एशिया कपमा नेपालको पहिलो खेलमै विश्वका तीन उत्कृष्ट ब्याटरसँग जम्काभेट हुने

सोमपाल कामी, गुलशन झा र करन केसी

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, नेपाली बलरहरूले पहिलो खेलमा पाकिस्तानका उत्कृष्ट ब्याटरहरूको सामना गर्नुपर्ने छ
    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली

निकै व्यग्रतापूर्वक प्रतीक्षा गरिएको एशिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता खेल्नका निम्ति मङ्गलवार राति पाकिस्तानतर्फ जानुअघि काठमाण्डूमा पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका कप्तान रोहित पौडेलले बलियो आत्मविश्वास प्रकट गरे।

क्रिकेटमा "खेलको दिन राम्रो प्रदर्शन गर्न सके जुनसुकै टोलीले जुनसुकै टोलीलाई पराजित गर्न सकिने" भन्दै उनले आफ्नो तर्फबाट नेपालले शत प्रतिशत प्रयास गर्ने बताए। उनको आत्मविश्वासको परीक्षण हुन अब केवल सात दिन बाँकी छ।

एशिया कपमा कुल छ देशले प्रतिस्पर्धा गर्न लागेका छन्। नेपाल रहेको समूहमा भारत र पाकिस्तान पनि छन् भने अर्को समूहमा श्रीलङ्का, अफगानिस्तान र बाङ्ग्लादेश छन्।

प्रत्येक समूहका दुई उत्कृष्ट टोलीले सुपर फोर' चरणमा प्रवेश पाउने छन्। उक्त चरणबाट छानिएका दुई टोलीबीच सेप्टेम्बर १७ तारिख फाइनल खेल हुने छ।

उत्कृष्ट खेलाडीहरूसँग जम्काभेट

प्रतियोगिताको पहिलो खेलमा अगस्ट ३० मा नेपालले मुल्तान रङ्गशालामा एउटा यस्तो पाकिस्तानी टोलीको सामना गर्नुपर्ने छ। उक्त टोलीमा अहिले विश्वकै सर्वोत्कृष्ट मानिने ब्याटरहरू छन्।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जारी गरेको पछिल्लो विश्व वरीयताक्रममा एकदिवसीय खेलमा पाँच सर्वोत्कृष्ट ब्याटरमध्ये तीन जना पाकिस्तानका छन्।

बुधवारको वरीयताक्रममा कप्तान बाबर आजम पहिलो स्थानमा छन् भने इमाम उल हक तेस्रो र फखर जमान पाँचौँ स्थानमा छन्।

उक्त सूचीमा चौथो स्थानमा रहेका भारतका शुभमान गिलसँग भने सेप्टेम्बर ४ मा श्रीलङ्काको क्यान्डीस्थित प्यालेकिले रङ्गशालामा नेपाली टोलीको जम्काभेट हुने छ।

बलिङतर्फ भारतका मोहमद शिराज अहिले एकदिवसीय वरीयतामा पाँचौँ स्थानमा छन् भने पाकिस्तानका शहिन अफ्रिदी नवौँ स्थानमा छन्।

आईसीसीको वरीयताक्रममा नेपालका खेलाडीहरूको स्थान कहाँ होला त?

बलिङतर्फ सन्दीप लामिछाने २२ औँ स्थानमा अनि दीपेन्द्रसिंह ऐरी ६३औँ स्थानमा छन्। सोमपाल कामी ८०औँ, करन केसी ८३औँ अनि ललित राजवंशी ९८औँ स्थानमा छन्।

त्यस्तै ब्याटिङतर्फ भने उक्त सूचीमा नेपालका कप्तान रोहित पौडेल ७३औँ स्थानमा अनि आशिफ शेख ८०औँ स्थानमा छन्।

रोहित पौडेल

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, कप्तान रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले भारत र पाकिस्तानविरुद्ध खेल्ने छ

दुई रङ्गशाला जहाँ नेपाली टोलीले खेल्ने छ

नेपालले पाकिस्तानको मुल्तान रङ्गशाला अनि श्रीलङ्काको प्यालेकिले रङ्गशालामा खेल्ने छ।

अभ्यासका निम्ति केही दिन कराचीमा बिताएर नेपाली टोली पाकिस्तानको पन्जाब प्रान्तस्थित मुल्तान सहर जाने बताइएको छ।

पहिलो खेल हुने मुल्तान रङ्गशालाबारे केही रोचक प्रसङ्गहरू चर्चामा छन्।

मुल्तान क्रिकेट स्टेडियम

तस्बिर स्रोत, BBC

यही रङ्गशालामा सन् २००४ मा भएको टेस्ट खेलमा भारतका वीरेन्द्र सहवागले ३०९ रनको विशाल कीर्तिमान बनाएर पाकिस्तानमाथि सहज जित दिलाएका थिए।

उक्त रङ्गशालाको ३०,००० दर्शक अट्न सक्छन्।

नेपालको दोस्रो खेल श्रीलङ्काको क्यान्डी सहरस्थित प्यालेकिले रङ्गशालामा हुँदै छ।

सोही रङ्गशालामा सेप्टेम्बर २ तारिखमा पाकिस्तान र भारतबीच पनि खेल हुने छ।

त्यसको दुई दिनपछि सेप्टेम्बर ४ मा त्यही मैदानमा नेपालले भारतको सामना गर्ने छ।

उक्त रङ्गशालाको दर्शक क्षमता ३५,००० छ।

भारत र पाकिस्तानसँग ऐतिहासिक खेल

भारत र पाकिस्तानका समर्थक

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, एशिया कपमा भारत र पाकिस्तानबीच हुने खेललाई निकै उत्सुकताका साथ प्रतीक्षा गरिँदै छ

नेपालको राष्ट्रिय टोलीले भारत र पाकिस्तानका राष्ट्रिय टोलीसँग पहिलो पटक खेल्दै छ।

“यो नेपालका लागि विशिष्ट अवसर हो। यसपछि भारत र पाकिस्तानसँग नेपालले कहिले खेल्न पाउला भनेर भन्न सकिन्न,” खेल विश्लेषक एवं कान्तिपुर दैनिकका पत्रकार विनोद पाण्डे भन्छन्।

“नेपालले भारत र पाकिस्तानसँग खेल्ने भनेको कि त एशिया कप कि त विश्वकपमा हो।"

"नेपालले एकदिवसीय मान्यता पाइसकेको भए पनि यस्ता टोलीसँग द्विदेशीय शृङ्खला खेल्न आर्थिक, प्राविधिक तथा अन्य कारणले उति सहज देखिँदैन,” एशिया कपले प्रदान गरेको अवसरको महत्त्वबारे उनले भने।

तीन देशका टोली सदस्य

एशिया कपमा खेल्नका लागि नेपाल क्रिकेट सङ्घले १७-सदस्यीय टोली घोषणा गरेको छ।

रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा आशिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करन केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतीश जीसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल छन्।

यद्यपि मङ्गलवार पाकिस्तान गएको टोलीमा सन्दीप लामिछाने छैनन्। तर उनी पछि टोलीमा सहभागी हुने ठानिएको छ।

भारतले १८ सदस्य भएको टोलीको घोषणा गरेको छ।

नेपाली टोली

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, मङ्गलवार पाकिस्तान उडेको टोलीमा सन्दीप लामिछाने थिएनन्

रोहित शर्माको कप्तानीमा शुभमान गिल, विराट कोहली, श्रेयश ऐयर, सूर्यकुमार यादव, तिलक वर्मा, केएल राहुल, ईशान किशन, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, शार्दूल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, जसप्रीत बुमराह, मोहमद शामी, मोहमद शिराज, प्रसिद कृष्णा र सञ्जु स्याम्सन भारतीय टोलीमा समावेश छन्।

ढाडमा चोटका कारण गएको एक वर्षदेखि क्रिकेट मैदानभन्दा बाहिरै बस्न बाध्य बुमराहलाई भारतीय टोलीका सशक्त बलर मानिन्छ। उनले मैदानमा पुनरागमन गर्दै छन्।

पाकिस्तानले १७ सदस्य भएको टोलीको घोषणा गरेको छ।

बाबर आजमको कप्तानीमा अब्दुल्लाह शफिक, फखर जमान, इमाम उल हक, सलमान अलि आगा, इफ्तिखार अहमद, तय्यव ताहिर, मोहमद रिजवान, मोहमद हरिस, शदाब खान, मोहमद नवाज, उसामा मिर, फहिम अशरफ, हरिस राउफ, मोहमद वासिम, नसिम शाह र शहिन अफ्रिदी टोलीमा सामेल छन्।