यूएई-नेपाल टी-२० क्रिकेट: खेल जिताउने उत्कृष्ट क्याच कसरी लिए उपकप्तान ज्ञानेन्द्र मल्लले

- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी नेपाली सेवा
दुबईमा सम्पन्न टी-२० क्रिकेट शृङ्खलाको अन्तिम तथा निर्णायक खेल जित्न नेपाली खेलाडीहरूले देखाएको प्रदर्शन अविश्वसनीय थियो।
दश ओभरमा घटाइएको खेलमा पारस खड्का, विनोद भण्डारी र सन्दीप जोराले आक्रामक ब्याटिङ गरे। बलिङतर्फ म्यान अफ द सिरिज घोषित अभिनाश बोहोरा र करण केसीको प्रशंसा भयो। तर सबैभन्दा तारिफ पाए उपकप्तान ज्ञानेन्द्र मल्लले। कारण थियो उनले गरेको अविश्वसनीय फिल्डिङ।
उनले लिएको तीन क्याचका कारण यूएईले जित्नै लागेको खेलमा घुँडा टेक्यो।
नेपालका ब्याटिङ सल्लाहकार उमेश पटवालले भनेका थिए, "हुन त करण केसी खेलको म्यान अफ द म्याच भए। तर खेलको वास्तविक नायक भने ज्ञानेन्द्रको फिल्डिङ नै हो। "

अविश्वसनीय क्याच
मल्लले लिएको एउटा 'डाइभिङ क्याच'ले लगभग पराजय उन्मुख भइसकेको नेपालले खेलमा पुनरागमन गरेको थियो।
खेलको आठौं ओभरको पहिलो बल थियो। खेल ७२ रनमा ३ विकेट गुमेको अबस्थामा थियो। ३० रन बनाएर खेलमा जमिसकेका यूएईका भरपर्दा ब्याट्सम्यान साइमन अनवर आफ्नो टोलीलाई सहज जित दिलाउने धुनमा थिए।
केसीको बलमा छक्का हान्ने प्रयास गरेका अनवरलाई मल्लले लामो दौड लगाउँदै लङ्ग अन बाउन्ड्री लाइनमा एक हातले क्याच लिइदिए।

मल्लले बीबीसी नेपाली सेवासँग त्रिभुवन विमानस्थलमा उत्रेपछि भने,"उक्त प्रहार छक्का वा चौका हुने पक्का थियो। बल टाढा भएपनि सुरुमा मैले सोचेको थिएँ की म छक्का बचाउन सक्छु। लामो दौड लिएँ, नजिकै पुगेपछि डाइभ गरेँ। बल मेरो हातमा आयो र त्यसलाई फुत्किन दिइनँ।"
मैदानको माहोल त्यसले एकाएक बदलिदियो। दबाब यूएईका खेलाडी माथि पर्न गयो।
त्यसपछि विपक्षी टोली खुलेर खेल्न सकेन र थप १८ रन जोडेर मात्र ९० रनमा समेटिएको थियो।
नेपालले पहिलो ब्याटिङ गरेर १०४ रन जोडेको थियो।
खेलपछि विपक्षी कप्तान मोहम्मद नाविदले पनि मल्लको प्रदर्शनलाई महत्वपूर्ण भन्दै प्रशंसा गरे।
प्रस्तुत छ उनै ज्ञानेन्द्र मल्लसंग गरिएको विशेष कुराकानी।









