जुडी ह्यूमेन: अमेरिकामा अपाङ्गता भएका मानिसकोको अधिकारको इतिहास बदल्ने महिला

तस्बिर स्रोत, Judy Heumann
जुडी ह्यूमेन १८ महिनाकी हुँदा उनलाई पोलियो भयो। त्यसपछि उनका दुवै खुट्टा नचल्ने भए र उनी जीवनको धेरै समय ह्वीलचेयरमै बसिन्।
तर सामाजिक पक्षपात र कानुनी अड्चनका कारण उनी बेवास्तामा पर्न चाहन्न थिइन। त्यही भएर अमेरिकामा अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि उनी लड्न थालिन्।
उनले शिक्षण पेशामा करियर बनाउने धोको मेट्न न्यूयोर्कको बोर्ड अफ एजुकेशनविरुद्ध मुद्दा हालिन्। सहयोगीबिना नै आफूलाई यात्रा गर्न नदिने वायुसेवाविरुद्ध पनि मुद्दा हालिन्।
अपाङ्गता भएका मानिसको अधिकारको कुरा कानुनमै व्यवस्था होस् भनेर उनले अमेरिकाको इतिहासमै सबैभन्दा लामो धर्ना कार्यक्रम गरिन्।
अन्तत: उनले अमेरिकाका दुई राष्ट्रपतिको सल्लाहकारका रुपमा काम गरिन्।
यो वर्ष टाइम म्यागजिनले विश्वका १०० प्रभावशाली महिलाका नाम प्रकाशित गर्यो र त्यसमा मिसेल ओबामा र जलवायु परिवर्तनकी अभियानकर्मी ग्रेटा टुनबर्गसँगै जुडीको पनि नाम थियो।
पहिलो लडाइँ
हालैको एउटा अन्तर्वार्ता बीबीसीको रेडियो कार्यक्रम आउटलुकलाई भने अनुसार ह्यूमेनको जीवन त्यति सहज थिएन।

तस्बिर स्रोत, Judy Heumann
उनका आमाबुवा जर्मनीका यहूदी हुन् जो अनाथ भएपछि भागेर अमेरिका पुगेका थिए। युद्धपछिको समयमा जन्मिएको बच्चाका रूपमा न्यूयोर्कमा हुर्किँदा उनको बाल्यकाल कठिन थियो।
एउटा विद्यालयले उनको भाषा राम्रो छैन भनेर भर्ना गर्न नमानेपछि उनकी आमाले भाषा सुधार्न घरमै पढाउने शिक्षक राखिदिइन्।
एउटा सार्वजनिक विद्यालयमा भर्ना हुनुअघि जुडीले घरमै चार वर्ष पढिन् तर त्यसपछि भर्ना भएको विद्यालय अपाङ्गता भएकै बालबालिकाका लागि मात्रै थियो।

तस्बिर स्रोत, Judy Heumann
फरक व्यवहार
अहिले ७० वर्षको उमेर नाघिसक्दा पनि जुडीले सानो छँदाका केही घटनाहरू बिर्सन सकेकी छैनन्।
"म र मेरो साथी केही सामान किन्न गएका थियौँ र एकजना बालक आएर मलाई के तिमी बिरामी छौ भनेर सोध्यो। मलाई लाग्छ मलाई मानिसहरूले फरक तरिकाले हेर्छन् भन्ने मैले महसुस गरेको त्यो पहिलोपटक हो।"
उनलाई साह्रै नमज्जा लाग्यो।
"म एकदमै स्पष्टसँग सम्झन्छु। म बिरामी थिइनँ र व्यक्तिगत रुपमा मलाई त्यो बच्चाको प्रश्नले असाध्यै असर गर्यो।"
जुडीले विद्यालयमा एकदमै राम्रो गरिन् र उनी शिक्षण पेशा अङ्गाल्न चाहन्थिन्। तर अपाङ्गता भएका व्यक्तिले केही खास पेशामा मात्रै सहयोग स्वरूप रकम पाउँथे।
त्यसैले उनले बोली सुधारका लागि गरिने उपचार विधि पढिन् र बिस्तारै आफ्नो पढाउने बानीको विकास गरिन्।
कलेजका दिनहरूमा पनि अरूले गर्ने व्यवहारका अनुभवहरू तीता नै रहे।
चिकित्सकीय परीक्षण
कलेजको पढाइ सकेपछि सन् १९७० मा शिक्षण अनुमति लिनका लागि ह्यूमेनले स्वास्थ्य परीक्षण गर्नुपर्यो।

तस्बिर स्रोत, Judy Heumann
उनको पहिलो निवेदन स्वीकृत भएन। अपाङ्गता भएका केही साथीहरूको मद्दतपछि उनले उक्त निर्णयविरुद्ध लड्ने निधो गरिन्।
उनको बारेमा द न्यूयोर्क टाइम्स पत्रिकाले लेख्यो र त्यसपछि उनले छिट्टै नै वकिलहरू र आममानिसको साथ पाइन्।
यो नै उनको उच्चस्तरको पहिलो अभियान थियो जसले अन्तत: उनलाई जिताएरै छोड्यो।
बाइस वर्षको हुँदा न्यूयोर्क सिटीको विद्यालयमा पढाउने जुडी ह्यूमेन पहिलो अपाङ्गता भएकी व्यक्ति भइन्।
विमानमा पक्राउ
सन् १९७५ मा वासिङ्टन डिसीमा विमान चढ्न लाग्दा बिनासहयोगी उनलाई उड्न अनुमति दिइएन।

तस्बिर स्रोत, Judy Heumann
"त्यहाँकी महिला व्यवस्थापकले अर्का सहयोगी नभए मैले उड्न पाउँदिन भनेर क्याप्टेनले भनेको कुरा बताइन्।"
विवाद बढ्दै गएपछि प्रहरीलाई बोलाइयो। उनलाई विमानबाट निकालियो र पक्राउ गरेर लगियो।
"मैले उनीहरूविरुद्ध मुद्दा नै चलाए... त्यत्तिकै छोड्न सकिनँ किनभने मलाई एकदमै रीस उठेको थियो।"
इतिहास बदलेको अभियान
विभेदविरुद्धको उनको मुख्य लडाइँ त आउनै बाँकी थियो।

तस्बिर स्रोत, Judy Heumann
यो सन् १९६४ को नागरिक अधिकार ऐन आएपछिको कुरा हो। उक्त ऐनले सार्वजनिक क्षेत्रमा अफ्रिकी अमेरिकीहरूलाई छुट्टै राख्ने चलन औपचारिक रुपमा अन्त्य गर्यो र मानिसको जात, रङ्ग, धर्म, लिङ्ग र राष्ट्रियताका आधारमा रोजगारी दिँदा विभेद गर्न नपाइने व्यवस्था गर्यो।
त्यसमा भएको कमीकै कारणले केही वर्षपछि जुडीले डिसएबल्ड फर एक्सन नामक सङ्गठन खोलिन्।
उक्त सङ्गठनले १९७३ को पुनर्वास ऐनको खण्ड ५०४ को कार्यान्वयनका लागि अभियान चलायो जसले अपाङ्गता भएका व्यक्तिविरुद्धको विभेदलाई गैरकानुनी मानेको थियो।
त्यस्ता व्यक्तिहरूले कुनै पनि सङ्घीय सहायता पाउने कार्यक्रमबाट वञ्चित गर्न नपाइने उल्लेख गरिएको थियो।
अमेरिकामा अपाङ्गता भएका व्यक्तिका लागि यो नै पहिलो सङ्घीय नागरिक अधिकार सुरक्षा ठहरियो।
सन् १९७७ मा जुडीसँगै अन्य सयौं प्रदर्शनकारीहरू सान फ्रान्सिस्कोस्थित स्वास्थ्य, शिक्षा र कल्याणकारी भवनबाहिर भेला भए।
अधिकारका लागि गरिएको यो नै पहिलो लडाइँ थियो जो पछि इतिहास बन्यो।
करिब १५० जना अभियानकर्मी भवनभित्र छिरे र त्यहीँ धर्ना दिएर बसे। दिन बित्दै जाँदा अधिकारीहरूले बाहिर सम्पर्क नहोस् भनेर फोनका तारहरू काटिदिए। भवनभित्र सुत्ने ठाउँ र नुहाउने ठाउँ थिएन।
"प्रत्येक दिन हाम्रा लागि खानेकुरा आउँथ्यो। कोही बिरामी परे औषधि आउँथ्यो। एउटा अद्भूत अनुभव थियो", उनले भनिन्।
"सबैभन्दा महत्त्वपूर्ण भनेको अपाङ्गता भएका व्यक्तिले हामीले गरिरहेको कामप्रति गर्व अनुभव गर्थे।"

तस्बिर स्रोत, Tari Hartman Squire
त्यहाँ जुडी भुइँमा सुत्थिन् र साथीले उठ्न बस्न उनलाई मद्दत गर्थे। "कोही आँखा देख्दैन थिए त कोही कान सुन्दैन थिए। त्यसैले हामी सबै एकअर्काको भर पर्थ्यौं," ह्यूमेनले भनिन्।
अन्तत: संसद्को एउटा विशेष सुनुवाइ समितिलाई भवनभित्र बोलाइयो र जुडीले आफ्नो भोगाइको एकदमै भावुक भनाइ राखिन्।
उक्त समूहले एउटा प्रतिनिधि टोली वासिङ्टन पठायो।
एक दिन वासिङ्टनको एउटा बारमा बसेर जुडी र उनका साथी अब चाल्ने कदमबारे योजना बनाउँदै थिए त्यतिबेला एकजना सम्वाददाता आएर सरकारले खण्ड ५०४ मा हस्ताक्षर गरेको बताए।
एप्रिल २८ तारिखको त्यो दिन उनीहरूको धर्नाको २४ औँ दिन थियो।
त्यसकै भोलिपल्ट प्रदर्शनकारीले धर्ना दिइरहेको भवन छोडे। सङ्घीय भवनमा बसेर हिंसारहित तवरले धर्ना दिएको यो अमेरिकी इतिहासकै लामो समय हो।

तस्बिर स्रोत, Getty Images
उक्त विधानपछि सन् १९९० मा अपाङ्गता भएका व्यक्तिका लागि एउटा ऐन बन्यो जसले सार्वजनिक जीवनको सबै क्षेत्रमा विभेदमाथि प्रतिबन्ध लगायो।
त्यसपछि उनलाई बिल क्लिन्टन र बाराक ओबामा प्रशासनले सल्लाहकारका रूपमा आमन्त्रण गरे।
उनको निरन्तरको अभियानले हजारौँको जीवनमा परिवर्तन ल्याएको छ र अब उनी अश्वेत अपाङ्ग व्यक्तिका लागि काम गर्न चाहन्छिन्।
अहिले उनी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावका लागि जो बाइडनको अभियानलाई सक्रिय रुपमा समर्थन गरिरहेकी छन्।
उनी चाहन्छिन् कि बाइडनले अपाङ्गतासम्बन्धी विद्यमान कानुनलाई थप समावेशी बनाउन त्यसलाई परिमार्जन गरून्।
"अपाङ्गता भएका व्यक्तिलाई सक्रिय पदहरूमा भर्ती गर्न राष्ट्रपति प्रतिबद्ध हुनुपर्छ ताकि हामीले समाजमा हाम्रो मूल्य देखाउन सकौँ।"








