आईपीएलमा अझै चल्दै छ ४१ वर्षे धोनीको जादु

तस्बिर स्रोत, Getty Images
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको चार वर्षपश्चात् महेन्द्रसिंह धोनी अहिले जारी इन्डियन प्रिमिअर लीग (आईपीएल) क्रिकेट प्रतियोगितामा चेन्नई सुपर किङ्स टोलीबाट खेलिरहेका छन्। आईपीएलमा धोनीले ‘लोअर अर्डर’ ब्याट्सम्यानका रूपमा आफ्नो कौशल देखाइरहेका छन्।
यी ४१ वर्षीय महान् क्रिकेटरको पुनरुदयबारे खेल पत्रकार सुरेश मेननले विस्तृत चर्चा गरेका छन्।
यो सीजनको आईपीएल सकिँदा यसलाई एउटा विशिष्ट नाम दिनु उचित नै हुन्छ।
यो प्रतियोगिता र यसमा रमाउने खेलप्रेमीहरूका निम्ति त्यसको प्रतीक भनेको धोनी नै हुन्। उनी आईपीएलका सदाबहार स्टार हुन्। त्यसैले ‘एमएस धोनी ट्रफी’ भन्ने नाम राम्रो सुनिन्छ।
टोलीका प्रतीक
सन् २००८ मा आईपीएल सुरु गर्दा धोनी सबभन्दा महँगा खेलाडी थिए। पन्ध्र वर्षपश्चात् उनी चेन्नई सुपर किङ्स (सीएसके)का सबभन्दा मूल्यवान् खेलाडी बनेका छन्।
चेन्नई सहर फिल्मस्टार तथा राजनीतिज्ञहरूको निकै प्रभाव भएको सहर हो जहाँ तिनलाई दशौँ लाखले पुज्छन्। त्यहाँ समेत आईपीएल प्रतियोगिता हुने केही साताका निम्ति धोनी सबभन्दा अलग देखिन्छन्।


सीएसके टोली र तिनका समर्थकबीच विशेष सम्बन्ध छ अनि सीएसके भनेकै कप्तान धोनी भन्ने बुझिन्छ।
उनीसँग अझै पनि छक्का प्रहार गर्ने गजबको कला छ र उनले दुर्लभ नेतृत्व प्रदर्शन गरिरहन्छन्। यी अग्ला विकेटकिपर तथा कप्तान मैदानमा रहँदासम्म कुनै म्याच पनि हारियो वा सिद्धियो भन्न सकिँदैन।

तस्बिर स्रोत, AFP
आईपीएलका मौलिक कप्तान
चार वर्षअगाडि धोनीले अन्तर्राष्ट्रिय क्रिकेट खेलहरूबाट सन्न्यास लिए।
त्यसपछिका प्रत्येक वर्षमा अब उनले सबै किसिमका क्रिकेट खेलबाट सन्न्यास कहिले लेलान् भन्ने प्रश्नले आलोचक तथा प्रशंसक सबैको मन खाएको छ।
तर धोनी स्वयंको मन भने अरू नै विषयमा व्यस्त देखिन्छ - फेरि एक पटक (पाँचौँ पटक) सीएसकेलाई आईपीएल उपाधि दिलाएर मुम्बई इन्डियन्स टोलीको कीर्तिमानसँग बराबरी गर्ने।
धोनी आईपीएलका मौलिक कप्तान हुन् जुन प्रतियोगिताबाट युवा र आत्मविश्वास नभइसकेका खेलाडीहरूले काफी सहयोग पाउने अपेक्षा गर्छन्। जुलाईमा उनी ४२ वर्षको हुँदै छन्। उनीबाट प्रेरणा पाउने युवा खेलाडीहरूलाई उनले गर्न सहयोगले मात्र पनि उनी अझै टोलीको कप्तान बनिरहन सक्ने देखिन्छ।
भारतको कप्तान हुँदा एक पटक धोनीले "आवश्यक पर्दा आफूतर्फ आइरहेको ट्रकपट्टि हाम फाल्नसम्म तयार हुने सदस्यहरू भएको टोली" आफ्नो उद्देश्य भएको बताएका थिए। सीएसकेमा उनले त्यस्तै टोली भेट्टाएका छन्।
तर यसपालि भने धोनीले तल्लो पङ्क्ति वा आठौँ नम्बरमा ब्याटिङ गर्ने गरेकोप्रति धेरै टिप्पणी भएका छन्। उनको घुँडामा चोट छ र त्यसैले उनले आफ्ना खेलाडीहरूलाई भनेका छन्, “मलाई धेरै दौडिनुपर्ने नगराऊ।”
उनकै वर्णनमा उनको अहिलेको काम भनेको “अन्तिम अवस्थाहरूमा ब्याट गर्ने र सकेसम्म धेरै रन बटुल्ने” हो।

तस्बिर स्रोत, Getty Images
ब्याटिङमा रमाउँछन्
अनि यो काम उनले खुब मजाले गरिरहेका छन्।
आईपीएलमा उनको स्ट्राइक रेट २०४ छ जुन भनेको प्रत्येक बलमा औसतमा दुईभन्दा धेरै रन उनले बटुलेका छन्। यसपालि उनले केवल ४७ बलको सामना गरेका छन् जसमध्ये हरेक ४.७ बलमा एक छक्का सहित ९६ रन बटुलेका छन्।
आठौँ नम्बरमा ब्याटिङ गर्दै उनले दिल्ली क्यापिटल्सविरुद्ध नौ बलमा २० रन बनाए र उनको टोलीले त्यो खेल २७ रनले जित्यो।
सीएसकेको घरेलु मैदानमा भएको सुरुको खेलमै यसपालि उनले सामना गरेका पहिलो दुई बलमा बलर मार्क वुडलाई लगातार दुई छक्का हानेका थिए। छ नम्बरमा ब्याटिङ गर्दै उनले पञ्जाब किङ्ग्सविरुद्ध चार बलमा दुई छक्कासहित १३ रन बनाएका थिए।


ब्याटिङको बदलिँदो शैली
आठ नम्बरको कुनै पनि ब्याट्सम्यानलाई मैदान प्रवेश गर्दा व्यग्रतापूर्व प्रतीक्षा गरिएको मैले यसअघि देखेको थिइनँ।
उनको टोलीका सहकर्मी रवीन्द्र जडेजाले उनी सात नम्बरमा ब्याटिड गर्न जान उत्सुक नहुने गरेको बताएका छन् किनभने दर्शकहरू चाँडै नै उक्त विकेट जाओस् भने जसरी "धोनी, धोनी" को नारा लगाइरहेका हुन्छन्।
धोनीको यो शैली खासगरी दुई किसिमका खेलाडीहरूका निम्ति सन्देशमूलक हुनसक्छ: ती जो नम्बर तीन भन्दा मुनि ब्याटिङ गर्छन् अनि ती जो यताउता नहेरीकन केवल छक्का प्रहार गर्न केन्द्रित हुन्छन्।
बढ्दो उमेरका ब्याटरहरूका निम्ति उनको सन्देश हो: टी-ट्वेन्टी क्रिकेटमा आफूलाई उपयोगी सिद्ध गर्न छक्का नै हान्नुपर्छ, पर्खिएर काम छैन।
रेड बल क्रिकेट अर्थात् टेस्ट क्रिकेटहरूमा यसको विपरीत शैली अपनाइन्छ। रोहन कन्हाई वा सचिन तेन्दुल्करले चौका-छक्का मात्र प्रहार गरिरहनेभन्दा बलअनुसार खेल प्रदर्शन गर्दै सकेसम्म धेरै रन बटुल्ने गर्थे।
तर ह्वाइट बल क्रिकेट वा एकदिवसीय तथा टी-ट्वेन्टी क्रिकेट उक्त शैली गलत हुनसक्छ। जस्तो धोनीको शैलीले भन्ने गर्छ – ७० बल खेलेर ५० रन बटुल्नुभन्दा नौ बल खेलेर २० रन बटुल्नु बढी उपयोगी हुन्छ।

तस्बिर स्रोत, AFP
एकचालीस वर्षको उमेरमा टी-ट्वेन्टी खेल्न सक्नु भनेको आत्मविश्वास र स्वस्थ शरीर मात्र होइन, खेलप्रतिको लगाव पनि जरुरी हुन्छ किनभने यतिखेर आएर अब कसैका निम्ति केही प्रमाणित गरिदिन बाँकी रहन्न।
शतक वा ५० रनका खाता अब विगत भइसकेको आभास हुनु पनि ठूलै कुरा हो। साथै विगतका महान् खेलाडीले हेर्दै असहज हुनेगरी पहिले जस्तो खेल्न खोजेको राम्रो देखिन्न पनि।
यी वर्षहरूमा धोनीको मनमा के कुरा खेलिरहन्छ भनेर कसैले थाहा पाउन सकेको छैन। उनले पहिले रेड बल क्रिकेटबाट अनि ह्वाइट बल क्रिकेटबाट सन्न्यास घोणषा गर्दा सबै जना तीनछक्क परे। के यो आईपीएल उनको अन्तिम आईपीएल होला त ? हुन पनि सक्छ, नहुन पनि सक्छ।
आईपीएलको ट्रफीको नाम उनको नामबाटै राखिनु एकदम उचित हुन्छ। आखिरमा उनी नेतृत्वकै भारतीय टोलीले सन् २००७ मा टी-ट्वेन्टी विश्वकप उपाधि जित्यो र आईपीएलको जन्म भयो।
खेल लेखक सुरेश मेननले सचिन तेन्दुल्कर र बिशन वेदीबारे पुस्तक लेखेका छन्।








