टी-२० विश्वकपका लागि बनाइएको नेपाली क्रिकेट जर्सी किन विवादमा पर्यो

- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
सोमवार साँझ नेपाल क्रिकेट सङ्घ (क्यान) ले २० ओभरको विश्वकपमा राष्ट्रिय क्रिकेट टोलीले लगाउने जर्सी सार्वजनिक गर्नासाथ उक्त जर्सीको आलोचना हुन थाल्यो।
जर्सीमा अङ्कित नेपालको राष्ट्रिय झण्डाको विषयमा धेरै जनाले चासो व्यक्त गरे।
जर्सीमा दुइटा झण्डा छन्। तर तिनलाई "झुकाएर राखिएको" भन्दै कतिपय समर्थकहरूले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरिरहेका छन्।
"नेपालको झण्डा झुकेको छ। झुकेको झण्डाले राम्रो सङ्केत कसरी दिन्छ?" उनीहरूको प्रश्न छ।
जर्सीको खुद्रा मूल्य ३,६०० रुपैयाँ तोकिएको छ।
कस्तो छ जर्सी
जर्सीको सबैभन्दा तल्लो भागमा गैँडा र सगरमाथा छन्। सगरमाथा वास्तविक स्वरूपमा देखिँदैन। उक्त भागको रङ्ग रातो र हल्का मधुरो छ।
बीचको भाग नीलो छ। त्यसमा पहेँलो रङ्गमा नेपाल लेखिएको छ। छातीको दायाँ भागमा प्रायोजक केल्मीको लोगो तथा बायाँ भागमा क्यानको लोगो छन्।
त्यस्तै बाहुलाको बायाँतर्फ टी-२० विश्वकपको लोगो र दायाँतर्फ क्यानको लोगो छापिएको छ।

कठालोको भाग रातो छ। दुवै बाहुलाको माथिल्लो भागमा दुइटा झण्डा छन्। पछाडिको अधिकांश भाग नीलो छ।
पछाडि सेतो रङ्गमा लेखिएको जर्सी नम्बरमाथि खेलाडीको नाम छ।
राष्ट्रिय झण्डा झुकेको विषयबाहेक आलोचनाहरूले अरू कुरा पनि औँल्याएका छन्।
उनीहरूका अनुसार यो जर्सीले "लुक एन्ड फील" को अनुभूति दिन सकेको छैन र आकर्षणहीन छ।
जर्सीमा अनावश्यक रूपमा पहेँलो रङ्ग प्रयोग भएको र सगरमाथाको चित्र कुनै सामान्य हिमालजस्तै रहेको भन्दै आलोचना भएको छ।
जर्सीमा मुख्य प्रायोजकको लोगो पनि छैन।
कसले बनायो यो जर्सी
नेपाल क्रिकेट सङ्घ क्यानले जर्सीको डिजाइन गर्छ। अनि केल्मी कम्पनीको नेपालस्थित आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रालिले त्यसको उत्पादन गर्छ।
कामारु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले डिजाइन पूर्णतः क्यानको रहेको र क्यानले दिएको डिजाइनअनुसार जर्सी बनाएको बताए।
यद्यपि जर्सी सार्वजनिक समारोहमा सोधिएको प्रश्नमा त्यसको डिजाइनबारे उनले भने, "पहेँलो रङ्गको प्रयोग किनभने अहिले विश्वक्रिकेटमा नेपाललाई 'वारिअर' भनेर चिनिएको छ। साहसी टीमको झल्को दिन पहेँलो वा सुनौलो रङ्गको प्रयोग गरिएको हो।"

तस्बिर स्रोत, CAN
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जर्सीमा त्यस्तो गुनासो गर्ने कुनै विषय नभएको बताए।
काँधमा नेपालको झण्डा झुकेको भन्ने विषयमा उनले भने," खेलाडीहरूले काँधमा राष्ट्रको जिम्मेवारी बोकेर खेल्ने हो भन्ने त्यसले सन्देश दिन खोजेको हो। यसलाई अन्यथा नलिनुहोला।"
स्मरणीय के छ भने १० वर्षअघि नेपालले टी-२० विश्वकप खेल्दा पनि काँधमा नेपालको झण्डा त्यसरी नै राखिएको थियो। त्यस बेला भने कतैबाट विरोध भएको थिएन।
जर्सीबाट आम्दानीको लक्ष्य
क्यानले यसपालि जर्सीको महत्त्व दर्साउने र आम्दानी गर्ने लक्ष्य राखेको छ।
नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले भने, "जर्सी बेच्ने भनेको पैसा कमाउने मात्र होइन, यसको 'ब्र्यान्ड भ्यालू' बढाउने विषयमा हाम्रो छलफल भइरहेको छ।"
त्यसअनुरूप समर्थकहरूले सक्कली जर्सी लगाउने अवस्था बनाउने भन्दै उनले नक्कली जर्सी बनाएर बेच्नेहरूलाई अनुगमन गरेर कानुनी कारबाही गर्न सरकारसँग आग्रह गरेका छन्।
आधिकारिक विक्रेता कामारु ट्रेडिङले विद्यार्थी र समर्थकहरूलाई खुद्रामूल्य छुट दिन सकिने सङ्केत गरेको छ। सुरुमा ५,००० वटा जर्सी बनाइएको र माग हेरेर पछि पनि उत्पादन गर्ने प्रबन्ध निर्देशक न्यौपानेले जनाएको छ।
टी-२० विश्वकप आगामी जुन महिनामा अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको छ।
त्यसअघि नेपाली टोली र वेस्ट इन्डिज 'ए' बीच नेपालमा हुने पाँचवटा खेलको टी-२० शृङ्खलामा उक्त जर्सी प्रयोग हुने बताइएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








