'वाटर ब्वाइ' ज्ञानेन्द्र मल्लको स्वच्छन्द उडान योजना

ज्ञानेन्द्र मल्ल
    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

आजको दिनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ज्ञानेन्द्र मल्लको भूमिका '१२ औँ खेलाडी' का रूपमा छ।

१२ औँ खेलाडी अर्थात् 'वाटर ब्वाइ' वा भनौँ मैदान बाहिरका खेलाडी।

उनी मैदानभित्र छ जस्तो पनि, छैन जस्तो पनि। टोलीमा हो जस्तो पनि, होइन जस्तो पनि।

यद्यपि कीर्तिपुर क्रिकेट मैदानमा आइसीसी विश्वकप लिग-२ का बेला यी वैकल्पिक खेलाडी क्रिकेट प्रेमीहरूको आँखामा भने मज्जाले परिरहे।

टोलीमा एक-एक खेलाडीको भूमिका कति महत्त्वपूर्ण हुन्छ र त्यो कसरी बहन गरिन्छ भन्ने कुराको उदाहरण उनले पस्किए।

उनको भूमिकालाई लिएर अहिले एउटा बहस नै छेडिएको अवस्था छ।

कम्तीमा ज्ञानेन्द्र मल्ल जतिको सिनियर खेलाडीलाई 'वाटर ब्वाइ' बनाइनु हुन्न भन्ने आवाजहरू एकातिर उठिरहेका छन्।

अर्कोतिर कतिपय आलोचकले उनलाई टोलीमा 'राख्नै नहुने' तर्क पनि पेश गरिरहेका छन्।

यद्यपि यी सबै उतारचढावमा बहँदै गरेका ज्ञानेन्द्र मल्ल भने आफ्नै धुनमा देखिन्छन्।

वर्तमान टोलीकै सबैभन्दा पाका खेलाडी उनी आफ्नो आगामी यात्राका लागि स्पष्ट योजना बोकेर अगाडि बढिरहेका छन्।

उनी भन्छन् - "म को हुँ मलाई थाहा छ। के गरिरहेको छु हेक्का छ र मैले के गर्नुपर्छ त्यो पनि मैले स्पष्ट बुझेको छु।"

पारस-ज्ञानेन्द्रको जोडी

नेपाली क्रिकेटको 'स्वर्णिम टोली' भनिएको राष्ट्रिय टोली (जसले टी-२० विश्वकप खेलेको थियो) का पाँच मुख्य खेलाडीमा पारस खड्का, शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी सँगै ज्ञानेन्द्र मल्लको नाम आँउछ।

ज्ञानेन्द्र लामो समय कप्तान पारसको भरपर्दो उपकप्तानको भूमिकामा रहे।

नेपाली क्रिकेटले एकपछि अर्को सफलताको तहल्का मच्चाइरहँदा उनले अहम् सदस्यको भूमिका निर्वाह गरिरहे।

ज्ञानेन्द्र मल्ल
तस्बिरको क्याप्शन, ज्ञानेन्द्र मल्लको ब्याटिङ् कला प्राविधिक रूपमा बलियो मानिन्छ

डिभिजन-५ देखि पहिलो डिभिजनसम्म र विश्वकप सहभागितादेखि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता (ओडिआई) सम्मको नेपाली क्रिकेटको यात्रामा उनी टोलीका अभिन्न अङ्ग बने।

पारस र उनको नाममा त सदावहार 'ट्रोल' नै छ। पूर्व युवराजका रूपमा पारसको अनि पूर्व राजाका नाममा ज्ञानेन्द्रको नाम। जति बेला यी दुई क्रिजमा हुन्थे, मानिसहरूमाझ राजसंस्थासँग जोडिएर एउटा कथा बनिहाल्थ्यो।

त्यो युगको इतिहास त स्वर्ण अक्षरले लेखिसकिएको छ। बरु त्यो इतिहास रच्न यिनीहरुले के के मात्र देखे, भोगे, त्यसको छुट्टै कथा छ।

ज्ञानेन्द्र मल्ल

उदाउँदो खेल

पारस-ज्ञानेन्द्र नेतृत्वको यु -१९ टोलीले एकपछि अर्को सफलता पाउने क्रममा टोलीले तीन पटक युवा विश्वकप खेल्यो।

नेपाली युवा टोलीले टेस्ट क्रिकेट खेल्ने अग्रणी राष्ट्रलाई धमाधम हराउनु सपना जस्तै नै थियो त्यो बेला।

युवा खेलाडीहरू त्यो सफलतामा नै दङ्ग थिए। न कुनै ठूलो सपना न कुनै भविष्यको योजना, खेल्न र जित्न पाए पुग्थ्यो।

उनी सम्झिन्छन् - "अरू कुराको त हेक्का सम्म थिएन त्यो बेला।"

सन् २००० देखिको एक दशकमा नेपाली क्रिकेट पनि वास्तविक आकार लिने क्रममा नै थियो।

"बल लागेपछि हाम्रो ब्याटको आवाज बेग्लै तरिकाले आउँथ्यो। बाउन्ड्री हुनुपर्ने बल क्याच हुन जाने, - ढङ्गको ब्याट नभएर।" मल्ल सम्झिन्छन् - "अनि कसैको राम्रो ब्याट छ भने कोही आउट भएर फर्केपछि जो नयाँ खेलाडी छिर्छन्, उसलाई राम्रो ब्याट खोजी खोजी दिइहाल्ने, बढी रन बनाओस् भनेर।"

ब्याट त उदाहरण मात्रै भयो। नेपाली क्रिकेटको हरेक पक्ष त्यस्तै थियो। अभावसँग अभ्यस्त थिए खेलाडीहरू।

सन् २०१० मा नेपालले डिभिजन-५ घरेलु मैदानमै खेल्दै थियो। नेपाल क्रिकेट सङ्घका तत्कालीन अध्यक्ष विनयराज पाण्डेले उपाधि जिते प्रत्येक खेलाडीलाई ५० हजार रुपैयाँ दिने घोषणा गरे।

खेलाडीहरूले पहिलो पटक यति ठूलो रकम सुनेका थिए क्यानको मुखबाट।

मल्ल सम्झिन्छन् -"हामीलाई थाहा छ, त्यो बेला त्यो घोषणापछि खेलाडीहरूमाझ खुशी कस्तो थियो।"

नेपालले डिभिजन-५ जित्यो पनि र खेलाडीहरू प्रत्येकले ५० हजार नगद पाए पनि।

अर्को शब्दमा भन्दा खेरि नगद पुरस्कार पाउने शृङ्खलाको श्री गणेश त्यहाँबाट भयो।

बर्मुडाको बहस

सन् २०१३ मा बर्मुडामा विश्व क्रिकेट लिग डिभिजन-३ खेलिरहेको नेपालले शुरुको दुई खेल अमेरिका र युगाण्डासँग लगातार हार्‍यो।

अबको एक हारले नेपालको अगाडिको यात्रा रोकिन्थ्यो।

टोलीमा गम्भीर शून्यता छाइसकेको थियो।

होटल कोठामा सबैजना जम्मा भए।

खेलाडीहरू यति गम्भीर बने की पारसले कप्तानी अनि ज्ञानेन्द्रले उपकप्तानी छोड्ने सम्मको सल्लाह भयो। अब नयाँ पुस्तालाई अगाडि बढाउनुपर्ने योजना बुनियो।

प्रशिक्षक पुबुदु दशानायके पनि साथमा थिए। उनको भनाइ थियो-"तिमीहरुले जितेमा मात्र नेपाली क्रिकेटको आवाज पुग्छ। त्यसको लागि जित्न जरुरी छ।"

ज्ञानेन्द्र मल्ल
तस्बिरको क्याप्शन, लामो समयदेखि ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेटका एक खम्बा बनेका छन्

झण्डै झण्डै खस्किसकेको टोलीको मनोबल फेरि उकासियो। त्यसपछि नेपालले बाँकी सबै खेल जित्यो।

आफू जितेर मात्र नपुग्ने अनि अन्तिममा बर्मुडाले अमेरिकालाई हराउनुपर्ने र नेपालले इटलीलाई ठूलो अन्तरमा जित्नुपर्ने अवस्थासम्म सिर्जना भयो। ठ्याक्कै त्यस्तै भइदियो पनि।

फाइनलमा बर्मुडालाई नै हराएर च्याम्पियन हुँदै डिभिजन २ मा बढुवा भयो। त्यतिमात्र होइन २०१५ को विश्वकप क्वालिफायरको लागि पनि छनोट भयो।

त्यस्तो कसरी सम्भव भयो?

ज्ञानेन्द्र सम्झिन्छन् - "हामीसँग जितको भोक थियो। अरू विकल्प पनि त केही बाँकी थिएन।"

त्यो राष्ट्रिय गान

सन् २०१४ मा बाङ्ग्लादेशमा सम्पन्न २० ओभरको विश्वकप नेपाली क्रिकेटले खेलेको अहिलेसम्मकै ठूलो प्रतियोगिता हो।

नेपालले हङकङ र अफगानिस्तानलाई हराउँदा नेपाली समर्थकहरूले मनाएको खुशीको बेलाबखत चर्चा भइरहन्छ।

ज्ञानेन्द्र पनि नेपालको खुशीमा झुमिरहेकै थिए। उनलाई अरू बेला झैँ खेल सामान्य लागिरहेको थियो रे।

तर विश्वकपको पहिलो खेलका लागि जब नेपाली टोली मैदानमा उत्रियो - चिटागङ्गको जहुर अहमद चौधरी रङ्गशालामा उपस्थित भएका हजारौँ नेपाली समर्थकहरूले एक साथ नेपाली राष्ट्रिय गान गाए। अनि उनको मुटु ढक्क फुल्यो।

"त्यो क्षण क्रिकेट जीवनको अनुपम क्षण मध्येको एक ठान्छु," उनी भन्छन्।

पुरस्कारको वर्षा

टंक आङबुहाङ नेपाल क्रिकेट सङ्घको अध्यक्षको रूपमा आउँदा क्यानमाथि राजनीतिक हस्तक्षेप भएको विषयले व्यापक चर्चा पाएको थियो।

त्यसमा भिन्न तर्क राख्दै ज्ञानेन्द्र भन्छन् - "मलाई थाहा छैन उहाँले के राजनीति गर्नुभयो। तर मलाई के थाहा छ भने क्रिकेट विजेतालाई पुरस्कार दिने विषयमा सरकारसँग पैरवी गर्ने काम उहाँले शुरु गर्नुभयो। त्यसपछि नै हो हामीले हरेक अन्तर्राष्ट्रिय प्रतियोगिता जित्दा पुरस्कार पाउन थालेको।"

नेपालले प्रतियोगिता जित्दै गयो। पुरस्कार थपिँदै गयो।

उनी थप्छन् - "हामीले ३५/४० लाख सम्म कमायौँ। त्यो मानेमा हामी भाग्यमानी नै हौँ। डाइट (खाना)को २५ रुपैयाँ बाट सुरु भएर पुरस्कारमा ३५ लाख रुपैयाँ सम्म पाउनु ठूलो विषय हो नी।"

विद्रोही कप्तान

ज्ञानेन्द्र मल्ल

ज्ञानेन्द्रको मनमा जे छ, त्यही बाहिर निस्किन्छ।

लामो समय पारसको छायाँमा परेका ज्ञानेन्द्र सन् २०१९ मा पारसले सन्न्यास लिएपछि नेतृत्वमा आए। तर उनको नेतृत्व 'विद्रोही कप्तान' को रूपमा नमिठोसँग टुङ्गियो।

खेल मैदानभित्र मात्र होइन, बाहिर पनि उनी ‘लिडर’ को रूपमा देखिए।

आफ्ना सहकर्मीहरूको वर्गिकरण चित्तबुझ्दो नदेखिएपछि त्यसलाई सच्च्याउनुपर्ने लडाईँमा अडिग भएर मोर्चा सम्हालेपछि उनले कप्तानी पद गुमाउनुपर्‍यो। सँगसँगै झण्डै झण्डै आफ्नो खेलाडी जीवन पनि।

उनी भन्छन् - "धेरैले विद्रोह गरेको मात्र देखे। तर त्यो किन भनेर सोधेनन्। मुद्दा के हो त्यो हेरेनन्। आखिरमा म हटेपछि मैले उठाएको सबै माग पूरा भयो। अनि लाग्यो म पात्र पो गलत रहेछु।"

क्यानको आँखामा बिझेका उनी त्यसपछि क्रिकेटबाट अलग हुने/नहुने निर्णयको दोसाँधमा पुगेका थिए।

उनी भन्छन् "पहिलो पटक क्रिकेटको कारण परिवारमा दबाव परेको थियो।"

तर आफूले जीवनमा जानेको र बुझेको एकमात्र वस्तुबाट कहाँ टाढिन सक्थे र? धेरैले पत्याएका पनि थिएनन् तर उनी फर्किए।

कारणबारे ज्ञानेन्द्र भन्छन् - "टोलीका उही साथीहरूको अनुरोध पन्छाउन सकिनँ।"

रोज्जाका खेलाडी

ज्ञानेन्द्र उच्च स्तरका ब्याटर हुन्। प्राविधिक रूपमा उनको ब्याटिङ कला निकै सशक्त मानिन्छ। चुस्त फिल्डिङ उनको अर्को विशेषता हो। उनी कामचलाउ विकेट किपर पनि हुन्।

१६ वर्ष राष्ट्रिय टोलीमा निरन्तर रूपमा खेलिरहँदा उनी जम्मा पाँच पटक पहिलो रोजाइमा परेनन्।

सन् २००७ को एसीसी ट्रफीमा पहिलो पटक राष्ट्रिय टोलीमा पर्दा उनी शुरुको दुई खेलमा परेनन्। त्यसपछि जब टोलीमा परे, त्यसपछि जहिलेपनि पहिलो रोजाइमा खेले।

पछिल्लो पटक दुबई यात्रामा उनी एक खेलमा टोलीमा परेनन्। अनि कीर्तिपुरमा खेलिएको लिग -२ को पछिल्लो लगातार तीन खेल उनी '१२ औं खेलाडी' का रूपमा देखिएका हुन्।

स्वच्छन्द उड्ने योजना

समकालीन साथीहरूले क्रिकेट मैदान छोडिसक्दा उनीमाथि अचेल सोधिने प्रश्न यहि हो - "अब सन्न्यास कहिले लिने?"

यसको जवाफ ज्ञानेन्द्रसँग छ। उनलाई थाहा छ कहिले, कस्तो परिस्थितिमा टोलीमा रहनुपर्छ वा छोड्नुपर्छ। तर त्यो अहिले तुरुन्तै चाहिँ होइन।

उनी भन्छन् - "मैले जीवनको धेरै समय यस्तो दबावमा खेलेँ, जहाँ यस्तो परिस्थिति हुन्थ्यो की एउटा जित वा हारले क्रिकेटको भविष्य तलमाथि पर्थ्यो। एउटा हारले अब के हुने होला भन्ने अन्धकारलाई सम्झेर खेलेँ। कहिले रहरले खेलेँ। कहिले जित्नै पर्ने दबावमा मुटु बाँधेर खेलेँ।"

ज्ञानेन्द्र अगाडि भन्छन् - "अब म स्वतन्त्र रूपमा खेल्न चाहन्छु। जहाँ म माथि कुनै दबाव नहोस्। परिस्थिति पनि अनुकुल छ। भरपर्दा युवा खेलाडीहरू आइसकेका छन्।"

दुई दशकको अनवरत क्रिकेट यात्रामा नेपाली क्रिकेटलाई दिएको योगदानका आधारमा ज्ञानेन्द्र त्यो उडानको पक्कै हकदार देखिन्छन्।

ज्ञानेन्द्र आगामी वैशाखमा काठमाण्डूमा हुने एसीसी प्रिमियर कपको प्रारम्भिक टोलीमा छानिइ सकेका छन्। जहाँ उनले आफ्ना पखेटा फिँजाउने अवसर पक्कै पाउन सक्ने छन्।