एशियाली खेलकुदमा आमाछोरी सुनिरा र निराको कथा

- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
चीनको सहर हान्जाउमा आइतवार असोज ७ गते टेनिस कोर्टमा उत्रँदा सुनिरा थापाको उमेर १५ वर्ष १०२ दिनको हुने छ।
यो सँगै उनी एशियाली खेलकुदमा नेपालबाट सहभागी २५३ सदस्यीय खेलाडीहरूमध्ये सबैभन्दा कान्छी खेलाडी बन्नेछिन्।
यति मात्र होइन, सुनिराको सहभागितासँगै नेपालबाट एशियाली खेलकुदमा (अलग-अलग समयमा) भाग लिने पहिलो आमा-छोरी जोडीको कीर्तिमान पनि बन्ने छ।
उनकी आमा निरा कायस्थले सफ्ट टेनिस खेलमा ३ पटक एशियाली खेलकुदमा सहभागिता जनाइसकेकी छन्।
यो अनुपम कीर्तिमान बन्नुमा भाग्यको पनि साथ हुन सक्छ।
कोरोनाभाइरस महामारीका कारण एक वर्ष अगाडि नै सम्पन्न हुनुपर्ने एशियाड ढिलो हुन गयो।
एक वर्ष अगाडि नै प्रतियोगिता सञ्चालन भएको भए नेपालबाट २३ खेलले मात्र सहभागिता जनाउँथ्यो। त्यसमा टेनिस खेल समावेश थिएन।
जब प्रतियोगिता एक वर्ष सर्यो, ६ वटा खेलहरू थपिएर नेपालले भाग लिने खेल सङ्ख्या २९ पुग्यो।
थपिएको खेलमा टेनिस पनि एक थियो।
त्यसपछि बल्ल सुनिरालाई कान्छी खेलाडी बन्ने अवसर जुरेको हो।
खेल क्षमता
यो उमेरमा एशियाली खेलकुदको ठूलो प्रतिस्पर्धामा छनोट भएर सुनिराले आफ्नो क्षमता पुष्टि गरेकी हुन्।
टेनिसमा ३ पुरुष र ३ महिला गरी ६ जना खेलाडी छनोट गरिएको थियो।
छनोट प्रतियोगितामा टेनिसका शीर्ष वरियताका ८ खेलाडीहरू सहभागी भएका थिए। जसमा सुनिरा शीर्ष ३ मा पर्दै एशियाडमा छानिएकी हुन्।
तेस्रो नम्बरमा परेकी हुनाले उनले मिक्स डबल्समा मात्र सहभागिता जनाउन पाउने छिन्। सेप्टेम्बर २४ तारिखमा हुने खेलमा उनको जोडी प्रणव खनालसँग हुने छ।
एशियाडलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको सुरुवाती महत्त्वपूर्ण अवसरको रूपमा लिएको उनी बताउँछिन्।
उनी भन्छिन्, "यो मेरो लागि ठूलो अवसर हुनेछ। त्यहाँ ठूला-ठूला खेलाडीहरूसँग खेल्ने मौका पाउनेछु। त्यो मेरो लागि प्रेरणा पनि हुनेछ।"

मेहनती सुनिरा
आमा निरा कायस्थ सफ्ट टेनिसकी खेलाडी/प्रशिक्षक हुनाले उनकै छत्रछायामा सुनिरा टेनिसतिर स्वत:स्फूर्त आकर्षित भएकी हुन्।
आमाको पछि लागेर उनी उति बेलै मैदानका बल टिप्न दौडिन्थिन्।
आमा निराले पनि छोरीलाई टेनिस खेलाडी बनाउने योजना बुन्दै उनलाई मैदानमा उतारेकी थिइन्।
सुनिरामा प्रतिभा प्रशस्त थियो। त्यसैले खेल सुरु गरेको दुई वर्षमा नै उनी अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्रन सक्षम भइसकेकी थिइन्।
उमेर समूहका प्राय सबै प्रतियोगितामा छोरीले सहभागिता नछुटाएको आमा निरा बताउँछिन्।
निराले भनिन्, "खेलकुद प्रतिको रुचिले छोरीलाई यसमा गहिरिएर लाग्न प्रेरणा मिल्यो। हामीले होस्टेमा हैँसे मात्र गरेका हौँ।"
गत वर्ष त सुनिराले श्रीलङ्कामा सम्पन्न विश्व जुनियर टेनिस च्याम्पियनसिपको प्रि-क्वालिफाइङमा तेस्रो स्थान हासिल गरेकी थिइन्।

निराको कीर्तिमान
आमा निरा कायस्थ पनि आफ्नो समयकी सक्षम टेनिस खेलाडी थिइन्।
तर महँगो मानिने टेनिसमा अडिइरहन नसकिने र उस्तै खाले मिल्दोजुल्दो खेल भएपछि उनले सफ्ट टेनिसमा सम्भावना देखेर त्यतै लागेको निरा बताउँछिन्।
त्यसपछि सफ्ट टेनिसमा एकछत्र राज गरेकी निराले ३ वटा एशियाली खेलकुदमा भाग लिन सफल भएकी हुन्।
संयोग कस्तो भने एशियाली खेलकुदमा उनको पहिलो सहभागिता पनि सन् १९९० मा चीनको बेइजिङबाटै भएको थियो।
त्यसपछि निराले सन् १९९४ मा जापानको हिरोशिमा र सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको एशियाली खेलकुदमा सहभागिता जनाएकी थिइन्।
हाल सफ्ट टेनिसकी स्वयंसेवक प्रशिक्षक र सङ्घको कार्यसमितिको सदस्य रहेकी निरा छोरीलाई व्यावसायिक खेलाडी बनाउने धुनमा छिन्।
आमाको साथ पाएकी उनी पनि त्यही योजना सुनाउँछिन्।
सुनिरा भन्छिन्, "मलाई व्यावसायिक खेलाडी बन्ने रहर छ। यसरी नै सिक्दै जाने हो। हान्जाउको एशियाली खेलकुदले त मलाई ठूलो हौसला दिनेछ।"
हान्जाउमा सुनिराले एउटा अवसर भने गुमाउने भएकी छन्।
उद्घाटन समारोहको भोलिपल्ट नै उनको प्रतिस्पर्धा भएकोले उनी सो समारोहमा सहभागी हुन पाउने छैनन्।
सुनिराकी आमाले चाहिँ टेलिभिजनमा उद्घाटन समारोह हेर्ने छिन्।
छोरीको हौसला बढाउन हान्जाउ जाने होइन त? निरा भन्छिन्, "हान्जाउ सम्म पुगेर किन खर्च गर्नु र! बरु त्यो पैसाले छोरीलाई अर्को खेलमा सहभागी गराउने हो।"
उनले भनेको अर्को खेल चाहिँ यसै वर्ष बहराइनमा हुने 'बिल्ली जिन किङ कप' मा छोरीलाई सहभागी गराउने उनको योजना छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








