एशियाली खेलकुद: नेपालको पदक केमा छ ?

महिला बास्केटबल

तस्बिर स्रोत, NSC

    • Author, निरञ्जन राजवंशी
    • Role, हान्झाउ, बीबीसी न्यूज नेपाली

१३ वर्षीया चिनियाँ स्केटबोर्ड खेलाडी चुई छेन्छिले महिला तर्फको स्वर्ण पदक जितेर १९ औँ एशियाली खेलकुदमा स्वर्ण जित्ने कान्छी खेलाडी बनिन्।

हक्की कप्तान हरमनप्रीत सिंह प्रेरित भारतले एसियाड हक्कीको लीग चरणकै भेटमा कट्टर प्रतिद्वन्द्वी पाकिस्तानलाई १०-२ को फराकिलो हार चखायो।

१९ औँ एशियाली खेलकुदको ८ दिनको खेल समाप्त हुँदा हान्झाउमा खेलकुदको रौनक निकै गाढा बनिसकेको छ।

विशेषगरी १३३ स्वर्ण पदकमा कब्जा गरिसकेको चीनले एशियाली खेलकुदमा कसरी दबदबा कायम गरिरहेको छ भनेर चिनिँयाहरूले फेरि आफ्नै घरमा प्रत्यक्ष रूपमा हेर्न पाएका छन्।

दक्षिण कोरिया र जापानको दोस्रो र तेस्रो स्थानको लागि कडा टक्कर चलिरहँदा छिमेकी देश भारतले चौथो स्थानमा आफ्नो पकड मजबुत बनाएको छ।

एशियाली राष्ट्रमा अब भारत खेलकुदको अर्को शक्ति राष्ट्रको रूपमा उदाउने छनक यसपालिको एसियाडमा प्रस्ट देखिन थालेको छ।

पदक रस्साकस्सीको यो एसियाडमा नेपाल कहाँ छ त ? १२ हजार ५ सय खेलाडीहरूमाझ भइरहेको प्रतिस्पर्धा मध्यान्तरसम्म पुग्दा नेपाल गुमनाम नै छ।

एकपछि अर्को हारलाई स्विकार्दै एसियाडको मेलामा हराइरहेको देखिएको छ।

प्रदर्शन

टिकामाया गुरूङ

तस्बिर स्रोत, NSC

हुन त एसियाडको एउटा विशेषता के हो भने यो ‌ओलिम्पिक जस्तो प्रतिस्पर्धा होइन, जहाँ थुप्रै देशको लागि पदक जित्न असम्भव जस्तै हुने गर्छ।

र, साना मुलुकले पनि विभिन्न ४८१ 'इभेन्ट्समा' प्रतिस्पर्धा गर्दा कुनै न कुनै पदक लिन सक्ने सम्भावना रहन्छ।

तर पनि केही देशहरूको लागि 'पदक' टाढाको सपना जस्तै भइदिन्छ।

४५ देशका खेलाडीहरू बीच चलिरहेको अहिलेको प्रतिस्पर्धामा ६ राष्ट्र अझै पदक विहीन छन्।

नेपाल त्यस मध्येको एक हो।

पदकको लागि तड्पिनु नेपाली खेलकुदको लागि नियमित आकस्मिकता जस्तै रहेको देखिँदै आएको छ।

हान्झाउमा त्यही पीडा फेरि दोहोरिएको छ।

हुन त हान्झाउ अभियान सुरु गर्दा नै नेपालले पदकको दाबी गर्न सक्ने खेल कुनै थिएन। त्यो नेपाली खेलकुदको वास्तविकता नै थियो।

फूलमती राना

तस्बिर स्रोत, NSC

यस्तोमा कुनै खेलले आक्कलझुक्कल पदक जिती पो हाल्छ की भनेर पर्खेर बस्नु नै नेपालको नियति बन्दै आएको छ।

जस्तै गत इन्डोनेसिया एसियाडमा नयाँ खेल प्याराग्लाइडिङले रजत पदक जितेको थियो।

पदकविहीन भएर फर्किनु पर्ने भन्दै 'नेपाली डेलिगेसन' मा निराशा छाइरहेको बेला प्याराग्लाइडिङले पदक ल्याउने भएपछि नेपाली अधिकारीहरू प्याराग्लाइडिङ स्थलमा दौडिएको कुरा रमाइलो किस्सा बनेको थियो।

पदकको त्यस्तो पीडाको एउटा नतिजा हान्झाउमा बाङ्ग्लादेशी टोलीमा पनि देखियो।

बाङ्ग्लादेश र पाकिस्तान बीचको तेस्रो स्थानको लागि भएको महिला क्रिकेट जितेमा बाङ्ग्लादेशले एसियाडमा पदकको खाता खुल्थ्यो।

यस्तो बेला हान्झाउ आएका बाङ्ग्लादेशी अधिकारीहरू, पत्रकारहरू त्यहाँ पुगे र खेल नसकिउन्जेलसम्म आफ्नो टोलीको समर्थनमा चिच्याइ नै रहे।

आखिरमा बाङ्ग्लादेशले खेल जित्यो र पदकविहीन हुने डरबाट मुक्त भयो।

अब आशा कुन खेलबाट

उसु

तस्बिर स्रोत, NSC

नेपालको लागि त्यस्तै खेल कुन हुन सक्ला? 

बक्सिङ, मार्सल आर्ट्स र इस्पोर्टसबाट पदक आउन सक्ने झिनो आशासम्म गरिएको थियो। त्यसमध्ये तेक्वान्दो, उसु, बक्सिङका खेलहरू पदकको छेउछाउसम्म पनि नपुगी बाहिरिइसकेका छन्।

इस्पोर्टसले केही समय आशाको तरङ्ग पैदा त गर्‍यो। तर फाइनलसम्म पुगेर पदक नै छुने यात्रामा इस्पोर्टस टाढै नै थियो।

क्वाटरफाइनलमा भारतसँग प्रतिस्पर्धा

यस्तो दयनीय अवस्थाका बीच राष्ट्रिय क्रिकेट टोलीले मङ्गोलियाविरुद्ध थुप्रै कीर्तिमान सहितको जित प्राप्त गरेर नेपाली क्याम्पमा खुसीको तरङ्ग ल्याइदिएको थियो।

त्यो नेपाली टोलीको लागि मलम जस्तै बन्न पुगेको देखिएको थियो।

कप्तान रोहित पौडेलले नेपाली टोलीले पदक हात पार्ने सम्भावना रहेको बताएका छन्।

क्रिकेट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ। तर क्वाटरफाइनलमा नेपालले भारतको सामना गर्नुपर्ने भएको छ।

वुस्सु

तस्बिर स्रोत, NSC

कठिन

अन्य केही खेलहरू बाँकी छन्।

जस्तै आम दर्शकको पहुँचमा पुग्न नसकिएको देखिएको डान्स स्पोर्टस वा खेल्न बाँकी कराँते त्यो खेल हुन सक्ने अनुमान छ।

एशियाली खेलकुद जस्तो कडा प्रतिस्पर्धा हुने मञ्चमा पदक जित्नु सहज विषय होइन। त्यसको लागि सानो तयारीले पुग्दैन भन्ने नमुना एक हप्ता बितिसक्दा नै छर्लङ्ग देखिसकिएको छ। 

ठूलो सङ्ख्याको खेलाडी सहभागिताभन्दा सम्भावित खेलमा केन्द्रित भएर तयारी गर्नु महत्त्वपूर्ण विषय हो भन्ने कुरा फेरि पनि दोहोरियो।

हुन त यो विषयमा खेलकुद पदाधिकारीहरूलाई हेक्का नभएको पटक्कै होइन।

तर सहभागिताको महत्त्व वा खेलाडीहरूको एक्सपोजर वा राजनीतिक दबाव वा अन्य कारणले एसियाड नेपाल जस्ता साना राष्ट्रको लागि अर्को एउटा 'एक्सपोजर' बन्दै आएको कतिपय विज्ञहरूको भनाइ छ।

पदक भन्दा सहभागिता महत्त्वपूर्ण हुन सक्ला। तर खेलकुदको महाकुम्भमा पाउने पदकको महत्त्व अन्य प्रतिस्पर्धा भन्दा बेग्लै हुने गर्छ।

हौस्याउने खालको इतिहास के छ भने नेपालले सन् १९५१ बाट सुरु भएको पहिलो एसियाडबाट खेल्दै आएको नेपालले २४ वटा पदक जितिसकेको छ। जुन वर्तमान खेलाडीहरूलाई इतिहास सम्झिँदै अगाडि बढ्न प्रेरणा मिल्न सक्छ।

अहिलेलाई आशा गरौँ, खेलाडीहरूले इतिहासलाई नै पछ्याउनेछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।