फेरि आवेदन दिँदा पनि सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएनन्

तस्बिर स्रोत, Getty Images
दोस्रो पटक आवेदन दिँदा पनि क्रिकेटर सन्दीप लामिछानेले आईसीसी टी-२० विश्वकपमा सहभागी हुन जान संयुक्त राज्य अमेरिकाको भिसा नपाएको नेपाल क्रिकेट सङ्घका एक सदस्यले बताएका छन्।
दूतावासको निर्णयपछि अब के गर्ने भन्ने विषयमा पदाधिकारीहरूबीच छलफल भइरहेको नेपाल क्रिकेट सङ्घ (क्यान)का कार्यकारी सदस्य दुर्गाराज पाठकले बीबीसी न्यूज नेपालीलाई बताए।
एक किशोरीसँग जबरजस्ती करणी गरेको मुद्दामा काठमाण्डू जिल्ला अदालतले दोषी ठहर गरेपछि उनलाई क्यानले निलम्बन गरेको थियो। तर केही साताअघि उच्च अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो।
निलम्बन फुकुवा भएपछि लामिछानेले अमेरिकाको भिसाका लागि आवेदन दिँदा गत साता दूतावासले उनको आवेदन अस्वीकृत गरिदिएको थियो।
त्यसपछि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रधानमन्त्रीलाई अनुरोध गरेर परराष्ट्र मन्त्रालयमार्फत् उनलाई भिसा दिलाउन पहल गरिने बताएका थिए।
तर अमेरिकी दूतावासले भने भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भन्दै लामिछानेले भिसा नपाएको विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको थियो।
लामिछानेले पुनरावेदन गर्दै गर्दा क्यानले मे २५ मा १५-सदस्यीय टोलीको अन्तिम सूची दर्ता गर्नुपर्ने थियो।
तर लेगस्पिनर लामिछानेको भिसा लाग्ने विश्वासमा क्यानले हाल १४ खेलाडीको नाम भएको सूची मात्र बुझाएको बताइएको छ।
क्यानको खेलाडी छनोट समितिका संयोजक दीपेन्द्र चौधरीले भनेका थिए, “आईसीसीलाई अनुरोध गरेर हामीले हाल १४ खेलाडीको नाम मात्र बुझाएका छौँ। आईसीसीले केही दिनका लागि पर्खिन सहमति दिएको छ।”
लामिछानेले भिसा पाएपछि उनको नाम टोलीमा समावेश गरिने र टोलीसँगै अमेरिकामा रहेका एक खेलाडी वैकल्पिक सूचीमा राख्ने क्यानको योजना थियो।
हाल नेपाली टोलीमा स्पिनरहरू ललितनारायण राजवंशी, सागर ढकाल छन् भने तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी, कमलसिंह ऐरी, गुलशन झा र प्रतीश जीसी छन्।
त्यस्तै 'पार्टटाइम' स्पिनरहरूमा दीपेन्द्र सिंह ऐरी, कप्तान रोहित पौडेल, कुशल मल्ल र कुशल भुर्तेल छन्।
क्यानले के गरेको थियो?

क्यानले अदालतको निर्णयबारे जानकारी गराउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउने विषयमा पत्राचार गरेको बताएको थियो।
क्यानका सचिव पारस खड्काले गत साता लामिछानेको भिसा प्रक्रिया सुरु भएको जानकारी दिएका थिए।
लामिछानेलाई यसअघि सन् २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो। तर दूतावासले त्यसमा त्रुटि भएको भन्दै पछि उनलाई भिसा दिएको थियो।
अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको २० ओभरको विश्वकपमा नेपाल पनि सहभागी हुन लागेको छ।
सन्दीप लामिछानेको मुद्दामा कहिले के भएको थियो?

तस्बिर स्रोत, Getty Images
२ जेठ, २०८१ः उच्च अदालत पाटनद्वारा सन्दीप लामिछानेलाई सफाइ, क्यानद्वारा निलम्बन फुकुवा
२५ पौष, २०८०: काठमाण्डू जिल्ला अदालतद्वारा आठ वर्ष जेल सजाय तथा जरिवाना
१३ पौष, २०८०: काठमाण्डू जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासद्वारा सन्दीप लामिछानेले जबरजस्ती करणी गरेको ठहर
११ असार, २०८०: गौशाला २६ लाई अन्तरिम राहतस्वरूप उपचार खर्च दिन जिल्ला अदालतको आदेश
७ जेठ, २०८०: वडा कार्यालयबाट उजुरीकर्ताको जन्मदर्ताको अभिलेख र जन्म भएको भनिएको अस्पतालबाट दर्ता किताब झिकाउने आदेश
९ चैत, २०८०: लामिछानेको मुद्दामा किशोरीको जाँच गर्ने चिकित्सकलाई अदालतमा झिकाउने जिल्ला अदालतको आदेश

तस्बिर स्रोत, Getty Images
१६ फागुन, २०७९: सर्वोच्च अदालतद्वारा देशबाहिर गएर क्रिकेट खेल्न पाउने अनुमति
१८ माघ, २०७९: अनुशासन उल्लङ्घनको कारबाहीमा गरिएको निलम्बन फुकुवा
२८ पौष, २०७९: पाटन उच्च अदालतद्वारा २० लाख रुपैयाँ धरौटी लिई तारेखमा रिहा
१४ कात्तिक, २०७९: काठमाण्डू जिल्ला अदालतमा मुद्दा दर्ता
२० असोज, २०७९: विदेशबाट फर्किने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ
२३ भदौ, २०७९: नेपाल क्रिकेट सङ्घको कार्यसम्पादन समितिले राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन
२१ भदौ, २०७९: पीडित भनिएकी एक किशोरीद्वारा काठमाण्डूको गौशाला प्रहरी कार्यालयमा उजुरी
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








