१३ औँ सागमा पदक जित्ने एक दर्जन तेक्वान्दो खेलाडी पलायन

तस्बिर स्रोत, SAG
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
राष्ट्रिय फुटबल खेलाडीहरू धमाधम विदेशिएको समाचार पछिल्लो समय निकै सुनिन थालेको छ।
तर फुटबल मात्र होइन, अन्य खेलका राष्ट्रिय खेलाडीहरूको पनि देश छोड्ने क्रम दिनदिनै बढिरहेको देखिएको छ।
नेपाललाई अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा बढी पदक दिलाउने खेलको रूपमा परिचित तेक्वान्दो खेलका खेलाडीहरू त्यसको पछिल्ला उदाहरण हुन्।
पछिल्लो समय नेपालमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जितेका ५ जना खेलाडीसहित एक दर्जन पदकधारी खेलाडी तेक्वान्दो त्यागेर विदेशिएका छन्।
स्वर्ण पदक जितेका भूपेन श्रेष्ठ, सक्षम कार्की, संगीता बस्याल, पार्वती गुरुङ र सञ्जिला तिमल्सिना विदेशिएका छन्।
त्यस्तै रजत पदक जितेका निमा गुरुङ, किरण आले, अप्सरा कार्की, मनिता शाही र कृष्णबहादुर तामाङ विदेशिएका छन् भने कास्य पदक प्राप्त गरेर देश छाड्नेहरू मनोज मल्ल, ज्ञानेन्द्र हमाल र निश्चलमान श्रेष्ठ हुन्।
१३ औँ सागमा नेपालले १२ स्वर्ण, ६ रजत र ११ कास्य पदक जितेको थियो। जुन सहभागी २८ खेलमध्ये सबैभन्दा बढी थियो।
विदेशिनु रहर कि वाध्यता?

तस्बिर स्रोत, BHUPEN SHRESTHA
भूपेन श्रेष्ठलाई तेक्वान्दोमा पछिल्लो पुस्तामा उत्कृष्ट खेलाडी मध्ये एक मानिन्थ्यो।
६ फिट ४ इञ्च अग्ला यी खेलाडी विगत ४ वर्ष राष्ट्रिय टोलीको प्रमुख खेलाडीका रूपमा छाएका थिए।
कोटेश्वर तेक्वान्दो डोजाङका यी खेलाडी १३ औँ सागमा स्वर्ण जित्नु अगाडि इन्डोनेसियामा सम्पन्न १८ औँ एसियाली खेलकुदमा सहभागी भएका थिए।
उनले आठौँ राष्ट्रिय खेलकुद र इन्डियन ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका थिए।
तर तेक्वान्दोमा निरन्तर रूपमा देखिएको विवाद अनि सङ्घले प्रतियोगितामा सहभागी गराउन बेवास्ता गरेपछि उनले त्यहाँ आफ्नो भविष्य दाउमा राख्न उचित ठानेनन्। र, आफू विदेशिने निर्णयमा पुगेको उनी बताउँछन्।
उनले भने, "राष्ट्रिय टिमबाट ४ वर्ष मेहनत गरेपछि मैले १३ औँ सागमा स्वर्ण जित्न सफल भएँ र त्यसपछि धेरै सपना पनि बुनेँ। तर वास्तविकता फरक देखियो। त्यसैले तेक्वान्दोमा रुमलिनु भन्दा भविष्य सुनिश्चित गर्न अस्ट्रेलिया आएको हुँ।"
भूपेन अस्ट्रेलिया पुगेको ४ महिना भयो।
उनीसँगै स्वर्ण जितेका सक्षम, पार्वती, सङ्गीता र सञ्जिला पनि अस्ट्रेलिया पुगेका छन्।
त्यस्तै रजत पदक जितेका खेलाडीहरू निमा र अप्सरा पनि अस्ट्रेलियामै छन्।
किरण र कृष्ण भने ६ महिना अगाडि दक्षिण कोरियामा भएको एसियन तेक्वान्दो खेल्न गएका बेला उतै बसे। उनीहरू आफ्नै खर्चमा कोरियामा खेल्न गएका थिए।
पुराना साग स्वर्णधारी मनिता शाही भने पहिला नै अमेरिका पुगिसकेकी थिइन्।
यसरी नै कास्य पदक जितेका तीनै जना खेलाडीहरू मनोज, ज्ञानेन्द्र र निश्चलमान पनि अस्ट्रेलिया पुगेका छन्।
गुनासो
१३ औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा खेलाडीहरू खुसी हुनु अनि उज्ज्वल भविष्यको कल्पना गर्नु स्वाभाविक नै थियो। तर उज्ज्वल भविष्यको सपना देखिरहेका खेलाडीहरूको सपना बिस्तारै तुहिँदै गयो, जब उनीहरूले तीन वर्ष बित्दासमेत एउटा पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएनन्।
नेपाल तेक्वान्दो सङ्घले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको लागि नपठाएको उनीहरूको गुनासो छ।
केही खेलाडीले त अन्तर्राष्ट्रिय प्रतियोगिता खेले तर आफैँले खर्च बेहोर्नुपर्यो।
यस्तो अवस्था देखिएपछि विस्तारै खेलाडीहरू एकपछि अर्को गर्दै विदेशिन थालेको देखिन्छ।
हुन त यसबीच कोरोनाभाइरस सङ्क्रमणको महामारीका कारण विश्वभरका खेलकुद प्रतियोगिताहरूमा असर नपरेको होइन।
तर खेलाडीहरूको लागि वातावरण भने सधैँ कोरोनभाइरस सङ्क्रमणकै जस्तो रहेको उनीहरू बताउँछन्।
दोष एकअर्कामाथि

तस्बिर स्रोत, SAG
विश्व स्तरीय प्रतियोगितामा तेक्वान्दो पदाधिकारीहरूमात्र सहभागी हुने तर खेलाडीहरूलाई नलैजाने भएपछि त्यसले आफूहरूलाई निराश बनाएको खेलाडीहरू बताउँछन्।
सन् २०२२ मा बुल्गेरियाको सोफियामा भएको २२ औँ साधारण सभामा भाग लिन अध्यक्ष प्रकाश शमशेर राणा, महासचिव दीपराज गुरुङ र विजय न्यौपाने पुगेका थिए।
तर पदाधिकारीहरूले त्यहाँ भएको विश्व जुनियर तेक्वान्दो च्याम्पियनशिपमा भने कुनै खेलाडी लिएर गएनन्।
राष्ट्रिय खेलकुद परिषद्को तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीन श्रेष्ठ भन्छन्, "वर्षमा ३ दर्जन बढी अन्तर्राष्ट्रिय प्रतियोगिता हुने गर्छ। सबैमा सम्भव नभए पनि मुख्य अन्तर्राष्ट्रिय प्रतियोगितामा त सङ्घले खेलाडीहरू लैजानुपर्ने होइन र? तर तीन वर्षको बीचमा एउटा खेलमा पनि खेलाडीहरूलाई सहभागी नगराउनु भनेको अन्याय नै हो।"
यद्यपि नेपाल तेक्वान्दो सङ्घले खेलाडी विदेशिनुमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई जिम्मेवार ठान्छन्।
सङ्घका अध्यक्ष प्रकाश शमशेर राणा भन्छन्, " सङ्घले खेलाडी उत्पादन गर्ने हो र उनीहरूलाई पदक जिताउन लायक बनाउने हो। खेलाडी जोगाउने खेलकुद परिषद्ले हो। तर परिषद्ले नै तेक्वान्दो सङ्घमा विवाद खडा गरेर बसेको छ। यसले खेलाडीहरूमा अस्थिरता आउने नै भयो।"
छात्रवृत्तिमा आफूखुसी
खेलाडीहरूको सङ्घ प्रतिको अर्को गुनासो तेक्वान्दो खेलाडीहरूको ओलिम्पिक छात्रवृत्तिमा गरिएको चयनमा देखिन्छ।
अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटीले नेपाल ओलिम्पिक कमिटीमार्फत् हरेक ओलिम्पिकमा उच्च सम्भावना बोकेका खेलाडीहरूलाई छात्रवृत्ति दिने गर्दछ।
सन् २०२४ मा पेरिसमा हुने ओलिम्पिकका लागि १० नेपाली खेलाडीहरूलाई उक्त अवसर दिइएको थियो।
ओलिम्पिक छात्रवृत्ति नेपाली खेलाडीहरूले पाउने अहिलेसम्मकै सबैभन्दा ठूलो छात्रवृत्ति कार्यक्रम हो, जहाँ छनोट भएका खेलाडीहरूले प्रति महिना ५ सय अमेरिकी डलर ( ६५ हजार नेपाली रुपैंयाभन्दा बढी) प्राप्त गर्छन्।)
उक्त छात्रवृत्तिमा नेपाल तेक्वान्दो सङ्घले खेलाडी युनिसा राईलाई चयन गर्यो।
तेक्वान्दो खेलाडी, प्रशिक्षकहरूका अनुसार सो छात्रवृत्ति तेक्वान्दोको सबैभन्दा उत्कृष्ट खेलाडीले पाउनुपर्ने थियो।
जस्तै दक्षिण एसियाली खेलकुद प्रतियोगिताको स्वर्ण जितेका वा विश्व वरीयतामा उच्च वरीयता प्राप्त गर्ने खेलाडी त्यसमा पर्नुपर्ने हो।
तेक्वान्दो सङ्घले छानेको खेलाडी युनिसा राई १३ औँ सागमा काश्य पदक मात्र जितेकी थिइन्। जबकि उक्त सागमा १२ जना खेलाडीले त स्वर्ण पदक नै प्राप्त गरेका थिए।
त्यस्तै तेक्वान्दोको विश्व वरीयतामा युनिसा २७५ वरीयतामा छिन्। उनीभन्दा अगाडि इन्द्र बस्नेत १५३, वीरबहादुर महरा १६१, नीरज देउवा १८२ र भूपेन श्रेष्ठ विश्व वरीयतामा १९७ छन्।
यस्तोमा खेलाडी चयन 'सही' नभएको खेलाडीहरूको ठम्याई हो।
यस्तै कारण देश छाड्नुपरेको बताउने भूपेन श्रेष्ठले अस्ट्रेलियाबाट बीबीसीलाई भने, "तेक्वान्दोमै जीवन अर्पण गर्ने न्यायोचित कारण के त? कसैको विरोध होइन, तर उत्कृष्ट खेलाडीहरूको सूचीमा हामी थुप्रै थियौँ। अवसरका बेला टुलुटुलु हेर्नुपर्ने भयो।"
तर नेपाल तेक्वान्दो सङ्घले भने ओलिम्पिक छात्रवृत्ति महिला खेलाडीको लागि आएकोले महिला खेलाडी रोज्न परेको जनाएको छ।
अध्यक्ष राणा भन्छन्, " छात्रवृत्ति महिला खेलाडीको लागि आएको कोटा थियो। त्यसमा सङ्घले भोलिको लागि पदक जित्न सक्ने सम्भावित खेलाडी छानेको हो। त्यो विवाद गर्नुपर्ने विषय नै होइन।"
आन्तरिक विवाद
खेलाडी पलायनको अर्को कारण तेक्वान्दोमा देखिएको विवादलाई पनि मानिन्छ।
महासचिव दीपराज गुरुङको नियन्त्रणमा रहेको मानिएको नेपाल तेक्वान्दो सङ्घ एकलौटी ढङ्गले चलेको भन्दै विगतमा कतिपयले प्रश्न उठाउने गरेका थिए।
अनि थुप्रै पदकधारी खेलाडीहरू र पदाधिकारीहरूले पलायनकै बाटो रोजेको देखिएको थियो।
पछिल्लो समय विसं २०६८ सालमा नेपाल तेक्वान्दो युनियन (हाल राष्ट्रिय तेक्वान्दो सङ्घ)को नाममा खेलकुद परिषद्मा नयाँ तेक्वान्दो दर्ता भएपछि भने तेक्वान्दोको विवाद संस्थागत बन्न पुगेको थियो।
अहिले यी दुवै सङ्घ खारेज गर्दै राष्ट्रिय खेलकुद परिषद्ले नेपाल तेक्वान्दो महासंघ दर्ता गरेपछि विवाद अदालतमा पुगेको अवस्था छ।
एक दशक बितिसकेको यो विवादले तेक्वान्दो खेलाडीहरू भने प्रभावित हुँदैआएको देखिन्छ।










