स्मार्ट लाइसेन्स: नयाँ आवेदन अब कहिलेबाट खुल्छ

स्मार्ट लाइसेन्स।

लामो समयदेखि व्यवस्थित रूपमा सवारीचालक परिचयपत्र (स्मार्ट लाइसेन्स) वितरण गर्न नसकेको आरोप खेपिरहेको यातायात व्यवस्था विभागले पुनः अनलाइन आवेदन प्रणाली बन्द गरेको छ।

विभागले सूचना जारी गर्दै ''हालसम्म परेका अनलाइन आवेदनहरूको कारबाही यथाशक्य चाँडो टुङ्ग्याउनुपर्ने भएकाले चैत १ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्म आवेदन प्रणाली बन्द रहने'' जनाएको हो।

अधिकारीहरूका अनुसार नयाँ आवेदन बन्द गरेर पुराना आवेदन अनुसार परीक्षा सञ्चालन अनि ट्रायल सम्पन्न भएपछि मात्रै सर्वसाधारणहरूले फेरि आवेदन दिन पाउने छन्।

हालसम्म आवेदन दिएका सेवाग्राहीको काम सम्पन्न गरेपछि विभागले ''एक साताभित्रै लाइसेन्स प्राप्त गर्न सकिने'' गरी आवेदन खुला गर्ने योजना गरिरहेको विभागका निर्देशक तथा प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए।

सरकारले 'चीप' जडित स्मार्ट लाइसेन्स जारी गरेपछि माग र आपूर्तिबीच सन्तुलन कायम गर्न नसक्दा पछिल्ला केही वर्ष देखि सवारी चालक अनुमति पत्र प्राप्त गर्न निकै कठिनाइ भोग्नुपरेको सर्वसाधारणहरूको अनुभव छ।

त्यस्तै कोरोनाभाइरस महामारी र लकडाउनलाई कारण देखाउँदै २०७६ चैतदेखि तीन महिनाका लागि नयाँ चालक अनुमतिपत्रको आवेदन बन्द गरिएको थियो।

महामारीको दोस्रो लहर सुरु भएपछि गत वैशाख १६ गतेदेखि पुनः ठप्प पारिएको आवेदन कार्तिक ७ गतेदेखि खुला गरिएको भए पनि सहज रूपमा लाइसेन्सको छपाइ अनि वितरण हुन सकेको छैन।

पछिल्लो अवस्था के छ?

सवारी साधन चालकको प्रयोगात्मक परीक्षा

तस्बिर स्रोत, VEHICLE ACADEMY AND RESEARCH CENTRE

तस्बिरको क्याप्शन, सवारीसाधन चालकको प्रयोगात्मक परीक्षा

भुसालका अनुसार देशका सबै यातायात कार्यालय गरी हाल ''तीनदेखि चार लाख'' आवेदकको काम सम्पन्न गर्नुपर्ने अवस्था छ।

''सेवाग्राहीलाई लामो लाइनमा राखेर कुराउनुभन्दा अलि छिटो गरेर सक्काउने र भर्न (आवेदन) बित्तिकै पाउन सक्ने अवस्था सृजना गर्न उपयुक्त हुने भएकाले त्यसै अनुसार गर्न खोजिएको हो,'' उनले भने।

हाल विभागसँग पर्याप्त लाइसेन्स उपलब्ध भएकाले आवेदकहरूलाई लाइसेन्स उपलब्ध गराउन समस्या नहुने अधिकारीहरू बताउँछन्।

पछिल्लो समय १४ लाख स्मार्ट लाइसेन्स कार्ड प्राप्त गरेको विभागले हालसम्म दुई लाखको हाराहारीमा कार्ड छापिसकेको छ।

''अब १२ लाख कार्ड हामीसँग छ। यो आर्थिक वर्ष र आगामी आर्थिक वर्षको आधा समयसम्म पुग्ने जस्तो देखिन्छ,'' उनले भने।

लाइसेन्स प्राप्त गनर्का लागि योग्य ठहर भएका सर्वसाधारणहरूले पहिले एक वर्षका लागि परीक्षणकालीन कार्ड प्राप्त गर्ने हुँदा पनि स्मार्ट लाइसेन्सको अभाव नहुने ठानिएको छ।

कहिले बाट खुल्ला नयाँ आवेदन?

अधिकारीहरूका अनुसार हाल बाँकी रहेको काम सम्पन्न गर्न 'एक-दुई महिना' लाग्ने अवस्था छ।

त्यसको अर्थ आगामी जेठ महिनामा आवेदन खुल्छ त?

भुसाल भन्छन्, ''यही मिति त भन्न सकिन्न। तर डेढ-दुई महिनामा फेरि खुल्ला।''

यातायात व्यवस्था विभाग।

त्यसपछि भने सर्वसाधारणहरूले आवेदन दिएको एक सातादेखि १० दिनभित्र लिखित अनि प्रयोगात्मक परीक्षा सम्पन्न गरेर सबै प्रक्रिया टुङ्गिने गरी व्यवस्था गर्न लागिएको विभागको भनाइ छ।

तर उक्त भनाइ अनुसार काम गर्ने ठोस आधार के हुन भन्ने प्रश्नको स्पष्ट जवाफ भने अधिकारीहरूसँग छैन।

हालका लागि अनलाइन आवेदन बन्द गरिएको भए पनि विदेश जान वा आपत्कालीन रूपमा लाइसेन्स प्राप्त गर्नुपर्ने बाध्यता रहेकाहरूका लागि भने सेवा उपलब्ध गराइने अधिकारीहरूको भनाइ छ।

''जरुरी कोही विदेश जाने छ भने प्रवेशाज्ञा, टिकट र राहदानीको फोटोकपी लिएर आएको अवस्थामा सुविधा उपलब्ध रहेको'' भुसालले जानकारी दिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘राजाकी डाइभर्नी’