एशियाली खेलकुदको नेपाली टोलीमा महिला खेलाडीलाई प्राथमिकता

- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
मेनुका कुमारी राजवंशीले कबड्डी खेल्न थालेको १५ वर्ष भन्दा बढी भयो। न कुनै व्यावसायिक सम्भावना, न ठूलो पदकको आशा। तर पनि मेनुकाले कबड्डी कहिले छोडिनन्।
उनको लामो धैर्यले त्यतिखेर सार्थकता पायो जब उनलाई थाहा भयो- आगामी एशियाली खेलकुदमा नेपालले महिला कबड्डीलाई पनि सहभागी गराउने भएको छ र उनले टोलीको कप्तानी गर्नेछिन्।
एशियाडमा नेपाली महिला कबड्डी टोलीले भाग लिन लागेको यो पहिलो पटक हो।
मेनुका भन्छिन्, " मेरो लागि यो ओलिम्पिक खेले जस्तै हो। खेलाडी जीवनमा यति ठूलो प्रतियोगिता खेल्न पाउँछु भनेर सोचेको पनि थिइनँ। हामी भाग्यमानी भयौँ।"
दुई महिनापछि चीनको ख्वाङजौमा हुने १९औँ एशियाली खेलकुद (एशियाड) मा नेपालले २९ वटा खेलमा सहभागिता जनाउँदैछ।
र, राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगितामा महिला सहभागितालाई प्राथमिकतामा राखेको छ। जसका कारण सहभागी खेलाडीहरूमा पुरुषभन्दा महिलाको सङ्ख्या धेरै रहेको छ।
कति खेलाडी सहभागी हुँदैछन्?
एशियाड छिमेकी राष्ट्र चीनमा आगामी असोज ६ देखि २१ गते सम्म आयोजना हुँदैछ।
एकल र समूहगत गरी नेपालले भाग लिने २९ वटा खेलबाट २ सय ३४ खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।
जसमा महिलाको सङ्ख्या १२७ जना छ भने पुरुषको सङ्ख्या १०७ जना रहेको छ।
फुटबल, बास्केटबल, ह्यान्डबल, कबड्डी र सुटिङ गरी ५ वटा खेलमा त महिला टोली मात्र समावेश गरिएको छ।
अन्य खेलहरूमा महिला र पुरुष खेलाडीहरू समावेश छन्।

महिला खेलाडी सङ्ख्या किन बढी?
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ भन्छन्, "विगतमा महिला खेलाडीहरूले गरेको प्रदर्शन र प्राप्त नतिजाको मूल्याङ्कन गर्दै परिषद्ले महिला खेलाडीलाई प्राथमिकता दिएको हो।"
खेलकुद परिषद्ले एशियाडमा सहभागिता जनाउने खेलको निर्णय गर्नु अगाडि परिषद्को 'हाइ पर्फमेन्स कमिटी'को तथ्याङ्कलाई ध्यान दिएको थियो।
उक्त कमिटीले पछिल्लो समय नेपाली खेलकुदमा पुरुषभन्दा महिला खेलाडीहरूले राम्रो प्रदर्शन गरेको जनाएको थियो।
जस्तै पहिलो पटक समावेश कबड्डी, ह्यान्डबल, बास्केटबल र फुटबलको महिला टोलीले नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकुदमा रजत पदक जितेका थिए।
त्यसैगरी सागको फाइनलमा पुगेको महिला भलिबल टोलीलाई पनि एशियाडमा समावेश गरिएको छ।


सदस्य सचिव घिसिङले खेलकुद क्षेत्रमा महिला खेलाडीहरिमाथि कुनै भेदभाव नभएको उदाहरणको रूपमा एशियाड सहभागिता रहने बताउँछन्।
उनी भन्छन्, "खेलकुदमा नतिजाको महत्त्व बढी हुन्छ र नेपाली महिला खेलाडीहरू त्यसमा अगाडि देखिएका छन् त्यसको कदर गर्नै पर्छ। "
सहभागी एकल खेलहरूमा भने महिला र पुरुष दुबैलाई बराबरको सङ्ख्यामा स्थान दिइएको छ। त्यसमध्ये बक्सिङमा भने पुरुष ७ र महिला खेलाडी ६ जना छन् भने उसुमा पुरुष ७ तथा महिला खेलाडी ५ जना छन्।
कबड्डी प्रशिक्षक पार्वती राई भन्छिन्, "१३ औँ सागमा महिला कबड्डी फाइनलसम्म पुग्न सफल भएको थियो। त्यो मेहनतको सम्मान भए जस्तो लाग्छ।"
एशियाली खेलकुदको विशेषता के छ भने त्यसमा भाग लिन कुनै छनोट चरण पार गर्नु पर्दैन।

नेपालको विगतको प्रदर्शन कस्तो छ?
एशियाडको विगत हेर्ने हो भने त्यसमा महिला खेलाडीहरूले नै बढी सफलता दिलाएका छन्।
चौबीस वर्ष अगाडि तेक्वान्दोकी सविता राजभण्डारीले एशियाडमा रजत पदक जितेकी थिइन्।
सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा आयोजित एशियाडमा नेपालबाट एक मात्र पदक कराँतेकी विमला तामाङले प्राप्त गरेकी थिइन्।
एशियाली खेलकुदमा अहिलेसम्म आठ जना महिला खेलाडीहरूले पदक जित्न सफल भएका छन्।
सन् १९९४ को एशियाडमा तेक्वान्दोकी सीता राई (कांस्य) नेपाललाई पदक दिलाउने पहिलो महिला खेलाडी थिइन्।
त्यसपछि सन् १९९८ मा सविता राजभण्डारीले रजत र सपना मल्लले कांस्य पदक जितेका थिए।
सन् २००२ मा तेक्वान्दो कै रितु जिमी राई र रेणुका मगर दुवैले कांस्य पदक जितेका थिए भने सन् २००६ मा तेक्वान्दोकी आयशा शाक्य र मनिता शाही दुवैले कांस्य पद प्राप्त गरेका थिए। सन् २०१४ मा कराँते खेलाडी विमला तामाङले कांस्य जितेकी थिइन्।
एशियाली खेलकुदमा के चुनौती?

एशियाली खेलकुदमा थुप्रै खेलले सहभागिता जनाउन इच्छा जनाए पनि राष्ट्रिय खेलकुद परिषद्ले निश्चित खेललाई मात्र छान्ने गर्छ।
उनन्तीस वटा खेलमा २३४ खेलाडी सहभागी हुने १९औँ एशियाली खेलकुद नै नेपालबाट सबैभन्दा धेरै सङ्ख्यामा खेलाडी जान लागेको पहिलो प्रतियोगिता हो।
कतिपय खेलका खेलाडीहरूले भने महिलालाई बढी स्थान दिएको भन्दै गुनासो गरेको देखिन्छ।
महिला टोलीले मात्र सहभागिता पाएको नेपाल बास्केटबल सङ्घका अध्यक्ष भीम सिंह गुरुङले पुरुष टोली पनि पठाउन चाहेको बताए।
उनले भने, " हामीले महिला पुरुष दुवै टोली पठाऊँ भनी अनुरोध गरेका थियौँ। तर परिषद्ले पदक जितेको भन्दै महिला टोलीलाई नै स्थान दियो। यसमा सङ्घले केही गर्न सक्ने भएन। "
यद्यपि महिला खेलाडीहरूलाई एशियाली स्तरमा पदक जित्ने चुनौती भने यथावत् देखिन्छ।
एशियाडको इतिहासमा नेपालबाट कराँते र तेक्वान्दो खेलका महिला खेलाडीले मात्र पदक जितेका छन्।
एशियाली स्तरमा पदक सम्म पुग्न चुस्त योजना र कार्यान्वयनको लागि थुप्रै तयारी जरुरी हुने देखिँदै आएको छ।
त्यसैले महिला होस् वा पुरुष, पदक प्राप्त गर्न खेलाडीहरूले ठुलै कसरतको जरुरी देखिन्छ।








