अर्को टी२० विश्वकप क्रिकेटको तयारीका लागि नेपालले के गर्नुपर्छ?

रोहित पौडेल

तस्बिर स्रोत, CAN

    • Author, निरञ्जन राजवंशी
    • Role, संयुक्त राज्य अमेरिका

दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले टी२० विश्वकपको उपाधि जितेको छ।

दक्षिण अफ्रिका फाइनल पुग्ने यात्रामा टोलीका लागि एउटा निकै कठिन मानिएको खेल नेपालविरुद्ध थियो।

भारतले समूह चरणमा नेपालको सामना गरेन। तर दक्षिण अफ्रिका र नेपालबीचको खेलको नतिजा अन्तिम बलबाट मात्रै भयो।

दक्षिण अफ्रिकाका लेफ्ट आर्म स्पिनर बलर केशव महाराजले भनेका थिए, “हामीले निकै अप्ठ्यारो खेलमा साना साना क्षणहरू जित्यौँ।”

विश्वकपमा आफ्नो सहभागिता जनाएर फर्केको नेपाली राष्ट्रिय क्रिकेट टोलीले भने यस्तै साना साना क्षणहरूमा हारेको देखिन्छ।

क्रिकेट विश्लेषकहरू भन्छन्, “नेपालले विश्वकपबाट केही गुमाएको त होइन। तर पाउन सकिने कुराहरू भने छुटाएका छन्।”

टेस्ट र असोसिएट राष्ट्रबीचको भिन्नता

बाङ्ग्लादेश र नेपाल

नेपालले थकथकाउनुपर्ने खेल भनेको दक्षिण अफ्रिका र अर्को बाङ्ग्लादेशविरूद्ध बेहोरेको पराजय हो।

त्यसमाथि पनि दक्षिण अफ्रिकाविरुद्धको १ रनको पराजय त लामो समयसम्म याद रहने नै भयो।

हातैमा आइसकेको खेल नेपालले कसरी गुमाउन पुग्यो त?

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पवन अग्रवाल नेपाल टेस्ट (पूर्ण सदस्य) र असोसिएट राष्ट्रबीचको मसिनो तर बलियो रेखा चिर्न असफल भएको बताउँछन्।

आईसीसीको पूर्ण सदस्यता प्राप्त गरेका १२ राष्ट्र छन्। यी टोलीले टेस्ट क्रिकेट खेल्न पाउँछन्। पूर्ण सदस्यता नपाएका सदस्य राष्ट्रको सङ्ख्या नेपालसहित ९६ छ। नेपाल असोसिएटको माथिल्लो तहमा छ। असोसिएटको पहुँच एकदिवसीय क्रिकेटसम्म मात्र हुन्छ।

पवनले बीबीसी न्यूज नेपालीसँग भने, “दक्षिण अफ्रिकी खेलाडीलाई यस्तो परिस्थितिमा खेल्ने बानी परिसकेको छ। जबकि हाम्रा खेलाडीहरूले यस्तो तनावको क्षण धेरै झेलेका छैनन्। त्यसैले नेपाली खेलाडीको कमजोरी उनीहरूलाई फाइदा बन्यो।”

विश्वकपको खेलमा अन्तिम क्षणमा के कसरी आफूलाई नियन्त्रित गर्ने र सुझबुझ निर्णय गर्ने विषयमा जारी विश्वकपकै कान्छो खेलाडी गुलशन झा अलमलिन पुगे।

बाङ्ग्लादेश विरुद्धको खेलमा पनि उस्तै उस्तै परिस्थिति दोहोरिएको देखिन्छ।

दुवै खेलमा नेपालको बलिङ निकै तारिफयोग्य भए पनि ब्याटिङमा नेपाल पाको हुन नसकेको विश्लेषकहरूको टिप्पणी छ।

प्रशिक्षक मोन्टी देशाईले पत्रकार सम्मेलनमा भनेका थिए, “असोसिएटको प्रतिस्पर्धामा त नेपालले गाह्रो खेलहरू पनि धेरै पटक जितेको हो नि। टेस्ट राष्ट्रलाई हराउन चाहिँ बाँकी नै रह्यो।”

गुमाएको केही छैन तर…

अमेरिका/वेस्ट इन्डिजको यो विश्वकप यात्रामा नेपाली टोलीले गुमाएको भने होइन।

समग्रमा टोलीले धेरै कुरा लिएरै फर्किएको छ।

विश्वका दिग्गज खेलाडी/ विश्लेषकहरूले नेपाली खेलाडीको प्रदर्शनलाई मुक्तकण्ठले प्रशंसा गरे।

खेलेको तीन वटै खेलमा नेपाल ‘बिचरा’ बनेन। नमिठो हार बेहोरेर फर्किनु परेन। खेलेको तीन वटै खेलमा कडा प्रतिस्पर्धा गर्‍यो।

नेपाली समर्थकहरूमा देखिएको क्रिकेट मोह त विश्वकपको मुख्य ‘हाइलाइट’ मध्येको एक नै भयो।

यद्यपि यतिमै सन्तुष्ट भएर बस्ने छुट भने नेपाली खेलाडीहरूलाई दिनु नहुने खेल विश्लेषकहरू बताउँछन्।

“समग्रमा असन्तुष्ट हुनुपर्ने ठाउँ छैन। सुधारको ठाउँ त छँदै छ,” पवन अग्रवाल भन्छन्।

हारमा पनि प्रशंसा

सोमपाल कामी र गुल्सन झा

दक्षिण अफ्रिकासँगको साहसिक भनिएको खेलमा नेपाल १ रनले मात्रै पराजित भए पनि हार भनेको आखिर हार नै हो। त्यो हारकै रूपमा दर्ता भइसकेको छ।

तर दक्षिण अफ्रिका जस्तो टोलीविरुद्ध राम्रो खेल्यो भनेर प्रशंसा भने पाइरहेकै छ।

तर त्यो खेल नेपालले १७/१८ ओभर भित्रै जित्न सक्थ्यो। र त्यसरी अन्तिम बल सम्म पुग्नै हुँदैनथ्यो भन्ने विषयलाई नजरअन्दाज गर्न नहुने केही विश्लेषकहरू बताउँछन्।

विश्वकप ठूलो खेल मञ्च थियो। पिच कठिन थियो। खेलाडीहरू ‘नर्भस’ भए वा दक्षिण अफ्रिकाको अनुभव हाबी भयो भन्ने कुरा मात्र हारको बहाना हुन नहुने कतिपयको तर्क छ।

दक्षिण अफ्रिकाले नेपालको कमजोर ब्याटिङलाई उदाङ्गो पारिदिएको विश्लेषकहरू बताउँछन्। बाङ्ग्लादेशले पनि त्यही कमजोरी दोहोर्‍याइदियो।

खेलाडीको समर्थन गर्नेहरू भौतिक पूर्वाधारको अभाव, प्रतिस्पर्धी देशका खेलाडीहरूले पाइरहेको सुविधासँग नेपालको तुलना गरेर सरकारलाई दोष दिनेहरू पनि छन्।

कमजोरीको ढाकछोप त्यसरी गर्नु उचित नभएको बताउनेहरू पनि छन्।

इतिहासमा नेपाली टोलीले यसपालि जतिको तयारीको सुविधा अरू बेला कहिले पाएको थिएन।

नेपाल सरकारले तयारीको लागि ५ करोड प्रदान गरेको थियो।

टोलीसँग ब्याटिङ कन्सल्टेन्ट, बलिङ कन्सल्टेन्ट, एनालिस्टहरू थिए। तयारी कै क्रममा टोलीलाई दुई दर्जन बढी अभ्यास खेल खेल्ने अवसर दिइएको थियो।

टोलीलाई एक महिना अगाडि नै वातावरण सँग घुलमिल हुन अमेरिका/ वेस्ट लगिएको थियो।

एक जना समर्थक लेख्छन्, “कहिलेसम्म सिक्ने क्रममा छौँ भनेर बस्ने। २०१४ मा पनि यस्तै भएको थियो। १० वर्षपछि पनि त्यही।”

चिन्ता अर्को विश्वकपको

नेपाली क्रिकेट टिम

नेपालको सपना पक्कै पनि भोली टेस्ट राष्ट्र बन्ने हो।

नेपाल त्यसको नजिक नजिक पुगिसकेको देखिन्छ। त्यसको लागि आवश्यक भौतिक पूर्वाधार निर्माण भइरहेको पनि छ। समर्थकहरूको साथ र क्रिकेट क्रेजमा नेपाल अब्बल छ।

एकातिर टेस्ट राष्ट्र बन्ने सपना बुनिरहँदा अर्को तर्फ नेपाल दुई वर्षपछि भारत र श्रीलङ्कामा हुने टी२० विश्वकपमा छनोट हुन्छ वा हुँदैन भन्ने चिन्ता पनि छ।

सन् २०१४मा नेपाली क्रिकेटको क्रेज उच्च तहमा चुलिँदा पनि त्यसपछि अर्को विश्वकपमा खेल्न १० वर्ष समय लागेको थियो।

पारस खड्का नेतृत्वको त्यो टोलीलाई राम्ररी स्याहार गर्न नसक्दा नेपाल छनोट चरणमा बारम्बार अड्किएको थियो।

अहिले ओमान, यूएई, हङकङ, क्यानडा जस्ता टोलीहरूको प्रगति लोभलाग्दो तरिकाले भइरहेको छ।

यसपालि सुपर ८ मा पुग्ने टोली अर्को विश्वकपमा सीधै छनोट हुने नियम बनाइएकोले नेपाललाई हरेक पटक चुनौती दिने गरेको अमेरिका सीधै छनोट भइसकेको छ।

भारत आयोजक भएको नाताले दुई वर्षपछि हुने विश्वकपमा एशियाले एक स्थान बढी पाउन सक्छ।

धन्न पाकिस्तान वरीयताको आधारमा सीधै छनोट हुन सक्यो र सुपर ८ बाट बाहिरिए पनि सह आयोजकको नाताले श्रीलङ्का सीधै विश्वकप खेल्न पाउने भयो।

नत्र एशियाली छनोट झन् कठिन हुने थियो।

पूर्व कप्तान पवन अग्रवाल भन्छन्, “हाम्रा खेलाडीहरू विश्वस्त प्रतिस्पर्धामा लायक छन् भन्ने देखिसकिएको छ। तर लामो यात्रा तय गर्दै जान भने आजैदेखि निश्चित योजना बनाउनै पर्छ।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।