महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन बनाउने पहिलो नेपाली महिला इन्दुको सङ्घर्ष र सपना

इन्दु वर्मा

तस्बिर स्रोत, CAN

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्युज नेपाली

इन्दु वर्माको क्रिकेट ग्राफको विशेष कथा छ। स्कुलमा महिला क्रिकेट सुरु गर्नेदेखि लिएर स्कुले प्रतियोगिता, जिल्ला, क्षेत्रीय, यु-१९ राष्ट्रिय टोली हुँदै अन्तर्राष्ट्रिय टोलीकी नियमित सदस्य हुँदा सम्मको यात्रामा अनेक आरोहअवरोह पार गरेको उनी बताउँछिन्।

अहिले इन्दु राष्ट्रिय महिला टोलीकी कप्तान छिन्। र, यसै बेला आफ्नो करिअरको दुई महत्त्वपूर्ण सफलता एकसाथ हात पार्न उनी सफल भइन्।

एउटा उनको कप्तानीमा पहिलो उपाधि हात पर्‍यो भने अर्को १ हजार रनको कोसेढुङ्गा उनले पार गरिन्।

मलेसियासँगको पाँच टी-२० शृङ्खलाको चौथो खेलमा १५ रन बनाएसँगै उनी महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन बनाउने पहिलो नेपाली महिला खेलाडी बनेकी छन्।

मलेसियाको वायुमास ओभल क्रिकेट मैदानबाट बाहिरिँदै गर्दा पवेलियनमा साथीहरूले मनाएको खुसीयाली पछि इन्दुलेले आफूले १००० रनको कोसेढुङ्गा पूरा गरिसके बल्ल थाहा पाइन्।

अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन बनाउने पहिलो नेपाली महिला खेलाडी

मैदानमा इन्दु वर्मा

तस्बिर स्रोत, CAN

मलेसियासँगको पाँच टी-२० शृङ्खलाको चौथो खेलमा १५ रन बनाएसँगै उनी महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन बनाउने पहिलो नेपाली महिला खेलाडी बनेकी हुन्।

इन्दुले बीबीसीसँग भनिन्, "१००० रन बनाउनु आफैँमा एउटा उपलब्धि हो। मेरो एउटा सपना पूरा भएको छ।"

सन् २०१० बाट क्रिकेट खेल्न थालेकी उनले यो कोसेढुङ्गा ७७ औँ खेल खेलेर पूरा गरेकी हुन्।

रमाइलो तथ्य के छ भने यसबीच उनले एउटा मात्र अर्ध शतक प्रहार गर्न सकेकी छिन्।

चार वर्षअगाडि कतार विरुद्ध उनले ५५ रन बनाएकी थिइन्। त्यो नै अहिले सम्मको उनको उच्च टी-२० स्कोर हो।

उपाधि जितेको पाँचौँ खेलमा रन थपेसँगै इन्दुको रन सङ्ख्या १०४१ पुगेको छ। यस क्रममा उनले ७७ चौका र ३ छक्का प्रहार गर्न भ्याइन्।

दायाँ हाते ब्याटर अनि मिडियम पेसर उनले बलिङमा ४० विकेट लिएकी छिन्।

इन्दुको करिअरकी पहिलो प्रशिक्षक वसन्त शाही इन्दुको प्रदर्शनबाट खुसी छन्। उनले भनिन्, "इन्दुमा क्रिकेटको अचम्मको भोक छ। उनी जे गर्छिन् भित्रैबाट गर्छिन्। त्यसैले यो उपलब्धिको उनी हकदार छिन्। आगामी दिनमा अझै उनले थप सफलता हात पार्दै जानेछिन्।"

इन्दुपछि अब टी-२० अन्तर्राष्ट्रियमा १,००० रनको कोसेढुङ्गा छुने क्रममा दुई खेलाडी छन्। सीता राना मगरले ६२ खेल खेल्दा ९६५ रन बनाइसकेकी छन् भने पूर्व कप्तान रुविना क्षेत्रीले ७८ खेलबाट ९३६ रन बनाइसकेकी छिन्।

कप्तानी प्रदर्शन

महिला क्रिकेट टोली

तस्बिर स्रोत, CAN

मलेसियाको ५ शृङ्खला निकै रोचक रह्यो। मलेसियाको जितबाट सुरु भएको खेल २-२ को बराबरीपछि निर्णायक खेलमा नेपालले बाजी मारेको थियो।

२ वर्ष अगाडि हङकङमा हुने चार देशीय टी-२० महिला शृङ्खलामा इन्दुले पहिलो पटक कप्तानीको जिम्मेवारी पाएकी थिइन्। त्यसअघि उनी उपकप्तान थिइन्।

त्यसयता नेपाली महिला क्रिकेटले केही महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ। त्यसमध्येको सबैभन्दा ठूलो उपलब्धि महिला टोली विश्वकप छनोटमा पुग्नु हो।

गत जेठ महिनामा चिर प्रतिद्वन्द्वी युएईलाई पराजित गर्दै नेपाली महिला टोली इतिहासमा पहिलो पटक एसिया छनोट पार गरेर ग्लोबल क्वालिफाअरमा पुग्न सफल भएको थियो।

उक्त निर्णायक खेल जिताउन कप्तानी भूमिका निभाएकी इन्दुले अविजित ३० रन बटुलेकी थिइन्।

मलेसिया विरुद्धको शृङ्खला ३२ ले जितेपछि उनको कप्तानीमा पहिलो उपाधि हासिल भयो।

पछिल्लो समय महिला टोलीले लय पक्रिनुमा इन्दुको कप्तानी भूमिका महत्त्वपूर्ण रहेको क्रिकेट खेलाडीहरू बताउँछन्।

कतिपय खेलाडीलाई कप्तानी दबावले खेलमा असर परेको देखिनेगर्छ। तर इन्दुको खेल कुशलता भने कप्तानको भूमिका पाएपछि झन् निखारिएको देखिन्छ।

इन्दु भन्छिन्, "कप्तानको रूपमा पनि टिमलाई योगदान दिन सकेँ। कप्तान भएपछि टिमको एकता, खेलाडीहरूको मनोबल उच्च पार्न सधैँ प्रयास गरिरहेको छु।"

अबको लक्ष्य

मलेशियामा महिला क्रिकेट टोली

तस्बिर स्रोत, CAN

बागलुङमा जन्मेर बुटवलमा हुर्किएकी इन्दु स्कुलमा छँदा आफैँले महिला टोली तयार पारेर क्रिकेट खेलेको बताउँछिन्।

त्यो बेलाको रहरपछि आफ्नो करिअर बनेको उनको भनाइ छ।

नेपाली महिला क्रिकेटको इतिहास सन् २००७ बाट सुरु भएको हो। स्कुल हुँदै क्षेत्रीय क्रिकेटमा धूम मच्चाएर इन्दु सन् २०१० मा १३ वर्षको उमेरमा यु-१९ राष्ट्रिय टोलीमा जोडिन पुगेकी थिइन्।

उनले आफ्नै आँखाअगाडि महिला क्रिकेट हुर्केबढेको देखिन्। आफैँ त्यसको हिस्सा बनिन्।

अहिले आफ्नै नेतृत्वमा सिनिअर महिला टोलीलाई विश्वकप पुर्‍याउने उनको धोको छ। संयोगले ग्लोबल क्वालिफाअरको खेल आगामी वर्षको ज्यानुअरीमा नेपालमा नै आयोजना हुँदैछ।

मलेसियाको शृङ्खला जस्तै अरू नियमित प्रतियोगिताहरू पाइरहेमा विश्वकप छनोटमा पुग्न सक्ने विश्वासमा इन्दु छिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।