सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषीः अदालत

सन्दीप लामिछाने श्रीलङ्कामा आयोजित एशिया कपमा भारतविरुद्ध बलिङ गर्दै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, निलम्बन फुकुवा भएपछि सन्दीप लामिछाने विभिन्न अन्तर्राष्ट्रिय खेलमा सहभागी भएका थिए

बलात्कारको मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई काठमाण्डू जिल्ला अदालतले दोषी ठहर गरेको छ।

जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रवार उक्त फैसला सुनाएको हो।

तर सजाय तोक्नका लागि पुस २५ मा पेसी तोक्न भनिएको अदालतका श्रेस्तेदार रामु शर्माले बीबीसीलाई बताए।

फैसलाबारे उनले भने: "पीडितको उमेर १८ वर्ष पूरा भएको देखियो, तर भएको करणी सहमतिमा भएको देखिएन।"

पीडित किशोरीको उमेर १८ वर्ष पुगिसकेको विभिन्न निकायबाट प्राप्त सरकारी कागजपत्रबाट देखिएको अदालतले जनाएको छ।

तर उनको "नाजुक आर्थिक अवस्थाको फाइदा उठाइएको" अदालतले आफ्नो फैसलामा उल्लेख गरेको छ।

सजाय तोक्न किन छुट्टै पेसी?

सन्दीप लामिछाने

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फाइल तस्बिर

सजाय र क्षतिपूर्ति निर्धारणका लागि पुनः सुनुवाइ गरिने अदालतले जनाएको छ।

फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नलाई छुट्टै पेसी तोक्न भनिएको श्रेस्तेदार शर्माले बताए।

"तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुने अवस्थामा कसुर ठहर गरिदिएर सजाय कति तोक्ने भन्ने कुरा छुट्टै पेसीमा तोकेर दुवै पक्षको बहस सुनेर सजाय निर्धारण गर्ने व्यवस्था भएकाले त्यसो गरिएको हो," उनले भने।

यो साता आइतवारदेखि उक्त मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको थियो।

शुक्रवार लामिछाने पक्षका वकिलहरूको बहस सकिएपछि वादी पक्ष परिवर्तित नाम गौशाला २६ (छ) का वकिल र सरकारी वकिलले जबाफी बहस सकेका थिए।

लामिछानेको कसुरबारे कानुनमा के लेखिएको छ?

अदालतले फैसला सुनाउने क्रममा लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १, २ र ३ (ङ) बमोजिम कसुर गरेको जनाएको छ। जसमा निम्न व्यवस्था छ।

१) कसैले जबरजस्ती गर्न हुँदैन।

२) कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करण गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ।

३) उपदफामा 'करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरेर सजाय' तोक्ने व्यवस्था छ। ३ (ङ) मा अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म।

जन्ममितिको विषय

नाबालिक बलात्कारको लामिछानेविरुद्धको मुद्दामा यसअघि मङ्सिर महिनाको अन्तिम साता मुद्दाको पेसी तोकिएको थियो।

तर लामिछाने पक्षका वकिलहरूले निवेदन दिएपछि अदालतले सुनुवाइ स्थगित गरेको थियो।

जबरजस्ती करणी गरेको भन्दै लामिछानेविरुद्ध जाहेरी दिने किशोरी बालिग रहेको दाबी लामिछाने पक्षका वकिलहरूले गरेपछि जेठ महिनामा उनको जन्मदर्ताको अभिलेख र जन्म भएको भनिएको अस्पतालबाट दर्ता किताब झिकाउने आदेश अदालतले दिएको थियो।

काठमाण्डू जिल्ला अदालत

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान भएकै बेला बलात्कार गरेको आरोप लागेपछि लामिछानेलाई उक्त जिम्मेवारीबाट हटाइएको थियो।

नेपाल क्रिकेट सङ्घ क्यानले उनीविरुद्ध अनुशासनको कारबाहीअन्तर्गत निलम्बन गरेको थियो। तर पछि उनको निलम्बन फुकुवा भएको थियो।

पछि उनी नेपालका तर्फबाट अन्तर्राष्ट्रिय खेलहरूमा पनि सहभागी भए।

यसअघि के भएको थियो?

सन्दीप लामिछाने

तस्बिर स्रोत, Getty Images

  • ११ असार, २०८०: गौशाला २६ लाई अन्तरिम राहतस्वरूप उपचार खर्च दिन जिल्ला अदालतको आदेश
  • ७ जेठ, २०८०: वडा कार्यालयबाट उजुरीकर्ताको जन्मदर्ताको अभिलेख र जन्म भएको भनिएको अस्पतालबाट दर्ता किताब झिकाउने आदेश
  • ९ चैत, २०८०: लामिछानेको मुद्दामा किशोरीको जाँच गर्ने चिकित्सकलाई अदालतमा झिकाउने जिल्ला अदालतको आदेश
  • १६ फागुन, २०७९: सर्वोच्च अदालतद्वारा देशबाहिर गएर क्रिकेट खेल्न पाउने अनुमति
  • १८ माघ, २०७९: अनुशासन उल्लङ्घनको कारबाहीमा गरिएको निलम्बन फुकुवा
  • २८ पुस, २०७९: पाटन उच्च अदालतद्वारा २० लाख रुपैयाँ धरौटी लिई तारेखमा रिहा
  • १४ कात्तिक, २०७९: काठमाण्डू जिल्ला अदालतमा मुद्दा दर्ता
  • २० असोज, २०७९: विदेशबाट फर्किने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ
  • २३ भदौ, २०७९: नेपाल क्रिकेट सङ्घको कार्यसम्पादन समितिले राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन
  • २१ भदौ, २०७९: पीडित भनिएकी एक किशोरीद्वारा काठमाण्डूको गौशाला प्रहरी कार्यालयमा उजुरी

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।