अझै सन्दीप लामिछानेको 'पर्खाइ', ‘वार्म-अप’ खेल्दै नेपाल

सन्दीप लामिछाने

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन्दीप लामिछाने
    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

सोमवार क्यानडासँग ‘वार्म-अप’ खेल खेल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले नवौँ टी-२० विश्वकपमा आधिकारिक पाइला अगाडि बढाउँदै छ।

खेल राति सवा नौ बजे (स्थानीय समयानुसार बिहान १०:३० बजे) संयुक्त राज्य अमेरिकास्थित प्रेरी भ्यू मैदानमा हुने छ।

यो अमेरिकाको ड्यालसस्थित त्यही मैदान हो जहाँ नेपालले आगामी जुन महिनाको ४ तारिखमा नेदरल्यान्ड्सविरुद्ध विश्वकपको पहिलो खेल खेल्ने छ।

विश्वकपमा सहभागी २० राष्ट्रलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले दुई-दुईवटा ‘वार्म-अप’ खेल दिएकोमा नेपालको भागमा क्यानडा र आयोजक अमेरिका परेको छ।

अमेरिकासँग भने नेपालले अबको तीन दिनपछि मे ३० तारिखमा खेल्ने तालिका छ।

ह्यूस्टनमा त्यहाँको स्थानीय टोली ह्यूस्टन हरिकेन्ससँग दुई म्याच खेलेर राष्ट्रिय क्रिकेट टोली ड्यालस पुगिसकेको छ।

एक सीट खाली

नियमानुसार नेपाल क्रिकेट सङ्घ (क्यान) ले दुई दिनअगाडि मे २५ तारिख (जेठ १२ गते) मा १५ सदस्यीय खेलाडीको अन्तिम सूची दर्ता गर्नुपर्ने थियो।

तर लेगस्पिनर सन्दीप लामिछानेको भिसा लाग्ने विश्वासमा क्यानले हाल १४ जनाको नाम भएको सूची मात्र बुझाएको बताइएको छ।

अमेरिकाले यसअघि सन्दीपलाई भिसा दिन अस्वीकार गरेपछि क्यान पदाधिकारीहरू उनलाई भिसा दिलाउन पुनः प्रयासरत छन्।

त्यसका लागि पदाधिकारीहरूले नेपाल सरकारमार्फत् प्रयत्न गरिरहेका छन्।

आसिफ शेख
तस्बिरको क्याप्शन, फाइल तस्बिर - क्यानले हाल १४ खेलाडीको नाम भएको सूची बुझाएको छ

क्यानको खेलाडी छनोट समितिका संयोजक दीपेन्द्र चौधरीले बीबीसीसँग भने, “आईसीसीलाई अनुरोध गरेर हामीले हाल १४ जना खेलाडीको नाम मात्र बुझाएका छौँ। आईसीसीले केही दिनका लागि पर्खिन सहमति दिएको छ।”

अधिकारीहरूका अनुसार केही दिनभित्रै सन्दीप लामिछानेले भिसा पाए उनको नाम टोलीमा समावेश गरिने छ र टोलीसँगै अमेरिकामा रहेका एक खेलाडी वैकल्पिक सूचीमा पर्ने छन्।

वैकल्पिकमा पर्ने खेलाडी भने विश्वकपभरि टीममै रहने बताइएको छ।

यदि भिसा नलागेमा हाल टीममा रहेको १५ सदस्यीय टोलीले नै विश्वकप खेल्ने छ।यो टोलीका सदस्यहरू विश्वकपमा छनोट भएदेखि नै लगातार सँगै अभ्यासमा छन्।

वैकल्पिक खेलाडी को?

हाल अमेरिकामा रहेका १५ मध्ये १४ खेलाडीको मात्र नाम क्यानले बुझायो। तर कसको नाम बुझाएन, त्यो भने उसले सार्वजनिक गरेको छैन।

क्यानको योजनाअनुसार लामिछानेको भिसा लागेमा मात्र अर्का खेलाडीको नाम थाहा हुने छ।

छनोट समितिका संयोजक दीपेन्द्र चौधरीले भने, “सन्दीपको भिसा लागेमा मात्र वैकल्पिक खेलाडीबारे थाहा दिने हाम्रो योजना हो। पहिले नै वैकल्पिक खेलाडी भनेर कुनै खेलाडीको किन मन दुखाउने?”

नेपाली राष्ट्रिय टोली
तस्बिरको क्याप्शन, टी२० विश्वकप खेल्न चुनिएको नेपाली पुरुष क्रिकेट राष्ट्रिय टोली

टीममा लेगस्पिनर सन्दीप लामिछानले स्थान पाएमा बलरमध्येबाटै कुनै एक खेलाडी वैकल्पिकमा पर्न सक्ने कतिपयको अनुमान छ।

हाल नेपाली टोलीमा स्पिनरहरू ललितनारायण राजवंशी, सागर ढकाल छन् भने तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी, कमलसिंह ऐरी, गुलशन झा र प्रतीश जीसी छन्।

त्यस्तै 'पार्ट-टाइम' स्पिनरहरूमा दीपेन्द्र सिंह ऐरी, कप्तान रोहित पौडेल, कुशल मल्ल र कुशल भुर्तेल छन्।

सन्दीप लामिछानेको सहभागिता किन अन्योलमा?

नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेमाथि बलात्कार गरेको भन्दै पीडितले मुद्दा दर्ता गरेकी थिइन्।

सुनुवाइ हुँदा काठमाण्डू जिल्ला अदालतले उनलाई दोषी ठहर गरेपछि उनी क्रिकेट खेलमा सहभागी बन्न नपाउने भएका थिए।

तर पाटन उच्च अदालतले यसै महिनाको सुरुमा लामिछानेलाई सफाइ दिएपछि उनलाई टी२० विश्वकपमा खेलाउने प्रयत्न भइरहेको छ।

बलात्कारको मुद्दामा फैसला हुनुअघि क्यानले सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा राखेर खेल्ने अवसर दिएको थियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बलात्कारको मुद्दामा फैसला हुनुअघि क्यानले सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा राखेर खेल्ने अवसर दिएको थियो

सन्दीप लामिछानेको मुद्दामा कहिले के भएको थियो?

सन्दीप लामिछाने

तस्बिर स्रोत, Getty Images

२ जेठ, २०८१ः उच्च अदालत पाटनद्वारा सन्दीप लामिछानेलाई सफाइ, क्यानद्वारा निलम्बन फुकुवा

२५ पौष, २०८०: काठमाण्डू जिल्ला अदालतद्वारा आठ वर्ष जेल सजाय तथा जरिवाना

१३ पौष, २०८०: काठमाण्डू जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासद्वारा सन्दीप लामिछानेले जबरजस्ती करणी गरेको ठहर

११ असार, २०८०: गौशाला २६ लाई अन्तरिम राहतस्वरूप उपचार खर्च दिन जिल्ला अदालतको आदेश

७ जेठ, २०८०: वडा कार्यालयबाट उजुरीकर्ताको जन्मदर्ताको अभिलेख र जन्म भएको भनिएको अस्पतालबाट दर्ता किताब झिकाउने आदेश

९ चैत, २०८०: लामिछानेको मुद्दामा किशोरीको जाँच गर्ने चिकित्सकलाई अदालतमा झिकाउने जिल्ला अदालतको आदेश

प्रहरी हिरासतमा सन्दीप लामिछाने

तस्बिर स्रोत, Getty Images

१६ फागुन, २०७९: सर्वोच्च अदालतद्वारा देशबाहिर गएर क्रिकेट खेल्न पाउने अनुमति

१८ माघ, २०७९: अनुशासन उल्लङ्घनको कारबाहीमा गरिएको निलम्बन फुकुवा

२८ पौष, २०७९: पाटन उच्च अदालतद्वारा २० लाख रुपैयाँ धरौटी लिई तारेखमा रिहा

१४ कात्तिक, २०७९: काठमाण्डू जिल्ला अदालतमा मुद्दा दर्ता

२० असोज, २०७९: विदेशबाट फर्किने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ

२३ भदौ, २०७९: नेपाल क्रिकेट सङ्घको कार्यसम्पादन समितिले राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन

२१ भदौ, २०७९: पीडित भनिएकी एक किशोरीद्वारा काठमाण्डूको गौशाला प्रहरी कार्यालयमा उजुरी

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।