टी२० क्रिकेट विश्वकप: पाकिस्तानको जितमा खुसीयाली मनाउने भारतीय जेलमा

तस्बिर स्रोत, EPA
- Author, रजिनी बैद्यनाथन
- Role, बीबीसी दक्षिण एशिया संवाददाता
टी२० क्रिकेट विश्वकपमा भारत र पाकिस्तानबीच खेल सुरु हुँदा विश्वका लाखौँ अन्य खेल अनुरागीजस्तै नफिसा अत्तरी पनि टिभीमा लपक्कै टाँसिएकी थिइन्।
पाकिस्तानलाई कमजोर ठानिएको जोरदार खेलमा भारत १० विकेटले हार्यो। उदयपुरमा विद्यालय शिक्षिका रहेकी अत्तरीले हेर्दाहेर्दै पाकिस्तानले भारतलाई हरायो।
त्यसको केही दिनपछि उनी पक्राउ परिन् र प्रहरी हिरासतमा पुगिन्। उनको अपराध भनेको पाकिस्तानले जितेपछि खुसी हुँदै ह्वाट्स्एपमा राखेको सन्देश थियो।
उक्त खेलमा पाकिस्तानलाई समर्थन गरेको आरोपमा भारतमा पक्राउ पर्ने कयौँ मुस्लिममध्ये उनी एक हुन्।
उनीहरूको गिरफ्तारीले विश्वको ठूलो प्रजातान्त्रिक देशमा अभिव्यक्ति स्वतन्त्रताको विषयलाई लिएर चिन्ताहरू बढेका छन्।
कतिपयले यी घटनालाई मुस्लिम अल्पसङ्ख्यकलाई निशानामा पार्ने सत्तारुढ भारतीय जनता पार्टीको यो पछिल्लो हतियारका रूपमा हेरेका छन्। तर सरकारले भने त्यस्ता आरोपको प्रतिवाद गर्छ।
अत्तरीले आफ्नो ह्वाट्स्एपमा केही खेलाडीको तस्बिर राखेर "जित गए… हामीले जित्यौँ" भनेर लेखेकी थिइन्।
उनको उक्त पोस्ट पहिलो पटक उनको एक जना विद्यार्थीका अभिभावकले देखेका थिए र अन्य थुप्रैलाई पठाएका थिए। उक्त पोस्ट भाइरल बनेको थियो।
त्यसपछि अत्तरीले आफ्नो जागिर गुमाइन् र उनलाई "राष्ट्रिय एकताको प्रतिकूल धारणा राखेको" आरोपमा पक्राउ गरियो।
एउटा स्थानीय टेलिभिजनसँगको अन्तर्वार्तामा त्यस्तो कार्यबाट ठेस पुर्याएको प्रति माफी माग्दै गर्दा उनी चिन्तित देखिन्थिन्।

"मैले पाकिस्तानलाई समर्थन गरेकी हुँ भनेर कसैले मेरो सन्देशमा प्रतिक्रिया जनाएको थियो। त्यो सन्देशमा इमोजीहरू थिए र हल्काफुल्का माहौल भएकोले मैले हो भनेँ," उनले भनिन्।
"यसको मतलब म पाकिस्तानलाई समर्थन गर्छु भन्ने होइन। म भारतीय हुँ र म भारतलाई माया गर्छु।"
धरौटी राखेपछि उनी अहिले आफ्ना श्रीमान् र कलिला सन्तानसँग छिन् तर अभियोगहरूको सामना भने गरिरहेकी छन्।
"प्रहरीले जे गर्यो त्यो एकदमै गलत छ। कसैले गल्ती गर्यो वा कसैसँग तपाईँ सहमत हुनुहुन्न भने त्यो अपराध वा राष्ट्र विरोधी होइन", उनका वकिल राजेश साङ्वीले भने।
"यो हाम्रो संविधान र हाम्रा कानुनहरू विपरीत हो।"
हिन्दु कट्टर राष्ट्रवादी समूह बजरङ्ग दलका सदस्य राजेन्द्र परमरले अत्तरीको बारेमा प्रहरीलाई खबर गरेका थिए।
"यी मानिसहरू पाकिस्तान नै फर्किनुपर्छ। उनीहरू यहाँ बसिरहेका छन्, यहीँ कमाइ गरिरहेका छन् तर जित अरूकै मनाइरहेका छन्," उनले बीबीसीलाई भने।
उक्त उजुरीबारे आफूलाई कुनै पछुतो नभएको उनले बताए।
"यो उनका लागि एउटा पाठ हुनुपर्छ। उनी विद्यालयकी शिक्षिका हुन्। उनले आफ्ना विद्यार्थीलाई कस्तो शिक्षा दिन्छिन्?"

तस्बिर स्रोत, Reuters
उनको टिप्पणीले भारत र पाकिस्तानबीच रहेको एक अर्काप्रतिको आन्तरिक दुस्मनीलाई अझै गहिरो बनाइदिएको छ।
र खासगरी उनीहरूबीचको सम्बन्ध भारत प्रशासित कश्मीरमा अझै तनावपूर्ण रहेको छ।
कश्मिरमा चिकित्सा शिक्षा पढिरहेका विद्यार्थीको समूहमाथि पनि आतङ्कवाद विरोधी कडा अभियोगहरू लागेको छ।
अनलाइनमा देखिने एउटा भिडिओमा भारतीय जनता पार्टीका पूर्वसांसद विक्रम रणधावाले ती विद्यार्थीहरूलाई यातना दिनुपर्ने र उनीहरूका नागरिकता र शैक्षिक प्रमाणपत्र रद्द गरिनुपर्ने अभिव्यक्ति दिएका छन्।
घृणा फैलाउने अभिव्यक्ति
घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै प्रहरीले रणधावालाई पक्राउ गरेको छ र उनलाई आफ्ना अभिव्यक्तिका लागि ४८ घण्टाभित्र माफी माग्न भारतीय जनता पार्टीले भनेको छ।
त्यस्ता उग्र भाषाको प्रयोगबाट पार्टीले आफूलाई टाढा राखे पनि बीजेपीकै अन्य वरिष्ठ सदस्यहरूले भने पाकिस्तानको समर्थन गर्नेहरूको निन्दा गरेका छन् र कतिपयले त्यसलाई अपराध मान्नुपर्ने पनि बताएका छन्।
पूर्व क्रिकेट खेलाडी तथा बीजेपीका नेता गौतम गम्भीरले पनि पाकिस्तानको जित मनाउने कार्य "लज्जास्पद" भएको बताए।
प्रधानमन्त्री नरेन्द्र मोदीका निकट सहयोगी तथा भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले एउटा पत्रिकासँग बोल्दै जसले पाकिस्तानको जित मनाए उनीहरूविरुद्ध देशद्रोहको मुद्दा लाग्नुपर्ने बताए।
भारतको उपनिवेशकालीन देशद्रोहसम्बन्धी कानुनले सरकारको आलोचनालाई अपराध मान्छ। उक्त कानुनी प्रावधान स्वतन्त्र अभिव्यक्तिका विरुद्ध धेरै प्रयोग गर्न थालिएको बताएका छन्।

तस्बिर स्रोत, EPA
द सिन एन्ड द अनसिन पडकास्टका सञ्चालक अमित बर्मा भन्छन्, " हामीले जे देखिरहेका छौँ त्यो मुस्लिमहरूलाई 'अन्य' बनाएर हिन्दु मत बलियो बनाउने बीजेपीको राजनीतिक प्रक्रियाको एउटा हिस्सा हो।"
"हाम्रो राजनीतिमा दशकौँदेखि सुषुप्त रूपमा रहेका गौहत्या, हिन्दुमुस्लिम विवाह र पाकिस्तानलाई समर्थन गर्ने हिन्दुजस्ता मुद्दाहरूलाई उनीहरूले हतियार बनाउँदै आएका छन्।"
"यीमध्ये कुनैमा पनि सारतत्त्व छैन। ती केवल मुस्लिमविरोधी भावना बढाउने मुद्दा हुन् र दुखलाग्दो कुरा त्यो झन् व्यापक हुँदै गएको छ," उनले भने।
तर भारतीय सरकारका एक जना वरिष्ठ प्रवक्ताले यसलाई "निरर्थक" भनेका छन्।
मुस्लिमहरूको एउटा अति सानो समूहमाथि गरिएको कारबाहीलाई लिएर त्यस्तो भन्नु देशप्रति विश्वास भएका लाखौँ मानिसलाई दण्डित गरेजस्तो हुने उनले बताए।
'पक्राउ अनुचित'
पक्राउमा पर्नेका परिवारले उनीहरूमाथिको कारबाहीलाई पूर्ण रूपमा अनुचित भनेका छन्।
पाकिस्तानको जित मनाएको भन्दै उत्तर प्रदेश राज्यमा पनि सात जनालाई पक्राउ गरिएको छ।
प्रहरीले उनीहरूमाथि अनुचित शब्द प्रयोग गरेको र राष्ट्रियताविरोधी टिप्पणी गरेको जनाएको छ।
पक्राउ पर्ने सातमध्ये तीन जना आगरास्थित कलेजमा अध्ययनरत इन्जिनियरिङका विद्यार्थी हुन्। कलेजबाट निलम्बित गरिएका विद्यार्थी भने वकिल खोज्न सङ्घर्षरत छन्।
"भारतमा बसेर पाकिस्तानको जित मनाउने यी विद्यार्थीलाई हामी कुनै कानुनी सहायता प्रदान गर्ने छैनौँ," उक्त सहरस्थित युवा वकिलहरूको सङ्गठनका अध्यक्ष नितिन बर्माले बताए।

तस्बिर स्रोत, EPA
क्रिकेट प्रतियोगितामा जनाइएको प्रतिक्रियाले अवस्था उत्तेजक बनाएको यो पहिलोपटक होइन।
सन् २०१४ मा ६० जना कश्मिरका विद्यार्थीमाथि पनि पाकिस्तानको पक्षमा रहेको भन्दै उत्तर प्रदेशमा देशद्रोहको अभियोग लगाइएको थियो।
तर कानुन मन्त्रालयको सल्लाहमा ती अभियोगहरू फिर्ता लिइयो।
भारतीय मनोविज्ञानमा क्रिकेटले ठूलो भूमिका खेल्छ। तर प्यू रिसर्च सेन्टरले गरेको हालैको एउटा अध्ययनले भने सच्चा भारतीय हुनका लागि भारतको क्रिकेट टोलीलाई नै समर्थन गर्नुपर्छ भन्नेमा चाहिँ थोरैमात्रै (५६%) को बहुमत रहेको थियो।
"विपक्षी क्रिकेट टोलीलाई समर्थन गर्दा अपराध हुन्छ भनेर कुन कानुनमा लेखिएको छ?" क्रिकेट पत्रकार तथा सामाजिक टिप्पणीकार शारदा उग्रले भनिन्।
"यूके वा अस्ट्रेलियामा रहेका भारतीय मूलका मानिसले भारतलाई समर्थन गर्दा उनीहरूलाई पक्राउ गर्न हुन्छ? दुवै तर्फ जानाजान धार्मिक विभाजनलाई बढवा दिइएको छ भन्ने पक्का छ।"
पाकिस्तानमा पनि समान खालका घटना भएका उदाहरण छन्।
सन् २०१६ मा भारतीय क्रिकेटका कप्तान विराट कोहलीका एक पाकिस्तानी प्रशंसकले भारतको झन्डा फहराउँदा उनलाई पक्राउ गरिएको थियो।
क्रिकेटको कुरा हुँदा दुवै देशमा भावना तेज वेगमा बग्छ।
तर भारतमा हालै भएका यी पक्राउका घटना धेरैका लागि एउटा झट्काका रूपमा आएको छ किनभने उनीहरू अभिव्यक्ति स्वतन्त्रता छिट्टै साँघुरिँदै गएको उनीहरू ठान्छन्।









