आप्रवासी महिलाका सन्तानको नक्कली पिता बन्न ब्रिटिश पुरुषलाई हजारौँ पाउन्ड

गर्भवती महिला र पासपोर्ट अनि फेसबुकको लोगो
    • Author, प्याट्रिक क्लेहेन, दिव्या तलवार र ख्यु बी लु
    • Role, बीबीसी न्यूजनाइट

आप्रवासी महिलाहरूका सन्तानको बुबा भएको नाटक गरेर ब्रिटिश पुरुषहरूले हजारौँ पाउन्ड कमाइरहेको बीबीसीको एउटा अनुसन्धानले पत्ता लगाएको छ।

जन्मदर्ता प्रमाणपत्रमा ती शिशुको पिताका रूपमा आफ्नो नाम दिनका निम्ति उनीहरूलाई १०,००० पाउन्ड (१२,००० अमेरिकी डलर) सम्म दिने गरिएको पाइएको छ। ब्रिटिश नागरिकका सन्तानले यूकेको नागरिकता पाउँछन् अनि ती महिलाहरूलाई यूकेमा आवासीय अधिकार प्राप्त गर्न बाटो खुल्छ।

यस्ता कारोबारीहरूले फेसबुकमार्फत् व्यवसाय चलाएका छन् र उनीहरूले हजारौँ महिलाहरूलाई मद्दत गरेको दाबी गरेका छन्।

त्यस्ता सामग्री आफ्नो नियमानुसार प्रतिबन्धित भएको फेसबुकले बताएको छ।

बीबीसी न्यूजनाइटले गरेको अनुसन्धानले यूकेभरि विभिन्न समुदायमा यस्तो किर्ते भइरहेको पत्ता लगाएको छ।

अनुसन्धानले यूकेभरि सक्रिय बिचौलियाहरू फेला पारेको छ जसले नक्कली पिता हुन राजी ब्रिटिश पुरुष जुटाउने गर्छन्।

गोप्य ढङ्गले अनुसन्धानमा संलग्न एक जनाले आफू यूकेमा अवैध रूपले आइपुगेको गर्भवती महिला भएको नाटक गरिन् र यस्ता सेवा जुटाइदिने मानिसहरूसँग सम्पर्कमा पुगिन्।

थाई नाम गरेका एक बिचौलियाले उनीसँग नक्कली पिताको नाटक गर्ने कैयौँ ब्रिटिश पुरुषहरू सम्पर्कमा रहेको भन्दै सम्पूर्ण सेवाका निम्ति ११,००० पाउन्ड लाग्ने बताएका थिए।

थाई
तस्बिरको क्याप्शन, गोप्य रूपमा कार्यरत न्यूजनाइकी अनुसन्धानकर्तालाई थाईले एजेन्टको सेवा दिने बताए

उनले सम्पूर्ण प्रक्रिया "एकदम सहज" भएको र शिशुका निम्ति ब्रिटिश पासपोर्ट दिलाउन आफूले "यथासम्भव प्रयास गर्ने" बताएका थिए।

फेसबुकमा विज्ञापन नगर्ने थाईले अधिकारीहरूलाई झुक्याउन एउटा गतिलो कहानी आफूले बनाउन सक्ने पनि बताए।

उनले एन्ड्रू नामक एक ब्रिटिश पुरुषसँग परिचय गराइदिए जो पिता बन्न राजी थिए। कुल सेवा शुल्कमध्ये ८,००० पाउन्ड एन्ड्रूले लिने कुरा भयो।

कुराकानीका बेला एन्ड्रूले उनी ब्रिटिश नागरिक भएको प्रमाणस्वरूप उनको पासपोर्ट देखाए। उनले अनुसन्धानकर्ता पत्रकारसँग सेल्फी पनि खिचाए।

न्यूजनाइट अनुसन्धानकर्ता (अनुहार नचिन्ने बनाइएको) र एन्ड्रू
तस्बिरको क्याप्शन, न्यूजनाइट अनुसन्धानकर्ता (अनुहार नचिन्ने बनाइएको) र एन्ड्रू

नक्कली पिता बन्न राजी गराउने दाबी गर्ने एजेन्टहरूले बीबीसीले कुनै पैसा भने तिरेन।

पछि जब थाईलाई उनको कारोबारको वास्तविकताबारे बीबीसीले सोध्यो तब उनले कुनै गल्ती नगरेको भन्दै आफूलाई केही थाहा नभएको बताए।

एन्ड्रूले कुनै प्रतिक्रिया दिएनन्।

थी किम नामक अर्की एजेन्टले चाहिँ आफूले हजारौँ गर्भवती आप्रवासी महिलाहरूलाई मद्दत गरेको दाबी गरिन्।

उनले पिता बन्न राजी ब्रिटिश पुरुष आफूले जुटाइदिन सक्ने भन्दै ती पुरुषहरूले त्यसका निम्ति १०,००० पाउन्ड माग्ने गरेको भए पनि आफूले केवल ३०० पाउन्ड मात्र शुल्क लिने गरेको बताइन्।

"मैले प्रयोग गरेका सबै पुरुष यहीँ जन्मिएका हुन् र यसअघि कुनै शिशु तिनको नाममा दर्ता भएका छैनन्," थी किमले अनुसन्धानकर्तालाई भनिन्।

"यो सब कसरी गर्नुपर्छ भन्ने मलाई थाहा छ। पासपोर्ट नभएकोमा तपाईँले चिन्ता गर्नुपर्दैन। त्यो मिलिहाल्छ।"

थी किमले पनि पछि बीबीसीले टिप्पणीका निम्ति गरेको प्रश्नको उत्तर दिइनन्।

थी किम
तस्बिरको क्याप्शन, थी किम जसले नक्कली पिता बन्न ब्रिटिश पुरुष खोजिदिने बताएकी थिइन्

आप्रवासी मामिलामा विशेज्ञता भएकी वकिल एना गोन्जालेजका अनुसार नक्कली पिता खडा गर्ने यो काइदा "निकै विस्तृत" हुन्छ।

"यो एकदम परिष्कृत अनि पत्ता लगाउन कठिन हुन्छ," उनले भनिन्। "एक हिसाबले यसले महिलाहरू कति व्यग्र छन् र यूकेमा बस्ने अधिकार हासिल गर्न केसम्म गर्न सक्छन् भन्ने देखाउँछ।"

यदि कुनै आप्रवासी महिला अवैध रूपमा यूकेमा छिन् र उनले ब्रिटिश नागरिक वा त्यहाँ स्थायी आवासीय अधिकार भएका पुरुषसँग शिशु जन्माउँछिन् भने उक्त शिशु जन्मका आधारमा ब्रिटिश नागरिक हुन्छ।

त्यसपछि उक्त आमाले पारिवारिक नाताले भिसाको निवेदन दिन सक्छिन् र समयक्रममा नागरिकताका निम्ति पनि।

"यो नियम बालबालिकाको सुरक्षाका निम्ति बनाइएको हो न कि कुनै कागजपत्रबिनाका महिलालाई यूकेको भिसा दिन," गोन्जालेज भन्छिन्। "यो कानुनी छिद्र होइन, यसलाई त्यस रूपमा हेर्नु हुँदैन।"

बीबीसीले यस्तो अनियमितताको स्तर अनुमान गर्न सकेको छैन किनकि होम अफिस (गृह मन्त्रालय)ले आफूले अध्ययन गरेका यस्ता मामिलाको सङ्ख्या दिन सकेन।

साथै उसले ब्रिटिश बालबालिकाका कति गैरब्रिटिश अभिभावकहरूलाई भिसा दिएको छ भन्नेबारे पनि मन्त्रालयले कुनै तथ्याङ्क प्रकाशित गरेको छैन।

रेड लाइन
यो पनि पढ्नुहोस्
रेड लाइन

'यदाकदा मात्र होइन'

तर गत वर्ष 'अन्य डिपेन्डेन्ट' शीर्षकमा ४,८६० पारिवारिक भिसा दिइएको थियो । उक्त शीर्षकले ब्रिटिश बालबालिकाका अभिभावकका रूपमा यूके बस्न पाउने भिसा पनि समेट्छ।

जन्मदर्ता प्रमाणपत्रमा जानीजानी मिथ्या विवरण दिनु फौजदारी कसुर हो।

होम अफिसले झुटा जन्मदर्ता प्रमाणपत्रका आधारमा आप्रवासीसम्बन्धी गलत कार्य हुन नदिन र त्यसलाई पत्ता लगाउन आफूहरूले विभिन्न उपाय अपनाइरहेको बीबीसीलाई बताएको छ।

उसका अनुसार "पितृत्वको विषयमा जन्मदर्ता प्रमाणपत्र मात्र यथेष्ट प्रमाण नहुन सक्छ" र जहाँ आवश्यक पर्छ त्यहाँ "जाँच प्रणालीलाई सन्तोषजनक बनाउन थप प्रमाण" माग गर्न सकिन्छ।

तर आप्रवासी मामिलाका अर्का वकिल हर्जप भङ्गल त्यस्तो जाँचका निम्ति पर्याप्त काम नगरिएको ठान्छन्। "यस्ता घटना यदाकदा मात्र हुने होइन, सम्भवत: हजारौँको सङ्ख्यामा छन्... होम अफिसले यसमा काम गर्न सकेको छैन," उनले भने।

यस्ता मामिला भारत, पाकिस्तान, बाङ्ग्लादेश, नाइजिरिया र श्रीलङ्का लगायतका देशका आप्रवासी समुदायमा देखिएको अनि यो वर्षौँदेखि हुँदै आएको उनले बताए।

कामको खोजीमा रहेकाहरूका निम्ति बनाइएका केही भियतनामी फेसबुक समूहमा यस्ता अवैध धन्दाबारे व्यापक विज्ञापन भइरहेको न्यूजनाइटको अनुसन्धानले फेला पारेको थियो।

रेड लाइन
यो पनि हेर्नुहोस्
रेड लाइन

महिलाहरूलाई डीएम गर्न आग्रह

हामीले दर्जनौँ यस्ता पोस्टहरू भेट्यौँ जहाँ नक्कली पिता बन्न तयार भनेर दाबी गरिएका थिए र कैयौँमा त्यस्तो पिता बन्न इच्छुक ब्रिटिश पुरुषको खोजीमा रहेका महिलाहरू थिए।

एउटा अकाउन्टमा भनिएको थियो: "म चार महिनाकी गर्भवती छु। मलाई २५-४५ उमेर समूहका बुबा बन्न राजी व्यक्तिको आवश्यकता छ।"

अर्कोमा लेखिएको थियो: "म रेड बुक [यूके पासपोर्टलाई भियतनामी बोलीचालीमा भनिने गरेको शब्द] भएको पुरुष हुँ। यदि तपाईँ गर्भवती हुनुहुन्छ र बुबाको खोजीमा हुनुहुन्छ भने डीएम (प्रत्यक्ष सन्देश सम्पर्क) गर्नुहोस्।"

फेसबुकको स्वामित्व भएको मेटा कम्पनीले उसको नियमले "जन्मदर्ता प्रमाणपत्र वा शिशुको एडप्शनबारे ठगी कार्य गर्न" अनुमति नदिने उल्लेख गरेको छ। त्यस्ता सामग्री आफूहरूले निरन्तर हटाइरहने उसले बताएको छ।

फेसबुक स्क्रीन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फेसबुकले ठगीसँग सम्बन्धित कन्टेन्टले उसको नीति उल्लङ्घन गर्ने बताएको छ

हामीले एक महिलासँग कुरा गर्‍यौँ जसले कसैलाई आफ्नो शिशुको पिता बनाउन ९,००० पाउन्ड तिरेको बताइन्।

उनले भनिन्: "ती पुरुष मभन्दा ३० वर्ष बढी उमेरका थिए। साथै उनले यस्तै काम अर्की महिलाका निम्ति पनि गरिदिएको मैले सुनेकी थिएँ।"

ती पुरुषसँग आफ्नो खासै धेरै सम्पर्क नभएको पनि उनले बताइन्। एक पटक जन्मदर्ता प्रमाणपत्र लिन जाँदाको समेत उनीहरूको भेट केवल तीन पटक भएको थियो।

अर्की महिलाले चाहिँ एक पुरुषलाई १०,००० पाउन्ड तिरेको सुनाइन्। तर ती पुरुषले उनको आप्रवासी हैसियतबारे झुटो दाबी गरेको उनले पछि मात्र थाहा पाइन्।

"मेरो शिशुको जन्मदर्ता प्रमाणपत्र लिएको एक दिनपछि मात्र थाहा पाएँ कि उसको त नागरिकता नै रहेनछ। मलाई निकै गाह्रो भयो किनकि प्रमाणपत्रमा मैले ती पुरुषको विवरण राखिसकेकी थिएँ र त्यो परिवर्तन गर्न सकिएन।"

फलस्वरूप उनको शिशुको पिता एक अपरिचित पुरुष छन्। अनि उनी र उनको शिशुसँग यूकेमा बस्न पाउने अधिकार पनि छैन।

हर्जप भङ्गलका अनुसार शङ्कास्पद थुप्रै भिसा निवेदनमाथि होम अफिसले अनुसन्धान गर्नुपर्छ।

"यदि कुनै शिशुले ब्रिटिश भएको दाबी गरिएको छ जसमा एक अभिभावक ब्रिटिश र अर्को अभिभावक भिसाविहीन छन् भने त्यस्ता मामिलामा डीएनए परीक्षण माग गर्नु वाञ्छनीय उचित हुन्छ।"

यूकेमा जन्म दर्ता वा बालबालिकाको पासपोर्टका निम्ति निवेदन दिँदा डिएनए परीक्षण आवश्यक पर्दैन।

यी अपराधमा खासै कुनै कारबाही नभएको भङ्गल ठान्छन्।

"त्यसैले मानिसहरूले यी काम गरिरहेका छन् किनभने परिणामको उनीहरूलाई कुनै डर भएन।"