स्तन क्यान्सर पत्ता लगाउन भारतमा तालिम लिँदै नेपाली दृष्टिविहीन महिलाहरू

तस्बिर स्रोत, Action on Disability Rights & Development
स्तन क्यान्सर प्रारम्भिक चरणमा पत्ता लगाउने काममा दृष्टिविहीनमा हुने विशेष स्पर्श क्षमता प्रयोग गर्न तीन जना नेपाली दृष्टिविहीन महिलाले भारतमा तालिम लिइरहेका छन्।
दोस्रो चरणमा थप महिलालाई तालिम दिइने तालिम प्रदान गर्न अग्रसरता लिएका अभियानकर्ता दृष्टिविहीन डा. विरेन्द्रराज शर्मा पोखरेलले बताए।
पोखरेल भन्छन्, “हाल तालिम लिइरहेका तीन जना र थप तीन गरी छ जना भारतमा तालिमप्राप्त हुनेछन्। ती छ जनाले नेपालमा नै तालिम दिनेछन्।”
तालिम लिइरहेकी किशोरी के भन्छिन्?
छ महिनाको सैद्धान्तिक र एक महिनाको प्रयोगात्मक तालिमका लागि भारतको नयाँ दिल्लीमा पुगेकी हेटौँडाकी सङ्गीता अधिकारीले हालसम्म सैद्धान्तिक अध्ययनमा बढी केन्द्रित भएको बताइन्।
उनका अनुसार सेप्टेम्बर महिनामा सैद्धान्तिक परीक्षापछि प्रयोगात्मक अध्ययन र तालिम सुरु हुनेछ।
उनले भनिन्, “कोभिड-१९ नभएको भए हाम्रो प्रशिक्षण सकिसक्थ्यो। अहिलेसम्म आधारभूत कम्प्युटरदेखि अंग्रेजी र विज्ञानका बिषयमा पढिरहेका छौँ।"
"स्तन क्यान्सरको पहिचानबारे अलग्गै पाठ्यक्रम पनि छ। सैद्धान्तिक परीक्षा भएपछि प्रयोगात्मक कुराहरू सिकाउनुहुन्छ र त्यसपछि मेदान्त मेडिसिटी भन्ने साझेदार अस्पतालमा इन्टर्नशीप गर्ने कुरा छ।”

तस्बिर स्रोत, Action on Disability Rights & Development
अध्ययनका लागि भारत जानुअघि शिक्षा सङ्कायमा स्नातक चौथो वर्षमा अध्ययन गरिरहेकी उनले स्वास्थ्यसम्बन्धी नयाँ कुराहरू सिक्न पाएर फरक अनुभव गरिरहेको बताइन्।
उनी भन्छिन्, “दृष्टिविहीनहरूले स्वास्थ्यको क्षेत्रमा पनि काम गर्न सक्छन् भन्ने कुरा थाहा पाउनु नै हाम्रो लागि एकदमै नयाँ अनुभव हो।"
"यसबारे थाहा पनि थिएन र सुन्दा नै धेरै उत्साहित भएकी थिएँ। हाम्रो शरीरबारे धेरै कुरा सिकिरहेका छौँ।”
सङ्गीताका अनुसार उनीहरूलाई दिने तालिमको व्यवस्थापन भारतको सेन्टर फर ब्लाइन्ड विमन एनएबी इन्डियाले गरिरहेको छ।
स्तन क्यान्सर महिलाहरूमा सबभन्दा धेरै देखिने क्यान्सर हो। स्तन क्यान्सरका कारण हुने मृत्युबाट बचाउन यसको निदान सुरुवाती चरणमै गर्नुपर्ने हुन्छ।
दृष्टिविहीनहरूमा हुने विशेष स्पर्श क्षमताका आधारमा उनीहरूले शुरूवाती चरणका क्यान्सरका गाँठा र तन्तुहरू पत्ता लगाउन सक्ने भन्दै जर्मनीमा सुरु भएको यो विधि कतिपय देशमा प्रयोगमा ल्याउन थालिएको छ।
स्वास्थ्य क्षेत्रमा दृष्टिविहीन जनशक्ति
कलेज पढ्दै गर्दा आँखाको नशा सुक्दै गएर दृष्टिविहीन हुन पुगेपनि अध्ययन निरन्तर गरेर विद्यावारिधी गरेका डा. पोखरेललेने नेपालमा स्तन क्यान्सरको परीक्षणका क्रममा दृष्टिविहीन महिलाहरूलाई प्रयोग गर्ने कामको अग्रसरता लिएका हुन्।
उक्त अभियान अन्तर्गत झण्डै ३० जना दृष्टिविहीन महिलाहरूलाई स्तन क्यान्सरको प्रारम्भिक पहिचानमा खट्न सक्ने गरी तालिम दिइने र अस्पतालहरूमा रोजगारी दिलाउने लक्ष्य राखिएको छ।
नेपालमा दृष्टिविहीन महिलाको अवस्था एकदमै कमजोर रहेको हुनाले उनीहरूलाई सबल बनाउन र रोजगारीको उद्देश्य श्रृजना गर्न उक्त अभियान अघि बढाइएको अपाङ्गता अधिकार र विकासका लागि क्रियाशील नेपालका कार्यकारी निर्देशक पोखरेल बताउँछन्।
उनी भन्छन्, “कोभिड-१९ का कारण अर्को तीन जनालाई हामीले तालिमका लागि पठाउन सकिरहेका छैनौँ।"
"उहाँहरू सबै फर्किएपछि नेपालमा एउटा तालिम केन्द्र स्थापना गरी पहिलो चरणमा ३० जनालाई स्तन क्यान्सरको प्रारम्भिक पहिचानसम्बन्धी तालिम दिनेछौँ।”
उक्त कार्यक्रमको लागि अमेरिकाको सान फ्रान्सिस्कोमा रहेको एउटा संस्थाले २५ हजार डलरको द होलमन प्राइज दिने निर्णय गरेको छ।
उक्त पुरस्कारमा थप २० लाख रुपैयाँ जुटाएर तालिम सञ्चालन गरिने भन्दै उनले मेडिसिटि अस्पतालसँग सहकार्यको सहमती भएको बताए।
जर्मन चिकित्सकको अभियान
‘डिस्कभरिङ्ग हेन्ड्स’ भनिने दृष्टिविहीन महिलाहरूलाई क्यान्सरको पहिचानमा प्रयोग गर्ने विधि जर्मन चिकित्सक फ्याङ्क होफम्यानले पत्ता लगाएका हुन्।
सन् २००६ मा सुरुमा दृष्टिविहीनहरूलाई तालिम दिई अघि बढाइएको यो कार्यक्रम जर्मनी, अष्ट्रिया, भारत र कोलम्बियामा प्रयोगमा छ।
साधारण अवस्थामा चिकित्सकले छामेर स्तनमा रहेको १ देखि २ सेन्टिमिटरको गिर्खाहरू पत्ता लगाउन सक्ने भएपनि विशेष स्पर्श क्षमता भएकाले तालिमप्राप्त दृष्टिविहीनहरूले ६ देखि आठ मिलिमिटरका गिर्खाहरू पत्ता लगाउनसक्ने डा. होफम्यानले बताउने गरेका छन्।
यसबाट प्रारम्भिक चरणमा नै क्यान्सरको पहिचानमा सहयोग पुग्नसक्ने भन्दै दृष्टिविहीन महिलाहरूले गिर्खाहरू जाँच्ने हुँदा धक नमानी महिलाहरू क्यान्सर जचाउँन आउने क्रम बढ्न सक्ने भनिएको छ।
मेडिसिटी अस्पतालका प्रशासन प्रमुख पङ्कज बाँस्कोटाले भारतबाट तालिम लिएर फर्किएका महिला दृष्टिविहीनहरूलाई दुई वर्षसम्म “इन्ट्रनशीप”मा काम लगाउने गरी सम्झौता गरिएको बताए।
नेपाली विशेषज्ञ के भन्छन्?
भरतपुर क्यान्सर अस्पतालका वरिष्ठ स्तन क्यान्सर विशेषज्ञ डा. बलराम पौडेल दृष्टिविहीन महिलाहरूलाई क्यान्सरको पहिचानमा प्रयोग गर्नु नेपालका लागि नयाँ अनुभव हुने बताउँछन्।
उनले भने, “दृष्टिविहीनहरूको स्पर्श शक्ति बलियो हुन्छ भन्ने हिसाबले बाहिर कतिपय देशमा यो विधि स्तन क्यान्सरको पहिचानका लागि प्रयोग गरिएको छ।"
"उक्त विधि अवलम्बन गरेर हाम्रोमा कस्तो परिणाम आउँछ त्यो भने परीक्षणबिना भन्न सकिँदैन। तर तालिम दिएर जनशक्ति तयार पार्न सकियो भने काममा लगाउन सकिन्छ र नतिजा कस्तो आउँछ भन्न सकिन्छ।”
तर नेपालका कतिपय अस्पतालहरू अपाङ्गता वा दृष्टिविहीनमैत्री नभएको भन्दै यस्ता प्रयासहरूको कार्यान्वयनमा चुनौती आउनसक्ने पनि उनले बताए।
नेपालमा फोक्सोको क्यान्सरपछि सबैभन्दा बढी स्तन क्यान्सरका बिरामीहरू देखिने गरेको तथ्याङ्क छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१८ मा प्रकाशन गरेको एउटा अध्ययन अनुसार नेपालमा देखा पर्ने क्यान्सरहरू मध्ये १३ प्रतिशत स्तन क्यान्सर रहेको छ।
स्तन क्यान्सरका बिरामी मध्ये ९७ प्रतिशत महिला र तीन प्रतिशत पुरुष रहेको सो अध्ययनले देखाएको थियो।












