विश्वकप चम्किरहँदा नेपाली लीग फुटबल भने अन्योलमा

फुटबल खेलाडी/ फाइल फोटो
    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

कतारमा जारी विश्वकप फुटबलको तरङ्गमा अहिले सारा विश्व झुमिरहेको देखिन्छ। फुटबल क्रेजको उच्चतम नमुना त्यहाँ पेस भइरहेको छ।

तर फुटबलको पारो चढिरहेकै बेला नेपाली फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ए डिभिजन लीग फुटबलको आयोजना भने अन्योलमा पुगेको छ।

विश्वकप सकिएको तीन सातापछि अर्थात् आगामी पुस २६ गते देखि दोहोरो राउन्ड रोविनको आधारमा लीग सञ्चालन गर्ने घोषणा गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र सहभागी १४ ए डिभिजन क्लबबीच खेल सञ्चालनको विषयमा विवाद उत्पन्न भएको छ।

ए डिभिजनका १४ मध्येका ९ क्लबले एन्फाले वाचा गरेको न्यूनतम सुविधा उपलब्ध नगराएको भन्दै लीग खेल्ने नसकिने ध्यानाकर्षण पत्र एन्फालाई पठाएको छ।

खेल सुरु हुन चार साता बाँकी हुँदासम्म न अहिलेसम्म कुनै क्लबले खेलाडी दर्ता गरेका छन्।

न त एन्फाले लीग हुने त्यस्तो कुनै आधार प्रस्तुत गरेको देखिन्छ। अनि यो अन्योलले खेलाडीहरू तनावमा देखिएका छन्।

गत वर्ष यति बेला लीगका प्रतिस्पर्धाहरू उत्कर्षमा थिए।

फुटबल खेलाडीहरू/ फाइल फोटो

दोहोरो राउन्ड रोविन लीग

नयाँ कार्यसमिति आएपछिको एन्फाले आयोजना गर्न लागेको यो पहिलो लीग हो।

एन्फाले यसपालिदेखि लीग दोहोरो राउन्ड रोविनको आधारमा खेलाउने घोषणा गर्‍यो।

गत कार्तिक २१ गते एन्फा र क्लबबीच बसेको बैठकमा दुवै पक्ष दोहोरो लीग खेल्न र खेलाउन राजी भए।

दोहोरो लीग खेल्दा खर्च पनि दोबर हुने भएकोले तयारी खर्च बढाउन एन्फा तयार भयो।

जस अनुसार एन्फाले विगतका वर्षहरूमा प्रदान गर्दै आइरहेको तयारी खर्च बापतको १५ लाख रुपैँया बढाएर २५ लाख दिने सहमति भयो।

एन्फाले गत वर्षको तयारी खर्च बापत क्लबलाई दिन बाँकी रहेको साढे ७ लाख थपेर क्लबहरूलाई साढे ३२ लाख तयारी खर्च उपलब्ध गराउने भयो।

त्यसमा पहिलो किस्ताको रूपमा यसपालिको तयारी खर्चको १५ लाख र गत सालको बाँकी साढे ७ लाख गरेर साढे २२ लाख क्लबहरूलाई मङ्सिर १५ गते भित्र उपलब्ध गराउन एन्फा राजी भयो।

त्यसपछि मङ्सिर २५ गते भित्र क्लबहरूले कम्तीमा १८ खेलाडी सहितको खेलाडी दर्ता गर्ने सहमति गरियो।

फुटबल

तर मङ्सिर १५ गते भित्र एन्फाले वाचा गरेको रकम क्लबहरूलाई उपलब्ध गराएन। अनि क्लबहरूले पनि खेलाडीहरूको सूची एन्फामा दर्ता गरेनन्।

एनआरटी क्लबका महासचिव नरेन्द्र श्रेष्ठ भन्छन्, " सुरुमा हामीलाई कार्तिक १४ गते, त्यसपछि कार्तिक २१ भन्दै अन्तिममा मङ्सिर १५ गते सम्ममा तयारी खर्च दिने भन्यो। तर अहिलेसम्म रकम उपलब्ध गराएन। अब हामी क्लबहरू कसरी एन्फाको विश्वास गर्ने ? "

क्लबहरूले आर्थिक कारोबारमा एन्फालाई पटक्कै विश्वास गरेको देखिँदैन।

र लीगमा सहभागी हुँदा एक करोड रुपैयाँभन्दा बढी खर्च हुने हुँदा तयारी खर्च नपाएसम्म लीग खेल्ने मनस्थितिमा क्लबहरू छैनन्।

घटनाक्रमले पनि क्लबहरूलाई यस्तो निर्णय लिन बाध्य गराएको उनीहरू बत्ताउँछन्।

गत वर्षको लीगको तयारी खर्च अहिलेसम्म पनि नपाउँदा त्यही इतिहास दोहोरिने आशङ्का क्लबका पदाधिकारीहरूमा छ।

महासचिव श्रेष्ठ भन्छन्, "लीग भनेको बच्चाको प्रतियोगिता होइन, तर एन्फाले हामीहरूलाई त्यसरी नै व्यवहार गरिरहेको छ। त्यो सम्भव छैन। "

ध्यानाकर्षण पत्र

निर्धारित मितिमा एन्फाले पैसा नदिएपछि गत मङ्सिर २३ गते ए डिभिजनका ९ क्लबहरू बैठक बसेका थिए।

उक्त बैठकमा तीन विभागीय टोली (नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी), मच्छिन्द्र र चर्च ब्वाइज क्लब भने सहभागी थिएनन्।

उक्त वैठकले एन्फालाई केही शर्तहरु सहितको ध्यानाकर्षण पत्र बुझायो।

उक्त पत्रको मुख्य शर्त छ, “जब एन्फाले तयारी खर्च दिन्छ, त्यसको ३ महिनापछि मात्र क्लबले लीगमा सहभागिता जनाउनेछ।”

घरेलु फुटबल नभएको एक वर्ष भइसकेको अवस्थामा टीम बनाउन समय लाग्ने बताउँदै हिमालयन शेर्पा क्लबका ब्यवस्थापक विजेन्द्र पुडासैनी भन्छन्, " लीग जस्तो प्रतिस्पर्धा आजको भोलि खेलिने प्रतिस्पर्धा होइन।

पहिले त हामीले प्रशिक्षक नियुक्त गर्नुपर्‍यो। त्यसपछि खेलाडी खोज्नुपर्‍यो।

विदेशी खेलाडी खोज्न र उनीहरुलाई अनुबन्धनका लागि श्रम स्विकृती लगायतको प्रक्रियामा महिना दिन लाग्छ। त्यसपछि प्रशिक्षणमा लगाएपछि मात्र न हामी खेल्न सक्छौं। त्यसको लागि हामीले समय मागेका हौं।"

त्यो भन्दा पनि महत्वपूर्ण समस्या भनेको क्लबको प्रायोजन खोज्नमा समय लाग्ने क्लबका पदाधिकारीहरुको भनाइ छ।

एन्फाले लीग सञ्चालनका लागि कुनै घोषणा नगरेकोले प्रायोजक खोज्न पनि समस्या भइरहेको उनीहरू बत्ताउँछन्।

व्यवस्थापक पुडासैनी भन्छन्, "प्रायोजककहाँ जाँदा खै त एन्फाको घोषणा भनेर सोध्छन्। आजसम्म एन्फाले केही घोषणा गरेको छैन। मुख्य प्रायोजक कतार एयरवेज हो की को हो भनेकै छैन। अनि हामी करोड रुपैँया आजको भोलि कसरी खोज्न सक्छौं ? यो गहन विषय होइन र? एन्फाले खाए खा नखाए घिच जस्तो भनेर आजको भोलि खेल्न सम्भव हुदैन नि।"

एन्फाको तयारी

एन्फा भने जसरी पनि पुष २६ गते देखि नै लीग सञ्चालन गर्ने मनस्थितिमा देखिएको छ।

त्यसको लागि एन्फाले क्लबहरूलाई यहि पुषको पहिलो साताभित्र २५ हजार दस्तुर तिरेर खेलाडीहरूको नाम दर्ता गर्न क्लबहरूलाई पत्राचार गरेको छ।

एन्फा महासचिव किरण राईले भने, " हामी सबै हिसाबले लीग गर्न तयार छौँ। सबैलाई पत्राचार पनि गरिसकिएको छ। एन्फाले पहिलो किस्तामा १५ लाख, त्यसपछि १० लाख र तेस्रो किस्तामा साढे ७ लाख दिनेछ।"

फुटबल खेलाडीहरू

उनले क्लबहरूले लीग खेल्दिनँ भन्न नपाउने पनि बताए।

यद्यपि महासचिव राईले अहिले एन्फासँग लीगको ठुलो प्रायोजक र बजेट नभएको बताउँदै भने, "एन्फाले बजेटको व्यवस्था गर्नेछ। त्यो कसरी भन्ने पाटो हाम्रो हो।"

आर्थिक पाटो

गत वर्षहरूमा कतार एयरवेज सहिद स्मारक ए डिभिजन लीगको प्रमुख प्रायोजक बन्दै आएको थियो। तर यो वर्षको लागि कतार एयरवेजसँग सम्झौता भइसकेको छैन।

एन्फाले क्लबहरूलाई दिने भनिएको तयारी खर्च साढे २२ लाखको दरले १४ वटा क्लबलाई ३ करोड १५ लाख रुपैँया हुन आउँछ।

झन्डै ५ महिना लामो चल्ने लीग सञ्चालनको खर्च १० करोड रुपैयाँभन्दा बढी हुँदै आएको छ।

साथमा पुरस्कार रकम र प्रत्येक खेलको विजेताले पाउने ५० हजार रुपैँया छँदैछ।

फेरि यसपालि मोफसलमा पनि केही खेल सञ्चालन गर्ने एन्फाको योजना अनुरूप खर्च बढ्ने देखिन्छ।

यस्तो बेला एन्फालाई फिफाले दिने अनुदानमा भने नियन्त्रण गरिरहेको छ। एन्फा फिफाबाट आंशिक नाकाबन्दीमा छ।

क्लबहरूले पनि मुख्य प्रायोजक र केही सहायक प्रायोजकहरू प्राप्त गर्दै आएको विगतमा यसपालि नयाँ प्रायोजकहरू खोज्न सकेको देखिएको छैन।

एउटा क्लबको लीग सञ्चालन खर्च लगभग एक करोडको हाराहारीमा हुँदै आएको देखिन्छ।

खेलाडीको गुनासो

लीग नै धरापमा पर्ने विषय उठेपछि राष्ट्रिय खेलाडी सुजल श्रेष्ठले सामाजिक सञ्जालमा भावुक स्टाटस नै लेखे।

उनले खेलाडीहरूलाई खेल्ने अधिकारबाट वञ्चित गर्न नहुने भन्दै एन्फा र क्लबले मिलेर समाधान खोज्न आग्रह गरेका छन्।

उनले भनेका छन्, "हामी राष्ट्रिय खेलाडीहरूले (उमेर समूहदेखि महिलासम्म) राष्ट्रको निम्ति उपाधि जित्दा एन्फाबाट वाचा गरे अनुरूप थुप्रै पुरस्कारहरू आज सम्म पनि उपलब्ध भएको छैन तर पनि हामी समझदारीमा छौँ र नेपाली फुटबलमा बाधक बनेनौँ। हामी अनुरोध गर्दछौँ कि हामी सम्पूर्ण मिलेर आपसी समझदारी र मेहनतमा नेपाली फुटबललाई टेवा पुर्‍याउन हातेमालो गरौँ।"

अखिल नेपाल फुटबल खेलाडी सङ्घले त लीगलाई अन्योलमा राख्न नहुने भन्दै एन्फामा पत्र नै बुझाएको छ।

घरेलु लीग अन्योलमा परे यसले खेलकर्मीलाई मात्र नभई पूर्ण रूपमा देशको फुटबलको अवस्थालाई नै गम्भीर असर पर्ने हुँदा आपसी असमझदारी सुल्झाउन अनुरोध गरेको छ।

असर

खेलाडी सङ्घले आशङ्का गरे जस्तै निर्धारित समयमा लीग आयोजना हुन नसके त्यसले घरेलु फुटबलको क्यालेन्डरमा नै ठुलो असर पर्ने देखिन्छ।

ए डिभिजन ढिला हुना साथ बी डिभिजन र सी डिभिजन लीगको तालिका पनि तलमाथि हुने देखिन्छ।

माघ महिनादेखि वैशाख महिनासम्म मोफसलमा गोल्ड कप फुटबलको सिजन चल्ने गर्छ। एन्फाले सो समय जिल्लाको लागि छुट्याउने गरेको छ।

यस बीचमा एन्फाले चैतको पहिलो साता फिफा डे मा अन्तर्राष्ट्रिय खेल पनि खेल्नुपर्नेछ।

लीग समयमा नभए यी सबै कार्यक्रम प्रभावित हुने निश्चित छ।