मेलानी र चेज: अपाङ्गता भएकी महिला र उनको 'यौन साथी'

तस्बिर स्रोत, Melanie
- Author, बेथ रोज
- Role, बीबीसी एक्सेस अल
कोभिड महामारीको समयमा अस्ट्रेलियास्थित निवासमा बसिरहनुपरेको बेला मेलानीले आफैँसँग एउटा वाचा गरिन्। बाहिर निस्कन पाउनेबित्तिकै एक यौनकर्मीको सेवा लिने, आफ्नो कुमारीत्व त्याग्ने र प्रेम अनि अन्तररङ्गसम्बन्धबारे अपाङ्गता भएको व्यक्तिका रूपमा आफ्नो मनमा विद्यमान व्याकुलता शान्त पार्ने। त्यसै क्रममा उनले चेजको सहायता लिइन्।
खासमा मेलानीलाई यो विषयमा सुरुमा उनकी अर्की सहायक ट्रेसीले सल्लाह दिएकी थिइन्। उनीहरूसँगै एकान्तवासमा रहेको बेला ट्रेसीले मेलानीलाई मसाज गरिदिएकी थिइन्।
त्यसअघि ४३ वर्षीया मेलानीलाई कसैले पनि उपचारको सिलसिलामा बाहेक त्यसरी स्पर्श गरेका थिएनन्। उनलाई अझ बढी अनुभव लिनुपर्छ भन्ने लाग्यो।
ट्रेसी (वास्तविक नाम होइन)ले आफू विगतमा यौनकर्मी भएको रहस्य मेलानीलाई बताइन् र साथै मेलानीका निम्ति व्यक्तिगत सेवा एउटा विकल्प हुनसक्ने पनि सुझाइन्।
"त्यसले मेरो आँखा खुल्यो र मलाई लाग्यो मैले पनि यो अनुभव गर्न सक्छु," बीबीसी एक्सेस अलसँग मेलानीले भनिन्।
उनले अनलाइनमा त्यस्तो सेवा जुटाउने एजेन्सी भेट्टाइन् जहाँ राखिएको चेज नाम गरेका पुरुषको प्रोफाइलले उनलाई आकर्षित गर्यो।
उनले चेजको सेवा बुक गरिन् र पहिलो सेसनका निम्ति उनको अपार्टमेन्टमा गइन्।
"म आफ्नो पावरचेअरबाट उठेँ र मेरा सहायक फर्किए। त्यसपछि त्यहाँ हामी दुई जना मात्र थियौँ। अब के होला भन्ने कुराको मलाई कुनै मेसो थिएन।"


मेरुदण्डमा सुजन भएका कारण मेलानीले तीन वर्षको उमेरदेखि नै ह्वीलचेअर प्रयोग गर्दै आएकी छन्। चिकित्सकीय भाषामा उक्त समस्यालाई 'ट्रान्सभर्स माइलाइटिस' भनिन्छ। उनको खुट्टा चल्दैन भने हात थोरै मात्र चल्छ। आफू वयस्क भए पनि दैनिक कार्य गर्न पनि उनलाई सहायकहरूको सहयोग चाहिन्छ।
उनी जापानमा बसिन् र त्यहाँ काम पनि गरिन्। अहिले उनी भिडिओ सम्पादक छिन्। तर प्रेम सम्बन्धको विषय उनको मनमा कहिल्यै आएन। "यदि कुनै समय त्यस्तो सम्बन्ध भए त्यही बेला सोचौँला भन्ने मलाई लाग्यो।"
डेटिङ गर्ने वा आफूबारे अरूसँग खुला रूपमा कुराकानी गर्ने भनेको धेरैको निम्ति अलि डर लाग्ने विषय पनि हो। त्यसमाथि कुनै अपाङ्गता भएको व्यक्तिलाई त संसारले यौनिक रूपमा हेर्नै चाहँदैन।
सन् २०२१ मा सरकारले प्रकाशित गरेको यूके डिजेबिलिटी सर्भेका अनुसार कुल जनसङ्ख्याको केवल ५६% मानिसले मात्र कुनै अपाङ्गता भएका व्यक्तिसँग अन्तरङ्ग सम्बन्ध राख्न आफूहरूलाई सहज हुने बताएका थिए।
मेलानीसँग पनि यो विषय कसरी सामना गर्ने भन्ने कुनै योजना थिएन।
सोधपुछ गर्दै चेजलाई इमेल गरेपछि चेजले उनीसँग कैयौँ पटक भिडिओ कल गरे। त्यसो गर्दा दुवै जना एकअर्कासँग परिचित हुन सम्भावित चुनौतीबारे छलफल गर्न सक्थे।
"मैले कति धेरै प्रश्नहरू सोधेँ," मेलानी भन्छिन्।
"के तिम्रो अपार्टमेन्टमा ह्वीलचेअर जान सक्छ? तिम्रो अपार्टमेन्टमा जाने लिफ्ट कतिकति समयमा बिग्रिन्छ?"
"छ महिनामा एक पटक," चेजको जबाफ थियो।

तस्बिर स्रोत, Melanie
चेजको उत्तर सुनेपछि मेलानीले उनको अपार्टमेन्टमा पहिलो सेसन बुक गरिन्। हडबडाउनुको साटो चेजको न्यानो व्यवहारबाट उनी उत्साहित भइन् र धेरै नपर्खिन सेसनको मिति अझ अगाडि सारिन्।
कानुनी रूपमा मेलानी र चेजको भेटघाट वैध थियो।
वेस्टर्न अस्ट्रेलियामा प्रोस्टिच्यूशन ऐन २००० बमोजिम सडकमा आधारित भएर यौनकार्य गर्न वा वेश्यालय चलाउन अवैध मानिन्छ। तर यौनकार्य आफैँमा कानुनविपरीत हुँदैन र एस्कर्ट एजेन्सीहरू पनि वैध हुन्छन् । अस्ट्रेलियाका विभिन्न राज्यमा केही कानुनी भिन्नता भने छन् - भिक्टोरिया, न्यू साउथ वेल्स र नोर्दन टेरिटोरीले यौनकार्यलाई अपराध मान्दैनन्।
चेजको अपार्टमेन्टमा पुग्दा मेलानीलाई परिस्थितिको गाम्भीर्य अझ बोध भयो।
"मलाई थाहा थियो मसँग यौनबारे निकै कम ज्ञान छ। मेरो अगाडि उभिएका विज्ञका सामु आफू ओझेलमा परेको अनुभव भयो।"
तर समय बित्दै जाँदा उनलाई आफ्नै ज्ञानबारे नयाँ कुरा थाहा भयो।
"अपाङ्गतासम्बन्धमा त म विज्ञ थिएँ र चेजलाई केही थाहा थिएन। एकअर्काको अज्ञानताबारे हामीले हाँसो पनि गर्यौँ। दुई घण्टापछि हामी अनन्य मित्र बन्यौँ।"


छ वर्षदेखि सोही काममा लागेका चेजका विचारमा नयाँ ग्राहकहरूको सन्दर्भमा यौनलाई लिएर राखिने "अति अपेक्षा" सबभन्दा ठूला समस्या हुन् - 'चरम सुख' सुनिश्चित गर्नेबारे मानिसहरू निकै धेरै दबावमा हुन्छन्।
"कुनै पनि अन्तरङ्ग सम्बन्धमा जस्तै के कुराले काम गर्छ भनेर ठम्याउनुपर्ने हुन्छ," उनले भने।
चेजलाई बुक गर्नुअगाडि मेलानीलाई अन्तरङ्ग अवस्थामा आफ्नो शरीरले कस्तो प्रतिक्रिया जनाउला भन्ने थाहा थिएन। सहज होला कि नहोला अनि कतै थकानले आनन्द नै मेटाइदिने हो कि भन्ने पनि उनलाई लागेको थियो।
"तिनकै कारणले गर्दा मैले चेजलाई बुक गरेकी थिएँ," उनले भनिन्। "कुनै बारमा भेटिएका पुरुषसँग गएर ती चिज अलि अप्ठेरो, असुरक्षित अनि असहज तरिकाले अनुभूति गर्न मैले चाहिनँ।"
आखिरमा चेजसँग उनी रमाइन् र कुनै सीमामा बाँधिन पनि उनलाई परेन।
एउटा अपरिचित घरमा अपाङ्गता भएकी ती महिला निकै जोखिमपूर्ण परिस्थितिमा थिइन्।
"अस्पतालबाहिर कुनै पुरुषको सामुन्ने पहिलो पटक म नाङ्गिएकी थिएँ," उनी भन्छिन्।
विगतमा विभिन्न आघात बेहोरेका मानिसहरूसँग काम गरिसकेका चेज "उनलाई नै नियन्त्रण दिलाउने परिस्थितिको निर्माण गर्नु" आफ्नो मुख्य प्राथमिकता हुने बताउँछन्।
कुरा केवल शारीरिक शक्तिबीचको भिन्नता मात्र होइन। अपाङ्गताका कारण कतिपय अवस्थामा मानिसहरू स्वयंलाई आफूप्रति कम विश्वास हुन्छ।
यी पछिल्ला अन्तरङ्ग सम्बन्धका कारण मेलानीलाई उनको जीवनको अन्य पक्षमाथि पनि थप बल मिलेको अनुभव भयो।
"चेजलाई बुक गर्दा अनि उनको सेवाको शुल्क तिर्दा मलाई के थाहा थियो भने स्थिति मेरो नियन्त्रणमै रहने छ। यदि कुनै बिन्दुमा चेजले मसँग फरक व्यवहार गरे वा उनले गरेको कुनै व्यवहार मलाई मन परेन भने उनले त्यो रोकिहाल्ने छन् भन्ने मलाई थाहा थियो।"
अनि त्यसो भएको खण्डमा आइन्दा उनले चेजलाई बुक पनि गर्ने थिइनन्।


खर्च
तर यो सबै कामको खर्च भने निकै छ।
"यो त हजारौँ हुन्छ," उनको ४८ घण्टा समयको मूल्यबारे चेजले भने। उनले प्रतिघण्टा ४०० अस्ट्रेलियन डलर (२६७ अमेरिकी डलर) शुल्क लिन्छन्।
चर्को शुल्क लिनुपर्नाको कारण खुलाउँदै उनले भने: "धेरै मानिसले के सोच्दैनन् भने जब मैले ४८ घण्टा कसैलाई दिन्छु तब मैले त्यो अवधिमा अन्य कुनै पनि काम गर्न पाउँदिनँ।"
आफ्नो कामबाट निकै सन्तुष्ट भएको उनी बताउँछन्।
"मानिसहरूलाई विभिन्न कुराको अनुभवमा सहयोग गर्न कसलाई मन नलाग्ला?"
"चेजसँग प्रेममा पर्नबाट जोगिनु कठिन कुरा हो," मेलानीले स्वीकारिन्।
"तर म बारम्बार आफैँलाई हामीबीच एक व्यावसायिक सम्बन्ध मात्र हो भनेर सम्झाउँछु।"

तस्बिर स्रोत, Melanie
ज्यानुअरीदेखि मेलानी र चेजबीच भेटघाट भइरहेको छ। तर उनीहरूको सम्बन्ध केवल यौनमा मात्र सीमित छैन।
यौनकर्मीको रूपमा सेवा दिनुका अतिरिक्त चेजले मेलानीका निम्ति डेटिङ कोचसँग पनि कुराकानी गरिरहेका छन् - भविष्यमा अन्य मानिससँग उनको प्रेम सम्बन्ध प्रगाढ हुन सकोस् भन्ने उद्देश्यले।
"म चेजको विकल्प पनि खोजिरहेकी छु। यस्तो मानिस जसले मलाई प्रेम गरोस्, जसले मैले चाहेका कुरा मन पराओस् अनि सबै निःशुल्क होस्," उनले भनिन्।
"डेटिङ एपमा गएर पुरुषहरूसँग अनलाइन कुराकानी गर्नेबारे विगतमा मैले कहिल्यै सोचेकी थिइनँ। अचेल म हरेक दिन त्यसो गर्छु। किन मैले यी सबथोक पहिल्यै गरिनँ भनेर मलाई पछुतो लाग्छ।"
मेलानीको निम्ति यी अनुभवहरू केवल यौन उन्मुक्तिमात्र होइन। उनी अपाङ्गता भएका व्यक्तिहरूका निम्ति यौन सेवामा पहुँच स्थापित गराइदिन सरकारी तहबाटै मद्दत हुनुपर्छ भन्ठान्छिन्।
"मेरो आत्मबल निकै बढेको छ। म यति खुसी कहिल्यै भएको थिइनँ। यस्ता जीवन नै परिवर्तन गर्न सक्ने अनुभवको मूल्य तोक्न सकिन्न।"
आफ्ना मित्र तथा परिवारसँग आफ्ना नयाँ अनुभव बाँड्न पनि उनी उत्साहित छिन्।
"सुरुमा त यसबारे केही बोल्न मलाई लाज लाग्यो। तर यसले मेरो जीवनमा यति धेरै फरक पार्यो कि यसबारे नबोलीकन बस्नै सक्दिनँ। मेरा साथी र परिवार पनि मेरा निम्ति खुसी छन्। मेरो मुहारबाट मुस्कान हट्नै सकेको छैन।"










