महिला टी२० एशिया कप: बलियो भारतविरुद्ध 'साहसी नेपाल'

तस्बिर स्रोत, ACC
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
भारतीय महिला क्रिकेट टोली र नेपाली महिला टोलीबीच स्पष्ट अन्तर छ।
भारत टी-२० विश्व वरीयताको तेस्रो स्थानमा छ भने नेपाल २१ औँ स्थानमा छ।
भारतले सन् २०२० को टी-२० विश्वकपमा फाइनल खेलेको थियो।
यसबाट दुई राष्ट्र बीचको क्रिकेट स्तरको भिन्नता अनुमान लगाउन सकिन्छ।
यही फराकिलो अन्तरका दुई टोली नेपाल र भारत मङ्गलवार साँझ सवा सात बजे विमिन्स एशिया कपमा प्रतिस्पर्धा गर्दै छन्।
भारतीय क्रिकेट विश्लेषकहरू बलियो भारत र उदाउँदो नेपाल बीचको भिडन्तलाई ‘तुलना गर्न नमिल्ने प्रतिस्पर्धा’ बताइरहेका छन्।
कतिपय क्रिकेटका जानकारहरू यो खेल एकतर्फी किसिमको हुने ठान्छन्।
तर नेपाली प्रशिक्षक मनोज कटुवालको विश्वासलाई हेर्ने हो भने यो खेल ‘सोचेभन्दा फरक भिडन्त’ हुनेछ।
उनी भन्छन्, “हामीलाई यो खेलबाट गुमाउनु केही छैन। केही पाउनु भने छ।”

तस्बिर स्रोत, ACC
भिन्नता कस्ताकस्ता
विश्व वरीयताको तेस्रो स्थानमा रहेको भारतको रेटिङ २६२ अङ्क छ भने २१ औँ स्थानको नेपालको रेटिङ ९७ मात्र छ।
खेलाडीहरूको स्तरको तुलना गर्दा जारी एशिया कप खेल्ने भारतीय टोलीका प्राय: खेलाडीहरू महिला विश्व वरीयताको शीर्ष १०० भित्रका छन्।
चर्चित भारतीय ओपनिङ ब्याटर स्मृति मन्धना टी-२० ब्याटिङ विश्व वरीयताको पाँचौँ स्थानमा छिन्।
१३८ टी-२० खेल खेलिसकेकी उनले २४ अर्धशतक प्रहार गरिसकेकी छन्।
त्यस्तै भारतीय कप्तान हरमनप्रित कौर वरीयताको १२ औँ स्थानमा छिन् भने सेफाली वर्मा १५ औँ र जेमिमा रोड्रीग्स १८ औँ नम्बरमा छन्।
नेपालका जम्मा दुई खेलाडीहरू ब्याटिङ वरीयताको शीर्ष १०० भित्र अटाएका छन्।
पूर्व कप्तान रुविना क्षेत्री र सीता रानामगर दुवैको वरीयता संयुक्त रूपमा ८३ औँ नम्बरमा छ।
बलिङ वरीयतामा पनि भारतकै दबदबा देखिन्छ।
त्यसमा भारतकी दीप्ति घोष विश्व वरीयताको तेस्रो स्थानमा रहन सफल खेलाडी हुन् भने रेणुका सिंह उत्कृष्ट १० वरीयतामा छिन्।
नेपालका कुनै महिला बलरहरू शीर्ष १०० भित्र अझैसम्म पर्न सकेका छैनन्।
त्यसैगरी अलराउन्डर वरीयतामा भारतकी दीप्ति शर्माले तेस्रो स्थान ओगटेकी छन्।
अलराउन्डर वरीयताको शीर्ष १०० भित्र भने तीन नेपालीहरू परेका छन्।
नेपाली रुविना क्षेत्री ५४ औँ नम्बरमा छन्। त्यस्तै नेपालकी सीता रानामगर ७३ औँ तथा कप्तान इन्दु वर्मा ७८ औँ स्थानमा छन्।

तस्बिर स्रोत, CAN photo
नेपाल र भारतको भेट
नेपाल र भारतीय महिला टोली यसअघि एक पटक आमने सामने भइसकेका छन्।
त्यो भेट एशिया कपको सन् २०१६ को संस्करणमा भएको थियो।
उक्त प्रतिस्पर्धामा नेपालको सम्झनलायक कुरा केही पनि छैन।
उक्त खेलमा भारतले पहिलो ब्याटिङ गरेर १२० रन बनाएको थियो। जबाफमा आएको नेपाल जम्मा २१ रनमा अलआउट हुन पुगेको थियो।
नमिठो कुरा के हो भने नेपालका कुनै पनि खेलाडीले दोहोरो अङ्क छुन सकेका थिएनन्।
नेपालबाट सरिता मगरले बनाएको ६ रन नै सर्वाधिक रन बनेको थियो।
उक्त प्रतियोगितामा खेलेका दुई भारतीय खेलाडीहरू अहिले पनि टोलीमा छन्।
त्यस बेला पनि भारतको कप्तान हरमनप्रित कौर अहिले पनि कप्तानकै भूमिकामा छिन् भने अर्की खेलाडी स्मृति मन्धना हुन्।
त्यसैगरी नेपाली टीममा पनि त्यसबेला खेलेकी रुविना क्षेत्री र सीता रानामगर मात्र टोलीमा अटाएका छन्।

तस्बिर स्रोत, CAN
प्रतिस्पर्धा
पाकिस्तान र युएईलाई सहजै हराएको भारत औपचारिकरूपमा सेमिफाइनलमा पुग्न बाँकी छ।
एशिया कप खेल्नुअगाडि भारतले तयारीस्वरूप दक्षिण अफ्रिकालाई घरमा बोलाएर तीन खेलको शृङ्खला खेलेको थियो।
आठमध्ये सात पटक एशिया कप जितेको भारतले एशिया कपलाई बाङ्ग्लादेशमा हुने ‘आगामी टी-२० विश्वकपको तयारी’ खेल भनेको छ।
नेपाली टोली भने एशिया कप छनोट खेलेपछि झन्डै २ महिना बन्द प्रशिक्षणमा रहेको थियो।
यद्यपि एशिया कपको दुई खेलमा नेपाली टोलीमा व्यापक परिवर्तन भएको आभास देखिएको छ। खेलाडीहरू फिट देखिएका छन् र युएईलाई हराएर टोलीले आत्मबल प्राप्त गरेको देखिएको छ।
सम्झना खड्काले युएईविरुद्ध बनाएको अविजित ७२ रन, मध्य क्रमकी कविता जोशीको ३१ रन र पाकिस्तानविरुद्ध टोलीले कुल १०८ रन बनाउँदा खेलाडीहरूमा आत्मविश्वास बलियो देखिएको थियो।
इन्दु वर्माले नेतृत्व तथा सीता रानामगर र रुविना क्षेत्रीले आफ्नो अनुभवको प्रयोग गर्ने बेला यही नै हो।

तस्बिर स्रोत, ACC
भारतको लय पनि त्यस्तै छ।
ओपनर स्मृति र सेफाली निकै फर्ममा देखिएका छन्।
बलिङमा रेणुका सिंह, पूजा भस्त्राकर र दीप्ति शर्माको बलिङ निकै खतरनाक देखिएको छ। नेपाली ब्याटरहरू उनीहरूबाट बच्न जरुरी छ।
जसरी पुरुष एशिया कपमा भारत विरुद्ध नेपालले खेलेको २ सय २० रनको पारी लाई अझै पनि क्रिकेट समर्थकहरूले सम्झिने गर्छन्, त्यसैगरी महिला खेलाडीहरूले पनि प्रदर्शन गर्न सके त्यो काफी हुने कतिपय बताउँछन्।
नेपाली प्रशिक्षक मनोज कटुवाल भन्छन्, “हामी विना दबाव स्वतन्त्र तरिकाले खेल्नेछौँ। १०० प्रतिशत क्षमता प्रदर्शन गर्ने हो। खेल सम्झन लायक हुने छ। निराशाजनक हुने छैन। ”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








