एक खेलमा पराजित नेपाल क्रिकेटका तीन बलिया टोलीसँग खेल्नुअघि कस्तो दबावमा

तस्बिर स्रोत, CAN/X
- Author, निरञ्जन राजवंशी
- Role, फ्लोरिडा, अमेरिका
ड्यालस र फ्लोरिडाको मौसममा खासै फरक छैन। छिनमा पानी पर्छ फेरि छिनमै घाम लाग्छ।
अहिले टी२० विश्वकपको सहआयोजक संयुक्त राज्य अमेरिकाको तीन स्थानमा प्रतियोगिताको लीग चरणको खेल भइरहेकोमा छ। तीमध्ये फ्लोरिडा पनि पर्छ।
अमेरिकामा क्रिकेटको खासै ठूलो आकर्षण छैन। त्यसैले यहाँ विश्वकपका खेलमा पनि अन्यत्रको जस्तो ठूलो चहलपहल देखिएको छैन।
फ्लोरिडामा पनि क्रिकेट खासै तातेको देखिँदैन। यद्यपि नेपाली क्रिकेटप्रेमीहरू नेपालको दोस्रो खेल हेर्न पनि ठूलै सङ्ख्यामा उपस्थित हुन सक्ने ठानिएको छ।
सहआयोजक अमेरिकाले आफ्नो दोस्रो खेलमा विश्वकपको दाबेदारमध्ये एक मानिएको पाकिस्तानलाई पराजित गरेकोले अब विश्वकपमा आकर्षण बढ्ने ठानिएको छ।
फ्लोरिडामा के गर्दै छ नेपाली टोली

तस्बिर स्रोत, CAN/X
नेपाली क्रिकेट टोलीले ड्यालसमा खेल सकिएको भोलिपल्टै जुन ५ मा फ्लोरिडा आएर अभ्यास थालिसकेको छ।
शुक्रवार साँझ नेपाली टोलीको फ्लोरिडा क्रिकेट मैदानमा अभ्यास गर्ने कार्यक्रम थियो। तर अचानक वर्षा भएपछि टोलीको प्रशिक्षण बिथोलियो।
नेपाली टोलीका प्रबन्धक दिवाकर घलेले बीबीसीसँग भने, “ड्यालसमा जस्तो यहाँ 'इन्डोर' अभ्यास गर्ने ठाउँहरू पनि छैन रहेनछ।” यद्यपि टोलीको प्रशिक्षण भने निरन्तर भइरहेको उनले बताए।
नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा पराजित भएपछि नेपाली टोली अरू खेलको नतिजा भने आफ्नो पक्षमा पार्न चाहन्छ।
कस्तो छ फ्लोरिडाको मैदान

लाउडर हिलस्थित 'सेन्ट्रल ब्रोवर्ड क्रिकेट स्टेडिअम' नयाँ रङ्गशाला हो। सन् २००७ मा निर्माण गरिएको यो रङ्गशाला अमेरिकाको दोस्रो ठूलो क्रिकेट रङ्गशाला हो। यद्यपि २०,००० दर्शक अटाउन सक्ने यो रङ्गशाला विश्वकपका लागि पुनः तयार गरिएको थियो।
एक साताअघि फ्लोरिडामा आएको हावाहुरीका कारण रङ्गशालामा क्षति पुगेपछि तीन दिनअघि यसको मर्मत गरिएको थियो।
नेपाल र श्रीलङ्काबीच हुने विश्वकपको खेल नै यहाँ हुने पहिलो खेल हो। त्यसैले पिच कस्तो छ भन्ने अनुमान गर्न सक्ने अवस्था छैन। फेरि उक्त खेल राति हुने छ।
‘फ्रेश पिच’ बलिङ र ब्याटिङ गर्न कस्तो हुन्छ भन्न सकिँदैन। त्यसै पनि अमेरिकाको पिचको अन्तर्राष्ट्रिय रूपमै आलोचना भइरहेको छ।

न्यूयोर्कको रङ्गशालाको पिच अत्यन्त खराब देखिएको छ। त्यसबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नै ध्यानाकर्षण गराइसकेको छ।
न्यूयोर्कमा श्रीलङ्काको टोली ७७ रनमा नै आउट हुन पुगेको थियो।
श्रीलङ्काले ड्यालसमा भएको आफ्नो दोस्रो खेलमा बाङ्ग्लादेशसँग दुई विकेटको हार बेहोर्यो। अहिलेसम्म उक्त पूर्वविश्वकप विजेता टोलीका अङ्कविहीन छ। नेपालसँगको खेलमा उसको प्रतिष्ठा दाउमा हुने छ।
दश वर्षपछि टी२० विश्वकप क्रिकेट खेलिरहेको नेपाल बलिया राष्ट्रहरूलाई टक्कर दिएर क्रिकेटमा आफ्नो छाप छाड्ने प्रयासमा हुने छ।
अनुभवी टेस्ट राष्ट्रसँग खेल्दा नौलो पिच नेपाली खेलाडीहरूको लागि फाइदा हुन सक्ने कतिपयको अनुमान छ।
असोसिएट टोलीहरूको उत्कृष्ट खेल
पछिल्ला दिनमा असोसिएट राष्ट्रले देखाएको कुशल प्रदर्शनपछि धेरै क्रिकेटविज्ञहरूको ध्यान अमेरिकामा केन्द्रित भइरहेको छ।
अमेरिकाले दाबेदार मानिएको पाकिस्तानलाई पहिलो खेलमा नै पराजित गर्यो। अन्तर्राष्ट्रिय क्रिकेटमा यो नतिजाले धेरै चर्चा पाइरहेको भोलिपल्टै क्यानडाले पनि आयरल्यान्ड्सलाई पराजित गर्यो।
अमेरिका र क्यानडापछि अन्तर्राष्ट्रिय क्रिकेटले नेपालबाट त्यस्तै परिणाम आउने सम्भावना देखेको छ।
नेपाली टोलीका प्रबन्धक दिवाकर घले भन्छन्, "अहिले जस्तो नतिजा निस्किन थालेको छ त्यो असोसिएट राष्ट्रहरूका लागि खुसीको कुरा हो। विश्वकपमा असोसिएटको सङ्ख्या थप्ने निर्णय सही हो भन्ने यसले देखाएको छ।”
उनले नेपाली खेलाडीहरूमा यसले सकारात्मक ऊर्जा थपेको बताउँदै भने, “पहिलो खेलको हारले टोलीको मनोबलमा केही असर परेको छैन। बरु अहिले असोसिएट राष्ट्रले ल्याइरहेको नतिजाले खेलाडीहरूमा ऊर्जा थपिएको मैले पाएँ।”

सिनियर राष्ट्रिय टोलीले श्रीलङ्कासँग खेल्न लागेको यो पहिलो पटक हो।
यू१९ राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पृथु बास्कोटा नेपालले पनि विश्वकपमा अप्रत्याशित नतिजा ल्याउने ल्याकत राख्ने ठान्छन्।
ड्यालसमा मैदानमा पुगेर खेल हेरेका उनले भने, “नेपाललाई अब खेल्ने बाँकी तीन टेस्ट राष्ट्रसँग खेल्न कुनै दबाव रहने छैन। स्वतन्त्र भएर खेलेमा खेलाडीहरूले राम्रो नतिजा दिने मलाई विश्वास छ।”
उनको सुझाव छ, “नहतारिईकन पिचको स्वभाव बुझेर खेल्न सके हाम्रा खेलाडीहरू अरू कोहीभन्दा कम हुने छैनन्।”
नेपालको खेल कहिले छ
विश्वकप जुन १ बाट सुरु भएको हो।
नेपालले जुन ४ मा आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग ड्यालसमा खेलेको थियो।
नेपालले दोस्रो खेल श्रीलङ्कासँग फ्लोरिडामा जुन १२ मा खेल्दै छ। त्यहाँबाट टोली वेस्ट इन्डिजतिर लाग्ने छ।
वेस्ट इन्डिजमा जुन १५ मा दक्षिण अफ्रिकासँग र जुन १७ मा बाङ्ग्लादेशसँग लीगको आफ्नो अन्तिम खेल खेल्ने छ।
नेपाली लेगस्पिनर तथा पूर्वकप्तान सन्दीप लामिछानेले संयुक्त राज्य अमेरिकाको प्रवेशाज्ञा नपाएकाले उनी त्यहाँ हुने खेलमा सहभागी हुन वञ्चित भए। तर वेस्ट इन्डिजमा हुने खेलमा सहभागी हुन उनी त्यहाँ पुगिसकेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।









