टी-२० विश्वकप क्रिकेट: दोस्रो खेलमा पनि पराजित भएपछि भारतको भविष्य अब अफगानिस्तानको हातमा

भारतीय टोली

तस्बिर स्रोत, Twitter

दुबईमा लगातार दोस्रो हार बेहोरेसँगै टी-२० विश्वकपबाट भारतीय क्रिकेट टोली प्रतियोगिताबाट बाहिरिन सक्ने सम्भावना बढेको छ।

आइतवार न्यूजील्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै क्रिकेट जगत्‌का प्रख्यात खेलाडीहरूले भरिएको भारतीय टोलीलाई आठ विकेटले हराएर प्रतियोगिताबाटै बाहिरिने बाटोमा पुर्‍याइदिएको हो।

गत साता प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो।

लगातार दोस्रो खेलमा पराजित भारत अहिले समस्यामा परेको छ।

भारत सेमीफाइनलमा पुग्ने सम्भावना अफगानिस्तानमा निर्भर हुन्छ। त्यो बाटो त्यति सहज भने देखिँदैन।

पछिल्लो समीकरणअनुसार अफगानिस्तानले न्यूजील्यान्डलाई हराए मात्रै भारत सेमीफाइनल पुग्न सम्भव छ। तर त्यति मात्रैले पनि पुग्दैन।

खेलाडी

तस्बिर स्रोत, Reuters

भारतले अफगानिस्तान, नामिबिया र स्कटल्यान्ड तीनवटै देशसँगको आगामी प्रतिस्पर्धा जित्नुपर्ने हुन्छ।

भारतले अब अर्को खेल नोभेम्बर ३ मा आबुधाबीमा अफगानिस्तानसँग खेल्नेछ।

अफगानिस्तान र न्यूजील्यान्डको खेल नोभेम्बर ७ मा छ।

लगातार दोस्रो हार

आइतवारको खेलमा न्यूजील्यान्डले भारतलाई निकै सहज रूपमा हराएको थियो।

भारतले दिएको १११ रनको लक्ष्य न्यूजील्यान्डले १५ ओभरमा दुई विकेट गुमाउँदै प्राप्त गर्‍यो।

क्रिकेट

तस्बिर स्रोत, AAMIR QURESHI/AFP VIA GETTY IMAGES

टसको मामिलामा भारतीय कप्तान फेरि एक पटक अभागी साबित भए। टस जितेर न्यूजील्यान्डका कप्तान केन विलियम्सनले पहिला फील्डिङ गर्ने निर्णय गरे।

न्यूजील्यान्डका बलरहरू सुरुबाटै ब्याट्सम्यानहरूलाई दबावमा राख्न सफल भए।

खेलको तेस्रो ओभरमा भारतले ११ रनमा पहिलो विकेट गुमाएको थियो।

रोहित शर्माले १४ र केएल राहुल १८ रन मात्रै बनाउन सफल भएका थिए।

भारतीय कप्तान कोहली ११ ओभरको पहिलो बलमा नौ रन जोडेर आउट भए।

भारतले ४८ रनमा चार विकेट गुमाइसकेको थियो।

टी-२० विश्वकपमा भारतीय खेलाडी

तस्बिर स्रोत, Reuters