'सन्दीप लामिछाने विदेश जान पाउने, खेल सकिएको पन्ध्र दिनभित्र फर्कनुपर्ने'

तस्बिर स्रोत, Getty Images
सर्वोच्च अदालतले नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई सशर्त विदेश जान दिने अनुमति दिएको छ।
“खेल समाप्त भएको मितिले स्वदेश फर्कँदा लाग्ने युक्तिसङ्गत म्यादबाहेक १५ दिनभित्र सम्बन्धित अदालतमा उपस्थित हुनुपर्ने,” शर्त राखिएको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले पत्रकारहरूलाई जानकारी दिए।
न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छोड्ने निर्णयलाई पनि सदर गरेको छ।
अदालतले उनको राहदानी रोक्का रहेको भए फुकाउन समेत आदेश दिएको छ।
लामिछानेले यूएईमा आयोजना भइरहेको नेपाल, यूएई र पपुवा न्युगिनी सम्मिलित आईसीसी विश्वकप लिग-२ शृङ्खलामा खेल्न जानका लागि गत बिहीवार सर्वोच्च अदालतमा निवेदन दिएका थिए।
यूएईमा सोमवारबाट आईसीसी विश्वकप लीग-२ शृङ्खला सुरु भएको छ।
अदालतले लामिछानेलाई यूएई जान अनुमति मागिएको निवेदन र धरौटीमा रिहा गर्ने निर्णय बदर गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले दायर गरेको निवेदन दुवैलाई सँगै राखेर सुनुवाइ गरेको थियो।
तर सर्तसहित उनलाई रिहा गर्ने पाटन अदालतको आदेशलाई चुनौती दिँदै महान्यायाधिवक्ताको कार्यालयबाट सर्वोच्च अदालतमा दायर गरिएको निवेदन शुक्रवार हेर्न नभ्याइनेमा राखिएको थियो।

तस्बिर स्रोत, Getty Images
अदालतको आदेशकै कारण नेपाल क्रिकेट सङ्घले यूएई शृङ्खलाका लागि राष्ट्रिय टोलीमा लामिछानेको नाम समावेश नगर्ने निर्णय लिएको थियो।
यसअघि अघिल्लो साता काठमाण्डूमा सम्पन्न आईसीसी विश्वकप लीग-२ शृङ्खलामा चारवटा खेलमा लामिछानेले १३ विकेट लिएका थिए।
क्रिकेटर लामिछानेले बिहीवार मात्र आफू यूएईमा हुने शृङ्खलामा सहभागी हुन पाऊँ भन्दै निवेदन दिएका थिए।


प्रतिबन्ध हटाउने माग

तस्बिर स्रोत, Getty Images
टोलीको प्रदर्शनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले उनलाई आफ्नो जिम्मेवारीमा यूएई पुर्याएर ल्याउने भन्दै नेपाल क्रिकेट सङ्घले समेत अग्रसरता लिएका विवरण आएका छन्।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका बेला एक नाबालिगलाई बलात्कार गरेको अभियोग लागेका लामिछानेलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान थालेको थियो।
तर गत पुस २८ गते पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटी लिई उनलाई तारेखमा रिहा गरिदिएको थियो।
न्यायाधीशहरू ध्रुवराज नन्द र रमेश ढकालको इजलासले उनलाई तारेखमा छोड्ने आदेश दिँदा उल्लेख गरिएका थुप्रै बुँदाहरूमध्ये एउटामा लामिछानेलाई मुद्दाको छिनोफानो नभएसम्म विदेश जान रोक लगाइएको थियो।
लामिछाने उक्त प्रतिबन्धात्मक बुँदा हटाउन माग गर्दै सर्वोच्च अदालतमा पुगेका हुन्।
लामिछानेलाई विदेश जाने मात्र नभएर काठमाण्डू उपत्यका छाड्नुपरेको खण्डमा समेत बाहिरिने र फर्केर आउने मिति खुलाएर जिल्ला प्रहरी परिसरमा लिखित जानकारी दिनुपर्ने आदेश दिइएको थियो।
घटना के हो

तस्बिर स्रोत, CAN
प्रहरीका अनुसार पीडित भनिएकी किशोरी १७ वर्षकी छन् र उनले आफन्तको सहयोगमा गत भदौ २१ गते काठमाण्डूको गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।
जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि गत भदौ २३ गते नेपाल क्रिकेट सङ्घको कार्यसम्पादन समितिले उनलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो।
नेपालमा उजुरी दर्ता हुँदा उनी क्यारिबीअन लीग खेल्न जमैका पुगेका थिए।
आरोपहरू सार्वजनिक भएपछि उक्त लीगलाई बीचमै छाडेर केही समय सम्पर्कविहीन भएका लामिछाने त्यसको केही समयपछि नेपाल फर्केका थिए।
प्रहरीले सन्दीप लामिछाने निर्धारित समयभित्र नेपाल नआएपछि उनी विरुद्ध इन्टरपोलमार्फत् सूचना पनि जारी गरेको थियो।
त्यसपछि सन्दीपले पहिलो पटक फेसबुक स्ट्याटस लेख्दै आफूलाई फसाइएको र त्यस विरुद्ध कानुनी लडाइँ लड्ने जनाएका थिए।
लामिछाने सन् २०२१ को डिसेम्बरमा नेपालको कप्तानमा नियुक्त भएका थिए।
उनी पहिलो पटक सन् २०१९ मा क्यारिबीअन प्रीमिअर लीग (सीपीएल) को खेलाडी बोलकबोल प्रक्रिया (अक्शन) मा महँगो मूल्यमा सकारिएका थिए।
उनले भारत, क्यारिबीअन, अस्ट्रेलिया, अफगानिस्तान, बाङ्गलादेश र पाकिस्तानका लीगमा खेलेका छन्।








