एशिया कप प्रतियोगितामा प्रभाव पार्न सक्ने नेपाली खेलाडीहरू

रोहित

तस्बिर स्रोत, CAN

    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

कुनै पनि टोलीमा सबै खेलाडीहरूको भूमिका महत्त्वपूर्ण हुन्छ नै। यद्यपि केही खेलाडीहरूमा समर्थकहरूले केही धेरै वा थोरै विश्वास गर्ने गर्छन्।

आगामी महिना हुने एशिया कप क्रिकेट प्रतियोगितामा भारत र पाकिस्तानसँग पहिलो पटक सामना गर्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूको पनि विभिन्न ढङ्गले चर्चा भइरहेको छ।

टेस्ट टोलीविरुद्ध नेपाली खेलाडीहरूले कस्तो प्रदर्शन गर्लान्? सबैको चासो यसैमा केन्द्रित छ।

पछिल्लो समय एकपछि अर्को प्रतियोगितामा लगातार जसो खेलिरहेका नेपाली खेलाडीहरूले प्रभावकारी प्रदर्शन गर्दै आएका छन्।

अहिले नेपाली टोली कुनै एक वा दुई खेलाडीमा निर्भर छैन। फरक फरक खेलमा फरक फरक खेलाडीहरू चम्किएका छन्।

भारत र पाकिस्तानसँग खेल्दा कस्ता खेलाडीहरूको भूमिका महत्त्वपूर्ण हुन सक्छ? पछिल्ला खेलहरूको प्रदर्शनको आधारमा प्रभाव पार्न सक्ने पाँच खेलाडीहरू हुनसक्ने ठानिएको छ।

कुशल भुर्तेल

कुशल

तस्बिर स्रोत, ICC

भारत र पाकिस्तानसँग खेल्दा नेपालका लागि महत्त्वपूर्ण पक्ष भनेको टोलीलाई राम्रो सुरुआत दिन सक्नु हुनेछ। निश्चित छ, नेपाली ब्याटरहरूले टेस्ट खेल्ने टोलीका अत्यन्त तीव्र गतिका बलरहरूको सामना गर्नुपर्नेछ।

प्रारम्भिक ब्याटर कुशल भुर्तेल त्यस कारण पनि उक्त प्रतियोगितामा महत्त्वपूर्ण पात्र हुनेछन्। पछिल्ला वर्षहरूमा राष्ट्रिय क्रिकेट टोलीको स्थायी ओपनरको पहिचान बनाइसकेका भुर्तेलसँग त्यो क्षमता छ पनि।

नेपालले टेस्ट राष्ट्रको रूपमा जिम्बाब्वेविरुद्ध खेलेको खेलमा भुर्तेलले ९९ रनको लोभलाग्दो प्रदर्शन गरेका थिए।

red line
red line

एशिया कपमा भुर्तेलको भूमिका विकेटमा धरै समय बिताएर इनिङ्गस अगाडि बढाउन सक्नुमा हुनेछ। भुर्तेल आक्रामक सुरुआत गर्न रुचाउने खेलाडी पनि हुन्। तर आफ्नो प्राकृतिक खेल खेल्नुभन्दा पनि विपक्षीको रणनीति बुझेर धैर्यपूर्वक खेल्नु उनको जिम्मा हुनेछ।

भुर्तेल 'फास्ट बलर'विरुद्ध राम्रो स्ट्रोक खेल्न सक्षम खेलाडी हुन्। यद्यपि 'शर्ट पिच बल' खेल्न नसक्नु नेपाली ब्याटरहरूको कमजोरीमध्येमा पर्छ। त्यसकारण आक्रामक रूपमा प्रस्तुत नभई उनले धेरै रन बटुल्दै 'इनिङ्गस बिल्ड अप' गर्नुपर्ने बताइन्छ।

श्रीलङ्कामा भएको एसीसी एमर्जिङ कपमा पाकिस्तान र भारत 'ए' सँगको दुवै खेलमा भुर्तेलले तीव्र गतिको बल झेल्न नसक्दा आउट हुन पुगेका थिए। त्यो उनका लागि पाठ हुन सक्छ।

रोहित पौडेल

रोहित

तस्बिर स्रोत, CAN

रोहित पौडेल मध्यक्रममा नेपालको सबैभन्दा भरपर्दा ब्याटर मानिन्छन्। एशिया कपमा उनको व्यक्तिगत प्रदर्शन र कप्तानी दुवै महत्त्वपूर्ण हुने ठानिएको छ।

विश्वस्तरीय ब्याटरविरुद्ध आफ्ना बलरहरूलाई कसरी प्रयोग गर्ने? उनको कप्तानी क्षमताको ठूलो परीक्षा पनि हुने जानकारहरू बताउँछन्।

red line
red line

कप्तान पौडेल परिस्थिति बुझेर खेल्न सक्ने क्षमता भएका खेलाडी हुन्। उनी आक्रामक खेलाडी होइनन्, बिस्तारै एक, दुई रन बनाएर खेल्ने खुबी उनमा भएको मानिन्छ।

नेपाली ब्याटिङलाई स्थिरता दिने खेलाडी हुन् पौडेल। एशिया कपमा पनि उनले आफ्नो त्यही खुबी देखाउन जरुरी ठानिएको छ।

पछिल्लो समय महत्त्वपूर्ण खेलहरूमा उनको स्वाभाविक प्रदर्शन नदेखिएको टिप्पणी हुने गरेको छ। त्यसैले एशिया कप जस्तो खेलमा उनले आफूलाई प्रमाणित गर्न जरुरी हुनसक्छ।

गुलशन झा

गुलशन

तस्बिर स्रोत, CAN

पछिल्लो समय नेपालले पाएका मुख्य अलराउन्डर खेलाडी हुन् गुलशन झा। उनले बल र ब्याट दुबैबाट टिममा योगदान पुर्‍याउन सक्छन्।

दायाँ हातले बलिङ अनि बायाँ हातले ब्याटिङ गर्ने १७ वर्षका उनी बायाँ हाते स्पिनरसँग खेल्न खप्पिस देखिन्छन्।

red line
red line

कतिपयको अनुमान छ, भारत/पाकिस्तानका लागि उनको बलिङ 'लेन्थ' र बायाँ हाते ब्याटिङ 'अप्रत्याशित' हुनसक्छ।

पछिल्लो समय झा राम्रो 'फर्म'मा देखिएका छन्। विश्वकप लीग २ को सफल प्रदर्शनले उनको आत्मबल पनि बढेको अवस्था छ। उनी सातौँ वा आठौँ स्थानका लागि उपयुक्त ब्याटर मानिएका छन्।

मध्यम गतिका बलर झा विपक्षीलाई झुक्याउन सक्ने बलरका रूपमा देखा परेका छन्।

दीपेन्द्र सिंह ऐरी

दीपेन्द्र

तस्बिर स्रोत, CAN

आफ्नो स्वाभाविक लयमा फर्किएका भनिएका दीपेन्द्र सिंह ऐरीप्रति समर्थकले ठूलो आशा राखेका छन्।

राष्ट्रिय टोलीका अर्का महत्त्वपूर्ण अलराउन्डरको परिचय बनाएका ऐरी अनुभवी तल्लो मध्यक्रमका भरपर्दा पात्र हुन्। उनमा खेलको परिस्थिति अनुसार छक्का चौका हान्न सक्ने खुबी छ।

अर्को कुरा थप रन बटुल्न छिटो दगुर्न सक्ने क्षमतामा उनी नेपाली टोलीका अन्य सदस्यभन्दा अगाडि छन्।

red line
red line

कुनै पनि परिस्थितिमा खेल्न सक्ने ऐरीको इतिहास हेर्ने हो भने उनले बलिया टोलीविरुद्ध अप्ठेरो अवस्थामा रन बनाएका छन्। त्यो उनले एशिया कपमा पनि दोहोर्‍याउनुपर्ने छ।

अर्कोतर्फ बलिङमा ऐरी राम्रो विकल्प मानिन्छन्। 'लाइन र लेन्थ'मा राम्रा मानिने उनी 'राउन्ड द विकेट' बलिङमा पनि अब्बल छन्। छिटो छिटो खेलेर विपक्षी ब्याटरलाई सम्हालिन कम मौका दिने खुबी उनमा छ।

उनको सात/आठ ओभर नेपालको लागि महत्त्वपूर्ण हुन सक्नेछ। ऐरीको क्षेत्र रक्षण वा फिल्डिङ पनि गजबको छ।

सन्दीप लामिछाने

सन्दीप लामिछाने

एशिया कपमा सन्दीप लामिछाने नै नेपाली टोलीको 'ट्रम्प कार्ड' वा महत्त्वपूर्ण खेलाडी हुनेछन्। टोलीको मुख्य बलरका रूपमा उनको काँधमा विकेट लिने जिम्मा हुनेछ।

विश्व स्तरमा ठूला प्रतिद्वन्द्वीसँग खेलेको अनुभव भएका उनी टोलीका एक मात्र सदस्य हुन्।

लामिछानेको बलिङमा विविधता छ। उनको गुगली विपक्षी ब्याटरले बुझ्न गाह्रो हुने छ।

लामिछानेले नै उक्त प्रतियोगितामा बलिङमा नेपाली टोलीको नेतृत्व लिनु पर्नेछ।

उनीबाट नेपाली समर्थकले त्यो आशा गर्नेछन् नै।

red line