नेपाली क्रिकेटलाई कोसेली 'भारतीय होम ग्राउन्ड'

नेपाली क्रिकेट टोलीसँग प्रसन्न मुद्रामा भारतीय विदेशमन्त्री एस.जयशङ्कर

तस्बिर स्रोत, x, Jaishankar

तस्बिरको क्याप्शन, नेपाली क्रिकेट टोलीसँग प्रसन्न मुद्रामा भारतीय विदेशमन्त्री एस.जयशङ्कर
    • Author, रमा पराजुली
    • Role, बीबीसी न्यूज नेपाली

गत साता उच्चस्तरीय भ्रमणका लागि नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपालका क्रिकेट खेलाडीहरूलाई भारतीय क्रिकेट मैदान 'होम ग्राउन्ड' अर्थात् घरेलु मैदानका रूपमा उपलब्ध गराउने जानकारी दिएर गएको कप्तान रोहित पौडेलले बताएका छन्।

एस जयशङ्करले आफ्नै पहलमा नेपाली क्रिकेट टोलीसँग भेटेको बताइएको छ।

भेटघाटलाई उनले दिएको महत्त्व त्यसबेला उनी आफैले सार्वजनिक गरेको तस्बिरमा पनि झल्किन्छ। जसमा उनी प्रसन्न मुद्रामा देखिन्छन्।

कप्तान रोहित भन्छन्, "उहाँसँग भेट्दा एकदम खुशी महसुस भयो किनभने उहाँहरूले आफै हामीलाई बोलाउनुभयो। हामीसँग भेट्दा उहाँ एकदमै खुशी हुनुहुन्थ्यो। विश्वकपमा छानिएकोमा बधाई दिनुभयो। र अब आउने दिनहरूमा बीसीसीआईबाट के सहयोग गर्न सकिन्छ? भन्ने कुरा गर्नुभयो।"

रोहित पौडेल

तस्बिर स्रोत, Bijay Gajmer/BBC

क्रिकेटमा भारतको सहयोग तपाईँले मागेको कि मन्त्री जयशङ्करले आफै दिन्छु भनेको?

कप्तान रोहितले जबाफ दिए, "हामीले केही भन्नुभन्दा अगाडि नै उहाँले भन्नुभएको। दश वर्षमा अफगानिस्तानले क्रिकेटमा गरेको प्रगतिमा मेरो विचारमा बीसीसीआईको ठूलो भूमिका छ। उहाँहरूले अफगानिस्तानलाई होम ग्राउन्ड दिनुभएको थियो।"

मन्त्री जयशङ्करले नेपाललाई पनि होम ग्राउन्ड दिने वचन दिएको उनको भनाइ छ।

"उहाँले यो कुरालाई पनि फोकस गर्नुभा'छ। आउने दिनहरूमा हामीले पनि त्यस्तो अवसर पाउँछौँ भन्नेमा आशावादी छौँ," रोहित भन्छन्।

तर त्यस्तो घरेलु मैदान कहाँको दिने भन्नेबारे मन्त्री जयशङ्करले केही नखुलाएको उनले जनाए।

"त्यो कुरा भर्खरै सुरु भएको छ, अझै निश्चित छैन।"

धेरैलाई चासो हुनसक्छ: भारतले नेपाली टीमलाई होम ग्राउन्ड दियो भने त्यसले नेपाली क्रिकेटमा के अर्थ राख्छ?

कप्तान रोहित भन्छन्, "त्यसले ठूलो प्रभाव पार्छ। त्यहाँ फरक परिस्थितिमा खेल्न पाइन्छ। फरक फरक विकेटहरू हुन्छन्। त्यहाँको टीमसँग खेल्न पाउँदा ठूलो फाइदा हुन्छ।"

क्रिकेट टोलीसँग एस जयशङ्कर

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, क्रिकेट टोलीसँग एस जयशङ्कर

उनी अफगानिस्तानले गरेको प्रगतिसँग आफूहरूको सम्भावित अवसरलाई जोडेर हेर्छन्।

"अफगानिस्तानले जसरी प्रगति गर्‍यो त्यो असाध्यै राम्रो प्लेटफर्म थियो। त्यस्तै होम ग्राउन्ड पाउन पाए हामी पनि त्यसरी नै अगाडि बढ्थ्यौँ जस्तो लाग्छ," उनको आशा छ।

नेपाल भारत संयुक्त बैठकमा सहभागी हुन आएको अवसर पारेर मन्त्री जयशङ्करले रोहितकै नेतृत्वमा एसिया कप, विश्वकप लीग चरण, एसियन गेम्समा विभिन्न खेल जितेर कीर्तिमान राख्दै अगाडि बढिरहेको नेपालको राष्ट्रिय क्रिकेट टोलीका खेलाडीसँग भेटवार्ता गरेका हुन्।

विश्वकपमा सहभागिता कि प्रतिस्पर्धा?

रोहित पौडेल कप्तान बनेको १५ महिना मात्र भएको छ। यो बीचमा नेपालको ओडीआई स्टेटस कायम रह्यो।

खासगरी विश्व क्रिकेटमा उच्चतम स्थानमा रहेका भारत र पाकिस्तानको खेल हेर्दै हुर्किएका र अहिले पनि उनीहरूका प्रशंसक रहेका नेपाली क्रिकेटरहरूले एसिया कपमा भारत र पाकिस्तानसँग खेलेका थिए।

नेपालले गरेको प्रदर्शनको उच्च प्रशंसा पनि भयो। नेपालले अब आगामी जून महिनामा टी २० विश्वकप खेल्दैछ।

दश वर्षमा दोहोरिएको इतिहास

समूह 'डी'मा परेको नेपालले जून ४, ११, १४, १६ मा नेदरल्यान्ड्स, श्रीलङ्का, दक्षिण अफ्रिका र बाङ्ग्लादेशसँग खेल्दैछ।

नेदरल्यान्ड्सबाहेक अरूले टेस्ट क्रिकेट खेल्दै आएका छन्।

टेस्ट क्रिकेट नखेलेको नेपालका कप्तान रोहितलाई हाम्रो प्रश्न थियो, विश्वकपमा खेल्न जाने भनेको सहभागिता मात्रै उपलब्धि हो कि प्रतिस्पर्धा गरेर जित्ने आकाङ्क्षा पनि छ?

“हामी जित्न जाने हो, हामीले निरन्तर गरेर देखाएका छौँ। टीममा उच्च मनोबल छ। हामीले टेस्ट क्रिकेट नखेले पनि टेस्ट खेल्ने मुलुकसँग त खेलिसक्यौँ नि,” उनले भने।

रोहित पौडेल दश वर्षका मात्र थिए टेलिभिजनमा पारस खड्काको कप्तानीमा नेपालले खेलिरहेको टी२० विश्वकप हेरिरहेका थिए।

त्यसबेला क्रिकेटलाई जीवनको ध्याउन्न बनाउने दृढ निश्चय गर्दा रोहितले दश वर्षपछि इतिहास दोहोरिने कल्पना पनि गरेका थिएनन्।

नेपालले दश वर्षपछि सन् २०२४ मा टी २० विश्वकप खेल्ने भएको छ।

नेपाली क्रिकेट टीम

तस्बिर स्रोत, CAN

म:म: र चाउमिन त्याग

खेलाडीको मानसिक र शारीरिक स्वास्थ्यबारे रोहित सजग सुनिन्छन्।

त्यसकै लागि किशोरावय भर्खर सुरु भएका बेला करिब १४ वर्षको उमेरमा नै उनले धेरै नेपालीको प्रिय खाना म:म: र चाउमिन त्याग्ने निर्णय गरे।

छ वर्ष जति भयो उनी डगमगाएका छैनन्।

"आफ्नो अगाडि म:म:, चाउमिन देख्दा खान त मन लाग्छ तर आफैलाई बाँध्छु, त्यति म त्याग गर्न सक्छु नि भन्ठान्छु। खेलका लागि म जङ्क फूड खान्नँ,” उनले भने।

उनको टोलीका अन्य खेलाडी पनि आफ्नो खानपिनप्रति उत्तिकै सजग रहेको र त्यसकै कारण उनीहरू तन्दुरुस्त रहेको उनी बताउँछन्।

रोहितलाई बीबीसीका प्रश्न

नेपालले टी २० क्रिकेट खेल्ने तयारी गरिरहेका बेला कीर्तिपुरस्थित क्रिकेट मैदानमा अभ्यास गरिरहेका रोहित पौडेलसँग बीबीसीले कुराकानी गरेको छ। क्रिकेट मैदानमा गरिएको कुराकानीमा उनले सटिक जबाफ दिएका छन्।

बीबीसीले उनलाई सोधेका मुख्य प्रश्न छन्:

टी २० विश्वकप खेल्न तयारी कसरी गरिरहनुभएको छ?

भारतीय क्रिकेट कप्तान रोहित शर्माले तपाईँलाई के भने?

भारतीय विदेशमन्त्री एस जयशङ्करले तपाईँहरूलाई किन भेटे? अनि के भने?

के खाएर क्रिकेट खेल्नुहुन्छ?

मम र चाउमिन त्याग्नुभएको छ देख्दा खाउँ खाउँ लाग्छ कि लाग्दैन?

टीममा आफ्ना अग्रजको नेतृत्व कसरी गरिरहनुभएको छ?

दिनमा कति घण्टा अभ्यास गर्नुहुन्छ?

अबको दश वर्ष तपाईँलाई क्रिकेटको कप्तान बन्न सक्ने पात्रको रूपमा हेरिनु तपाईँका लागि दबाव हो कि गर्वको कुरा हो?

कप्तान रोहित पौडेलसँगको कुराकानी यो भिडिओमा हेर्नुहोस्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, Rohit Poudel