नेपाल क्रिकेट सङ्घद्वारा सन्दीप लामिछाने निलम्बित

तस्बिर स्रोत, Getty Images
नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारको क्रिकेट गतिविधि गर्नबाट निलम्बन गरेको छ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बिहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै यसको जानकारी गराएका हुन्।
काठमाण्डू जिल्ला अदालतले गत पौष १३ गते लामिछानेलाई बलात्कारको अभियोगमा दोषी ठहर गरेपछि राष्ट्रिय टोलीमा उनको स्थान के होला भन्ने विषयमा धेरैको चासो थियो।
त्यसपछि क्यानले काठमाण्डू जिल्ला अदालतले पौष २५ गते सजाय निर्धारण गरेपछि आफ्नो धारणा सार्वजनिक गर्ने जनाएको थियो।
काठमाण्डू जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधवार लामिछानेलाई आठ वर्षको जेल सजाय तोक्दै तीन लाख रुपैयाँ जरिवाना र दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको थियो।
त्यसलगत्तै क्यानले उनलाई निलम्बन गरेको हो।
लामिछानेले जिल्ला अदातलको फैसलाविरुद्ध पुनरावेदन गर्ने सङ्केत गरेका छन्।
क्यानको विज्ञप्तिमा भनिएको छ , "जिल्ला अदालतको कसुर ठहर आदेशबमोजिम लामिछानेलाई जबरजस्ती करणी मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित अदालतको आदेश अनुसार फौजदारी मुद्दामा दोषी ठहर भई सजाय निर्धारण समेत भएकाले निज लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँछौँ।"
सन्दीप लामिछाने के भन्छन्
अदालतले जेल सजाय तोकेपछि सन्दीप लामिछानेले बुधवार साँझ क्यानलाई पत्र लेख्दै आफू राष्ट्रिय टोलीबाट अलग रहने निर्णय गरेको बताएका थिए। उनी बुधवार फैसला सुनाइँदा उनी अदातलमा उपस्थित थिएनन्।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई सम्बोधन गर्दै उनले "आफू निर्दोष साबित नभएसम्म राष्ट्रिय टोलीबाट अलग रहने" जानकारी गराएका थिए।

तस्बिर स्रोत, Getty Images
लामिछानेले पत्रमा आफू निर्दोष रहेको र त्यसका लागि लड्ने बताएका छन्। अनि त्यसका लागि क्यानसँग सहयोग मागेका छन्।
पत्रमा उनले आफू चरम आर्थिक अभावमा रहेको र क्यानमा आफूले पाउनुपर्ने पैसा दिन अनुरोध गरेका छन्।
साथै उनले नेपाली क्रिकेटमा धेरै प्रतिभाशाली खेलाडीहरू रहेकोले आफ्नो अभावले राष्ट्रिय टोलीमा कुनै असर नपर्ने उल्लेख गरेका छन्।

तस्बिर स्रोत, Getty Images
यसअघि के भएको थियो?
२५ पौष, २०८०ः काठमाण्डू जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासद्वारा सन्दीप लामिछानेलाई आठ वर्षको जेल सजाय
१३ पौष , २०८०ः काठमाण्डू जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासद्वारा सन्दीप लामिछानेले जबरजस्ती करणी गरेको ठहर, सजायका लागि पौष २५ गते पेसी तोक्ने निर्णय
११ असार, २०८०: गौशाला २६ लाई अन्तरिम राहतस्वरूप उपचार खर्च दिन जिल्ला अदालतको आदेश
७ जेठ, २०८०: सम्बन्धित वडा कार्यालयबाट उजुरीकर्ताको जन्मदर्ताको अभिलेख र जन्म भएको भनिएको अस्पतालबाट दर्ता किताब झिकाउने आदेश
९ चैत, २०८०: लामिछानेको मुद्दामा किशोरीको जाँच गर्ने चिकित्सकलाई अदालतमा झिकाउने जिल्ला अदालतको आदेश
१६ फागुन, २०७९: सर्वोच्च अदालतद्वारा देशबाहिर गएर क्रिकेट खेल्न पाउने अनुमति
१८ माघ, २०७९: अनुशासन उल्लङ्घनको कारबाहीमा गरिएको निलम्बन फुकुवा

तस्बिर स्रोत, Getty Images
२८ पौष, २०७९: पाटन उच्च अदालतद्वारा २० लाख रुपैयाँ धरौटी लिई तारेखमा रिहा
१४ कात्तिक, २०७९: काठमाण्डू जिल्ला अदालतमा मुद्दा दर्ता
२० असोज, २०७९: विदेशबाट फर्किने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ
२३ भदौ, २०७९: नेपाल क्रिकेट सङ्घको कार्यसम्पादन समितिले राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन
२१ भदौ, २०७९: पीडित भनिएकी एक किशोरीद्वारा काठमाण्डूको गौशाला प्रहरी कार्यालयमा उजुरी
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








