दीपेन्द्रसिंह ऐरी: आइसीसी टी-२० अलराउन्डरको शीर्ष २ मा यसरी पुगे

तस्बिर स्रोत, CAN
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
दीपेन्द्रसिंह ऐरी अहिले राष्ट्रिय क्रिकेट टोलीका प्रमुख खेलाडी हुन्। धैर्यपूर्ण ब्याटिङ, चुस्त अफ स्पिन बलिङ र छरितो फिल्डिङको सङ्गम एउटै खेलाडीमा भेटिनु अहिले राष्ट्रिय क्रिकेट टोलीका लागि उपहार बनिरहेको छ।
उनै दीपेन्द्रसिंह ऐरी अहिले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा लामो फड्को मार्दै विश्वकै शीर्ष दोस्रो स्थानमा उक्लिएका छन्।
कुनै पनि नेपाली क्रिकेट खेलाडी वरीयताको शीर्ष २ मा पुगेको यो पहिलो पटक हो।
उनीभन्दा अगाडि अहिले शीर्ष पहिलो स्थानमा इङ्ग्ल्यान्डका लियाम लिभिङस्टोन छन्। लिभिङस्टोनको रेटिङ २५३ छ भने दीपेन्द्रको रेटिङ २३० छ।
यसअघि ऐरी छैटौँ स्थानमा थिए।
दीपेन्द्र यो उचाईमा पुग्नुको अर्थ के हुन्छ? यसले के कस्तो फाइदा पुग्न सक्छ?
शीर्षताको अर्थ
राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दास भन्छन्, “व्यक्तिगत रूपमा खेलाडीको स्तर मापन त भइ नै हाल्यो, यसको अर्थ भनेको चाहिँ नेपाली खेलाडीहरू विश्वस्तरका खेलाडीसँगको प्रतिस्पर्धामा पनि अगाडि छन् भन्ने सन्देश फैलनु हो।”
दीपेन्द्र मात्र होइन, अहिले विश्व वरीयतामा चाहे त्यो टी-२० मा होस् वा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा, नेपालका आधा दर्जनभन्दा बढी खेलाडीहरू उत्कृष्ट सयको सूचीभित्र छन्।
जस्तै अलराउन्डरतर्फ कुशल मल्ल ४०औँ स्थानमा छन्। गुल्सन झा भने ११ स्थान फड्को मादै ५३औँ स्थानमा उक्लिएका छन्।
गुल्सनसँगै कप्तान रोहित पौडेल समान ५३औँ स्थानमा छन्। कुशल भुर्तेल ६०औँ स्थानमा छन् भने करन केसी यथावत ७१ औँ स्थानमा अडिएका छन्।
राष्ट्रिय क्रिकेट टोलीमा नियमित रुपमा खेल्दै आएका दीपेन्द्रले विश्व वरीयताको सूचीमा आफूलाई क्रमश: सुधार गर्दै यो स्थानमा पुगेका हुन्।
दुई वर्ष अगाडि उनी अलराउन्डरको सूचीमा ४४ औँ नम्बरमा थिए।
सुधारिएका दीपेन्द्र
पछिल्लो वर्षमा अन्तर्राष्ट्रिय क्रिकेटमा उनले गरेका केही अभूतपूर्व प्रदर्शनपछि उनको चर्चा निकै चुलिँदै आएको देखिन्छ।
जसमा दुई वटा टी-२० प्रतियोगितामा उनले एकै ओभरमा ६ छक्का हानेका थिए।
गत वर्ष चीनको हान्चाउमा भएको एसियाली खेलकुदमा उनले मङ्गोलिया विरुद्ध ६ बलमा ६ छक्का हाने। त्यतिमात्र होइन सो खेलमा उनले ९ बलमा अर्धशतक ठोकेर टी-२० क्रिकेटमा कसैले तोड्नै नसक्ने कीर्तिमान आफ्नो नाममा लेखाएका थिए।
यद्यपि उनले त्यो बेला दुई ओभर गरि लगातार ६ छक्का प्रहार गरेका थिए।

तस्बिर स्रोत, CAN
एसीसी प्रिमियर कपमा कतारविरुद्ध पनि त्यही इतिहास दोहोर्याएपछि त उनको प्रदर्शन र प्रतिभा संयोग मात्र होइन भन्ने थप पुष्टि भयो।
ओमानको अल इमिरेट मैदानमा कतारका कामरन खानको बललाई उनले लगातार बाउन्डरी बाहिर हिर्काएका थिए।
यस्तो कीर्तिमान बनाउने उनी विश्वका तेस्रो खेलाडी बने।
विनोद दास भन्छन्, “वरीयतामा सुधार हुँदा विश्वभरिका फ्रेञ्चाइज लिगमा दीपेन्द्र मात्र होइन, नेपाली खेलाडीहरूमाथि पनि चासो बढ्ने गर्छ। यसले खेलाडीहरूलाई व्यावसायिक प्रतिस्पर्धामा राम्रो मूल्य पाउनमा पनि मद्दत गर्नेछ।”
गत वर्षको भारतको चर्चित फ्रेञ्चाइज इन्डियन प्रिमियर लिग आइपीएलको टोलीले दीपेन्द्र माथि चासो देखाएको गाइँगुईँ सुनिएको थियो।
सन्दीप लामिछानेपछि दीपेन्द्र नै विश्वको त्यो सबैभन्दा ठूलो लिग खेल्न पाउने अनुमान गरिएको थियो।
तर अन्तिम समयमा त्यसले मूर्त रूप लिन सकेन।
विश्वकपमा चाहिँ कस्तो प्रदर्शन?
दीपेन्द्र अहिले शीर्ष दुईमा पर्नुको कारण उनले अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी-२० विश्वकपमा गरेको प्रदर्शन पनि कारण ठानिएको छ।
हुन त नेपालले खेलेको तीनवटै खेलमा जित हात पार्न सकेन। तर दक्षिण अफ्रिकासँगको १ रनको हार भने बिर्सनै नसकिने घटनाको रूपमा नेपाली क्रिकेट इतिहासमा लेखियो।
उक्त विश्वकपमा दीपेन्द्रले दक्षिण अफ्रिका विरुद्ध ४ ओभर बलिङ गरेर २१ रन दिँदै ३ विकेट लिएका थिए। ब्याटिङमा भने उनले ११ बल खेलेर ६ रन मात्र बनाउन सके।

तस्बिर स्रोत, CAN
त्यस्तै बाङ्ग्लादेशसँग प्रतिस्पर्धात्मक बनेको खेलमा उनले ३.३ ओभरमा २२ रन दिएर २ विकेट लिएका थिए। ब्याटिङ तर्फ ३१ बल खेलेर २५ रन बनाए।
अमेरिकाको टेक्ससमा खेलिएको नेदरल्यान्डस् विरुद्धको पहिलो खेलमा भने उनी जम्न सकेका थिएनन्।
सो खेलमा दीपेन्द्रले ६ बल खेलेर १ रन मात्र जोड्न सकेका थिए भने बलिङमा २ ओभरमा ६ रन दिएर १ विकेट लिएका थिए।
श्रीलङ्का विरुद्धको खेल भने वर्षाका कारण रद्द हुन पुगेको थियो।
दीपेन्द्रको टी-२० प्रदर्शन
टी-२० मा ब्याटिङ तर्फ दीपेन्द्रले ७१ खेलमा ६३ इनिङ खेल्दै १८९५ रन बनाएका छन्। उनको स्ट्राइक रेट १४३.२७ छ। जसमा ११० अविजित रन उनको उच्च स्कोर हो।
बलिङतर्फ पनि ७१ खेलमा ४६ इनिङ खेल्दै उनले ४५ विकेट लिएका छन्। जसमा १८ रन दिएर ४ विकेट लिनु उनको सबभन्दा राम्रो प्रदर्शन हो।
दीपेन्द्र अहिले विश्व क्रिकेट लिग २ को लागि क्यानडामा खेल्दैछन् र त्यसपछि अमेरिकामा जाँदैछन्।
उनले व्यावसायिक लिग पनि क्यानडामै खेलिरहेका छन्। भ्याङ्कुभर किङ्ग्समा उनी आबद्ध छन्।
अझै पनि कतिपयको विश्वास छ, असोसियट राष्ट्रका खेलाडीका लागि निकै गाह्रो मानिने आइपीएलमा खेल्ने क्षमता बोकेका दीपेन्द्र सो लिगमा आबद्ध हुन सक्ने सम्भावना छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








