।

सन्दीप लामिछानेबारे सोधिएको प्रश्नमा रबाडाले भने, “सन्दीप रहस्यमय खेलाडी हुन्। अनि यहाँको स्पिनअनुकूल पिचमा रहस्यमय खेलाडीबाट सधैँ खतरा हुन्छ।”

रोहित पौडेल र अरू खेलाडीहरू अभ्यास गर्दै

सन्दीप लामिछानेको क्षमताबारे प्रश्न

जबरजस्ती करणीको अभियोगमा जिल्ला अदालतले दोषी ठहर गरेपछि सन्दीप लामिछानेलाई नेपाल क्रिकेट सङ्घले निलम्बित गरेको थियो। उच्च अदालत पाटनबाट सफाइ पाएपछि उनले फेरि राष्ट्रिय टोलीमा स्थान पाए। यद्यपि अमेरिकाका लागि भिसा नपाउँदा उनले त्यहाँ भएका दुईवटा खेल खेल्न पाएनन्।

सक्रिय खेल केही महिना नखेलेका उनको 'फर्म'बारे प्रश्न उठ्ने गरेको पाइन्छ।

त्यसबारे सोधिएको प्रश्नमा कप्तान रोहित पौडेलले भने, “उहाँले धेरै क्रिकेट खेल्नुभएको छ। धेरै अनुभव छ। चार-पाँच महिना नखेल्दा पनि उहाँले टोलीमा फर्किएर आउँदा परिणाम देखाउनुहुन्छ भन्ने हामीलाई विश्वास छ।”

टोलीमा मध्यम गतिका बलरहरू करण केसी, सोमपाल कामी, गुलशन झा र 'डेथ ओभर' विशेषज्ञ अविनाश बोहोरा छन्। यीमध्ये एक खेलाडी बेन्चमा हुने पक्का छ।

दक्षिण अफ्रिकामा विश्वस्तरीय ब्याटर रहेकोले स्पिन पिचमा अभिनाशलाई प्रशिक्षक मोन्टीले बेन्चमा राख्न सक्ने कतिपयको अनुमान छ।

रोहित पौडेल
Matthew Lewis-ICC/ICC via Getty Images
चार-पाँच महिना नखेल्दा पनि उहाँ [सन्दीप लामिछाने]ले. टोलीमा फर्केर आउँदा परिणाम देखाउनुहुन्छ भन्ने हामीलाई विश्वास छ...
रोहित पौडेल
कप्तान, नेपाली राष्ट्रिय क्रिकेट टोली

अङ्कतालिका कस्तो छ

बलिया टोलीहरू रहेकाले नेपाल रहेको 'समूह डी'लाई 'ग्रूप अफ डेथ’ मानिएको छ।

समूह चरणमा हालसम्म खेलेका तीन खेल जितेर शीर्षस्थानमा रहँदै दक्षिण अफ्रिका दोस्रो चरणमा पुगिसकेको छ।

तीनमध्ये दुई खेल जितेको बाङ्ग्लादेशले चार अङ्क जोड्दै आफूलाई बलियो स्थानमा उभ्याएको छ। अब बाङ्ग्लादेशले नेपालसँग खेल्न बाँकी छ।

फ्लोरिडामा नेपालको खेल हेर्न गएका नेपाली समर्थकहरू

तस्बिर स्रोत, ICC

तस्बिरको क्याप्शन, फ्लोरिडामा नेपालको खेल हेर्न गएका नेपाली समर्थकहरू

जम्मा एक खेल जितेको नेदरल्यान्ड्स दुई अङ्कसहित तेस्रो स्थानमा छ। उसले श्रीलङ्कासँग खेल्न बाँकी छ।

नेदरल्यान्ड्ससँग पराजित नेपालले वर्षाका कारण श्रीलङ्कासँग एक अङ्क बाँडेको थियो।

समूहका शीर्ष दुई टोली दक्षिण अफ्रिका र बाङ्ग्लादेशसँगको प्रदर्शनले नेपालको यो विश्वकप यात्राको भावी दिशा निर्धारण गर्ने छ।

कुनै पनि खेल नजितेको श्रीलङ्का रनरेटको आधारमा नेपालभन्दा तल छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।