भारत र नेपाल : पहिलो टी २० भेट कस्तो रह्यो?

दीपेन्द्र सिंह ऐरी
    • Author, निरञ्जन राजवंशी
    • Role, हान्झाउ,चीन, बीबीसी न्यूज नेपाली

कप्तान रोहित पौडेललाई लागिसकेको थियो कि खेल नेपालले जित्दैछ।

१९ औँ एशियाली खेलकुद प्रतियोगितामा नेपाल र भारतबीच भएको पहिलो टी-२० आई भेट ऐतिहासिक हुने सँघारमा थियो।

कप्तान रोहितले बीबीसीसँग भने, "डग आउटमा हामी सबैलाई लागिसकेको थियो कि खेल हामी जित्दैछौँ। तर दीपेन्द्र सिंह ऐरी र सन्दीप जोरा दुवै आउट भएपछि जित टाढा हुन पुग्यो। दुईमध्ये एक जना क्रिजमा भएको भए जे पनि हुन सक्थ्यो।"

तर नेपाल २३ रनले पराजित हुन पुग्यो।

भारतले ४ खेलाडी गुमाएर बनाएको २०२ रनको जवाफ दिन आएको नेपाल १७९ रनमा नै अड्कियो।

नेपालले ९ खेलाडी गुमाएको थियो।

जम्माजम्मी एक हजार दर्शक क्षमता रहेको जी ज्याङ युनिभर्सिटी अफ टेक्नोलोजी मैदानमा नेपाल र भारतबीचको खेलको टिकट पूरै बिक्री भएको थियो।

चर्चित इन्डियन प्रिमियम लीग (आइपीएल) का स्टारहरूले भरिएको भारतीय राष्ट्रिय क्रिकेट टोली र भर्खरै एशिया कपमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेर फर्केको जुझारु नेपाली टोलीबीचको भिडन्त हेर्न दर्शकहरू निकै उत्साहित देखिएका थिए।

सुरुमा राजस्थान रोयल्सबाट आइपीएल खेल्ने ओपनर यशस्वी जयसवालले आक्रामक ब्याटिङको नमुना पेस गर्दै रनको वर्षा गरिदिए।

४८ बलमा शतक पूरा गरेका उनले ८ चौका र ७ छक्का हान्दै भारतीय ब्याटिङ सम्हालेका थिए भने नेपाली बलिङ युनिटलाई दबावमा राखेका थिए।

बाँकी खेलाडीहरूले नेपाली बलरहरूसँग खेल्न सङ्घर्ष गर्नुपरेको थियो।

टर्निङ पोइन्ट

नेपाली टोली

भारतलाई जबाफमा दीपेन्द्र सिंह ऐरीले १४ औँ ओभरमा गजबले दिए। त्यो ओभर नेपालको जितको 'टर्निङ पोइन्ट' पनि हुन सक्थ्यो।

दीपेन्द्रले सुभम दुबेलाई लगातार ३ छक्का हानेपछि मैदानको वातावरण अत्यन्त रोमाञ्चित बन्न पुगेको थियो।

एक जना नेपाली समर्थक सुमन सापकोटाले भने, "चीनको मैदानमा भारतसँग बहादुरी पूर्वक खेलेको प्रत्यक्ष हेर्न पाइयो। हारे पनि नेपाली समर्थकहरूले दुख मान्नुपर्ने कुनै कारण छैन। नेपालले डटेर खेलेको हो। अर्शदीप जस्ता बलरको एक ओभरमा १९ रन हान्नु सानो कुरा होइन। आगामी दिनमा नेपालले जित्ने पक्का छ।"

दीपेन्द्र १४.२ ओभरमा रवि विष्णोईको बलमा साइ किशोरबाट समातिन पुगे।

१५ बल खेलेका उनले १५ बलमा ४ छक्कासहित ३२ रन जोड्न सफल भए।

अर्को ओभरमा सन्दीप जोरा पनि आउट हुन पुगेका थिए। अर्शदीप सिंहको बल खेल्न खोज्ने क्रममा उनी जयसवालद्वारा क्याच आउट हुन पुगे।

खेललाई जिताउन सोमपाल कामीले क्रिजमा आए पनि लामो इनिङ खेल्न सकेनन्।

एक छक्का हानेपछि अर्को लामो शट खेल्ने क्रममा साइ किशोरले उनको बल अत्यन्त शानदार ढङ्गले समातेका थिए।

सोमपाल आउट हुँदा १५६/७ को स्थिति बन्यो। १७ ओभरको खेल सकिएको थियो। त्यसको अर्को बलमा गुलशन झा पनि क्याच आउट भएपछि खेल नेपालको हातबाट टाढा हुन पुग्यो।

नेपाली प्रशिक्षक मोन्टी देशाइले भने, "नेपालले क्रिकेटको ब्रान्डलाई फेरि एक पटक प्रमाणित गरिदिएको छ। डररहित क्रिकेट खेल्न खेलाडीहरू पोख्त भएका छन्। "

प्रशिक्षक देशाइले थपे, "हामीले भारतलाई १८०-९० मा रोक्न सक्थ्यौँ। फिल्डिङमा केही रन बढ्यो। तर मुख्य कुरा आत्मविश्वास हो। क्रिकेटको स्तर नेपालले पस्केको छ। त्यसले नेपाललाई आगामी दिनमा राम्रो गर्नेछ।"

एक दिवसीय पछि टी-२०

यशस्वी जैसवाल

एक महिना अगाडि मात्र एशिया कपमा नेपाल र भारतबीच एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक भेट हुँदा नेपाली टोलीले गरेको प्रदर्शन नेपाली समर्थकहरू सबैले प्रशंसा गरेका थिए।

एक महिनापछि फेरि भएको पहिलो टी २० आईमा नेपालको प्रदर्शन स्तरीय नै रह्यो।

जी ज्याङ युनिभर्सिटी अफ टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी नवीन महतराले भने," खेलाडीहरूले हारमा केही चित्त दुखाउनु पर्दैन। नेपालले क्रिकेटमा अत्यन्त राम्रो गरेको छ। त्यसको लागि धन्यवाद।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।