महिला क्रिकेट: युवा टोली जुर्मुराउने आशा, कस्तो प्रयास भइरहेको छ?

महिला क्रिकेट

तस्बिर स्रोत, CAN

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

काठमाण्डूमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका दुई खास विशेषता छन्।

यो महिला क्रिकेट खेलाडीले खेल्ने दुई घरेलु प्रतियोगिता (अर्को मेयर कप)मध्ये एक हो।

अर्को भनेको यो प्रतियोगिताले सन् २०२७ मा नेपालमै आयोजना हुने यू-१९ विश्वकप प्रतियोगिताका लागि नयाँ टोलीको निर्माण गर्ने बाटो कोर्ने अपेक्षा छ।

महिला क्रिकेट टोलीको घरेलु संरचना अत्यन्त कमजोर बनिरहेको अवस्थामा प्रधानमन्त्री कप एक मात्र यस्तो प्रतियोगिता हो जुन सरकारले नेपाली क्रिकेटका लागि नियमित आयोजना गर्दै आएको छ।

नेपाल क्रिकेट सङ्घ क्यानमा नयाँ नेतृत्व आएसँगै महिला क्रिकेटमा ध्यान दिएको देखिन्छ।

स्वरूप परिवर्तन

त्यसको शुरूआत क्यानले प्रधानमन्त्री कपको स्वरूप फेर्दै गरेको छ।

यसपालिको प्रतिस्पर्धालाई 'राउन्ड रोविन प्रणाली' अर्थात् सबै टीमले एक अर्कोसँग खेल्ने गरी लामो ढाँचाको बनाइएको छ।

त्यसबाट प्रतियोगितामा सहभागी खेलाडी उत्साहित देखिएका छन्।

राष्ट्रिय टोलीका कप्तान इन्दु वर्मा भन्छिन्, “पहिलापहिला सधैँ दुई खेल खेलेर टीम फर्किनुपर्थ्यो। अहिले एउटा टोलीले फाइनल पुग्दासम्म १० खेलसम्म खेल्न पाउन सक्छ। यो गजब हो।”

प्रतियोगितामा सात प्रदेश कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूर पश्चिम र नेपाल एपीएफ क्लब गरी आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

मिसन २०२७

तीन महिनाअगाडि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सन् २०२५ को यू-१९ महिला विश्वकप मलेशिया र थाइल्यान्डलाई दियो भने सन् २०२७ मा हुने यू-१९ महिला विश्वकपमा बाङ्ग्लादेश र नेपाललाई सहआयोजकको जिम्मा दिएको थियो।

यो प्रतियोगिता नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको एउटा ठूलो प्रतियोगिता हुनेछ।

सन् २०२३ को यू-१९ विश्वकप दक्षिण अफ्रिकामा आयोजना हुँदै छ। त्यसका लागि खेलेको एशियाली क्षेत्रको छनोटमा नेपाल असफल भएको थियो।

तसर्थ क्यान अब सहआयोजक राष्ट्रको हैसियले घरेलु मैदानमा विश्वकप खेल्नुअगाडि नेपालको प्रदर्शन स्तरीय होस् भन्ने लक्ष्यमा छ।

महिला क्रिकेट

तस्बिर स्रोत, CAN

क्यानका सचिव पारस खड्काले प्रतियोगिता शुरू हुने अघिल्लो दिन भनेका थिए, “पीएम कप सन् २०२७ को विश्वकपको तयारी हुनेछ।”

प्रधानमन्त्री कप २०२७ लाई यू-१९ विश्वकपको आधार प्रतियोगिता कसरी बनाउन सकिन्छ त ?

राष्ट्रिय महिला टोलीका प्रशिक्षक जगत टमाटा भन्छन्, “त्यसको पहिलो पाइला यस प्रतियोगितामा देखिने युवा खेलाडीलाई पहिचान गरी उनीहरूलाई विशेष प्रशिक्षणमा सहभागि गराउनु हो।”

जारी प्रधानमन्त्री कपमा ऋतु कनौजिया जस्ता असाध्यै अनुभवी खेलाडी पनि छन् भने पहिलो पटक सहभागी जनाएका नयाँ अनुहार पनि छन्।

प्रतियोगिता शुरू भएसँगै युवा खेलाडीहरूले आफ्नो प्रभाव देखाउन थालिसकेको देखिन्छ।

गण्डकीबाट खेलिरहेकी ज्योत्सनिका मरासिनी र अञ्जली विश्वकर्माले कर्णाली प्रदेशविरुद्ध अर्धशतक बनाइन्।

बागमतीकी वसुधा विष्टले कोशी प्रदेशविरुद्ध ४१ रन र मधेश प्रदेशविरुद्ध ४७ रन बनाइन्।

कप्तान इन्दु वर्मा भन्छिन्, “विगतमा युवा खेलाडी बेन्चमै हुन्थे। अब धेरै खेल हुने भएपछि उनीहरूले मौका पाएका छन् र त्यसको सदुपयोग पनि गरेका छन्।”

विदेशी प्रशिक्षक आवश्यक

युवा टोलीका लागि मात्र होइन, सिनियर टोलीका लागि पनि प्रधानमन्त्री कप महत्त्वपूर्ण हुनेछ।

महिला टोलीले प्रधानमन्त्री कपपछि तुरुन्तै फेब्रुअरीमा हुन लागेको एशियाली टी-२० छनोटको प्रशिक्षणमा जुट्नेछ।

त्यसैले राम्रो प्रतिभा पस्किन सक्ने खेलाडीले राष्ट्रिय टोलीको ढोका ढकढक्याउन सक्ने मौका बन्न सक्नेछ।

महिला क्रिकेटको शुरूआत गर्ने बाँकेका एलबी क्षेत्री अब महिला राष्ट्रिय टोलीलाई पनि विदेशी प्रशिक्षक जरुरी रहेको बताउँछन्।

सन् २००७ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको महिला टोलीले झन्डै दुई दशकको यात्रा तय गर्न लाग्दा गतिलो परिणाम दिन नसकिरहेकोले अब खेलाडीहरूको स्तर उकास्न उत्कृष्ट तयारी आवश्यक रहेको उनको भनाइ छ।

महिला क्रिकेट

तस्बिर स्रोत, CAN

उनी भन्छन्, “खेलाडीहरूको स्तर माथि पुर्‍याउने हो भने अब विदेशी प्रशिक्षकको जरुरी छ। विदेशी प्रशिक्षक ल्याउनेतर्फ छलफल पनि भइरहेको छ।”

एक समय पुरुष क्रिकेटभन्दा अगाडि विश्वकप खेल्न सक्ने टोलीको रूपमा चित्रण गरिएको महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि नजितेको पनि लामो समय भइसक्यो।

सन् २००८, २०१० र २०१२ मा महिला टोलीले यू-१९ एशिया कप जितेपछि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन।

अर्कोतर्फ नेपालभन्दा निकै तल रहने गरेको थाइल्यान्ड नेपाललाई उछिन्दै धेरै माथि पुगिसकेको छ।

हौसिएका खेलाडीहरू

युवा बलर खुशी डङ्गोल अहिले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा बागमतीको प्रतिनिधित्व गरिरहेकी छिन्।

चार महिनाअगाडि राष्ट्रिय टोलीमा डेब्यू गरेकी उनी प्रधानमन्त्री कपलाई घरेलु महिला क्रिकेट टोलीको मेरुदण्ड मान्छिन्।

महिला क्रिकेट

तस्बिर स्रोत, CAN

क्रिकेट सङ्घले महिला टोलीलाई ध्यान दिन थालेपछि खुशी बनेकी खुशी युवा खेलाडीहरूले बढीभन्दा बढी मौका दिन सके महिला टोली मज्जाले हुर्किने बताउँछिन्।

उनी भन्छिन्, “सोनी पाख्रिन, कृष्णा गुरुङ र विपिशा शाही जस्ता युवा खेलाडी हाम्रो टोलीमा छन्। निरन्तर प्रतियोगिता खेल्न पाए उनीहरूले धेरै राम्रो गर्न सक्छन्। त्यसले नै २०२७ को युवा टोली मजबुत हुन सक्नेछ।”