प्यारिसको विमानस्थललाई १८ वर्ष घर बनाएका व्यक्तिको निधन

तस्बिर स्रोत, Getty Images
प्यारिसको विमानस्थलमा १८ वर्षसम्म बसेका एक इरानी पुरुषको निधन भएको छ।
कूटनीतिक गतिरोधका कारण कतै जान नपाएपछि मेहरन करिमी नासेरीले रोसी सार्ल डु गोल विमानस्थललाई सन् १९८८ मा आफ्नो निवास बनाएका थिए।
उनको अनुभवमा केन्द्रित रहेर सन् २००४ मा द टर्मिनल चलचित्र बनेको थियो जसमा टम ह्याङ्क्स् मुख्य अभिनेता थिए।
नासेरीलाई अन्ततः फ्रान्समा बस्ने अनुमति दिइएको थियो। तर उनी केही हप्ता अघि विमानस्थल फर्किएका थिए र उनको प्राकृतिक ढङ्गले निधन भएको विमानस्थलका एक जना अधिकारीले एएफपी समाचारसंस्थालाई बताएका छन्।
इरानको कुजेस्तान प्रान्तमा जन्मिएका उनी आफ्नी आमाको खोजीमा पहिलो पटक युरोप गएका थिए।
केही वर्ष बेल्जियममा विताएका उनलाई यूके, नेदरल्याण्ड्स र जर्मनी सहित कैयौँ देशहरूले आप्रवासन सम्बन्धी वास्तविक कागजपत्र नभएको कारण देशबाट निकाला गरेका थिए।
त्यसपछि फ्रान्स गएका उनले विमानस्थलको टुएफ टर्मिनललाई नै आफ्नो घर बनाए।
एकदिनमै ६ वटासम्म अन्तरवार्ता
आफूसँग भएका सामग्रीहरू राखिएका ट्रलीलाई उनले आफू बस्ने बेन्च बनाएका थिए।
आफ्नो दैनिकी नोटबुकमा लेख्ने बानी बसालेका उनले पुस्तक अनि पत्र पत्रिका अध्ययन गरेर दिन बिताउने गरेका थिए।
उनको कथाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान तानेको थियो र उनीबारे चलचित्र बनेपछि कैयौँ पत्रकारहरू उनलाई भेट्न पुगेका थिए।
आफूलाई ‘सर अल्फ्रेड’ भनेर चिनाउने उनले एउटा विन्दुमा दिनको ६ वटासम्म अन्तरवार्ता दिएको विवरणहरू आएका छन्।
शरणार्थीको हैसियत र फ्रान्समा बस्न सक्ने अधिकार सन् १९९९ मा दिइएपनि उनी सन् २००६ सम्म विमानस्थलमै बसेका थिए।
विरामी भएर उपचारका लागि अस्पताल लगिएपछि मात्रै उनले चलचित्रबाट पाएको पैसाको प्रयोग गरेर होस्टेलमा बस्न थालेका थिए।
मृत्यु हुनु केही हप्ताअघि उनी विमानस्थलमा फर्किएको एक जना अधिकारीले बताए।
उनका अनुसार नासेरीको साथबाट कैयौँ हजार युरो फेला परेको थियो।








