आईपीएल खेलपछि मैदानमा विराट कोहली र गौतम गम्भीरबीच भनाभनको कारण के हो?

तस्बिर स्रोत, SOCIAL MEDIA
- Author, वात्सल्य राय
- Role, बीबीसी संवाददाता
कुनै बेला 'असल साथी' र सानदार 'टिममेट'का रूपमा हेरिएका र पछि आईपीएल मैदानमा 'दुस्मनी'को कहानीका कारण चर्चामा रहेका भारतीय क्रिकेटका यी दुई प्रभावशाली व्यक्तिले फेरि 'विवाद'को नयाँ कथा लेख्न लागेका हुन्?
सोसल मिडियामा कैयौँ प्रयोगकर्ताहरू यो प्रश्नको उत्तर जान्न चाहन्थे।
विराट कोहलीको टीम रोयल च्यालेन्जर्स बैङ्गलोर र लखनऊ सुपर जायन्ट्सबीचको सोमवारको खेल सकिएपछि मैदानमा जस्तो दृश्य देखियो त्यसले तिनै प्रश्नलाई सतहमा ल्याइदिएका छन्।
त्यस्तो दृश्य नदेखिएको भए त्यो खेलको त्यति चर्चा हुने पनि थिएन। त्यो सुस्त पिचमा खेलिएको एउटा औसत प्रतिस्पर्धा थियो।
त्यसमा बैङ्गलोरले पहिलो खेल खेल्दा नौ विकेटमा १२६ रन बनाएको थियो र लखनऊलाई मात्र १०८ रनमा अलआउट गरेर १८ रनले खेल जितेको थियो।
घरेलु मैदानमा खेलिरहेको लखनऊको टोलीले ३८ रनमा नै पाँच विकेट गुमाइसकेपछि खेलको उत्साह मर्दै गएको थियो।
तर त्यो खेलको कथा अझै सकिएको थिएन। बल र ब्याटबीचको खेल भन्दा पनि ठूलो ‘तमासा’ बाँकी नै थियो।
दुवै टोलीका धेरै पात्र यसमा संलग्न थिए तर सबैभन्दा बढी चर्चा विराट कोहली, लखनऊको टोलीबाट खेल्ने अफगानिस्तानका नवीन उल हक र गौतम गम्भीरको भएको छ।
यदि उक्त खेल बल र ब्याटमा खेलाडीको प्रदर्शनमा मात्र सीमित भएको भए सायद यो खेल सकिएलगत्तै बिर्सिइने थियो।
उक्त खेलमा खेलाडीले जोश नदेखाएका होइनन् तर यो खेलमा दुवै टोलीका खेलाडीको प्रदर्शन सम्झनलायक वा विशेष केही थिएन। तर अब त्यो खेललाई सहजै भुलिने छैन भन्ने निश्चित छ।

तस्बिर स्रोत, Getty Images
गम्भीर, विराट र नवीनलाई जरिवाना
के भएको थियो भन्नेबारे सुरुमा कुनै आधिकारिक जानकारी आएको थिएन तर अहिले आईपीएलले आधिकारिक जानकारी दिएको छ।
मैदानमा भएको भनाभनपछि आईपीएलले गौतम गम्भीर, विराट कोहली र लखनऊका बलर नवीन उल हकलाई जरिवाना गरेको छ।
आईपीएलले जारी गरेको विज्ञप्तिमा गौतम गम्भीरले आईपीएलको नियम उल्लङ्घन गरेको र उनलाई एक खेलको शुल्क बराबरको जरिवाना गरिएको उल्लेख गरिएको छ।
आईपीएलले आफ्नो विज्ञप्तिमा विराट कोहलीलाई आईपीएल नियम उल्लङ्घन गरेकोमा शतप्रतिशत खेल शुल्क जरिवाना लगाइएको जनाएको छ।
गौतम गम्भीर र विराट कोहलीले आईपीएल आचारसंहिता उल्लङ्घन गरेको आरोप स्वीकार गरेको वक्तव्यमा उल्लेख छ।
बलर नवीन उल हकलाई खेल शुल्कको ५० प्रतिशत जरिवाना गरिएको छ। उनले पनि खेल नियम उल्लङ्घन गरेको आरोप स्वीकार गरेका छन्।

तस्बिर स्रोत, ANI
कस्ता कस्ता अनुमान गरिए?
उक्त प्रकरणपछि खेल प्रसारण गरिरहेका प्रसारणकर्ताको कमेन्ट्री टीममा सामेल पूर्व खेलाडीदेखि क्रिकेट समीक्षक र फ्यानले भिडिओमा खेलाडीको हाउभाउ हेरेर अनुमान लगाउने कोसिस गरेका थिए।
जस्ता अनुमान गरियो त्यसले त्यहाँ ‘खेल भावना’ थियो भन्ने देखाउँदैनथ्यो। केहीले त त्यसलाई ‘बेतुकको कुरा’ पनि भने।
उक्त घटनाका विभिन्न भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।
त्यस्तै एउटा भिडिओमा पूर्व क्रिकेटर तथा पूर्व प्रशिक्षक रवि शास्त्रीले भनेका छन्, "खेल सकियो। नतिजा आयो। दुई अङ्क मिल्यो। के बोल्नु छ र?"
उनीसँग कुरा गर्दै पूर्व क्रिकेटर हरभजन सिंह भन्छन्, “त्यस्तो कुनै आवश्यकता थिएन।”
रवि शास्त्रीले त्यसमा थपेका छन्, "कुनै आवश्यकता थिएन। यो कम स्कोरको खेल हो। चर्काचर्की पर्छ, त्यो ठिकै छ त्यसलाई मैदानमै छोडिदिनोस्।"
धेरैजसो भिडिओबाट चारवटा कुरा बाहिर आएको देखिन्छ।


गम्भीर र कोहलीको भिडिओ
सबभन्दा चर्चामा आएको घटना यस्तो छ: खेलपछि कोहली लखनऊका ब्याट्सम्यान काइल मायर्ससँग हिँडिरहेको र कुरा गरिरहेको देखिन्छ। त्यसपछि गौतम गम्भीर आउँछन् र उनको हात समातेर अर्कातिर लग्छन्।
त्यसपछि गौतम गम्भीर अर्कोतिर फर्केर केही भन्दै गरेको देखिन्छ। उनलाई केएल राहुलले अगाडि बढ्न रोक्न खोजेको देखिन्छ। तर गम्भीर थप केही बोल्दै अगाडि बढ्छन्।
उनी विराट कोहलीको नजिकै पुग्छन्। कोहलीले गम्भीरको काँधमा हात राख्छन् र उनलाई केही बुझाइरहेको जस्तो देखिन्छ। दुवै जना हात हल्लाउँदै केही भन्छन्।
यसैबीच हेल्मेट लगाएका अमित मिश्रा दुवैको बीचमा आउँछन् र छुट्याउन खोज्छन्।
यसैबीच बैङ्गलोरका कप्तान फाफ डुप्लेसी आइपुग्छन् र उनले हाँस्दै विराट कोहलीलाई आफूसँग लिएर जान्छन्।

तस्बिर स्रोत, Getty Images
विराट र नवीन उल हकबीच के भयो?
यी दुईबीच विवादका तीनवटा पक्ष बाहिर आएका छन्। खेलको क्रममा एउटा झगडा भएको बताइएको थियो।
लखनऊको इनिङ्सको १६औँ ओभरपछि विराट र नवीन उल हकबीच विवाद भएको देखिन्छ।
पिचमा उपस्थित अमित मिश्रा र अम्पायरले हस्तक्षेप गरेको देखिन्छ। विराटले अमित मिश्रा र अम्पायरलाई केही भन्दै गरेको देखिन्छ।
अर्को भिडिओ खेल सकिएपछिको हो। त्यसमा दुवै टोलीका खेलाडीहरू एकअर्कासँग हात मिलाउँदै गरेको देखिन्छन्।
दुवैले एकअर्कालाई केही भनिरहेको देखिन्छ। त्यसै क्रममा नवीनले विराटको हात झट्काउँछन्।
त्यहाँ म्याक्सवेलले हस्तक्षेप गरेको देखिन्छ। अर्को भिडिओमा विराट कोहली र केएल राहुल बाउन्ड्री लाइन नजिकै कुरा गरिहरेको देखिन्छ।
नवीन नजिकैबाट गइरहेका हुन्छन्। केएल राहुलले उनलाई केही भन्छन् तर उनी उनको नजिक आउनुको सट्टा टाउको हल्लाएर अर्कोतर्फ जान्छन्।

तस्बिर स्रोत, Getty Images
बीस दिनदेखिको झगडा?
सम्पूर्ण घटनाक्रमको बारेमा ट्विटरमा केही प्रयोगकर्ताहरूले सोमबार लखनऊमा त्यस्तो देखिए पनि त्यो कथाको सुरुवात २० दिन पहिले बैङ्गलोरको चिन्नास्वामी स्टेडियमबाटै भएको थियो भनिरहेका छन्।
एप्रिल १० मा यी दुवै टोली बैङ्गलोरको चिन्नास्वामी मैदानमा आमनेसामने भएका थिए।
लखनऊले आईपीएलको १६ औँ सिजनमा २१३ रन बनाएर अन्तिम बलमा बैङ्गलोरलाई एक विकेटले पराजित गरेको थियो।
खेलपछि लखनउका प्रशिक्षक गौतम गम्भीरले ओठमा चोरी औँला राखेको तस्वीर भाइरल भएको थियो।
उनले बैङ्गलोरको स्टेडियममा उपस्थित आरसीबी फ्यानलाई त्यसरी चुप लाग्न ईशारा गरेको धेरैले दाबी गरेका छन्।
सोमवारको खेलमा १२७ रनको बचाउ गरिरहेका बेला लखनऊको हरेक विकेट ढल्दा विराट कोहलीले जसरी खुसी मनाइरहेका थिए, त्यसलाई धेरैले गौतम गम्भीरलाई दिइएको जवाफको रूपमा हेरेका थिए।
तर विराट कोहलीको करियरलाई नजिकबाट नियालिरहेका धेरै कमेन्टेटरहरूले खेलको क्रममा उनको शारीरिक हाउभाउमा खासै फरक वा अनौठो कुरा देखेनन्।
उनीहरूका अनुसार विराट कोहली फिल्डमा जोशिला देखिन्छन् । यो जोश उनको पहिचानको हिस्सा हो।
यो जित विराटका लागि दोहोरो खुसी हुन सक्थ्यो।
त्यो लखनऊसँग 'बदलाको खेल' जित्ने कुरा मात्र थिएन। सोमवार उनकी श्रीमती अनुष्का शर्माको जन्मदिन पनि थियो ।
तर अहिले जित र उत्सवभन्दा पनि विवादबारे धेरै चर्चा भइरहेको छ र त्यसबारे धेरैले अनेक खाले अनुमान मात्र गरिरहेका छन्।
यद्यपि यस्ता विवाद र अड्कलबाजी आईपीएलका लागि कहिल्यै पनि अचम्मको विषय भने होइन।
आईपीएलले गम्भीर, विराट र नवीनलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा जरिवाना गरेको जनाएको छ।
तर जरिवाना लगाइए पनि यो घटनालाई सहजै भुलिने छैन।








