नेपालविरुद्ध खेल्ने भारतीय टोलीमा आईपीएलका खेलाडीहरू

खेलाडीहरू

तस्बिर स्रोत, ACC

    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

श्रीलङ्कामा आयोजना भइरहेको एसीसी इमर्जिङ टीम्स एसिया कपमा आज सोमवार नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारत 'ए' सँग प्रतिस्पर्धा गर्दै छ।

भारतले यसका लागि युवा खेलाडीहरूको टोली बनाएको छ, जसमा भारतको चर्चित फ्रेञ्चाइज लीग आईपीएल (इन्डियन प्रिमिअर लीग)मा खेल्ने खेलाडीहरूको बाहुल्य छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले सिनियर टोलीबाहेक चीनमा दुई महिनापछि आयोजना हुने १९औँ एसियाली खेलकुदको लागि छुट्टै टोली र इमर्जिङ टीमको लागि छुट्टै टोली बनाएको हो।

भारत 'ए' ले पहिलो खेलमा यूएई 'ए' लाई आठ विकेटले पराजित गरिसकेको छ। नेपाल भने पहिलो खेलमा पाकिस्तान 'ए' सँग ४ विकेटले पराजित भयो।

पाँच टेस्ट टोली र तीन वटा एसोसियट गरी आठ राष्ट्र सहभागी प्रतियोगितामा टेस्ट राष्ट्रले 'ए' टीम नै सहभागी गराउनुपर्ने नियम छ।

एसोसियट राष्ट्रहरूले भने नेपालले मात्र सिनियर टोली मैदानमा उतारेको हो।

भारतीय टोलीमा को को छन्?

खेलाडी

तस्बिर स्रोत, ACC

भारतीय टोलीमा गत वर्ष भारतलाई यू-१९ विश्वकपको उपाधि जिताउन भूमिका खेलेका खेलाडीहरू धेरै छन्।

भारतीय टोलीमा रहेका सबैभन्दा ठूलो नाम साइ सुदर्शन हो।

हालै आईपीएल २०२३ को फाइनलमा गुजरात टाइटन्सका खेलाडी सुदर्शनले चेन्नई सुपर किंग्स विरुद्धको फाइनलमा ९६ रनको उत्कृष्ट पारी खेलेका थिए।

चेन्नईमा जन्मिएका २१ वर्षीय बायाँ हाते ब्याटरले आईपीएलमा कुल ३६२ रन जोडेर प्रभावशाली प्रदर्शन गरेका थिए।

भारतीय टोलीमा आईपीएल च्याम्पियन चेन्नई सुपर किंग्सका तीन जना खेलाडी समावेश छन्।

उनीहरू आकाश सिंह, निशान्त सिन्धु र राजभार्धन हंगार्गेकर हुन्।

आकाश सिंह बायाँ हाते स्पिनर हुन्। नागाल्यान्डका यी २१ वर्षका युवा खेलाडीले गत वर्ष भारतलाई यू-१९ विश्वकप जिताउन भूमिका खेलेका थिए। यद्यपि उनी चेन्नईमा वैकल्पिक खेलाडीका रूपमा मात्र रहे।

निशान्त सिन्धु बायाँ हाते अलराउन्डर हुन्। यू-१९ भारतीय टोलीका सदस्य उनले पनि अझैसम्म आईपीएलमा एक खेल पनि खेल्न पाएका छैनन्।

दायाँ हाते तीव्र गतिका बलर राजभार्धन हंगार्गेकरले जारी सिजनमा आईपीएलमा दुई खेल खेल्ने अवसर पाएका थिए। जसमा उनले तीन विकेट लिए।

red line
red line

आईपीएलका अनुभवी खेलाडीहरू

क्रिकेट

तस्बिर स्रोत, ACC

भारतीय टोलीका कप्तान हुन् यश विजय ढुल। उनकै कप्तानीमा भारतले यू-१९ विश्वकप जितेको थियो।

दिल्ली क्यापिटल्सका यी खेलाडीले आईपीएलमा चार खेल खेल्ने मौका पाएका छन्।

२० वर्षीय प्रारम्भिक ब्याटर यशले जारी प्रतियोगिताको पहिलो खेलमै आफ्नो ब्याटिङ क्षमता प्रस्तुत गरिसकेका छन्।

यूएई 'ए' विरुद्धको पहिलो खेलमा उनले अविजित १०८ रन बनाएका थिए।

टोलीका उपकप्तानको जिम्मेवारी अभिषेक शर्माले पाएका छन्। सनराइजर्स हैदराबादबाट खेल्ने शर्मा तल्लो क्रमका ब्याटर हुन्। त्यस्तै उनी बायाँ हाते तेज गतिका बलर तथा बायाँ हाते स्पिनर हुन्।

विकेट किपर ब्याटर प्रबसिमरन सिंह आईपीएलका अनुभवी खेलाडीमध्ये एकमा पर्छन्।

red line
क्रिकेट

किङ्ग्स इलेभन पन्जाबका २१ वर्षीय सिंहले आईपीएलमा २० खेल खेलेर ४२२ रन बनाइ सकेका छन्। त्यस क्रममा उनले एक शतक र एक अर्ध शतक प्रहार गरेका छन्।

भारतलाई यु-१९ विश्वकप जिताउँदाका सदस्य उनी सन् २०१८ मा दिल्ली क्यापिटल्समा आबद्ध भएका थिए।

त्यसै गरी आईपीएलका अर्का खेलाडी हर्षित राना कोलकाता नाइट राइडर्ससँग आबद्ध छन्।

दायाँ हाते तीव्र गतिका २२ वर्षका उनी बलिङ अल राउन्डरको भूमिकामा छन्। गत वर्ष आईपीएलबाट उनले छ खेल खेलेका थिए।

ओपनर ब्याटर रियान पराग भने राजस्थान रोयल्सका खेलाडी हुन्। भारतलाई यू-१९ च्याम्पियन बनाउने क्रममा उनले फाइनलमा अर्ध शतक प्रहार गरेका थिए।

त्यसै गरी २१ वर्ष विकेट किपर ब्याटर ध्रुव जुरेल राजस्थान रोयल्सबाट खेल्छन् भने नितिश कुमार रेड्डी सनराइज हैदराबादका दायाँ हाते ब्याटर हुन्।

नेपाली टोलीमा पनि युवा

नेपाली क्रिकेट टिम

तस्बिर स्रोत, ACC

नेपालले सिनियर टोली पठाए पनि त्यसमा टोलीका मुख्य खेलाडीहरू छैनन्।

सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी क्यानडामा व्यावसायिक लिग खेल्न गएका छन्।

त्यस्तै ज्ञानेन्द्र मल्ल, आरिफ शेख र करण केसी पनि टोलीमा छैनन्।

उनीहरूको स्थानमा देव खनाल, पवन सर्राफ, किशोर महतो, सन्दीप जोरा, श्याम ढकाल र सुर्य तामाङलाई मौका दिइएको छ।

दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा समुह बी मा भारत 'ए', पाकिस्तान 'ए', युएई 'ए' र नेपाल छन्।

समूह 'ए' मा श्रीलङ्का, बाङ्गलादेश, अफगानिस्तान र ओमान को 'ए' टीम समावेश छन्।