स्मार्ट लाइसेन्स: 'जुनसुकै यातायात कार्यालयमा परीक्षा दिन सकिनेगरी एक साताभित्रै आवेदन खोलिने'

लाइसेन्स

यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन पुनः सुरु गर्ने तयारी अघि बढाएको छ।

विभागका अनुसार नयाँ प्रणालीमा आधारित रहेर "एक साताभित्रै" आवेदन खुला गर्नेगरी तयारी अघि बढाइएको हो।

नयाँ प्रणालीले जुनसुकै स्थानमा रहेका मानिसले देशको जुनसुकै यातायात कार्यालयबाट सेवा प्राप्त गर्न सक्ने सुविधा उपलब्ध गराउने सरकारी दाबी छ।

प्रविधिमा आधारित नयाँ प्रणाली प्रयोगमा आयसँगै सेवाग्राहीले सहज रूपमा सेवा प्राप्त गर्ने विभागको भनाइ छ।

लामो समयदेखि व्यवस्थित स्मार्ट लाइसेन्स वितरण गर्न नसकेको आरोप खेपिरहेको विभागले गत चैत महिनाबाट आवेदन प्रणाली बन्द गरेको थियो।

सरकारले 'चिप-जडित' स्मार्ट लाइसेन्स जारी गरेपछि माग र आपूर्तिबीच सन्तुलन कायम गर्न नसक्दा पछिल्ला केही वर्षदेखि सवारीचालक अनुमतिपत्र प्राप्त गर्न निकै कठिनाइ भोग्नुपरेको सर्वसाधारणहरूको अनुभव छ।

अबको प्रणालीमा नयाँ के हुन्छ?

अधिकारीहरूका अनुसार अब सेवाग्राहीले आवेदनसँग सम्बन्धित लगभग सबैजसो कार्य अनलाइन प्रणालीबाटै गर्न पाउने छन्।

यसले यातायात कार्यालयहरूमा देखिने सेवाग्राहीहरूको भिड कम गर्ने अपेक्षा अधिकारीहरूले गरेका छन्।

आवेदन दिएको "१५ दिनभित्रमा" पालो आउनेगरी व्यवस्था मिलाइएको र अनलाइनबाटै शुल्क तिर्न सकिने व्यवस्था मिलाउन लागिएको छ विभागले जनाएको छ।

सवारी साधन चालकको प्रयोगात्मक परीक्षा

तस्बिर स्रोत, VEHICLE ACADEMY AND RESEARCH CENTRE

तस्बिरको क्याप्शन, सवारीसाधन चालकको प्रयोगात्मक परीक्षा

नयाँ प्रणाली प्रयोगमा ल्याइएसँगै दर्ता भएका चिकित्सकले परीक्षण गरेर उपलब्ध गराउने स्वास्थ्य सम्बन्धी रिपोर्ट पनि अनलाइन अप्लोड गर्न सकिने बताइएको छ।

"आवेदन दिँदा कुन ठाउँमा कति कोटा उपलब्ध छ भनेर हेर्न पनि पाइने छ," विभागका महानिर्देशक नमराज घिमिरेले बताए।

''एकान्तकुनामा १५ दिनसम्म पालो पाइने देखिएन भने ठूलोभर्‍याङमा हेर्न सकियो, काठमाण्डू उपत्यकामा छैन भने हेटौँडा वा पोखरामा यहीँबाट आवेदन दिन पाइन्छ।''

तर त्यसपछिका सबै काम सम्बन्धित कार्यालयबाटै हुन्छ।

"उहाँ भरेर यहाँ ट्रायल दिन पाइने चाहिँ होइन," उनले थपे।

कत्तिको विश्वसनीय छ?

विभागले यसअघि पनि अनलाइनमार्फत् स्मार्ट लाइसेन्सका लागि अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था नगरेको होइन।

पूर्ण रूपमा अनलाइन सेवामार्फत् सबै कार्य गर्न सकिने व्यवस्था नभए पनि आवेदनकै लागि यातायात कार्यालय धाउनुपर्ने बाध्यता भने त्यसले अन्त्य गरेको थियो।

तर उक्त प्रविधि भरपर्दो हुन नसक्दा पटकपटक सेवा प्रवाहमा समस्या उत्पन्न हुने गरेको थियो।

त्यसै कारण नयाँ प्रणाली कत्तिको भरपर्दो हुने हो भन्ने प्रश्न धेरैले गरिरहेका छन्।

यातायात व्यवस्था विभाग।

त्यसबारे घिमिरे भन्छन्, "त्यो चाहिँ सर्भर क्षमताका कारण भएको हो। पहिलेको प्रणाली प्रत्येक दिन ६,२०० जनालाई सेवा दिनेगरी विकास गरिएको थियो। तर एकै दिनमा ९८,००० जनासम्मले आवेदन दिएको देखियो।"

अब भने १५ दिनसम्मको मात्रै आवेदन लिइने भएकाले समस्या उत्पन्न नहुने उनको भनाइ छ।

विभागका अनुसार प्रत्येक दिन अर्को पन्ध्रौँ दिनका लागि आवेदन खुला हुने छ।

"त्यसको पर्सिपल्ट सौह्रौँ दिनका लागि खुल्छ, पर्सी पल्ट १७औ दिनका लागि खुल्छ," घिमिरेले भने।

प्रारम्भिक चरणमा एकैदिन देशभरिबाट १५,००० आवेदन लिनेगरी व्यवस्था मिलाइएको बताइएको छ।

अनलाइनमार्फत् स्मार्ट लाइसेन्स प्राप्तिका लागि आवेदन दिएको कम्तीमा सोह्रौँ दिनमा 'भिजिट डेट' अर्थात् यातायात कार्यालय जानुपर्ने दिनबारे सूचना सेवाग्राहीले पाउने छन्।

त्यसपछि भने पहिलेकै जस्तो प्रक्रिया सुरु हुन्छ। बायोमेट्रिक विवरण सङ्कलन देखि अन्य कार्य यातायात कार्यालयमा हुन्छ।

स्मार्ट लाइसेन्स।

अहिलेको अवस्था कस्तो छ?

यातायात व्यवस्था विभागका अनुसार विगतमा आवेदन दिएर प्रयोगात्मक परीक्षाका लागि पाँच लाख ७२ हजार सर्वसाधारण कुरिरहेका थिए।

हाल काठमाण्डूबाहेक देशभरिका यातायात कार्यालयले उक्त कार्य सम्पन्न गरिसकेको बताइएको छ।

काठमाण्डूमा भने चारै कार्यालयले निर्वाचनका कारण ढिला गरी जेठ १५-१६ गतेसम्ममा उक्त कार्य सम्पन्न गरिसक्ने जानकारी दिएको घिमिरेले बताए।

त्यस्तै १६०,००० देखि १७०,००० स्मार्ट लाइसेन्स वितरण गर्न बाँकी छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘राजाकी डाइभर्नी’

त्यसमा नवीकरणका लागि परेका आवेदन र क्यूआर कोड सहितको परीक्षणकालीन लाइसेन्सवाहकहरू समावेश रहेको बताइएको छ।

"स्मार्ट लाइसेन्स नै पाउन बाँकी भनेको चाहिँ झन्डै एक लाखजति होला," घिमिरेले भने।

कोरोनाभाइरस महामारी र लकडाउनलाई कारण देखाउँदै २०७६ चैतदेखि तीन महिनाका लागि नयाँ चालक अनुमतिपत्रको आवेदन बन्द गरिएको थियो।

महामारीको दोस्रो लहर सुरु भएपछि गत वर्ष वैशाख १६ गतेदेखि पुनः ठप्प पारिएको आवेदन कार्तिक ७ गतेदेखि खुला गरिएको थियो।

त्यसपछि फेरि चैत महिनामा फेरि आवेदन लिन बन्द गरियो।