सन्दीप लामिछाने: क्रिकेट खेल जीवनको आरोह र अवरोह

सन्दीप लामिछाने
    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

काठमाण्डू जिल्ला अदालतले क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई बलात्कार अभियोगमा दोषी ठहर गरी कैद सजाय तोकेसँगै नेपाल क्रिकेट सङ्घ (क्यान) ले उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने गरी निलम्बन गरिसकेको छ।

अदालतले 'गौशाला २६' नाम दिएकी एक 'नाबालिग' किशोरीले सन्दीपविरुद्ध बलात्कारको अभियोग लगाउँदै २०७९ भदौ २१ गते प्रहरी कार्यालयमा उजुरी दिएपछि सन्दीपको क्रिकेट यात्राको अधोगति प्रारम्भ भयो।

त्यति बेला क्यारिबिअन प्रिमियर लीग खेल्न जमैकामा रहेका सन्दीप झन्डै एक महिना विदेशमा गायब भएका थिए। तर २०७९ असोज २० गते नेपाल फर्किएपछि उनी विमानस्थलमै पक्राउ परे।

सबैभन्दा पहिले उनी क्यानबाट निलम्बित भए। त्यसपछि फ्रेञ्चाइज क्रिकेट खेल्ने अन्तर्राष्ट्रिय ढोका बन्द भयो।

ओरालो बाटो

पक्राउ परेका उनी धरौटीमा रिहा भएपछि उनलाई राष्ट्रिय क्रिकेटबाट खेल्न योग्य हुने वा नहुने भन्ने विषयमा क्रिकेटमा ठूलो बहस भयो। यसका पक्ष र विपक्षमा थुप्रै देखिए।

यी बहसबीच क्यानले उनको निलम्बन फुकुवा गर्‍यो।

यसबीच नेपालले विश्वकप लीग २ मा १२ मध्ये ११ खेल जित्दै एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगायो। एशिया कपमा छनोट भएर नेपालले विश्व क्रिकेटका महारथी भारत र पाकिस्तानसँग खेल्यो। टी २० विश्वकपमा छनोट भयो।

यी सबै खेलमा सहभागी सन्दीप विरुद्ध काठमाण्डू जिल्ला अदालतमा बलात्कारको अभियोगमा मुद्दा चलिरहेकै थियो।

बलात्कार मुद्दामा दोषी ठहर र जरिवाना

जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले यही पौष १३ गते लामिछानेलाई बलात्कार मुद्दामा दोषी रहेको ठहर गरेको थियो।

काठमाण्डू जिल्ला अदालतले उनलाई आठ वर्षको जेल सजाय तोकेको छ।

त्यस बाहेक उनले पीडितलाई क्षतिपूर्ति र जरिवाना पनि तिर्नुपर्नेछ।

सन्दीप लामिछाने

तस्बिर स्रोत, GETTY IMAGES

सुरुआत

सन्दीप लामिछानेको क्रिकेट करिअरको सुरुआत र उनले छोटो समय भित्रै पाएको सफलता र पतनको विवरण चलचित्रको नाटकीय कथाजस्तो देखिन्छ। 

बुबा चन्द्रनारायण भारतीय रेल्वेमा जागिर खाने क्रममा त्यहीँ चार कक्षासम्म पढी क्रिकेट सिकेर नेपाल फर्केका सन्दीप चितवन क्रिकेट एकेडेमीको विद्यार्थी बनेका थिए।

सन् २०१५ मा नेपाल क्रिकेट टोलीका क्यानडेली मूलका श्रीलङ्काली प्रशिक्षक पुबुदु दशानायकेले 'लेग स्पिन' मा सिपालु सन्दीप लाई सिधै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाए।

सन् २०१६ ज्यानुअरीमा बाङ्लादेशमा भएको यू-१९ विश्वकप उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो।

सन्दीप लामिछाने

तस्बिर स्रोत, Getty Images

भारतीय फ्रेञ्चाइज क्रिकेट लीग (आइपीएल) मा ३२ लाख रूपैयाँ नेपालीमा दिल्ली क्यापिटल्सले सन्दीपलाई किनेपछि उनी नेपालबाट आइपीएल खेल्ने पहिलो खेलाडी बने।

क्यारिबिअन प्रिमिअर लिग सीपीएल, होवर्ट हुरिकन्स, केरला नाइट्स, लाहोर कलन्डर्स, मोन्ट्रियल टाइगर्स, सर्री जगर्स, कोची तस्कर्स केरला, नान्गरहर लियोपार्डस्, सिलेट सिक्सर्स, बारबाडोस ट्रिडेन्टस्, जमैका तलावास, मेलवर्न स्टार्स, सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स, टोरोन्टो नेसनल्स उनले खेलेका फ्रेञ्चाइज प्रतियोगिताहरू हुन्।

विश्व क्रिकेटमा सबैभन्दा कम खेलेर १०० विकेट लिने कीर्तिमान उनले बनाएका थिए।

त्यस्तै उनी टी-२० मा २९ खेलबाट ५० विकेट लिने खेलाडीको सूचीमा विश्वको छैटौँ स्थानमा छन्।

'खेल जीवनको अन्त्य'

सन्दीप लामिछाने

तस्बिर स्रोत, Getty Images

सन्दीपले आफू पुनरावेदनमा जाने बताएका छन्।

उच्च अदालत र सर्वोच्च अदालतबाट पनि उनी विरुद्धको फैसला सदर भएमा उनको क्रिकेट करिअर सदाको लागि सकिनेछ।

भारतविरुद्ध खेलेको एसिया कप उनको एक दिवसीयको अन्तिम खेल बन्यो भने एसीसी प्रिमिअर कपमा ओमानविरुद्धको खेल उनको टी-२० को अन्तिम खेल थियो।

नोटः केही अघि प्रकाशित यो लेखमा सम्पादकीय कारणहरूले गर्दा परिवर्तनहरू गरिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।