आईपीएल उपाधि चेन्नईलाईः धोनीले सन्न्यास घोषणा नगर्दा प्रशंसकहरू हर्षित

तस्बिर स्रोत, Getty Images
फेरि एक पटक आफ्नो टोलीलाई इन्डियन प्रिमिअर लीग (आईपीएल) को उपाधि जिताएका महेन्द्र सिंह धोनीले क्रिकेटबाट तत्काल सन्न्यास नलिने घोषणा गरेका छन्।
यस वर्ष समेत गरी उनले सर्वाधिक पाँच पटक आईपीएल जितेका छन्। सोमवार राति भएको एउटा रोमाञ्चक खेलमा उनको नेतृत्वमा रहेको चेन्नई सुपर किङ्स (सीएसके) ले गुजरात टाइटन्सलाई पराजित गरेको थियो।
धोनी भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान हुन्।
आईपीएलमा पुनः विजेता बनेपछि ४१ वर्षीय धोनीले क्रिकेटका सबै विधाबाट सन्न्यास लिने धेरैको अनुमान थियो।
तर प्रशंसकहरूको प्रेमका कारण आफू अर्को प्रयास गर्न तम्सिएको धोनीले बताए।
सीएसकेको विजय र धोनीको घोषणाबाट रोमाञ्चित प्रशंसकहरूले "दोहोरो सुखद समाचार"का कारण सामाजिक सञ्जालमा हर्षोल्लास गरेका छन्।


प्रशंसकलाई 'ठूलो उपहार'
चेन्नई सुपर किङ्सका समर्थकहरूले सन्न्यास नलिने धोनीको निर्णय आफ्ना लागि "ठूलो उपहार" भएको छन्।
"सन्न्यास घोषणा नगरेर चेन्नई सुपर किङ्स र प्रशंसकहरूलाई त्यो क्षणको आनन्द लिन दिनु नै धोनीको उत्कृष्टता हो!" अर्का एक जनाले भने।
वर्षाका कारण प्रभावित खेलमा रवीन्द्र जडेजाले अन्तिम बलमा चौका प्रहार गर्दै परिमार्जित १७१ रनको लक्ष्य पूरा गरेपछि चेन्नई सुपर किङ्सले खेल पाँच विकेटले जितेको थियो।
खेलको परिणाम आएपछि सीएसकेका समर्थकहरूले मात्र नभई विपक्षी टोलीका सदस्यहरूले पनि खुसी मनाएका थिए।
गुजरात टाइटन्सका कप्तान हार्दिक पान्ड्याले धोनीलाई "उस्ताद" को सङ्ज्ञा दिँदै भने, "यदि हार्नैपर्यो भने पनि उहाँसँग हार्न मलाई नराम्रो लाग्दैन।"

तस्बिर स्रोत, Getty Images
माहोल
कोलकातामा चेन्नई सुपर किङ्सले घरेलु टोलीविरुद्ध खेल्दा रङ्गशालाको दर्शकदीर्घामा पहेँलो जर्सी लगाएका धेरै मानिसहरू थिए।
प्रशंसकहरूले कोलकाता नाइट राइडर्सको बैजनी रङ्ग नभई धोनीको शर्ट लगाएका थिए।
यदि चेन्नई सुपर किङ्सले यस वर्षको उपाधि लगेमा धोनीले सन्न्यास लिने प्रशंसकहरूले ठानेका थिए।
धोनीले खेलकुदमा अरू ठूलो उपलब्धि हात पार्न बाँकी छैन। उनले सन् २००७ मा टी-ट्वेन्टी विश्वकप जितेका थिए भने सन् २०११ मा भारतलाई एकदिवसीय क्रिकेटको विश्वकप पनि जिताएका थिए।


उनीद्वारा प्रशिक्षित दर्जनौँ प्रतिभाशाली खेलाडीमध्ये धेरै जनाअहिले भारतीय क्रिकेट टोलीमा छन्।
उनलाई क्रिकेटमा एक उत्कृष्ट कप्तान क्याप्टेन र विशेष रणनीतिकार एवम् अवलोकनकर्ता मानिन्छ।
तर धोनीको विशेषता परम्परागत शैली हैन। उनले आफ्नो खेलजीवनमा अस्वाभाविक निर्णय र चमत्कारहरू गरेका छन्।
चेन्नई सुपर किङ्सलाई बारम्बार आईपीएल विजेता बनाउने धोनीले "युवा जोसलाई अगाडि बढाएको र परिपक्वतालाई पुनर्जागृत गरेको" टिप्पणी अस्ट्रेलियाका पूर्वक्रिकेटर तथा खेल कमेन्टेटर टम मुडीले गरेका छन्।

तस्बिर स्रोत, Getty Images
धोनीले अब के गर्लान्?
सोमवार धोनीले जितका लागि अझ एउटा आईपीएल बाँकी भएको आभास गरे जस्तो देखिन्थ्यो।
"मेरा लागि अवकाशको घोषणा गर्न सबैभन्दा उत्कृष्ट समय हो," उनले भने।
तर "यो वर्षमा म जहाँ पुगेको छु त्यहाँ मलाई देखाइएको प्रेम र सद्भावका कारण " भन्दै निर्णय गर्न आफूले म थप केही महिना लिने बताए।
धोनीले आफू खेलमा सम्भवतः फर्किने र प्रशंसकहरूका लागि उपहारस्वरूप आईपीएलको कम्तीमा एउटा सीजन खेल्ने बताए।
"जसरी उनीहरूले प्रेम र सद्भाव प्रस्तुत गरेका छन् त्यसले गर्दा उनीहरूका लागि मैले केही गर्नुपर्छ भन्ने लाग्छ।"












