अमेरिकाको भिसा नपाएका सन्दीप लामिछाने टी२० क्रिकेट विश्वकप खेल्न वेस्ट इन्डिजमा

तस्बिर स्रोत, facebook/Sandeep Lamichhane
- Author, निरञ्जन राजवंशी
- Role, फ्लोरिडा, अमेरिका
नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमवार साँझ फ्लोरिडामा अभ्यास गरिरहँदासम्म सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेको खबर थिएन।
यद्यपि दिउँसोदेखि नै उनी टी२० आईसीसी मेन्स विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज पुगेको गाइँगुइँ चलिरहेको थियो।
अन्ततः साँझ नेपाल क्रिकेट सङ्घ (क्यान) ले एक विज्ञप्ति जारी गर्दै सन्दीप विश्वकप टोलीमा सहभागी भई वेस्ट इन्डिजमा हुने खेलमा सहभागी हुने जनायो।
विज्ञप्तिले सन्दीप लामिछाने वेस्ट इन्डिज पुगिसकेका छन् वा छैनन् भन्ने स्पष्ट खुलाएको छैन।
तर उनी आफैँले आफ्नो आधिकारिक फेसबुक पेजमा "हेलो फ्रम वेस्ट इन्डिज” भन्दै सेन्ट भिन्सेन्ट विमानस्थलमा खिचेको तस्बिर राखेका छन्।
लामिछाने वेस्ट इन्डिज पुगिसकेपछि मात्र क्यानले विज्ञप्ति जारी गरेको हो की भन्ने अनुमान गरिएको छ।
एक किशोरीलाई जबरजस्ती करणी गरेको मुद्दामा लामिछानेलाई काठमाण्डू जिल्ला अदालतले दोषी ठहर गरेपछि उनी राष्ट्रिय टोलीबाट निलम्बित भएका थिए।
तर पाटन उच्च अदालतले जेठ २ गते सफाइ दिएपछि उनको निलम्बर फुकुवा भएको थियो।
कसरी गए वेस्ट इन्डिज?
सन्दीप लामिछानेले आफू कुन बाटोबाट वेस्ट इन्डिज पुगे भन्ने विषयमा भने केही उल्लेख गरेका छैनन्। यस विषयमा बीबीसीले क्यानका पदाधिकारीहरूको प्रतिक्रिया लिन गरेको प्रयास सफल हुन सकेन।
सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा क्यानले सन्दीप लामिछानेको विषयलाई लिएर क्यानविरुद्ध भएका नकारात्मक टिप्पणीहरूको खण्डन पनि गरिएको छ।
अमेरिका जान भिसा नपाएपछि कतिपय क्रिकेट समर्थकहरूले "क्यानका पदाधिकारीहरूले नै अमेरिकी भिसा प्राप्त लागि राम्रो पहल नगरेको" आरोप लगाउँदै चर्को असन्तुष्टि पोख्दै आएका थिए।
नेपालको संसद्मा समेत यस विषय बारम्बार उठाइएको थियो।
राष्ट्रिय टोलीमा सन्दीप लामिछानेको स्थान

तस्बिर स्रोत, CAN/X
क्यानको विज्ञप्तिअनुसार क्यानले युवा बलर प्रतिश जिसीलाई ‘ट्राभलिङ रिजर्भ” मा राखेको थियो।
पन्ध्रौँ खेलाडीको रूपमा सन्दीप लामिछानेको स्थान पहिले नै सुरक्षित थियो।
यात्रामा टोलीसँगै रहने तर टोलीमा सहभागी बनी प्रतियोगितामा भाग लिन नपाउने खेलाडीलाई 'ट्राभलिङ रिजर्भ' भनिन्छ।
सन्दीप लामिछाने के भन्छन्?

तस्बिर स्रोत, Getty Images
सन्दीपले आफ्नो फेसबुक पोस्टमार्फत् नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र क्यानलाई अमेरिकाको भिसाको लागि गरेको पहलको लागि धन्यवाद दिएका छन्।
उनले लेखेका छन्: “तर मैले भिसा पाउन सकिनँ। तर म वेस्ट इन्डिजमा हुने दुई खेलमा टोलीमा हुने छु। यो मेरो र सबै क्रिकेट प्रेमीहरूको चाहना हो।”
सन्दीप लामिछानेको मुद्दामा कहिले के भएको थियो?

तस्बिर स्रोत, Getty Images
२ जेठ, २०८१ः उच्च अदालत पाटनद्वारा सन्दीप लामिछानेलाई सफाइ, क्यानद्वारा निलम्बन फुकुवा
२५ पौष, २०८०: काठमाण्डू जिल्ला अदालतद्वारा आठ वर्ष जेल सजाय तथा जरिवाना
१३ पौष, २०८०: काठमाण्डू जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासद्वारा सन्दीप लामिछानेले जबरजस्ती करणी गरेको ठहर
११ असार, २०८०: गौशाला २६ लाई अन्तरिम राहतस्वरूप उपचार खर्च दिन जिल्ला अदालतको आदेश
७ जेठ, २०८०: वडा कार्यालयबाट उजुरीकर्ताको जन्मदर्ताको अभिलेख र जन्म भएको भनिएको अस्पतालबाट दर्ता किताब झिकाउने आदेश
९ चैत, २०८०: लामिछानेको मुद्दामा किशोरीको जाँच गर्ने चिकित्सकलाई अदालतमा झिकाउने जिल्ला अदालतको आदेश

तस्बिर स्रोत, Getty Images
१६ फागुन, २०७९: सर्वोच्च अदालतद्वारा देशबाहिर गएर क्रिकेट खेल्न पाउने अनुमति
१८ माघ, २०७९: अनुशासन उल्लङ्घनको कारबाहीमा गरिएको निलम्बन फुकुवा
२८ पौष, २०७९: पाटन उच्च अदालतद्वारा २० लाख रुपैयाँ धरौटी लिई तारेखमा रिहा
१४ कात्तिक, २०७९: काठमाण्डू जिल्ला अदालतमा मुद्दा दर्ता
२० असोज, २०७९: विदेशबाट फर्किने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ
२३ भदौ, २०७९: नेपाल क्रिकेट सङ्घको कार्यसम्पादन समितिले राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन
२१ भदौ, २०७९: पीडित भनिएकी एक किशोरीद्वारा काठमाण्डूको गौशाला प्रहरी कार्यालयमा उजुरी
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








