क्रिकेटमा महिला र पुरुष खेलाडीले किन पाउँदैनन् बराबर तलब

तस्बिर स्रोत, CAN
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
नेपालमा पुरुष र महिला क्रिकेट खेलाडीहरूलाई तलब दिँदा भेदभाव गरिएको हो कि हैन भन्ने विषयबारे सामाजिक सञ्जालमा बहस चलिरहेको छ।
बहसमा सामान्य क्रिकेटप्रेमीदेखि महिलावादी अभियानकर्ता र चर्चित राजनितिज्ञहरू पनि सहभागी भएका छन्।
'समान तलबमान र पारिश्रमिक' को पक्षमा उभिएकाहरूले नेपाल क्रिकेट सङ्घको निर्णयको आलोचना गरेका छन्।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालको संविधानको धारा पल्टाउँदै "समान कामको लागि समान ज्याला" को व्यवस्था देखाउँदै क्यानको निर्णयलाई "लज्जाजनक" भनेका छन्।
कस्ताकस्ता तर्क

तस्बिर स्रोत, CAN
नेपाल क्रिकेट सङ्घले खेलाडीको तलब वृद्धि गर्ने निर्णयलाई केहीले प्रशंसा गरेका छन्। लैङ्गिक आधारमा विभेद भएको भन्ने विषयमा चाहिँ उनीहरूको तर्क यस्तो छ - पुरुष टोलीले प्राप्त गरेको उपलब्धि र स्तर, दर्शकहरूको आकर्षण र प्रायोजकहरूको चासोका कारण पुरुष खेलाडीहरूको तलब बढी भएको हो।
तर आलोचकहरू संविधानको मौलिक हकअनुसार समान कामका लागि लैङ्गिक भेदभाव गर्नु नहुने तर्क गर्छन्।
विश्वका अरू ठूला देश र ठूला खेलहरूमा पनि 'समान तलब' को विषयमा बेलाबेलामा ठूलै विवाद हुने गरेको छ।
नेपालको सन्दर्भमा पनि यो नौलो विषय होइन।
के सबै खेलका खेलाडीले पाउँछन् तलब
नेपालमा फुटबल, भलिबल र क्रिकेटका सङ्घले मात्र खेलाडीलाई मासिक तलब दिने गरेको देखिन्छ।
अखिल नेपाल फुटबल सङ्घले पुरुष र महिला दुवै राष्ट्रिय टोलीका सदस्यलाई मासिक १८ हजार रुपैयाँ दिने गरेको छ।
नेपाल भलिबल सङ्घले यसै वर्षदेखि आफ्ना खेलाडीलाई मासिक ५,००० रुपैयाँ दिन थालेको हो।
नेपाल क्रिकेट सङ्घले पुरुष खेलाडीहरूलाई वर्गीकरणमा राख्न थालेको एक दशक भइसक्यो।
महिला क्रिकेट टोलीका खेलाडीलाई २०७७ सालपछि मात्र वर्गीकरणमा राखेर तलब दिन थालिएको थियो।
तलब वृद्धि कति

तस्बिर स्रोत, CAN
क्यानले गत सोमवार बसेको बोर्ड बैठकले सन् २०२४ का लागि केन्द्रीय सम्झौतामा रहने गरी पुरुषतर्फ ३० र महिलातर्फ १९ खेलाडीको नाम पारित गर्यो। नयाँ ढङ्गले खेलाडीको वर्गीकरण गर्दै मासिक तलबमा ठूलो वृद्धि पनि गर्यो।
उक्त निर्णयानुसार अब महिला र पुरुष दुवै राष्ट्रिय टोलीका खेलाडीलाई ‘ए’, ‘बी’, ‘सी’, मात्र होइन ‘डी’ तथा 'इमर्जिङ' गरी पाँचवटा श्रेणीमा छुट्ट्याइयो।
श्रेणीअनुसार खेलाडीहरूको तलब वृद्धि गरिएको छ। उदाहरणका लागि, 'ए' वर्गमा पर्ने पुरुष खेलाडीको मासिक तलब एक लाख रुपैयाँ र 'ए' वर्गमा पर्ने महिला खेलाडीको तलब ५० हजार रुपैयाँ छ।
- पुरुष: ग्रेड ‘ए’ लाई रु १ लाख, ग्रेड ‘बी’ लाई रु ७० हजार, ग्रेड ‘सी’ लाई रु ५५ हजार, ग्रेड ‘डी’ लाई रु ३५ हजार र इमर्जिङ खेलाडीलाई मासिक रु २५ हजार
- महिला: ग्रेड ‘ए’ लाई रु ५० हजार, ग्रेड ‘बी’ लाई रु ३५ हजार, ग्रेड ‘सी’लाई रु ३० हजार, ग्रेड ‘डी’लाई रु २५ हजार र इमर्जिङ खेलाडीलाई रु २० हजार
यसैमा असमानता भएको भन्दै पक्ष र विपक्षमा बहस भएको हो।
के भन्छ क्यान
पुरुष र महिला टोलीका खेलाडीहरूको मासिक तलबमा यसपालि क्यानले ठूलो वृद्धि गरेको हो। यसअघि पुरुषको ग्रेड ' ए' मा पर्ने खेलाडीको मासिक तलब रु ६० हजार थियो भने ग्रेड 'ए'मा पर्ने महिला खेलाडीको रु २१ हजार थियो।
नेपाल क्रिकेट सङ्घका क्रिकेट प्रबन्धक विनोद दासले क्यानले वर्तमान सन्दर्भमा आफ्नो क्षमताले भ्याएसम्म खेलाडीहरूको तलब वृद्धि गरिएको बताए।
कतिपयले तलबमान असमान भएजको भन्दै आलोचना गरिरहेको सन्दर्भमा उनले भने , "सबैलाई समान तलब दिन सक्नु एकदम राम्रो विषय हो। समयानुसार त्यसो गर्ने क्यानको चाहना पनि हो। तर अहिले हामीले आफ्नो क्षमतानुसार नै तलब बढाएका छौँ।"
"महिला खेलाडीहरुको हकमा त हामीले दोब्बरभन्दा बढी तलब वृद्धि गरेका छौँ।"
नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य दिवाकर घलेले महिला र पुरुष खेलाडीहरूलाई फरक फरक तलब दिन अभ्यास अन्यत्र पनि रहेको बताए।

तस्बिर स्रोत, CAN
उनले भने, " पुरुष टोली एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ र त्यहीअनुसार उनीहरूको प्रायोजन र दर्शकको साथ पनि छ। फेरि आलोचना भए जस्तै यो समान कामको समान ज्याला जस्तो विषय होइन भनेर सबैले बुझ्नु जरुरी छ जस्तो मलाई लाग्छ। खेलाडीहरूले यो विषय बुझेका छन्।"
यस्ता छन् अन्तर्राष्ट्रिय उदाहरण
अमेरिकी महिला फुटबल टोलीका खेलाडीहरुले आफूहरूलाई असमान तलब दिएको भन्दै अदालतमा मुद्दा नै दर्ता गरेका थिए।
तलबसँगै समान पुरस्कारको विषय अन्तर्राष्ट्रिय टेनिसमा निकै चलेको थियो।
बहस चलेको लामो समयपछि ठूला ग्र्यान्ड स्ल्याम प्रतियोगिताहरूमा समान तलब दिने व्यवस्था गरिएको थियो।
विश्वका ठूला फुटबल राष्ट्रहरू इङ्ग्ल्यान्ड, ब्रजिल, अस्ट्रेलिया, नर्वे र न्यूजील्यान्डका फुटबल सङ्घले आफ्ना खेलाडीहरूलाई समान तलब दिने गरेको देखिन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








