नेपाली राहदानी: किन उत्तर कोरियाको पासपोर्टभन्दा तल? नेपालीलाई विदेश जान कति सहज?

ई-पासपोर्ट

तस्बिर स्रोत, DoP

नेपालको राहदानी विश्वका राहदानीहरूमध्ये "सातौँ कमजोर" का रूपमा सूचीकृत भएपछि सामाजिक सञ्जालमा त्यसबारे चर्चा भइरहेको छ।

विश्वभरि हुने आप्रवासनसँग सम्बन्धित विषयमा परामर्श उपलब्ध गराउँदै आएको हेन्ली एन्ड पार्ट्नर्स नामक कम्पनीले सार्वजनिक गरेको एउटा सूचीमा नेपालको राहदानी लिबिया र उत्तर कोरियाभन्दा पनि तल रहेको देखिएको हो।

हेन्स्ली पासपोर्ट इन्डेक्सका अनुसार सबैभन्दा कमजोर राहदानी भएका देशहरूमा दक्षिण एशियाली राष्ट्र पाकिस्तान र अफगानिस्तान नेपालभन्दा पनि कमजोरका रूपमा सूचीकृत छन्।

एक सय ९९ वटा राहदानी अनि २२७ विभिन्न यात्रा गन्तव्यको सूचीमा नेपालको राहदानी १०६ औँ स्थानमा छ। प्यालेस्टिनी भूभाग र नेपालको समान अङ्क छ।

त्यसपछिको स्थानमा सोमालिया छ। पाकिस्तान १०९ औँ अनि अफगानिस्तान सबैभन्दा तल ११२ औँ स्थानमा छन्।

अन्य दक्षिण एशियाली राष्ट्रमा बाङ्ग्लादेश १०४ औँ स्थानमा छ भने अहिले चरम राजनीतिक तथा आर्थिक समस्यामा परेको श्रीलङ्का १०३ औँ स्थानमा छ।

भुटान ९३ औँ, भारत ८७ औँ र माल्दिभ्स ६३ औँ स्थानमा छन्।

नेपालको उत्तरी छिमेकी चीनको राहदानी ६९औँ स्थानमा छ।

विदेश जान चाहने नेपाली पुरुषहरू

तस्बिर स्रोत, Getty Images

वर्गीकरणको आधार के हो

हेन्ली एन्ड पार्ट्नर्सका अनुसार इन्टरन्याश्नल एअर ट्रान्सपोर्ट अथोरिटी आईएटीएले उपलब्ध गराएको तथ्याङ्कमा थप अध्ययन गरी राहदानीको सबलताबारे सूची तयार पारिएको हो।

उक्त परामर्शदाता कम्पनीले तीन-तीन महिनामा यो सूची अद्यावधिक गर्ने गरेको छ।

हेन्लीका अनुसार प्रत्येक वर्ष निश्चित मितिमा आईएटीएले उसलाई तथ्याङ्क उपलब्ध गराउँछ।

त्यसबाहेक उक्त कम्पनीले सार्वजनिक रूपमा उपलब्ध दस्तावेज तथा विश्वस्त अनलाइन स्रोत हेरेर २२७ वटै सम्भावित गन्तव्यस्थल हुने प्रवेशबारे उपलब्ध जानकारीको अध्ययन गरी सूची तयार पार्ने गरेको जनाएको छ।

यो सूची कुन देशको राहदानी बोकेका व्यक्तिले कतिवटा यात्रा गन्तव्यस्थलमा सहज रूपमा प्रवेश पाउँछन् भन्ने कुरामा आधारित छ।

हेन्लीका अनुसार सबैभन्दा बलियो मानिएको जापानी राहदानीवाहक पहिला नै प्रवेशाज्ञा नलिई १९३ वटा देशमा जान पाउँछन्।

त्यस्तै दोस्रो स्थानमा रहेका सिङ्गापुर अनि दक्षिण कोरियाको राहदानी बोकेर १९२ स्थानमा जान सकिने बताइएको छ।

तेस्रो स्थानमा युरोपेली राष्ट्र जर्मनी अनि स्पेनको राहदानी लिएर १९० गन्तव्य पुग्न सकिन्छ।

नेपाली राहदानीवाहकले अग्रीम प्रवेशाज्ञाबिना ३८ वटा गन्तव्यमा जान पाउँछन् भने सबैभन्दा तल रहेको अफगानिस्तानको राहदानी बोकेर त्यसरी २७ देशमा मात्र प्रवेश पाइन्छ।

अफगान पासपोर्ट

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अफगान राहदानीलाई सबैभन्दा कमजोर मानिएको छ

नेपाल सरकार के भन्छ

परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागका अनुसार राहदानीको गुणस्तर, सेवा वा अन्य कुनै आधारमा नभएर सहज प्रवेशका आधारमा उक्त कम्पनीले वर्गीकरण गरेको हुनाले नेपाली राहदानी कमजोर १० का रूपमा सूचीकृत भएको हो।

नेपाली राहदानीवाहकलाई धेरै राष्ट्रले अन-अराइभल भिसा (अर्थात् विमानस्थलस्थित अध्यागमनमा पुगेपछि दिइने प्रवेशाज्ञा) नदिने र प्रवेशाज्ञा प्राप्त गर्ने प्रक्रिया पनि जटिल रहेको अधिकारीहरू स्वीकार गर्छन्।

विगतमा विदेशमा "नेपालीहरूले एउटा उद्देश्य लिएर अर्को उद्देश्यले काम गरेको हुनसक्ने" भएकाले समेत विभिन्न देशले आफ्नो प्रवेशाज्ञासम्बन्धी नीतिमा परिवर्तन गरेको हुनसक्ने अनुमान राहदानी विभागका प्रवक्ता समेत रहेका निर्देशक शरदराज अरनको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, राहदानी बनाउनै सकस, कर्मचारी अभाव भन्दै जिल्लाबाटै राहदानी लिन आग्रह

तर बाँकी विश्वबाट टाढा रहेको उत्तर कोरियाभन्दा पनि नेपाली राहदानी कमजोर देखिनुको कारण के हो त भन्ने प्रश्नमा अरन भन्छन्, "राजनीतिक कुराहरू मिल्ने देशहरूले उसलाई बढी पहुँच दिएको हुनसक्छ। यसका विविध पाटाहरू छन्।"

तर उक्त सूचीकै आधारमा नेपालको राहदानी "खत्तम छ भन्न नमिल्ने" उनको तर्क छ।

विगतमा एक दशकभन्दा लामो समय आन्तरिक द्वन्द्व भोगेको नेपाल तुलनात्मक रूपमा राजनीतिक रूपमा समेत स्थिर हुँदा पनि नेपाली राहदानी बोक्ने व्यक्तिले सहजै प्रवेशाज्ञा नपाउने स्थिति हुनेको ठूलो अर्थ राख्ने जानकारहरू बताउँछन्।

भ्रमण प्रवेशाज्ञामा विभिन्न गन्तव्य पुगेका नेपालीहरू उतै "अलपत्र" परेको खबर बेलाबेलामा आउने गरेको छ। त्यसले "एउटा प्रयोजनका लागि भनेर लिएको अर्कै प्रयोजनका प्रयोग गर्ने वा अरू गतिविधिमा संलग्न हुने प्रवृत्ति" व्याप्त रहेको सङ्केत गरेको राहदानी विभागले जनाएको छ।

तर विभागसँग त्यस्ता मानिसहरूको विवरण उपलब्ध छैन।

पछिल्ला वर्षहरूमा खाडी देश तथा विभिन्न गन्तव्यमा नेपालबाट श्रमिकहरू जाने क्रम पनि बढेको छ।

त्यसबाहेक युरोप र अमेरिकी राष्ट्र पुग्न जोखिमपूर्ण यात्रामा नेपालीहरू सहभागी भएको विवरणहरू पनि सार्वजनिक हुने गरेका छन्।

नीति परिवर्तनको मार कस्तो

जानकारहरूका अनुसार खासगरी युरोपेली मुलुकहरूमा जाने विद्यार्थी वा श्रम स्वीकृति लिएका व्यक्तिहरूले पनि परिस्थितिअनुसार एक देशबाट अर्को देशमा यात्रा गर्ने गरेको पाइन्छ।

विगतमा नेपालीहरूले स्पेन, पोर्चुगल, इटली र द नेदरल्यान्ड्स लगायतका देशमा सरकारी कागजपत्र बनाएर कामका लागि जाने गरेको पाइएको डेनमार्कका लागि नेपालका पूर्वराजदूत युवनाथ लम्सालले बीबीसीसँग बताए।

"विद्यार्थीका रूपमा पढाइ सकिएपछि स्ट्याटस परिवर्तन गर्ने (गरेका थिए)। गैरकानुनी रूपमा बसेको त त्यति मैले पाइनँ," उनले थपे।

तर युरोपमा नेपाल मात्र नभएर धेरै एशियाली राष्ट्रका नागरिकसँग सम्बन्धित यस्तै समस्या देखिने गरेको उनको अनुभव छ। अफ्रिकी मुलुकका नागरिकको पनि त्यस्तै समस्या व्याप्त रहेको बताइन्छ।

समस्या भए पनि नेपालीहरूलाई त्यहाँ हेर्ने दृष्टिकोण भने "राम्रो रहेको" उनको दाबी छ।

युरोप क्षेत्रकै अर्का एकजना जानकार नर्वेमा मौसमी खेतीका लागि पुगेका कतिपय नेपाली नागरिकहरू खेतीको अवधि सकिएपछि युरोपकै अर्कै देशमा गएको र कतिपयले शरण माग्दै आवेदन दिएको बताउँछन्।

यस्ता घटना क्रमिक रूपमा बढ्दै जानुले बिस्तारै नेपाली राहदानीको विश्वसनीयता घटाइरहेको हो कि भन्ने प्रश्न उठ्ने गरेको छ।

त्यसबाहेक युरोपदेखि विभिन्न पश्चिमा राष्ट्रहरू केही समययता आप्रवासीहरूप्रति अनुदार हुँदै गएको र त्यसको प्रभाव प्रवेशाज्ञामै देखिन थालेको तर्क कतिपयको छ। लम्साल पनि त्यससँग सहमत छन्।

"उनीहरूका (पश्चिमा राष्ट्रहरूका) नागरिकबाट पनि दबाव छ। म डेनमार्कमा हुँदा यसअघिको निर्वाचनमा आप्रवासीहरूलाई रोक्ने अजेन्डाको जित भयो," उनले थपे।

अन्तर्राष्ट्रिय स्तरमा नेपालको राहदानीको ओज बढाउन सरकार र नागरिक सबै सचेत हुन आवश्य रहेकोमा विज्ञ र अधिकारीहरू सहमत छन्।

"हामीले हाम्रो देशको अन्तर्राष्ट्रिय प्रतिष्ठाबारे सचेत हुनैपर्छ। सबैले जिम्मेवार नागरिकका हिसाबले कसरी काम गर्ने भन्ने विषयमा सचेत हुनुपर्छ," अरनले भने।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपालमा ११ हजार चिनियाँ कामदारलाई श्रम इजाजत