टी २० विश्वकपमा नेपाली क्रिकेट टोलीको सबल र कमजोर पक्ष

नेपाली क्रिकेट टोली
तस्बिरको क्याप्शन, अभ्यासमा नेपाली क्रिकेट टोली
    • Author, निरञ्जन राजवंशी
    • Role, डालास, अमेरिका

अमेरिका र वेस्ट इन्डिजको यो टी-२० विश्वकपमा जतिको तयारी गर्न राष्ट्रिय क्रिकेट टोलीले यसअघि नेपालको क्रिकेट इतिहासमै कहिल्यै पाएको थिएन।

नेपाल क्रिकेट सङ्घ क्यानका सचिव पारस खड्काले भनेका थिए: “क्यानले तयारीका लागि जति सक्थ्यो, त्यति गरेको छ।”

झन्डै वर्ष दिन भन्दा बढी समयदेखि नेपाली टोलीले एकजुट भएर खेल्न थालेको थियो। जसक्रममा टोलीले अभ्यास र प्रतियोगिता गरी दुई दर्जन भन्दा बढी खेल खेल्यो।

खेलाडीहरू यति व्यस्त भए कि लामो यात्रा र विभिन्न खेल स्थलका कारण खेलाडीहरू थकित हुन पुगेको भन्ने गुनासोसम्म सुनियो।

क्यानडासँगको अभ्यास खेलमा नेपाली खेलाडीहरूमा त्यस किसिमको चुस्तता नदेखिएकाले यस्तो आरोप लागेको हुन सक्छ।

तर समग्रमा यसले टिमलाई मजबुत बनाएको छ र जस्तोसुकै परिस्थितिको सामना गर्न टोलीका सदस्यहरू मानसिक रूपमा तयार रहेको प्रशिक्षक मोन्टी देशाईले बताएका छन्।

कस्तो छ नेपाली टोली

कप्तान रोहित पौडेल
तस्बिरको क्याप्शन, कप्तान रोहित पौडेलमाथि नेपाली टोलीको ठूलो भरोसा रहेको छ

नेपाली टोलीका एकजना पूर्वकप्तान पवन अग्रवालको भनाई मान्ने हो भने नेपाल यो विश्वकपको त्यस्तो टोली हो जसलाई अमेरिका-वेस्ट इन्डिजमा केही गुमाउनु छैन।

अग्रवाल थप्छन्, “विश्व क्रिकेटमा नेपाललाई स्थापित गराउन नेपालले पाएको यो अर्को ठूलो अवसर छ। मलाई विश्वास छ खेलाडीहरूले इतिहास दोहोर्‍याउनेछन्।”

बरु दबाब विपक्षी टोलीलाई हुनेछ।

आइतवारबाट विश्वकप क्रिकेट सुरु भएको छ।

नेपाल बाङ्ग्लादेश, नेदरल्यान्ड्स, साउथ अफ्रिका र श्रीलङ्का सम्मिलित समूह डीमा छन्।

बलिया प्रतिस्पर्धीहरू रहेकाले यो समूह अन्तर्गतका हरेक खेल नेपालका लागि चुनौतीपूर्ण हुनसक्छ।

प्रारम्भिक जोडी

कुशल भुर्तेल र आशिफ शेख नेपाली टोलीका खम्बाका रूपमा छन्।

उनीहरूको प्रदर्शनले नै टोलीले आधार तय गर्ने खेल विश्लेषकहरूको भनाइ पाइन्छ। त्यसमा अनिल शाहले पनि राम्रो साथ दिन खोजेको देखिएको छ।

अभ्यास खेलमा भइरहेको प्रयास हेर्दा प्रशिक्षक मोन्टी देशाईले यी तिनैजनालाई सुरुमै मैदानमा उतार्न पनि सक्नेछन्।

तर दीपेन्द्र सिंह ऐरी टोलीमा फर्किएमा अनिलको स्थान निश्चित देखिँदैन।

पछिल्लो समय अभ्यास खेलमा देखाएको प्रदर्शनलाई नियाल्ने हो भने ओपनरहरूको प्रदर्शन स्थिर हुन सकेको छैन। जुन प्रशिक्षक मोन्टीको लागि चिन्ताको विषय हुन सक्छ।

कुशलले क्यानडासँगको अभ्यास खेलमा १० रन मात्र बनाएका थिए। आशिफले २२ रन बनाए।

ग्रान्ड प्रेरी रङ्गशालामा खेलिएको अफिसियल वार्म अप खेलमा अनिल शाहले धैर्यतापूर्वक खेल्दै ४७ रन बनाएका थिए।

खेल अगाडि कुशल भुर्तेलको फर्म राम्रो देखिएको छैन। नेपाली टोलीको मुख्य चिन्ता यसैमा छ।

तर कप्तान रोहित पौडेल भन्छन्: “जे जस्तो भए पनि विश्वकप अघि ओपनिङ ब्याटिङमा कुनै परिवर्तन गरिनेछैन।”

दीपेन्द्रसिंह ऐरी किर्तीमानी ब्याटर हुन्
तस्बिरको क्याप्शन, दीपेन्द्रसिंह ऐरी कीर्तिमानी ब्याटर हुन्

मध्यक्रम

दीपेन्द्र सिंह ऐरी खेलेमा कप्तान रोहित पौडेल तेस्रो नम्बरमा आउने पक्का जस्तै छ।

मध्यक्रममा सन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र गुलशन झा छन्।

तर अमेरिका प्रवेश गरेपछिको अभ्यास खेलहरूमा मध्य क्रमका खेलाडीहरूको प्रदर्शन ‘वाह’ भन्न लायकको नदेखिनुलाई चिन्ताको विषयका रूपमा हेरिएको छ। स्थानीय टोलीहरूसँग पनि नेपालको प्रदर्शन त्यस्तो उम्दा देखिएको छैन।

विश्वकपका लागि अमेरिका उड्नु अगाडि नेपालमा खेलिएको वेस्ट इन्डिज ‘ए’ सँगको शृङ्खलामा खेलाडीहरूले दबाब झेलेको आभास मिलेको थियो।

त्यहाँ एक्लै सङ्घर्ष गरेर शतक प्रहार गरेका कप्तान रोहितको ब्याट त्यसपछि भने खासै चल्न सकेको छैन।

अलराउन्डर

नेपाली टोलीमा पक्का अलराउन्डरका रूपमा दीपेन्द्र सिंह ऐरी, गुलशन झा र कुशल मल्ल छन्।

दीपेन्द्र टोलीका मुख्य खेलाडी हुन्। बलिङ, ब्याटिङ र फिल्डिङमा उनी चुस्त छन्।

उनको प्रदर्शनमा नेपाली टोलीको नतिजामा फरक पर्ने देखिन्छ।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा घाइते भएका दीपेन्द्र नेदरल्यान्ड्ससँगको खेलमा उत्रने सम्भावना लगभग तय छ।

नेट अभ्यास

सोमपाल कामी र करण केसी बलिङ अलराउन्डर हुन्। सोमपालले त १० औँ नम्बरमा ब्याटिङ गरेर कीर्तिमान नै बनाएका थिए। तर त्यो सन् २०१५ को कुरा हो।

गुलशनको प्रदर्शनमा एक हदसम्म एकरूपता देखिएको छ। उनको दायाँ हाते मिडियम पेश र बायाँ हाते ब्याटिङले टिममा सन्तुलन बनाउन मदत पुग्नेछ।

बलिङ

एक समय बलिङ नै नेपाली टोलीको प्रमुख हतियार रहने गरेकोमा अहिले ब्याटिङ मजबुत हुन थालेको देखि सकिएको छ।

तर बलिङ र फिल्डिङ क्षेत्र कमजोर नै भयो भन्ने पनि होइन। अझै पनि करण केसी र सोमपाल कामीसँग बलिङमा त्यो धार कायम नै छ।

तर यो विश्वकप हो। उनीहरूले यो स्तरमा प्रदर्शन दिन अहिलेको भन्दा अझै राम्रो खेल्नु जरुरी देखिन्छ।

सन्दीप लामिछानेको अनुपस्थितिमा ललित नारायण राजवंशी र सागर ढकालले स्पिन आक्रमणको जिम्मा लिनेछन्।

त्यसमा दीपेन्द्र र कुशल मल्लको साथ हुनेछ। कामचलाउ स्थितिमा कप्तान रोहित पौडेल र कुशल भुर्तेल पनि तयार छन्।

क्रिकेट

‘डेथ ओवर स्पेशलिस्ट’ अभिनाश बोहोराको बलिङको धार कस्तो हुन्छ भन्ने कुरालाई समेत धेरैले उत्सुकताका साथ पर्खिरहेका छन्।

रन बढी बेहोर्ने भएकोले बेला बेला समर्थकहरूको आलोचनाको सिकार हुने गरेको ‘योर्कर किङ’ बोहोराले क्यानडासँगको ‘वार्म अप’ मा ‘लेन्थ’ समातेको महसुस भएको छ।

तीव्र गतिमा कमल सिंह ऐरीको लागि यो प्रतियोगिता परीक्षा हुनेछ। कमल युवा छन् भने विपक्षीको लागि उनीहरूको बलिङ आक्रमण नौलो हुने हुँदा प्रशिक्षक मोन्टीले आवश्यक स्थितिमा मात्र उनलाई प्रयोग गर्न सक्नेछन्।

कमल जस्तै प्रतिश जिसीले पहिलो रोजाइमा पर्नका लागि प्रतीक्षा गर्नुपर्ने हुनसक्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।